राज्यमन्त्री नरबहादुर चन्दसँग दामोदर भण्डारीको टक्कर

राज्यमन्त्री नरबहादुर चन्दसँग दामोदर भण्डारीको टक्कर

बैतडी : दोस्रो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट एमालेका दामोदर भण्डारी निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट कांग्रेसका नरबहादुर चन्द। यसपटकको निर्वाचनमा प्रतिनिधिसभाका लागि एक क्षेत्र मात्र कायम भएपछि भण्डारी र चन्द प्रतिस्पर्धी बनेका छन्। कांग्रेसलाई राप्रपा अनि एमालेलाई माओवादी केन्द्रको साथ छ। गठबन्धनसँगै प्रतिनिधिसभा सदस्यमा कसले बाजी मार्ला भन्ने चासो बढ्न थालेको छ। अघिल्लो निर्वाचन जितेकाहरू नै प्रतिस्पर्धी भएकाले कसको पल्ला भारी होला भन्ने आकलन गर्न मुस्किल देखिएको छ।

दुवै पक्षले आआफूले जित्ने दाबी गरिरहेका छन्। माओवादीको गठबन्धनका कारण आफूले सहजै जित्ने भण्डारीको दाबी छ। ‘गएको निर्वाचनमा मैले क्षेत्र नम्बर १ बाट जितेको हुँ’, उनले भने, ‘यो निर्वाचनमा माओवादीसहित एक भएका छौं। त्यसैले मैले जित्नेमा दुईमत छैन।’

चन्द वाणिज्य राज्यमन्त्री हुन्। राप्रपासँगको तालमेलसहित वाम गठबन्धनकै केही मत आफूले आउने उनको दाबी छ। ‘जिल्ला विकास समितिको सभापति भएदेखि नै जनताको काम गरेको छु। जनतासँग आफ्ना सुख–दुःख साटेको छु’, उनले भने, ‘लोकतन्त्र रक्षाका लागि जनताले मलाई भोट दिन्छन्।’

संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट ११ हजार ६ सय ७१ मतसहित भण्डारी विजयी भएका थिए। क्षेत्र नम्बर २ मा १२ हजार चार सय ६६ मतसहित चन्द निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचनलाई हेर्दा वाम गठबन्धन लोकतान्त्रिकभन्दा अघि देखिन्छ। स्थानीय निर्वाचनमा एमालेले २७ हजार तीन सय ८९ मत पाएको थियो भने माओवादी केन्द्रले १८ हजार सात १९ मत। वाम गठबन्धनको मत हेर्दा ४६ हजार एक सय आठ हुन्छ। कांग्रेसले २७ हजार ८७ मत पाएको थियो भने राप्रपाले ६ हजार चार सय चार। यो मत जोड्दा लोकतान्त्रिक गठबन्धनको ३३ हजार चार सय ९१ हुन्छ।

संविधानसभा निर्वाचन जितेकाहरू नै प्रतिस्पर्धी भएकाले कसको पल्ला भारी होला भन्ने आकलन गर्न मुस्किल देखिएको छ। 

 स्थानीय निर्वाचनका आधारमा आसन्न निर्वाचनको परिणाम आकलन गर्न नसकिने चन्दको तर्क छ। ‘स्थानीय तहका प्रमुखको कुरा गर्ने हो भने हामीले १० मध्ये ६ वटामा जितेका छौं। त्यसैले स्थानीय तहमा आएको मतपरिणामले अहिलेको मतपरिणाम आकलन गर्न सकिँदैन’, उनले भने, ‘अहिलेको निर्वाचन भनेको लोकतन्त्र रोज्ने कि कम्युनिस्ट सर्वसत्तावादलाई भन्ने अभिमत हो।’
वाम गठबन्धनले अहिलेको निर्वाचन राजनीतिक स्थायित्वको पक्षमा भएकाले आफ्नो जित हुने दाबी गरेको छ। भण्डारीले भने, ‘हाम्रो गठबन्धन कसैप्रति लक्षित छैन। यो देशमा स्थिर सरकार र समृद्धिका लागि हो। त्यसैले जनताले हामीलाई मत दिएर स्थिर सरकार बनाउने मार्गप्रशस्त गर्नेछन्।’

एमाले र माओवादी केन्द्रको कार्यकर्ता पंक्तिबाटै एकअर्कालाई सहयोग भए वाम गठबन्धनको जित सहज हुन सक्ने आकलन छ। ‘केन्द्रीय सर्कुलरअनुसार गठबन्धन भएकाले कार्यकर्ता पंक्तिमा सबै सन्तुष्ट नभएका पनि हुन सक्छन्। दुवै पक्षका नेता मन माझेर गठबन्धनमा लागे मात्रै जित सहज हुन्छ’, पुरचौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले भने।

निर्वाचन परिणाम आआफ्नो पक्षमा पार्नका लागि दुवै गठबन्धनका उम्मेदवार अहिले गाउँ–गाउँ पसेका छन्। ‘नागरिकका पक्षमा कसले कसरी काम गरेका छन्। नागरिकका माग कसले पूरा गर्न सक्छ। यसले मतपरिणामलाई प्रभाव पार्न सक्छ’, जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले भने, ‘अहिले नै यसले जित्ला भनेर भन्न सकिँदैन। विगतको मतपरिणामलाई हेर्दा कडा प्रतिस्पर्धा हुने देखिन्छ।’

दुई क्षेत्र रहँदा क्षेत्र नम्बर १ मा एमाले र २ कांग्रेसको पकड थियो। ‘तर, अहिलेका मतदाता परिवर्तन चाहन्छन्। मतदाताले कसलाई रुचाउँछन् अहिले नै भन्न सकिँदैन’, सिगास माविका शिक्षक लवदेव अवस्थीले भने, ‘जनताका सामान्य समस्या समाधान गर्नमा कसले चासो दिन्छन्, यसै अनुसार मतपरिणाम आउन सक्ने देखिन्छ।’

बैतडी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला भएकाले उनको प्रभाव पर्न सक्ने विश्लेषक बताउँछन्। ‘पूर्वप्रधानमन्त्री चन्दले बैतडीका लागि तत्कालीन समयमा सकेसम्म रामैर काम गर्नुभएको हो। उहाँका कामको मूल्यांकन गर्ने बेला आएको छ’, सुर्नया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हर्कबहादुर पाण्डेले भने, ‘लोकतान्त्रिक गठबन्धनलाई पनि कमजोर सम्झिनु हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.