बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन

बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन

काठमाडौं : राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ । आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले जीवनकालमै छाडेको उदाहरण छैन भन्दा पनि हुन्छ ।तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘अपवाद' बन्न पुगेका छन् । उनले सबैलाई आश्चर्यचकित पार्दै यसपटक आफ्नो राजनीतिक विरासत नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । ‘अरिंगाल' को गोलोझैँ भक्तपुरमा पार्टी संगठन निर्माण गरेर बिजुक्छेले एकछत्र राज गर्दै आएका थिए । ०४८ सालदेखिका हरेक निर्वाचनमा भक्तपुर-१ बाट प्रतिस्पर्धीलाई निकै ‘कमजोर' सावित गराउँदै निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनले आफ्नो निर्वाचन क्षेत्रको लिगेसी हस्तान्तरण गरेका छन्, पार्टी नेता प्रेम सुवाललाई ।

 

उनले चाहेका भए, यसपटक पनि आफैँ उम्मेदवार बन्न सक्थे । अझ उनकै लागि भनेर वाम गठबन्धन (एमाले-माओवादी) ले त्यहाँ कुनै उम्मेदवारी दिएका थिएनन् तर ७८ वर्षीय बिजुक्छेले यसपटक फेरि आफैँ निर्वाचनमा उठ्न चाहेनन् । नयाँ पुस्तालाई पनि शीर्ष नेताहरूले आफ्नो लिगेसी हस्तान्तरण गरेर सन्देश दिन सक्नुपर्छ । उनले त्यही सन्देश यसपटकको निर्वाचनबाट दिएका छन् ।

त्यसो त बिजुक्छेको पार्टीले भक्तपुर-२ मै पनि नयाँ पुस्तालाई अवसर दिएको छ । महिला पनि अवसर पाए सक्षम हुन सक्छन्, भन्ने अर्काे सन्देश पनि उनले भक्तपुर-२ बाट दिएका छन् । त्यहाँ नेमकिपाबाट युवा पुस्ताकी सफल नेत्री अनुराधा थापा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । उनी दोस्रो संविधानसभा र रूपान्तरित संसद्की एक सफल प्रतिपक्षी सांसद पनि थिइन् ।

अझ त्यहाँ रोचक अर्को पक्ष पनि छ । नेमकिपाकी नेत्री थापाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा कांग्रेसका तर्फबाट पूर्वसभामुख दमननाथ ढुंगानाले उम्मेदवारी दिएका छन् । राजनीतिक वृत्तमा ‘बौद्धिक पर्सनालिटी' को रूपमा कहलिएका ढुंगानाको उम्मेदवारीलाई राजनीतिमा उनको ‘पुनरागमन' को अर्थमा लिन सकिन्छ ।


नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक भक्तपुरमा आफ्नो लिगेसी युवालाई हस्तान्तरण गरेका मात्रै छैनन्, महिलालाई समेत अवसर दिएर उदाहरणीय बनेका छन् ।

०४८ सालपछिको संसद्मा सभामुखको जिम्मेवारी सम्हालिसकेका ढुंगाना ०५१ को निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारीसँग पराजित भएपछि सक्रिय राजनीतिमा देखिएनन् । उनलाई शेरबहादुर देउवाले पुनः तिखार्न खोजेका छन् । ढुंगानाको पुनरागमनले पनि भक्तपुरको उक्त क्षेत्रको चुनावी भिडन्त रोचक बन्ने देखिएको छ ।

यता, काठमाडौंमा पनि प्रमुख दलका मात्रै होइन, नयाँ पार्टीका समेत ‘हेभिवेट' र सेलिबे्रटी' उम्मेदवारले यसपटक प्रतिस्पर्धा गर्न लागेका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल काठमाडौं-२ बाट उम्मेदवार बनेका छन् । रौतहट र काठमाडौं दुवै ठाउँबाट यसअगाडि निर्वाचित भएका उनी यसपटक काठमाडौंलाई माया गर्ने भन्दै चुनावी प्रतिस्पर्धामा आएका छन् । ‘म यसपटक काठमाडौंलाई माया गर्ने उद्देश्यले प्रतिस्पर्धामा आएको छु,' उम्मेदवारी दर्तापछि उनले भने, ‘यसअघि पनि उठ्दै आएको हुँ, अब सधैँका लागि माया गर्ने गरी आएको छु ।'

काठमाडौंमै अर्का ‘सेलिब्रेटी' नेता छन्, गगनकुमार थापा । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री थापा युवा पुस्ताका ‘आकर्षण' मानिन्छन् । दोस्रो संविधानसभामा अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पराजित गरेर आएका थापा यसपटक भने एमालेका बौद्धिक नेता डा. राजन भट्टराईसँग प्रतिस्पर्धा गर्दै छन् ।

ललितपुरमा पूर्वप्रहरी डीआईजी नवराज सिलवालको उम्मेदवारीले पनि उपत्यकाको चुनाव थप ‘रोमाञ्चकारी' बनाउने भएको छ । आईजीपीको दौडमा छँदै गर्दा आफूमाथि अन्याय भएको बताउँदै सिलवाल प्रहरीको डीआईजीबाट राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । उनले ललितपुर-१ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ‘लिगेसी' का रूपमा छोरा प्रकाशमान सिंह यसपटक पनि प्रतिस्पर्धामा छन् । काठमाडौं-१ मा उनको लगातारको उम्मेदवारी र विजयलाई बाबुको लिगेसीकै रूपमा लिइन्छ । काठमाडौं-५ मा पनि ‘हेभिवेट' नेता छन्, एमाले महासचिव ईश्वर पोखरेल । विगतमा नरहरि आचार्यसँग पराजय भोगेका पोखरेल यसपटक नतिजा पक्षमा पार्ने दाउका साथ उम्मेदवार बनेका छन् । त्यस क्षेत्रमा उनका प्रतिस्पर्धी छन्, कांग्रेसका डा. प्रकाशशरण महत ।

माओवादी प्रवक्ता पम्फा भुसालको ललितपुर-३ मा परेको उम्मेदवारीले पनि उपत्यकाको चुनाव रोचक बन्ने देखिन्छ । राजनीतिक दलले प्रायः महिलालाई टिकट नदिलाएको र टिकट पाए पनि निर्वाचन लड्न डराइरहेका बेला भुसालले भने प्रत्यक्षमै टिकट दिन पार्टीसँग आग्रह गरेकी थिइन् । ‘मजत्तिको मान्छेले प्रत्यक्षमै आँट गर्नुपर्छ, त्यही भएर प्रत्यक्षमै उम्मेदवारी दिएको छु,' उनले भनिन् । उनी २०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

काठमाडौं- १ मा यसपटकको निर्वाचनमा नयाँ ‘सेलिब्रेटी' पनि उम्मेदवारको रूपमा देखिएका छन्, पत्रकार रवीन्द्र मिश्र । विवकेशील साझा पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका छन् । बीबीसीको जागिर छाडेर राजनीतिमा आएपछि उनको राजनीतिक आगमनको पनि चर्चा सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.