उल्लासपूर्ण मनोनयन, कसले मार्ला बाजी ?

उल्लासपूर्ण मनोनयन, कसले मार्ला बाजी ?

काठमाडौं : दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार उल्लासका साथ उम्मेदवारी दर्ता भएको छ। दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार उम्मदेवारको मनोनयनपत्र दर्ता शान्तिपूर्वक सम्पन्न भएको हो।

डडेलधुरामा दलहरूले शान्तिपूर्ण वातावरणमा बाजागाजासहित मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला नआए पनि वारेसनामा पाएका गणेशप्रसाद पन्तले उनको उम्मेदवारी दर्ता गराए। देउवा गृहमन्त्री हुँदा स्वकीय सचिव भएका पन्तले उनको उमेदवारी दर्ता गराएको कांग्रेस डडेलधुराले जनाएको छ।

 वाम गठबन्धनपछि एमाले र माओवादी केन्द्रका तर्फबाट संयुक्त उम्मेदवारी परेको छ भने कांग्रेस, जनमोर्चा, नेपाल दलित पार्टीलगायत दलले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसबाट प्रतिनिधिसभाका लागि देउवाको उम्मेदवारी वारेसनामाबाट दर्ता भएको हो। प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा पूर्वजिल्ला सभापति रघुवर भट्ट र २ मा जिल्ला सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराए। देउवाले डडेलधुराबाट निरन्तर जित्दै आएका छन्। उनले २०४८, २०५१, २०५६ ,२०६४ र २०७० का निर्वाचनमा निरन्तर विजयी हासिल गरेका हुन्। उनी यसपटक डडेलधुराबाट छैटौं पटक चुनावी मैदानमा छन्।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको उम्मेदवारी परेको छ। प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा एमालेका पठानसिंह बोहरा र २ मा एमालेकै जिल्ला अध्यक्ष डा. तारा जोशीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यथार्थ पार्टी र नेपाल दलित पार्टीका तर्फबाट पनि दुवै निर्वाचनका लागि मनोनयन दर्ता भएको छ। कर्णबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रशाद रिजालले जानकारी दिए। ठूला दल कांग्रेस एक्लै लडिरहेको छ भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन छ।

बर्दियामा उल्लासपूर्ण

बर्दियामा वाम र लोकतान्त्रिक गठबन्धनबाट चार शीर्ष नेताले उम्मेदवारी दिएका छन्। दुई गठबन्धनसहित नेमकिपा, जनमोर्चा, नयाँ शक्ति, राप्रपा, दलित पार्टी, संघीय समाजवादी फोरम, नेकपा क्रान्तिकारी माओवादी र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस जिल्ला सभापति एवं सिँचाइमन्त्री सञ्जयकुमार गौतमले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (१) मा कांग्रेसबाट सोदे विष्ट, वाम गठबन्धनबाट कविराम थारू, स्वतन्त्रबाट विश्वेश्वर यादवलगायतको उम्मेदवारी परेको छ। (२) मा कांग्रेसबाट मंगल थारू, माओवादी केन्द्रका तिलक शर्मालगायतले उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपाल दहित, माओवादी केन्द्रबाट सन्तकुमार थारू, राष्ट्रिय जनमोर्चाबाट रतन राउत, नेमकिपा चोलाराम चौधरी, नयाँ शक्तिबाट मोहनलाल थारूले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ (१) मा कांग्रेसबाट रामचन्द्र थापा, वाम गठबन्धनबाट कुलप्रसाद पोखरेल, नयाँ शक्तिबाट विश्वनाथ पाण्डेलगायत उम्मेदवार छन्। प्रदेशसभा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट नाचुराम थारु, वामगठवन्धनबाट दिपेश थारु, नयाँशक्ती पार्टीबाट चनक बहादुर थारु, राष्ट्रिय जनमोर्चाबाट शिव उपाध्यायले उम्मेद्वारी दर्ता गराएका छन्।

सुनसरीमा शान्तिपूर्ण

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा पनि शान्तिपूर्वक उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र नम्बर ३ र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। एमाले केन्द्रीय सचिव भीम आचार्यले प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (२) उम्मेदवारी दर्ता गराएका छन्। संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको उम्मेदवार क्षेत्र नम्बर १ मा परेको छ। राईले कांग्रेसको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। गच्छदार यसअघि पनि क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएका थिए।

एमाले र माआवोदी केन्द्रका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका जयकुमार राईले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका डम्बर सुवेदी, ३ मा एमालेकी भगवती चौधरी र ४ मा एमालेका रमेश श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। संघीय समाजवादी फोरमकै तर्फबाट क्षेत्र नम्बर २ मा तेजनारायण चौधरी र ३ मा पदम अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्तापछि उपप्रधानमन्त्री गच्छदारले निर्वाचनपश्चात् वाम गठबन्धन चकनाचुर हुने बताए। कांग्रेस १ नम्बर पार्टी बन्ने उनको दाबी थियो। एमाले केन्द्रीय सदस्य जगदीश कुसियतले एमाले ठूलो पार्टी बन्ने दाबी गरे। संघीय समाजवादीका राईले आफू परिवर्तनका लागि कांग्रेसको समर्थनमा उम्मेदवार बनेको बताए।

तामझामसाथ मनोनयन

सिन्धुलीमा कांग्रेस र वाम गठबन्धनका साथै साना दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। बिहानैदेखि जिल्ला सदरमुकाममा जम्मा भएका नेता तथा कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका नेता तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत पुण्येश्वरप्रसाद उपाध्यायका अनुसार वाम गठबन्धनबाट एमाले र माओवादी केन्द्रले निर्वाचन क्षेत्र बाँडफाँट गरी र कांग्रेसले एक्लै उम्मेदवारको नाम दर्ता गराएका छन्।

कांग्रेसबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा प्रेमचन्द्र दाहाल र २ मा नरेन्द्रजंग थापाले मनोनयन दर्ता गराएका छन्। वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद गणेश पहाडी र २ मा निवर्तमान सांसद हरिबोलप्रसाद गजुरेलले उम्मेदवारी दिएका छन्। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारीसमेत परेको छ। नेता हरिबोल गजुरेलविरुद्ध गणेश बुढाथोकीले मनोनयन दर्ता गराएका हुन्। प्रदेशसभाका उम्मेदवार लेखनाथ दाहालविरुद्ध दिलबहादुर विकले मनोनयन दर्ता गराएको स्रोतले जनाएको छ। बुढाथोकी र विकको नाम समानुपातिकमा सिफारिस भए पनि बन्दसूचीमा नपरेपछि बागी उम्मेदवारी दिएको उनीहरूले जनाएका छन्।

कैलालीमा उम्मेदवारी

कैलालीमा पनि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवाले क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छन्। वाम गठबन्धनबाट नारदमुनि रानाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट लेखराज भट्ट अनि कांग्रेसबाट सुनीलकुमार भण्डारीको उम्मेदवारी दर्ता भएको छ। क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट गौरीशंकर चौधरीको उम्मेदवारी परेको छ। कांग्रेसले रामजनम चौधरीको मनोनयन दर्ता गराएको छ। क्षेत्र नम्बर २ मा एमाले छाडेर कांग्रेस प्रवेश गरेका मोहनसिह राठौरले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् भने वाम गठबन्धनबाट झपट रावलको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा कांग्रेसबाट ईश्वरी न्यौपाने र वाम गठबन्धनबाट मदनकुमारी शाह (गरिमा शाह)को मनोनयन दर्ता भएको छ।

पाल्पामा १० दलको उम्मेदवारी

पाल्पामा वाम गठबन्धनसहित १० दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा पूर्वमन्त्री दलबहादुर राना र २ मा पूर्वमन्त्री नै सोमप्रसाद पाण्डेले मनोनयन दर्ता गराए। कांग्रेसबाट क्षेत्र नम्बर १ मा विजय घिमिरे र २ मा हरिप्रसाद नेपालले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपा (प्रजातान्त्रिक)ले मनोनयन दर्ता नगरी कांग्रेसलाई समर्थन गर्ने भएको छ।

प्युठानबाट पोखरेल

प्युठानमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र कांग्रेसबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्। मालेबाट प्रतिनिधिसभाका लागि माधवसिंह केसीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गुल्मीमा प्रदीप, गोकर्ण र चन्द्र

गुल्मीमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वाम गठबन्धन र कांग्रेसका केन्द्रीय नेताहरूसहित अन्य दलका उम्मेदवारले बाजागाजासहित मनोनयन दर्ता गराएका हुन्। प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नम्बर २ मा एमालेकै केन्द्रीय सचिव गोकर्ण विष्टले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट चन्द्र केसीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

इलाममा एमालेका शीर्ष

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका एमाले वरिष्ठ नेता झलनाथ खनालले देश ऐतिहासिक घडीमा रहेको उल्लेख गर्दै संविधान कार्यान्वायनमा सहभागी हुनका लागि उम्मेदवारी दिएको बताए। जनताको इच्छाअनुसार नै उम्मेदवारी दिएको उनको भनाइ थियो। खनालसँग प्रतिस्पर्धा गर्न लागेका कांग्रेसका भूपेन्द्र कट्टेलले ६ पटक निर्वाचनमा उठेर चारपटक जितेका खनालले आफ्नो क्षेत्रमा खासै काम नगरेकाले जनताले आफूलाई मतदान गर्ने दाबी गरे।

क्षेत्र नम्बर २ मा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मनोनयन दर्ता गराएका छन्। नेम्बाङले मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै संविधान निर्माणमा आफूले नेतृत्व गरेका कारण जनताले यसपटक पनि संविधान कार्यान्वयनमा भूमिका खेल्न अवसर प्रदान गर्ने बताए। नेम्बाङसँग भिड्न कांग्रेसबाट केशव थापाले मनोनयन दर्ता गराएका छन्। उनले नेम्बाङको नेतृत्वमा २० वर्षमा नभएको विकास दुई वर्षमा गरेर देखाउने दाबी गरे। संघीय समाजवादी फोरम, नयाँ शक्ति, विवेकशील साझा पार्टीलगायतले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभामा सात उम्मेदवार

धनकुटामा शान्तिपूर्वक उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिसभा सदस्यका लागि वाम र लोकतान्त्रिक गठबन्धनसहित सात जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। वाम गठबन्धनबाट एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उद्योगमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री सुनीलबहादुर थापाले उम्मेदवारी दिएका हुन्।

अर्घाखाँचीमा महिला उम्मेदवार शून्य

अर्घाखाँचीमा महिला उम्मेदवार शून्य भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि १० दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराए पनि महिला नपरेका हुन्। प्रतिनिधिसभातर्फ कांग्रेसबाट डा. रामबहादुर बीसी, माओवादी केन्द्रबाट टोपबहादुर रायमाझी, जनमोर्चाबाट शेरबहादुर बीसी, नयाँ शक्तिबाट छन्द पन्थीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।

सर्लाहीमा शान्तिपूर्वक

सलाहीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठ क्षेत्रमा मनोनयन दर्ताको काम सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका ध्रुव गौतम, कांग्रेसका शम्भुलाल श्रेष्ठ र राजपाका प्रमोद साहले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय, राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय, वाम गठबन्धबाट दिनेश यादवको उम्मेदवारी दर्ता भएको छ। क्षेत्र नम्बर ३ मा कांग्रेसका हरेश महतो, माओवादी केन्द्रका रामेश्वर राय अनि फोरमका अशोक सिंह कोइरीले उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर ४ मा कांग्रेसका अमरेशकुमार सिंह, माओवादी केन्द्रका शिवपुजन राय अनि राजपाका राकेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।
अन्तिम समयमा टिकट नपाएपछि वाम गठबन्धन र राजपा-फोरम गठबन्धनका नेताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रका केदार खत्रीले क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन्। लालबहादुर माझी क्षेत्र नम्ब १ को (१) मा उम्मेदवार बनेका छन्। राजपाका सञ्जय रौनियार पार्टीबाट टिकट नपाएपछि अन्तिम समयमा नयाँ शक्तिबाट क्षेत्र नम्बर २ को (२) बाट उम्मेदवार बनेका छन्।

अछाममा २३ को उम्मेदवारी

अछाममा एक स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी परेको छ। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ६ पदका लागि एक स्वतन्त्रसहित सात दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारी दिनेमा क्षेत्र नम्बर २ को (१) कर्णबहादुर बुढा छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनबाट एमालेका उपाध्यक्ष भीमबहादुर रावल, कांग्रेसबाट भरतकुमार स्वाँर र नेकपा क्रान्तिकारी माओवादीबाट शिवसुन्दर शाहीले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नम्बर २ मा चार जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनबाट यज्ञ बोगटी, कांग्रेसबाट पुष्पबहादुर शाह, नेमकिपाबाट झंकरबहादुर शाही र नयाँ शक्तिबाट तीर्थराज ढकालले मनोनयन दर्ता गराएका छन्।

बारामा पनि शान्तिपूर्वक

दलहरूले बाराको कलैया पुगेर बिहीबार शान्तिपूर्वक मनोनयनपत्र दर्ता गराएका छन्। एमाले र माओवादी केन्द्रको वाम गठबन्धन, कांग्रेस, राजपा र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनले मनोनयन दर्ता गराएका हुन्। वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमालेका अच्युत मैनाली, २ मा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, ३ मा एमालेका अध्यानन्द पाण्डे र ४ मा एमालेका देवनारायण चौधरीले उम्मेदवारी दिएका हुन्। कांग्रेसबाट क्षेत्र नम्बर १ मा उमाकान्त चौधरी, २ मा राधेचन्द्र यादव, ३ मा श्रममन्त्री फरमुल्लाह मन्सुर र ४ मा लालबाबु सिंहको उम्मेदवारी परेको छ। राजपा र संघीय समाजवादी फोरमको गठबन्धनबाट क्षेत्र नम्बर १ मा रामकिशोर यादवले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर २ मा फोरमका रामसहाय यादव, ३ मा फोरमकै रामबाबु कुमार यादव र ४ मा राजपाका रामएकवाल मियाले उम्मेदवारी दिएका छन्।

बनेन लोकतान्त्रिक गठबन्धन

कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच लोकतान्त्रिक गठबन्धन बनाउन अन्तिम समयसम्म छलफल चले पनि अन्ततः वार्ता विफल भएको छ। तीनै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रमा तालमेल नमिले पनि सिरहामा तालमेलको प्रयास भएको थियो। कांग्रेस सिरहा सभापति रामचन्द्र यादवका अनुसार जनकपुरमा विमलेन्द्र निधिलाई राजेन्द्र महतोले सिट नछाडेका कारण मधेसवादी दलसँगको तालमेलको सम्भावना समाप्त भएको हो।
बिहान करिब ११ बजे सिरहा क्षेत्र नम्बर ४ को (१) मा पलासदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि मनोनयन प्रक्रिया सुरु भएको थियो। कांग्रेस नेता प्रदीप गिरीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। अन्य चार निर्वाचन क्षेत्रको पनि उम्मेदवारी शान्तिपूर्वक दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

लामा कांग्रेसबाट उम्मेदवार

डनका रूपमा चिनिँदै आएका गणेश लामाले काभ्रेको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (२) मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। यहाँ कांगे्रसले एकल र वाम गठबन्धनबाट एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन्। कांगे्रसबाट क्षेत्र नम्बर १ मा तीर्थ लामा र २ मा मधुप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका गंगाबहादुर दोङ र २ मा एमालेका गोकुल बाँस्कोटाले उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका लागि १ मा १८ र २ मा १२ जनाले उम्मेदवारी दिएका छन्।

धनुषा पुगे महतो

धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मनोनयन दर्ता गराएका छन्। दोस्रो संविधानसभा निर्वाचनमा गृहजिल्ला सर्लाहीबाट पराजित भएका महतो यसपटक धनुषा पुगेपछि चर्चा चल्न थालेको छ। वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामसिंह यादवले उम्मेदवारी दिएका छन्।

उक्त क्षेत्रमा २९ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा कांग्रेसका आनन्दप्रसाद ढुंगाना, फोरम-राजपा गठबन्धनबाट दीपक कार्की र वाम गठबन्धनबाट मातृका यादवले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर २ मा कांग्रेसबाट रामकृष्ण यादव, राजपा-फोरम गठबन्धनबाट उमाशंकर अरगरिया र वाम गठबन्धनबाट रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेन्द्र यादव, फोरम-राजपा गठबन्धनबाट महाजन यादव र वाम गठबन्धनबाट रघुवीर महासेठको उम्मेदवारी परेको छ।

नवलपरासीबाट शशांक र हृदयेश

नवलपरासीमा दुई केन्द्रीय नेताले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। बर्दघाट सुस्तापूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएको नवलपरासीपूर्व (नवलपुर क्षेत्र)को क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। पश्चिम (परासी क्षेत्र) क्षेत्र नम्बर १ मा स्वतन्त्र राजनीतिक समूहबाट ह्दयेश त्रिपाठीको उम्मेदवारी परेको छ। त्रिपाठी सूर्य चिन्हबाट उम्मेदवारी दर्ता गराउन एमालेका कार्यकर्तासहित परासी सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

राजपाबाट अलग भएका त्रिपाठीको प्रतिस्पर्धामा कांग्रेसका देवकरण जयसवालले उम्मेदवारी दर्ता गरेका छन्। त्रिपाठी यसअघिको संविधानसभा निर्वाचनमा जयसवालसँग पराजित भएका थिए। उक्त क्षेत्रबाट राजपाले पनि उम्मेदवारी दिएको छ। कांग्रेस महामन्त्री काइरालाले कावासोतीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। कोइरालाको प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले उम्मेदवारी दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.