कांग्रेस लोकतन्त्र विरोधी : ओली
दमक : एमाले अध्यक्ष केपी शर्मा ओली गृहनगर दमकमा आएर कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले कांग्रेस लोकतन्त्र बिरोधी रहेको बताए ।कांग्रेसले विकास र समृद्धि कहिले नचाहेको उनको आरोप थियो । सरकारमा बसेर आफै निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै ओलीले देउवाप्रति आक्रोश व्यक्त गरे ।
शुक्रबार प्रेस चौतारी जिल्ला कमिटी झापाले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘आचारसंहिता पालना भए नभएको सरकारले हेर्नुपर्ने उल्टो सरकार नै आचारसंहिता विपरीत काम गरिरहेको छ ।' शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु सरकारको दायित्व रहेको उनको भनाई थियो । लोकतन्त्रको उर्दी लाएर मात्र नहुने बताउदै उनले भने- ‘लोकतन्त्र कसैले लाउने नारा होइन, यो त एउटा जिवन हाक्ने पद्धती हो ।' लोकतन्त्रको मसिहा ठान्ने कांग्रेस आफै लोकतन्त्रबिरोधी काममा तल्लिन रहेको उनको आरोप थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि बाम गठबन्धनको बहुमतको सरकार बन्ने ओलीले दाबी गरे । उनले अब बन्ने स्थिर सरकारले विकास तथा समृद्धिको ढोका खोल्ने बताए । बहुमतको सरकारले संबिधानको पूर्ण कार्यन्वयन समेत गराउने उनको दाबी थियो । उन्नति र प्रगतिका लागि संबिधान कार्यन्वयन प्रमुख कुरा रहेको बताउदै ओलीले अब बिस्तारै मुलुक समृद्धितर्फ उन्मुख हुदै गएको बताए । देश बनाउन संकल्प चाहिने भन्दै उनले त्यो संकल्प एमालेसँग रहेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय अनुशासन कमिटीका सदस्य अर्जुन राईले सुशासन, विकास र स्थानीय कानुन कार्यन्वयनका लागि आफूले क्षेत्र नम्बर ५ को प्रदेशसभा तर्फको उम्मेद्धारी दिएको बताए ।