सर्वसाधारणको पहुँचबाहिर कफी
कफीसँग तपाईंको सम्बन्ध कस्तो हो ?
- कफीसँग पुरानै सम्बन्ध हो । समाचार, संवाद, साथीभाइसँगको भेटघाट सबै कतै न कतैबाट कफीसँग जोडिन पुग्छ ।
कफीसँग कसरी प्रेम पर्यो ?
- पत्रकारिताको दौडधुपसँगै कफीको लत बस्न थालेको हो । यसको श्रेय कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायलाई जान्छ । उहाँले कालो कफीको लत बसाइदिनुभयो । यो सन् १९९० को दशकका सुरुवाती वर्षहरूको प्रसंग हो । त्यतिबेला काठमाडौंमा अचेलका जस्ता कफी स्टेसनहरू बनिसकेका थिएनन् । रेडिमेड धुलो कफीलाई दूध चिनीसँग मिसाएर खाइन्थ्यो । काठमाडौंमा कफी स्टेसनहरू खुल्न थालेपछि कफीको अर्गानिक स्वादको पारखी भइयो ।
कफी स्टेसनमै बसेर खानुको मज्जा के हो ?
- कफी र चियामा फरक छ । कफीले मानसिकता नै फेरिदिन्छ । कफी हतारमा खाने होइन । कफी चिन्तन, छलफल, बहससँग जोडिन्छ । क्याफेको वातावरण त्यसैगरी बनाइएको हुन्छ । कफीको वातावरण नै आरामदायक हुन्छ ।
काठमाडौंमा कफीको संस्कृतिको विकासलाई कसरी हेर्नुभएको छ ?
- काठमाडौंमा कफी फेसनको रूपमा विकास भइरहेको छ । हरेक राम्रा गल्लीको सुरु वा पुछारमा क्याफेहरू खुलेका छन् । क्याफेहरू अहिले सहरका शोभा बनेका छन् । कफी पसल, कफी बनाउने मेसिन, कफी मगहरूको सजावट आदिले सहरको सौन्दर्य बढाएको छ । अहिले काठमाडौंको पहिचानसँग कफी जबर्जस्त रूपमा जोडिएको छ ।
पब्लिक स्पेसको रूपमा क्याफेहरू कत्तिको विकास भइरहेका छन् ?
- क्याफेहरू अझै पब्लिक स्पेस बन्न सकिरहेका छैनन् । यसमा कफीको दरले असर पारेको छ । कफी महँगो छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर छ । कफी अलि बढी एलिटहरूको नजिक छ । यसलाई आम सर्वसाधारणको पहुँचमा पुर्याउन शुल्क घटाउनुपर्छ । शुल्क घटाउन सकिन्छ किनभने काठमाडौंमा कृत्रिम महँगी सिर्जना गरिन्छ । घरभाडादेखि सबथोकको दर अनावश्यक महँगो बनाएकाले कफी पनि महँगो हुन पुगेको हो ।
क्याफेमा कत्तिको समय बिताउनुहुन्छ ? तपाईंका प्रिय क्याफे कुन हो ?
- दिनको एक-डेढ घण्टाका लागि भए पनि क्याफेमा पुगेकै हुन्छु । पहिले ठमेलमा रहेको ‘हिमालयन जाभा’मा धेरै जान्थेँ । अहिले पुल्चोकको ‘फलानो’ कफी घरमा पनि प्रायः जान्छु । त्यसो त पायक पर्ने कुनै पनि क्याफेमा जान्छु ।