अभिनेत्रीका क्याफे
काठमाडौं : अभिनेत्री बेनिशा हमाल केही समय अघिसम्म कसैसँग मिटिङ गर्नुपर्यो भने ‘कहाँ बोलाऊँ' भनेर सोचमग्न हुन्थिन् । विकल्प धेरै भएर होइन, विकल्प नभएर । कि त सिटी सेन्टरको ‘जाभा' कि लाजिम्पाटस्थित ‘एलई' । उनलाई पायक पर्ने हिसाबले यी दुईबाहेक विकल्प रहँदैनथ्यो ।
आफ्नो पायक पर्ने, भेटघाट गर्न सजिलो हुने ठाउँ भेट्नै मुस्किल हुन्थ्यो । यही भोगाइले उनलाई कफी सप खोल्न घच्घच्यायो । थाहा पाइन्, उनी सधैं जिम गर्न जाने सिनमंगलस्थित फिटनेस सेन्टर छेउमा रहेको क्यान्टिन बिक्रीमा रहेछ । आफ्नो बजेट अनुसारको भएकाले खरिद गरिहालिन् । एक महिनाजति भयो, ‘लाला' क्याफे सञ्चालनमा आएको । यसको औपचारिक उद्घाटन भने भएको छैन ।
अझै थुप्रै काम बाँकी छन्, पूर्ण रूपमा व्यवस्थापन भइसकेको छैन ।क्याफेमा कन्टिनेन्टल र इटालियन खानाका परिकार राख्ने योजना छ उनको । नियमित पाइने परिकारमा केही फरकपन मिसाएर सर्भ गर्नेबारे पनि योजना बनिरहेको छ । पुरानै शैलीको क्याफे खोलेर केही अर्थ हुँदैन । कस्टमरलाई केही भिन्न सर्भ गर्न सक्नुपर्छ । अहिले उनी कस्टमर र स्टाफको सन्तुष्टिमा बढी ध्यान दिइरहेकी छन् । सुटिङ नभएका बेला उनलाई क्याफेले नै व्यस्त बनाएको छ । साथीहरू आउँदा आफैं कफी बनाउँछिन्, सर्भ पनि गर्छिन् । कलेज नजिक भएर होला, क्याफेमा युवा नै बढी आउने गरेको उनी बताउँछिन् ।
अभिनय आफ्नो ठाउँमा छ । पहिलेदेखि उनको चाहना रेस्टुरेन्ट व्यवसायी बन्ने थियो । भनिन्, ‘यति छिटो होला भन्नेचाहिँ सोचेकी थिइनँ ।' नेसनल जियोग्राफी, टीएलसी लगायतका टेलिभिजन च्यानलमा पनि रेस्टुरेन्ट रिभ्यु हेर्ने गर्थिन् । अहिले सानो लगानीमा व्यवसायीका रूपमा यात्रा सुरु गरेकी छन् । अहिले क्याफे केवल टेस्टका लागि रोजिँदैन । राम्रो वातावरण खोज्नेहरूको रोजाइमा क्याफे पर्ने गरेको छ । बेनिशा भन्छिन्, ‘टेस्टसँगै गुड फिल हुनुपर्छ ।' कफीका पारखीले स्वाद त चिनिहाल्छन्, त्योसँगै राम्रो वातावरण क्याफेको विशेषता भएको उनी बताउँछिन् ।
अभिनेत्री श्वेता खड्काले हिमालयन जाभाको फ्रेन्चाइज नै लिएर कफी सप सञ्चालन गरेकी छन् । कमलादीस्थित राइजिङ मलको हिमालयन जाभामा उनको व्यावसायिक जीवन देख्न सकिन्छ । चलचित्र होस् या व्यवसायसम्बन्धी भेटघाट प्रायः उनी यहीँ आयोजना गर्ने गर्छिन् । उनलाई भेट्न जानेहरूलाई पनि दसतिरको लोकेसन सोचिरहने झन्झट रहेन ।
अभिनेत्री कृति भट्टराई बिजुलीबजारस्थित ‘एसप्रेसो कफी सप'मा व्यस्त भेटिन्छिन् । उनको व्यावसायिक यात्राले राम्रो बाटो समाइरहेको छ । क्याफे पब्लिक फिगरलाई पब्लिकबाट टाढा हुन नदिने व्यवसाय हो । सधैंका मिटिङलाई निरन्तरता दिँदै व्यवसाय अघि बढाउन सकिन्छ । प्रायः कफीका सोखिनहरूको गन्तव्य हुने भएकाले क्याफेमा विचार मन्थन गर्नेहरूको आवतजावत हुन्छ । त्यसैले पनि हुन सक्छ, अभिनेत्रीहरूले आफ्नो स्ट्यान्डर्डलाई ध्यानमा राखेर नै यो व्यवसाय रोजेका ।