बढ्दैछन् कफीका पारखी
नारायणगढ पुल्चोकको ‘दि ब्रिज क्याफे’मा एक विदेशी नागरिक पसे । सजिलै कफी–क्याफे नभेटेका, कफी खान आतुर उनले कफीको मेसिन देख्नेबित्तिकै त्यसलाई ढोग्दा क्याफेका सञ्चालक रुद्र पोखरेल दंग परे ।
सानो र चिटिक्कको कफी पसलको सोचमा पोखरेलले व्यवसाय सुरु गरेका थिए । भदौबाट व्यवसाय सुरु गरेपछि पसलमा आएका ग्राहकको रुचि देख्दा ‘ठीक गरेछु’ भन्ने उनले सोचेका छन् । ३० लाखको लगानीमा उनले व्यवसाय सुरु गरे । उनले कफीसँगै बेकरी पनि राखेका छन् । उनकोमा नौ थरीका कफी पाइन्छन् । इनरुवा घर भएका उनी यसअघि मार्केटिङमा रोजगार थिए । अहिले आफैं व्यवसाय सुरु गरेका हुन् ।
चियापसल र होटेलमा सामान्य कफी पाइए पनि कफीका पारखीको स्वाद त्यसले मेटाउन सकेन । कफीको पारखीसँगै चितवनमा कफी क्याफे सञ्चालन पनि बढेको छ । तीन वर्षअघिसम्म नभएको क्याफे अहिले दर्जनभन्दा बढी खोलेका छन् ।
मेसिन नै ल्याएर भरतपुरको होटेल अशोकाले कफी क्याफे सुरु गर्दा चितवनमा कफी सप थिएन । होटेलमा आउने पाहुनालाई लक्षित गरी कफी मेसिन ल्याएर व्यवसाय सुरु गरेको होटेल सञ्चालक अशोक अधिकारीले बताए । ‘कफी मन पराउने ठूलो जमात छ’ उनले भने ‘कफीको पारखी बढ्दै गएका छन् ।’
क्षेत्रपुर फुटसल सेन्टरमा पनि कफी सप सञ्चालनमा छ । स्थानीय आकाश गुरुङले कफी सप सुरु गर्दा जिल्लामा खासै कफी सप थिएन । तर, अहिले नारायणगढमै एक दर्जनभन्दा कफी सप खुलेका छन् । आकाशले विगत दुई वर्षदेखि ‘द ब्रदर्स क्याफे’ सुरु गरेका हुन् । यस क्याफेमा बढी मात्रामा युवाहरू आउने गर्छन् । १५ लाख लगानीमा सुरु गरेको व्यवसायबाट मासिक दुई लाखको कारोबार हुन्छ ।
चितवन मेडिकल कलेजभित्रको हिमालयन जाभामा स्वदेशीदेखि, विदेशी कफी पारखीको भीड लाग्छ । कलेजको अस्पतालभित्र रहेको कोठा भाडामा लिएर कफी सञ्चालन गरिएको छ । मुख्य प्रवेशद्वारमा रहेको कफी सपमा सबैको नजर पर्छ । कफीमा रमाउन आउनेहरू बढेको क्याफेका कर्मचारी प्रथम कक्षपतीले बताए । यहाँ झन्डै ३५ थरीको कफी पाइन्छ । हिमालयन जाभामा कफी बनाउने तालिमको पनि व्यवस्था छ ।
विदेश नगई नेपालमै उदाहरणीय काम गर्ने सोचमा क्षेत्रपुरका अमित मास्के र नवलपरासी रजहरका महेन्द्रविक्रम अधिकारीले ‘लि पाराइसो’ कफी सप सुरु गरे । ‘कफीको टेस्ट बुझेकालाई कफी नभई हुन्न’ महेन्द्र विक्रमले भने ‘कफीको स्वाद बुझेकाहरू यसको स्वादमा रमाउँछन्’ । दिनहुँ १० हजार रुपैयाँको कफी बिक्री हुने गरेको उनीहरूले बताए । यहाँ कफीको पारखीलाई लक्षित गरी ४५ थरीका कफी पाइने व्यवस्था छ ।
३४ लाखको लगानीमा व्यवसाय सुरु गरेसँगै कफीको पारखी आउन थालेपछि अमित उत्साहित भएका छन् । ‘सोचेका भन्दा राम्रो छ,’ अमितले भने ‘मानिसहरू खोज्दै आउँदा खुसी लाग्छ ।’
नारायणगढको पुल्चोकमा पनि ‘इट वेल’ क्याफे सुरु भएको छ । रोजगारमा लागि अस्ट्रेलिया जाने भिसा नपाएपछि नवलपरासी गैंडाकोटका कृष्ण रिजालले पुल्चोकमा व्यवसाय सुरु गरेका हुन् । यस क्याफेमा उनले ९० लाख लगानी गरेका छन् । ‘कफीका पारखी विस्तारै बढेका छन्’, उनले भने, ‘चितवनको लागि नौलो मानिए पनि माहोल बढेको छ ।’
पर्यटकीय नगरी सौराहामा पनि कफी सपका संख्या बढेका छन् । क्षेत्रीय होटेल संघका अध्यक्षले तीन वर्षअघि ‘क्याफे डी सफारी’ सञ्चालन गरे । त्यसअघि कफीका पारखी भएका पर्यटकले कफीको स्वाद लिन पाएका थिएनन् । कफी क्याफे खुलेसँगै पर्यटक रमाउन थाले । होटेल जंगल सफारीले सौराहामा पहिलोपटक कफी सप खोलेपछि कफी पिउने पर्यटक बढ्न थाले । ‘विदेशीको चाहना बढेपछि कफी सप खोलेका हौं’, घिमिरेले भने, ‘कफीको पारखीले कफीको स्वादमा रम्छन् ।’