एमाले इमान्दार नबने गठबन्धन टुट्न सक्ने माओवादीको चेतावनी

एमाले इमान्दार नबने गठबन्धन टुट्न सक्ने माओवादीको चेतावनी

भक्तपुर: नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य देवेन्द्र श्रेष्ठले प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा एमाले इमान्दार नबने वाम गठबन्धनमै असर पर्ने चेतावनी दिएका छन्।

भक्तपुरमा वाम गठबन्धनविरुद्ध एमालेका जिल्ला सचिवले नै वागी उम्मेदवारी दिएपछि माओवादी केन्द्र भक्तपुरका इन्चार्जसमेत रहेका श्रेष्ठले उक्त चेतावनी दिएका हुन्।

 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल भक्तपुर शाखाले संयुक्त रुपमा शुक्रबार गरेको वाम गठबन्धनका उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा उनले भने, ‘वाम गठबन्धन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकतासम्मको लागि भएको हो। त्यसैले गठबन्धनअनुसार एमालेले इमानदारी नदेखाए यसले भक्तपुरमा मात्रै होइन, सिंगो गठबन्धनमै असर गर्ने निश्चित छ।'

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गतको प्रदेश क मा माओवादीबाट भक्तपुर जिल्ला संयोजक देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरेको थियो तर उक्त गठबन्धनविरुद्ध एमालेको तर्फबाट छुट्टै जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो । लामिछानेको उम्मेदवारी दर्ता गर्न एमालेले पार्टीको आधिकारिक पत्रमात्रै दिएन, एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र आफै प्रस्तावक बनेका थिए । त्यस्तै एमाले प्रदेश कमिटीका पदाधिकारी मोहनवीर श्रेष्ठले समर्थन गरेका छन्।

उक्त प्रदेशमा भएको चाँगुनारायण नपामा स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयरसँगै चार वटा वडामा अध्यक्ष जितेकाले प्रदेशमा पनि एमाले नै जित्ने निश्चित हुँदाहुँदै उक्त क्षेत्रको उम्मेदवार माओवादी केन्द्रलाई दिएको विरोधमा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको थियो।
एमाले भक्तपुरका नेता तथा कार्यकर्ताहरु बाजागाजासहित लामिछानेको उम्मेदवारी दर्ता गर्न पुगेका थिए। त्यस्तै एमालेकै चाँगुनारायण नपाका पूर्वअध्यक्ष रमेश बुढाथोकीले समेत उक्त प्रदेशबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

अधिकांश एमालेले नेता तथा कार्यकर्ताहरुले वाम तालमेलका उम्मेदवार देवीप्रसाद ढकालको भन्दा वागी उम्मेदवार हरिशरण लामिछानेलाई नै आधिकारिक उम्मेदवारको रुपमा प्रचारप्रसार गर्न थालेपछि माओवादी केन्द्र भक्तपुरले एमाले जिल्ला नेतृत्वलाई दबाब दिएको हो। जुन दबाबस्वरुप प्रेस चौतारीले वाम गठबन्धनका उम्मेदवारहरुसँगको साक्षात्कार कार्यक्रममा वागी उम्मेदवार लामिछानेलाई समेत अतिथि बोलाएका थिए तर उक्त कुराको सुइको पाएपछि माओवादी केन्द्रका उम्मेदवार तथा नेताहरुले उक्त कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिएपछि निर्धारित समयभन्दा करिब दुई घन्टा ढिलो गरी कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा प्रेस चौतारीले हरिशरण लामिछाने स्वास्थ्यको कारण कार्यक्रममा सहभागी हुन नसकेको जानकारीसमेत दिएका थिए। कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज श्रेष्ठले एमालेलाई इमानदार बन्न चेतावनी दिएपछि एमालेका नेता एवं वाम गठबन्धनबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले कार्तिक १९ गतेभित्र सबै कुरा टुंगिने स्पष्टीकरण दिए।

निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार कार्तिक १९ गते उम्मेदवारी फिर्ता लिने तथा उम्मेदवारहरुको् अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ।
नेता बस्नेतले उम्मेदवारी फिर्ता हुने भनेर स्पष्ट भाषामा नभने पनि अहिलेको शंका उपशंका हट्ने जानकारी दिए।

कार्यक्रममा नेता बस्नेतसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनको लागि माओवादी केन्द्रबाट उम्मेदवारी दिने मिलन सुवाल, क्षेत्र नं १ को प्रदेश क मा उम्मेदवारी दिने माओवादी केन्द्रका डीपी ढकाल तथा निर्वाचन क्षेत्र नं २ को प्रदेश क र ख मा एमालेबाट उम्मेदवारी दिने क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले दिगो शान्तिसँगै राजनीतिक स्थायीत्वको लागि आफूहरुको उम्मेदवारी भएको सुनाए। उनीहरुले यसपटक आफूहरुले जितेर भक्तपुरमा नयाँ इतिहास रच्ने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.