साथीको आँखामा साथी: नारायण एक वर्णपट

साथीको आँखामा साथी: नारायण एक वर्णपट

उसका बारे धेरै लेखिनुपर्ने हो, तर लेखिँदै छैन । मूलपानीका जोतिषबाजेको जेठो छोरा, काँठका पाका भलाद्मीहरूको नारान, स्कुलका मास्टरहरूको नारान् सर्, भूमिगतकालको कमरेड मुक्ति, खुलाकालको जिविस उपसभापति ढकाल सर्, ‘दृष्टि' र ‘प्रतिपक्ष'को डिजुरे सम्पादक नारान् दाइ, ‘लहर'कोे डी फ्याक्टो प्रकाशक, काठमाण्डू नम्बर एकको माननीय सांसद, एमालेमा आएको विभाजनपछि तेस्रो धारको पैरवीकर्ता । त्यसपछि शुद्ध लेखक ।
यो बहुरूपी नारायण ढकालको कथा लेख्न बाँकी नै छ ।

 स्वयं एक अब्बल गद्यकार भए पनि काकताली वा करबलले यस मुलुकको राष्ट्रपति वा प्रधानमन्त्री भएको भए अहिले बजारमा घोस्ट राइटर (प्रेतलेखक) हरूको चर्को निशानामा हुने थियो— नारायण ढकाल ।

यति लामो राजनीतिक उठापटकमा पनि त्यस्तो केही भइहालेन । धन्य हो, त्यस्ता सुरसा गद्यकारहरूबाट बच्यो नारायण । त्यसैले जिब्रो चपाएर बोल्नबाट जोगियो र त्यसैले ऊ अरू सत्पात्र–खलपात्रहरूमाथि साहसपूर्वक लेख्नसक्ने कथाकार, निबन्धकार, उपन्यासकार भएको छ । अनि कहिलेकाहीँ लेखनको गुणवत्ताको प्रसंग निस्कँदा ऊ आफैंमाथि हदै बाहिर गएर निर्मम बन्ने यत्न गर्छ । तर, मलाई थाहा छ— यो कठोर र कोमल दुइटै मानसिकतामा जीवित अद्भुत मनुष्य हो । आपत्कालीन पे्रम यतिसारो गर्छ कि मजस्ता निकट साथीभाइलाई समेत जोखिममा पारिदिन्छ ।

एकपटक खगेन्द्र संग्रौलाले मसँग उसको एक भव्य उपद्रवकोे भेद खोलेका थिए, जुन मैले पत्याउनु परेको थियो । कुनै कुरामा उनीहरूबीच चर्को विवाद भएपछि, तामसी भावोद्दीपक रसको प्रतापले, उसले कम्मरमुनिको भाग देखाइदिएको थियो रे ! तर, यो कथाले मागेअनुसार सिनेमामा नायिकाले बेडसिन दिनुअघिको रिहर्सलभन्दा बढी के हुँदो हो र ! उसले ‘खगेन्द्र दाइ' भनेर उहिल्यैदेखि सम्मान गरिआएको थियो । तर, चुडान्तमा त्यस्तो किन ग¥यो ? मैले नारायणसँग कहिल्यै सोधिनँ । सायद खगेन्द्र संग्रौलाले तत्कालीन गृह मन्त्रालयका मुखिया रामचन्द्र पौडेलले सांसद गोल्छे सार्कीलाई भगोष्टसूचक इशारा गरेझैं केही गरे हुनन् र नारायणले पनि गोल्छेले पौडेललाई थप्पड मारेझैं केही गर्दियो होला । आखिर यी दुई प्राणी पनि लेखक संसद्का सदस्य न थिए !

मलाई सँगै यात्रा गर्नुपर्दा नारायणजस्तो उपयुक्त साथी अरू कोही होला भन्ने लाग्दैन । किनभने, मैले चाहेको कुरा पाउन उसले कहिल्यै इन्कार गर्दैन । बसौं भन्यो, बसिदिन्छ । हिडौं भन्यो, हिँडिदिन्छ । म पनि त उसका प्रस्तावलाई इन्कार गर्दिनँ । किनभने हामी दुवै अतिमा विश्वास गर्दैनौं तर आत्मा मारेर हिँड्न पनि हामी दृढतापूर्वक अस्वीकार गर्छौं । यसले हामीलाई पारस्परिक सम्मानको बाटो विस्तार गराइदिएको छ । ऊ भन्छ— श्यामल आफ्नो नियतिको स्वयं निर्णायक हो, म पनि त्यस्तै हुँ । यसरी हाम्रो मैत्रीका साढे तीन दशक पुगिसकेका छन् ।

नारायण र मेरो पहिलो भेटको कुनै रोचक प्रसंगको मलाई सम्झना छैन, तर त्यस क्षणदेखि नै ऊ मेरो निकट भयो । यदाकदा सहर आउनु, नत्र गायब भइरहनु उसको दिनचर्या थियो । तर, आरम्भमा नेपाली साहित्यको यो नारायण केतु त्यति बेला अलि फरक शैलीको कथाकार थियो । केही अघिसम्म ऊ प्रेम कैदी र सन्तोष भट्टराईको खाँटी मित्र थियो । एलेन गिन्सवर्ग र राजकमल चौधरीका स्टन्ट (चर्तिकला) हरूको चर्चामा रमाउने ऊ भोको पिँढीको अनुगामी र प्रयोक्ता थियो । आफ्नो सामान्य काँठे जीवनका थोपाथोपा सुखका कल्पनालाई एकातिर पन्छाएर अराजक सिर्जनशीलताको भुंग्रोमा हुल्दै स्वयं डढिरहेको थियो ऊ । त्यही शैलीको लामो कपाल, झुसे दारी र ह्वार्लांगे पाइन्टमा गाउँसहर डुल्दै कथाका पात्रहरूको सिर्जना गरिरहेको ऊ अर्थशास्त्रमा एमए गर्दा राविसे भएर रामेछापको एउटा गाउँमा मास्टरसमेत भएको थियो ।

‘यायावरी'— नारायणको लेखनको एक महŒवपूर्ण ऊर्जा हो । अमेरिका ऊ जानैपर्ने भएर गएको हो । त्यहाँ उसको कान्छा छोरा र माइली छोरीका परिवार बस्छन् । नत्र नेपालभित्रै ऊ गइरहने केही ठाउँ छन् । आफ्नै घरनजिकको सुन्दरीजल चिसापानी, पश्चिम–दक्खिनको चित्लाङ कुलेखानी, पश्चिमको अन्नपूर्ण–माछापुच्छ«ेको सेरोफेरो र उत्तरका लाङटाङ क्षेत्र उसका नियमित गन्तव्य हुन् । पहिले उसको यात्रामा गोविन्द वर्तमान पनि सामेल हुन्थ्यो । उनीहरूले एकपटक मनाङबाट थोराङ पास छिचोलेर मुस्ताङको पदयात्रा गरेका थिए । अचेल बढीजसो शार्दुल भट्टराईसँग ऊ घुमिरहेको हुन्छ । र, यस्तो बेला उसले मलाई सम्झिरहेको पाउँछु म ।

करिब तीन वर्षअघि स्याफ्रुबेसीबाट राति नारायणले फोन गरेर भन्यो— चिन्यौ मलाई ? को बोलेको भन त ?

मलाई सम्झना छ— रातको करिब १२ बजेको थियो । यति राति फोन गरेर शयनकक्षमै हल्ला मच्चाउने अर्को कोही होइन, यो नारायण नै हुनुपथ्र्यो । कि ऊ घरबाहिर कतै साथीहरूसँग होटलमा रमाइरहेको रेशम विरही हुन सक्थ्यो । तर, रेशमलाई नेपालका हिँड्नैपर्ने दुर्गममा ऊ हिँड्दैन । यसर्थ ऊ नारायण नै हुनुपथ्र्यो । फोन नम्बर नयाँ थियो । स्वर अस्वाभाविक ढंगले बटारिएको थियो । ऊ यति बेला म मेरो परिवारसँग शान्तिपूर्वक शयनकक्षमा बसिरहेको ख्याल गर्न चाहन्न । मायाले हेप्न सक्छ । म पनि उसलाई माया गरेरै हेपिदिन्छु । मैले उत्तर दिएँ, ‘चिनिनँ, कसरी चिन्ने ? जब कि कम्युनिस्टहरूका पचासौं मुकुण्डा हुन्छन् । भन, कतिवटा मुकुण्डा च्यातेर तिम्रो सक्कली अनुहार हेरूँ ? '

ऊसँग धेरै लामो सहयात्रा गर्ने अवसर नजुटे पनि दुईचार दिन त पक्कै पनि हिँडेको छु ।

सत्ताइस वर्षअघिको कुरा हो, ऊ मेरो अति संक्षिप्त प्रकारको बिहेको जन्ती पनि थियो । राजव त्यति बेला रावाबैंक आँबुखैरेनीको शाखा प्रबन्धक थियो र ऊ त्यहीँबाट जन्तमा सामेल भएको थियो । गोपाल गुरागाईं हाम्रा प्रेस सहकर्मी थिए । उनी नारायणसँगै मेरो जन्ती थिए । व्यावहारिक व्यस्ततावश विमल निभा त्यस रोचक क्षणमा सहभागी हुन सकेनन् । तर नारायण, राजव र गोपाल निकै उत्साहका साथ मेरो वैवाहिक अनुष्ठानका साक्षी भए ।

त्यो विशेष समय थियो । पार्टी संरचनाको पत्तो कसैलाई नहुने बेला । त्यसैले पार्टीले पत्रिकामा पार्टीको नीति लागू गराउन विभिन्न नेतालाई इन्चार्ज बनाएर पठाउने गथ्र्यो । को कति बेला इन्चार्ज भएर आउँछ, सम्पादकलाई मात्र थाहा हुन्थ्यो र त्यसको योग्यता भनेकै माथिबाट आउनुलाई मानिन्थ्यो । पत्रिकामा संघर्षरत बाँकी सबैलाई त्यसको सुइँको हुन्थेन । ०४६ सालको आन्दोलनमा पनि मालेले त्यही नै ग¥यो ।

पत्रिकालाई दलभित्रका कार्यकर्तामा सीमित नगरी अत्यधिक लोकप्रिय बनाउने र लोकतान्त्रिक पक्षको अघोषित साझा पत्रका रूपमा अघि बढाउने क्रममा हामीले निकै जोखिम मोलेका थियौं । बजारबाट उत्साहप्रद नतिजा आइरहेको थियो, प्रतिदिन हजारौंहजार थान थप पत्रिका माग भइरहेको थियो । यसैबीच पार्टी हेडक्वार्टरबाट सञ्चारको वर्णमालाको ज्ञानसम्म पनि नभएका एकजना भूमिगत नेतालाई इन्चार्ज बनाएर पठाइएको थियो । नारायण र म यसबाट हतोत्साहित त थिएनौं, दिक्क भने भएका थियौं । त्यसैले नारायणले पत्रिका उनकै जिम्मा छाडेर केही दिनका लागि बिदामा बस्ने विचार ग¥यो ।
उसले एकाबिहानै मलाई भन्यो, ‘हेर, यो काइदा ठीक भएन । यो त हाम्रो प्रज्ञामाथि, आस्थामाथि र हाम्रो निर्णय क्षमतामाथि प्रश्न उठाइएको हो । दुईतीन हप्ता पत्रिका इन्चार्जकै जिम्मामा छाडेर हामी कतै गइदिऊँ ।'

मेरो अर्को स्थायी अफिस थियो, तैपनि मुलुकको विद्यमान राजनीतिक अव्यवस्थालाई फालेर म देशलाई लोकतन्त्रको मार्गमा लैजाने उद्देश्यले मात्र अहोरात्र पत्रिकालाई अवैतनिक सेवा दिइरहेको थिएँ र ‘दृष्टि'को निम्ति नारायणको सबभन्दा भरोसायोग्य सहयोगी थिएँ । भूमिगत कार्यप्रणाली, अस्तव्यस्त पारिवारिक अवस्था र धपेडीका कारण नारायण पेटको दीर्घरोगीजस्तै भएको थियो । तसर्थ ब्यानर न्युजदेखि सामयिकी, सम्पादकीयदेखि कतिपय स्थायी स्तम्भहरूलगायत डेस्क सम्पादन, आएका समाचारको प्रमाणीकरण, शुद्धाशुद्धिदेखि डमी निर्माणसम्म म आफैंले लेख्नुपर्ने र अन्तिम रूप दिनुपर्ने अवस्था आउँथ्यो । यद्यपि गोपालजीजस्ता समर्पित साथीहरू त्यहाँ नभएका होइनन्, नारायण ममाथि अलि बढी नै भर पथ्र्यो । त्यसैले म धेरैजसो ‘दृष्टि'को अहम् भूमिकामा थिएँ । एकप्रकारले डी–फ्याक्टो सम्पादक भनिदिए पनि भो ।

यस्तो अवस्थामा पारिवारिक र जीविकाका स्थायी स्रोत गुमाउने समेतको जोखिम मोलिरहेका हामीमाथि कुनै हाकिम हुनु अन्यथा नै थियो । अथवा यसो भन्नुपर्छ— यो हाम्रो क्षमता र विवेकमाथि एक डेमोकल्सको तरबार झुन्ड्याउने प्रयास भएको थियो । हामीलाई स्वेच्छाचारी बन्छन् कि भन्ने शंका गरिएको थियो वा कसैलाई त्यस सञ्चारमाध्यमबाट आफ्नो दुनो सोझ्याउनु थियो । यसो हुँदैनथ्यो भने नारायण काठमाडौं पार्टी कमिटीको सचिव भइसकेको खारिएको व्यक्ति थियो । उसले अन्यथा गर्न वा हुन दिँदैनथ्यो ।

हामी अलराउन्डर थियौं ।
विन्दिया प्रधान र अरुणा उप्रेतीलाई उत्प्रेरित गर्दै महिला स्तम्भ लेखाउनुअघिको ‘आधा आकाश'का महिला स्तम्भकार पनि हामी नै थियौं । म प्रकृति सुब्बाको नामले लेख्थेँ, नारायण रजनी थापा भएको थियो । विमल निभाको चौथो कालम या देब्रे कुनाबाहेक अन्य स्तम्भको लेखन पनि प्रेतीय थियो । म नक्षत्र शर्मा, प्रसंग उपाध्याय या विदर्भका नामबाट प्रतिहप्ता लेख्थेँ भने, ऊ विक्रम नेपाली भएर लेख्थ्यो । कतिसम्म भने रविन साय्मि कार्टुनिस्ट भएर उदाउनु धेरैअघि मैले बनाएका रेखाचित्रहरू छापिएका हुन्थे । म तत्काल ‘प्रकाश' र ‘दृष्टि'को टेबलमै स्केच गरेर ब्लक बनाउन पठाउँथे । पछिल्लो समयमा पुष्पलाल, मोहनविक्रम सिंह, मदन भण्डारी र विश्वनाथ उपाध्यायका स्केच मैले त्यसरी नै बनाएको थिएँ । ‘प्रकाश' र ‘दृष्टि'मा एउटै लेखकले एउटै अंकमा विभिन्न स्तम्भ लेख्नुपर्दा एकरसता आउने डरले हामी नयाँनयाँ शैलीको खोज गथ्र्यौं । तर, इन्चार्ज महोदय र प्रेसका अन्य सहयोगीहरूमा यस्ता गुण या त अति नै कम थिए या पूरै नदारद थिए । बस्, उनी हाकिम हुन पठाइएका थिए ।

यसबीच उसले केही अब्बल निबन्ध र कथाको सिर्जना गरेको थियो । ‘पशुपति होटल' र ‘कामरेड दीनदयाल'जस्ता कतिपय कथा त्यसै समयका उपज थिए । यो दीनदयाल हाम्रो प्रेसकै छतमा लीला गरिबस्ने अद्भुत पात्र थियो । मैले ‘देश र ब्युटी पार्लरकी सुन्दरी' शीर्षकको कविता ‘दृष्टि'को डेस्कमा बसेरै लेखेको थिएँ ।

‘दृष्टि'को सम्पादन कक्षको साम्नेमा एक ब्युटी पार्लर थियो, जसभित्र सिँगारिन आएका कलाचेतशून्य सहरी सुन्दरीहरूका चमत्कारी मुद्राहरूको अवलोकन गर्न पाइन्थ्यो । कहिल्यै ब्युटी पार्लर छिर्न नपाएको मेरा लागि त्यस्ता नितनवीन दृश्य र गतिविधि औधि रोचक थिए । खाली समयमा म सम्पादन कक्षको झ्यालमा बसेर त्यस्ता दृश्यको स्वाद लिइरहेको हुन्थेँ । पार्लरको झ्याल कहिले पूरै खुल्थ्यो, कहिले आधा बन्द हुन्थ्यो, कहिले पूरै बन्द हुन्थ्यो ।
म केही हप्तादेखि पार्लरका सुन्दर बन्ने चाहनामा विविध मुद्रा धारण गरिरहेका ग्राहक युवतीहरूका चर्तिकला हेरिरहेको थिएँ । कोही अनुहारको कालो दाग हटाउन आएका, कोही गाला सम्याउन आएका, कोही केश सजाउन आएका, कोही अनुहारमा गोरोपन थप्न आएका, कोही आशावान्, कोही विघ्नै निराश । तर, झ्यालपारि देखिने तेजिलो जवानीले तिनका लागि उत्तेजकको काम गरिरहेको हुन्थ्यो ।

मलाई यी युवतीहरू विचारशून्य, आफ्नो समाज र जीवनको यथार्थबोध नभएका खोक्रा तर चलायमान मूर्तिजस्तो लागिरहेका थिए । सहर र गाउँ विद्रोहमा उठ्तै थिए । तर, यिनलाई त्यता हेर्ने फुर्सद थिएन । तिनको सौन्दर्यचेत ऋणात्मक थियो । अतः तिनका विविध तर विसंगत भंगिमाले मभित्र कविताको बीजारोपण भइरहेको थियोे । तर, केही छिद्रान्वेषी केटाहरूलाई मेरो यो झ्याल बसाई पोलिरहेको थियो । ती आफूलाई पार्टीको इमानदार र अनुशासित कार्यकर्ता ठानिरहेका थिए र यसरी पार्लरतिर हेर्नु तिनका लागि बर्जित कर्म थियो । सम्पादक नारायण तिनै भुत्तेहरूको असली नेता थियो ।

एक दिन बिहानै म बसेकै झ्यालनिर आएर पारि हेरिरहेको मलाई सम्त्रोधन गर्दै नारायणले भन्यो, ‘हेर् श्यामल, यो पार्टी कमिटी अन्तर्गतको अफिस हो । तँ पारिका सुन्दरीहरूतिर नहेर् । कम्प्लेन आएको छ ।'

मैले उसलाई सोधेँ, ‘कम्प्लेन पारिबाट आएको थियो कि, अन्तैबाट ? तिमीले पनि कतै भेरिफाई गरेनौ ? '

उसले विस्तारै भन्यो, ‘पारितिर धेरै ध्यान नदेऊ, भइहाल्यो नि ।'

मैले भनेँ, ‘यो झ्याल नै बन्द गरिदेऊ । भित्ताबाट आँखा बाहिर जाँदैनन् नारान् ।'

त्यसपछि उसले त्यो प्रसंग झिकेन । त्यहाँ एक श्यामवर्णी सुन्दरी हरेक दिन आएर झ्याललाई केन्द्र बनाइराखेको महिनौं भइसकेको थियो । त्यसको नियमित आगमन र मेरो पार्लर हेराइलाई कल्पनाशील मालेहरूले आफू अनुकूलको अर्थ दिएका थिए । र, मलाई त्यसको राम्रै अनुमान थियो । किनभने यी कल्पनाशील तŒवहरूमा त्यस्तो केही आकर्षण थिएन, जुन मसँग थियो । यिनको कलाहीनताको मलाई राम्रै अनुभव थियो । स्वयंले मसँग भन्न नसकेर तिनले नारायणलाई गुहारेका थिए ।

केही महिना बितेपछि पत्रिकाले मेरै कविता छाप्न चाह्यो । अर्थात् कलाचेतशून्य नाराहरूलाई कविता भनेर प्रकाशनार्थ पठाइएको डंगुरमा यस हप्ताका लागि छाप्नलायक एउटै प्रेषण थिएन । नारायणले उसो त कविता छानेर छाप्ने जिम्मा मलाई नै दिएको थियो । यसपटक तिम्रै कुनै नयाँ कविता छापौं भन्यो । र, मैले त्यही कविता दिएपछि उसले भन्यो, ‘बल्ल तिमीले पारि हेरेको बुझियो ।' मेरो मित्र कथाकार नारायण ढकालसँगका यस्ता हजारौं प्रसंग लेख्न बाँकी रहनेछन् । मलाई विश्वास छ तिनको समय आउनेछ ।

तर, नारायणमाथि पनि हाकिम ल्याइएको थियो, जसको क्षमता उसका तुलनामा दुई हजार गुना तल थियो । त्यो स्वाङ गर्न सक्तथ्यो तर कलारचना गर्न सक्तैनथ्यो । त्यो घटनाविशेषको चर्चा गर्न सक्तथ्यो, समाचार बनाउन सक्तैनथ्यो । त्यो प्राव्दा वा बेजिङ रिभ्युको नाम लिन त सक्थ्यो, तर तिनको भाषा वा कन्टेन्टमा छिर्न उसलाई या गोरेबहादुर या श्यामलको जरुरत पथ्र्यो । त्यसैले ऊ हाकिम हुनलायक थिएन । तर, हेडक्वार्टरले उसलाई त्यही बनाएर पठाएको थियो, जुन ऊ स्वयंले हुन मिल्दैनथ्यो । विवेक क्षयीकरणको साक्ष्य बनेको थियो ऊ ।

अनि नारायणले हामी दुवैजना केही समयका लागि गायब भइदिने प्रस्ताव ल्याएको थियो । मैले सहज भावुकतावश उसको प्रस्तावलाई स्वीकारेको थिएँ । म फोर्स लिभमा रहनुपर्ने बेला थियो, नारायण केही समय काठमाडौं र पत्रिकाको झ्याउलाबाट मुक्त हुन चाहन्थ्यो ।

त्यस दिन कालीमाटीको एक रेस्टुरेन्टमा हामीले साँझ कतै लाग्ने निधो ग¥यौं । त्यति बेला गोश्वारा हुलाकको भित्तोमा साझा बसको काउन्टर थियो । त्यो लामो दूरीमा पनि चल्थ्यो । मसँग जम्मा तीन सय र उसँग सात–आठ सय रुपियाँमात्र थियो । जहाँको टिकट पाइन्छ, त्यतै जाने हाम्रो निर्णय भयो । पाइयो, पोखराको । खल्तीमा दुई पाउ भोद्का कोचेर हामी बसमा चढिदियौं ।

त्यो रात्रि बस थियो ।
संयोगवश, बसका चालक उसको गाउँले थियो । बेलुकीको खाना उसले मुग्लिनमा ख्वायो । हामीले नमान्दानमान्दै पनि हाम्रो खानाको पैसा उसैले ति¥यो । हामीले भोद्काको चुस्की थप्यौं ।

त्यसपछि, राति साढे ११ बजे, साझा बस हुइँकियो पश्चिमतर्फ । हामीलाई हठात् स्मरण भयो, हाम्रो परम मित्र राजव यहीँ सात किलोमिटर पर, पोखरा हाइवेमै छ । मैले भनेँ, ‘नारायण । राजव यतै छ, आज राति यति बेला उसैकाँ जाम् । पोखरा गएरै पनि केही नाप्नु छैन ।'
महाकविले भनेको रमरम बौद्धिकता हाम्रो मगजमा पनि झुल्कियो । अनि नारायणले भन्यो, ‘गज्जब भो श्यामल, लौ, तिमीले ठीक सम्झायौ । राजव यहीँ छ, ए भाइ हामीलाई यहीँ रोक ।'

आँबुखैरेनी त्यति बेला मनकामनाको मुख्य द्वार थियो । त्यसै पनि रमरम हुने आँबु । त्यसमाथि हाम्रो आत्मीय राजव पनि त्यतै । मेरो भावी ससुराली पनि यही बाटो हुनु रहेछ । (एक दुई वर्षमै यसै निवासमा राजव र मीना भाउजूले मेरो वैवाहिक जीवनको रातलाई भव्य र सुन्दर बनाइदिएका थिए ।)
आँबुखैरेनीका स्थानीय निवासी कवि अनिल श्रेष्ठको क्लिनिकैनिर बसगुरुले नारान् गुरुको आदेश पालन ग¥यो । मैले झ्यालमै उभिएर उसको बैंक अफिसको पालेले सुन्ने गरी कराएँ, ‘ओ राजवजी !'

दुईतीन डाँकोमै राजव कौसीमाथिबाट हात हल्लाएर यता आऊ भनिरहेका थिए । अनि बसगुरुलाई ‘भाइ धन्यवाद' भन्दै नारायण मपछि कुदिरहेको थियो ।
बिनाकुनै पूर्वसूचना रातको बाह्र बजेको समयमा हामीलाई पर्खिरहेको थियो हाम्रो साथी राजव । हामी उसको निवासको ढोकामा पुग्दा ऊ हामीलाई लिन आइरहेको थियो । र, हाम्रो मैत्री यात्रा अबेरसम्म जारी रह्यो ।

हामीले बिहान राजवलाई हाम्रो निरुद्देश्य यात्राबारे भन्यौं । असारको अन्तिम साता थियो त्यो र क्लोजिङ प्रक्रियामा अति व्यस्त राजवले तीन दिन उसलाई काम गर्न दिएर सँगै हिँड्ने प्रस्ताव गरेपछि नारायण र मेरो उकाली–ओराली सुरु भयो । हामी एकाबिहानै मनकामना उकालो लाग्यौं । र, बेलुका हुनुअघि नै दरौंदी र मस्र्याङ्दीको बालुवामाथि पल्टेर आन्तरिक यात्रामा व्यस्त भयौं ।

मस्र्यांङ्दीको बालुवामाथि नांगै पल्टेर नारायणले सन्बाथ ग¥यो । मैले उकालोको आधामा भेटिएको बुद्धि लामिछानेको दुर्भाग्यबारे एक कविता लेखेँ, ‘गोरखाको सिसिफस ।'

तीन दिनको नदीकिनारका यात्रासँगै राजवको काम सकिएको थियो । र, हामी तीनजना पोखरामा गुप्तवास बसेका थियौं । यस गुप्तवासको रमाइलो पछि कुनै बेलाको लागि थाती राख्नु छ ।

नारायण अचेल धेरैजसो मार्खेज र चिनुवा अचिवीको कुरा गर्छ । हुन पनि बीसौं शताब्दीका ल्याटिन अमेरिका र अफ्रिकी जीवनको विशाल राजनीतिक र सांस्कृतिक संघर्षका विम्ब र मुहाबराहरू उसले यिनमा पाएको छ । उसले तिनमा पीडित मानवताकोे अनुगुन्ज सुनेको छ । म उसको सूचीमा न्गुयन व थ्योंगो थपिदिन्छु, जसका निबन्ध पढेर मैले सांस्कृतिक साम्राज्यवादको अन्तर्य बुझेको थिएँ । त्यसो त ऊ बर्तोल्त ब्रेख्तका नाटक र कविताको पनि पारखी हो । म ‘साल्वाडोर डालीको गाला' भन्ने कविता सुनाइदिन्छु । उसले ज्याक देरिदा र उत्तर आधुनिकता वा विनिर्माणको प्रसंग निकाल्दा म त्यो कसरी आर्किटेक्चरबाट भित्रियो भन्ने सुनाइदिन्छु । उहिले लु सुन र माओ तुन पढेर नअघाउने ऊ पछिल्लो समय मो यानको कुरा पनि गरिरहेको हुन्छ । कदाचित् विदेशी साहित्यको पठनतिर लहसिन चाहने तर बाटो नपाएका पुराना वा नयाँ छिमलका लेखकहरूलाई ऊ ‘भर्सटाइल रिडर' लाग्छ । त्यसो त ऊ मभन्दा बेसी पढ्छ, पुस्तकमा धेरै खर्च गर्नेको अघिल्लै पंक्तिमा हुनुपर्छ ऊ । कहिलेकाहीँ अधिक विश्वासवश मेरो बारेमा भनिदिन्छ, ‘ब्रेख्त र मार्खेज श्यामललाई थाहा छ ।'

म संकोचवश चुप बसिदिन्छु ।

कसैले उसका सबैभन्दा निकट मित्रमा ‘राजव, विमल निभा र श्यामल नै हुन्' भने भने अन्यथा मान्नुपर्ने खास केही कारण छैन । त्यसको सूची यहीँ अड्किने पनि होइन । तथापि हामी एकअर्काको आलोचना गर्न नडराउने मित्र हौं । एक समय नारायण र म अरूभन्दा बढी नै अन्तर्निर्भर भयौं । त्यसैले पत्रकारिताको कुरा उक्काउँदा उसले कहिलेकाहीँ भनिदिन्छ, ‘श्यामललाई बढी थाहा छ ।' त्यसो भनेर उसले आफ्नो गुणग्राहितामा बढोत्तरी गरेको होला । एकपटक त उसले एक औपचारिक समारोहमा ‘दृष्टि'को सफलताको कथा भन्दै गर्दा यतिसम्म पनि भनिदियो, ‘श्यामल एक्लै ५१ प्रतिशत हो, बाँकी पार्टी र म ।' त्यति बेला उसले अति ग¥यो कि भन्नेहरू अझै होलान् ।

कतैकतै उसले भनेको सुनेको छु, उसका कथा–गुरु रमेश दाइ हुन् । उनका मन पर्ने सयौं कथामा उसलाई तिनको ‘ज्ञानी मामा' भन्ने कथा पनि निकै मन पर्छ । उसको राजनीतिक गुरु पुष्पलाल होलान् । तर, माले–माक्र्सवादी मिल्दा चित्त दुखाउने अहिलेका ठूला एमालेलाई हकारेर ठीक ठाउँमा ल्याउने उही हो । म त्यसको साक्षी हुँ । अहिलेका जबजका व्याख्याकारलाई पहिलोपल्ट उसले माक्र्सवादी कम्युनिस्टहरूलाई लोकतान्त्रिक धरातलमा उभ्याउन मदन भण्डारीले गरेको प्रयत्नलाई कसरी जमेर समर्थन गरेको थियो भन्ने हेक्का छैन (उसले विशेष टिप्पणी लेखेजस्तो लाग्छ, तर उसकै आग्रहमा पहिलो सम्पादकीय मैले नै लेखेको थिएँ) । त्यस्ता नेता अरूले खडा गरिदिएको लिगेसीमा बाँच्छन् र लिगेसी बिर्सन्छन् । ती कालान्तरमा इतिहासहन्ता बन्छन् ।

नारायण आत्महन्ता वा इतिहासहन्ता होइन । ऊ अराजकतावादी विद्रोही साहित्यकार हुँदै स्वाभाविक प्रगतिमा गतिशील दुनियाँमा छिरेको हो र प्रगतिवादी सौन्दर्यशास्त्रमा उसको ज्ञान लर्तरो भन्न मिल्ने खालको छैन । उसलाई साहित्य सौन्दर्यशास्त्रमा लुनाचास्र्की, प्लेखानोभ, जर्ज लुकास र राल्फ फक्सका आलोचनात्मक कृतिको जति ज्ञान छ, माक्र्सपूर्व र लेनिनकालीन दुनियाँको पनि हेक्का छ । उसलाई उति बेलाका बाल्जाक, लियो तोल्स्तोय वा फ्योदोर दोस्तोयव्स्की आदिका सिर्जना औधि मूल्यवान् लाग्छन् । तिनको कथाको चरित्रको निर्माण र विकास गर्ने तरिकाको प्रशंसा बारम्बार गरिरहेको हुन्छ नारायण । ‘ब्रदर्श कार्माजोव'का चरित्रहरूका बारे ऊ राम्ररी बताउन सक्छ । हार्डलाइनर वा त्यस वरिपरि उपग्रहझैं घुमिरहने माक्र्सवादीलाई ऊ सरकारी माक्र्सवादी भन्छ । उसको कुरा सुन्दा धेरैले नाक खुम्च्याए पनि म उसको समर्थनमा टाउको हल्लाउँछु । किनभने नाक खुम्च्याउने त्यस्ता धुपौरेहरूसँग तर्क हुन्न ।

मेरो मित्र नारायण ढकालका कथा, उपन्यास र निबन्धको भाषा अति नै प्रान्जल र सम्मोहनकारी हुन्छ । उसका ‘सहरयन्त्र', ‘इरफान अली' र ‘जगदीश नेपालीको मृत्यु'जस्ता कथा बदलिँदो नेपालको राजनीतिक इतिहासमा जीवित सामान्य मानिसको पीडा र संघर्षका जिउँदा कला दस्तावेज हुन् । ‘तीन सम्बत्सर' (जसको सानो भूमिका मैले नै लेखेको थिएँ) र ‘शोकमग्न यात्री'जस्ता निबन्ध उसले हामीलाई दिएको छ । ‘पीतसंवाद', ‘दुर्भिक्ष', ‘प्रेतकल्प', र ‘वृषभ बध'जस्ता उपन्यास कथ्य र भाषाका दृष्टिले मात्र होइन, समकालीन इतिहासबोधका दृष्टिले पनि महŒवपूर्ण कीर्तिस्तम्भ हुन् । तिनमाथि विचारपूर्वक लेख्ने र तिनमाथि विमर्श गर्ने काम अझै भएको छैन ।

लेखनइतर नारायणको सबैभन्दा उल्लेखनीय गुण भन्नु अग्रजहरूप्रतिको सम्मान र नयाँ पुस्ताप्रतिको विश्वास नै हो । अहिले पनि ऊ आफ्नो नाति पुस्ताका बीच रमाइरहेको हुन्छ । उहिले, एकपटक अग्रज साहित्यकार श्यामप्रसाद शर्मा २४ वर्षको भूमिगत चोला त्यागेर सार्वजनिक हुँदा मुरारी अर्यालको आँगनमा ऊ भावातिरेकले रोएको थियो । ऊ आफूप्रति निर्मम बन्ने प्रयासमा कहिलेकाहीँ अति गर्छ र भन्छ, ‘लेखकले सयौं चोटि पुनर्लेखन गर्नुपर्र्छ ।'
म भन्छु, ‘पुनर्लेखन आवश्यक हुनसक्छ तर सयौं चोटि पुनर्लेखन गर्ने लेखक साँचो लेखक होइन ।'

यहीँनिर उसको र मेरो बाटो फाट्छ । तर, एकछिनमै ऊ र म भेटिएका हुन्छौं । .


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.