महिला हिरोका चर्चित १० फिल्म
सिनेमा वा साहित्यमा मुख्य भूमिका हुँदा पनि महिलालाई हिरो नमान्ने मानसिकता धेरै पुरानो हो । अब त महिला सम्पादकलाई सम्पादिका, महिला कविलाई कवयित्री, महिला शिक्षकलाई शिक्षिका वा मास्टरनी, महिला हाकिमलाई हाकिम्नी भन्नु महिला राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी' भन्नुजत्तिकै हास्यास्पद र अमिल्दो हुन्छ । फिल्म क्षेत्रमा चाहिँ अहिलेसम्म मुख्य भूमिका भए पनि महिलालाई हिरो वा मेन एक्टर मान्ने चलन छैन ।
ओस्कार, क्यान्स, बर्लिन, ब्याफ्टा, भेनिस वा संसारका अन्य कुनै पनि फेस्टिबलमा महिलाको भन्दा कमजोर भूमिका भए पनि पुरुषलाई बेस्ट एक्टर र महिलालाई बेस्ट एक्ट्रेसकै पुरस्कार दिने पुरानो चलन कायम छ । महिला वा पुरुष जो भए पनि मुख्य भूमिकामा सर्व श्रेष्ठ ठहर्नेलाई ‘बेस्ट एक्टर'को पुरस्कार दिने चलन अझै चल्न सकेको छैन । जस्तो कि गत वर्ष नेपालको कुनै अवार्डमा नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री भइन् भने खगेन्द्र लामिछाने उत्कृष्ट अभिनेता । खगेन्द्र र नम्रताको भूमिकामध्ये उत्कृष्ट ठहर्नेलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिने चलन अझै किन चल्न सकेन भन्ने प्रश्न उठाउनु जरुरी छ । किनभने एथलेटिक्समा जस्तो फिल्म क्षेत्रमा महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्न नदिनुपर्ने कुनै कारण छैन न त भूमिकामा लिंगभेदको पर्खाल ठड्याइरहनु जरुरी छ ।
पुरस्कारहरूमा मुख्य अभिनेता नमानिए पनि संसारमा महिला हिरो भएका फिल्म भने कम छैनन् । नारी अस्मितालाई माथि उठाउने दस फिल्मबारे मैले यहाँ चर्चा गरेको छु जसमध्ये केहीले संसारमै तहल्का मच्चाएका छन् । यथाशक्य वस्तुगत भएर उत्कृष्टताका आधारमा मैले यिनको छनोट गरेको छु । तथापि, मेरो नितान्त व्यक्तिगत रुचिका केही सीमा यिनमा अवश्य छन् ।
१) टु विमेन (१९६२)
इटालीकी प्रख्यात अभिनेत्री सोफिया लारेन जुनजुन सिनेमामा हुन्छिन्, त्यहाँ अक्सर पुरुषको भूमिका स्वतः सहायक हुन पुग्छ । मलाई तिनमा नारीमय गुण, संवेदना र संघर्षको त्रिवेणी बगिरहेको महसुस हुन्छ । इटालीका नियोरियलिस्ट निर्देशक भितोरियो डेसिकाको यस फिल्मले सोफियालाई पहिलोपल्ट विश्वभरि चिनायो । दोस्रो विश्वयुद्धका क्रममा फ्रान्सेली सेनाको मोरक्कन डफ्फाले इटालीमा मच्चाएको सामूहिक बलात्कारमाथि नोबेल पुरस्कार विजेता अल्बर्टो मोराबियाले एउटा उपन्यास लेखे । सोही उपन्यासमाथि सिजार जाभात्तिनी र डेसिकाको पटकथामा सोफिया लारेनको अभिनयकलाको उत्कर्ष हेर्न सकिन्छ । त्यसो त यो फिल्म हामीकहाँ लगभग अप्राप्य छ । युटुबमा पनि यसको अंग्रेजी सबटाइटल पाइँदैन । मैले अत्यन्त कमजोर रिजोलुसनको डीभीडीमा यो फिल्म हेरेको हुँ । अभिनय र दृश्यविधानको जीवन्तताले संवाद नबुझे पनि हृदयदेखि नै पात्रहरूको संवेदना महसुस गर्न सकिन्छ । किशोरी छोरी रोजेटालाई युद्धको विभीषिकाबाट बचाउन लाजियोबाट आफ्नै जन्मभूमि सियोसियराको संघर्षपूर्ण यात्रा गर्ने विधवा युवती सिसेराको भूमिकामा सोफियाको अभिनय जीवन्त र हृदयस्पर्शी छ । सियोसियरामा कम्युनिस्ट युवा मिसेलसँग रोजेटा र सिसेराको हार्दिक सम्बन्ध, जर्मन सेनाद्वारा मिसेलको गिरफ्तारी अनि रोम फर्कंदै गर्दा एउटा चर्चमा मोरक्कन सेनाद्वारा आमाछोरी दुवैमाथि सामूहिक बलात्कारका प्रसंगहरू भित्रैदेखि हल्लाउने खालका छन् ।
बलात्कारपछि रोजेटाको ट्रमा, आमासँग बढ्दो दूरी, बरालापन र छोरी एक प्रौढसँग समर्पित भएर फर्कंदा आमाको चिरिएको हृदयको चित्र उतार्न सोफियाको अभिनय काफी छ । आमा–छोरीको सम्बन्ध त्यतिखेर फेरि हार्दिक हुन्छ जब आमा छोरीलाई जर्मन सेनाले मिसेलको हत्या गरेको खबर सुनाउँछे । बलात्कारअघिकी बालिकाजस्तै रोजेटा छाती पिट्दै रुवाबासी गरिरहँदा आमा सान्त्वना दिइरहेकी हुन्छिन् र डेसिकाको क्यामेरा क्लोजअप भएर सिनेमा सकिन्छ ।
यही फिल्ममा पहिलोपल्ट गैरअंग्रेजी सिनेमाका लागि उत्कृष्ट अभिनेत्रीको ओस्कार पुरस्कार दिइएको थियो । यसै फिल्मबाट सोफिया लारेनले उत्कृष्ट अभिनयका लागि २१ वटा अन्य अन्तर्राष्ट्रिय पुरस्कार पाइन् ।
२) एस्टर्डे, टुडे एन्ड टुमारो (१९६३)
डेसिकाको यो अर्को विश्वप्रसिद्ध सिनेमा हो जसमा नेपल्स, मिलान र रोमका तीन महिलाको संघर्ष र स्वतन्त्रताको बेग्लाबेग्लै कथा छ । तीनै फिल्ममा सोफिया मुख्य भूमिकामा छिन् भने इटालीका विख्यात अभिनेता मार्सेलो मायस्त्रोनी सहायक भूमिकामा । पहिलोमा, एक बच्चाकी आमा र बेरोजगार पतिकी पत्नी एडेलिना घर चलाउन नेपल्समा ब्ल्याक मार्केटको चुरोट बेच्छे । तर, कर तिर्न नसक्दा ऊ जेल जानुपर्ने हुन्छ ।
तत्कालीन कानुनअनुसार, गर्भवती महिला वा प्रसूति भएको छ महिनासम्म कुनै पनि महिलाले जेल जानुनपर्ने जानकारी एक वकिलबाट पाएपछि बर्सेनि उनीहरू बच्चा जन्माउन थाल्छन् । यसरी जेल जानबाट बच्नैलाई उनीहरू सातवटा बच्चा जन्माउँछन् । आठौं बच्चा जन्माउन श्रीमान् अनिच्छुक हुन्छ । एडेलिना अब आफ्नै साथी पास्कलबाट गर्भधारण गर्ने निर्णयमा पुग्छे । तर, शयनकक्षमा पुगिसकेपछि ऊ पास्कलसँग संसर्ग नगरी जेल जान तयार हुन्छे । अन्ततः दयालु छिमेकीहरू पैसा उठाएर सात बच्चाकी मायालु आमाको कर तिरिदिन्छन् र प्रहरीकहाँ बिन्तीपत्र राखेर उसलाई मुक्त गर्छन् ।
दोस्रो कथामा, सोफिया मिलानवासी धनी उद्योगपतिकी बिलासी पत्नी आनाको भूमिकामा छिन् । आना आफ्नो ब्वाइफ्रेन्डसँग दिनरात मोजमस्ती गर्छे । एकपल्ट ऊ ब्वाइफ्रेन्डसँग पतिको रोल्स रोयस कारमा टाढा कतै गइरहेकी हुन्छे । ब्वाइफ्रेन्ड र रोल्स रोयसमध्ये उसलाई कुन प्यारो छ ? आनालाई कन्फ्युजन छ । बाटोमा गफमा मस्त हुँदा कार ठोक्किएर किच्चिन्छ । ऊ ब्वाइफ्रेन्डलाई सत्तोसराप गर्दै ट्याक्सी चढेर एक्लै घर फर्कन्छे ।
तेस्रो कथामा सोफिया रोम सहरमा एक सुन्दर वेश्या माराको भूमिकामा छिन् । माराको रूपराशिमा एक धनी उद्योगपतिको छोरा (मायस्त्रोनी) पागल भएर सधैं उसको परिक्रमा गरिरहेको हुन्छ । यसरी पागल हुनेमा पछि पादरी शिक्षा लिइरहेको एक नवयुवक पनि हुन्छ । माराले उसको प्रेम प्रस्ताव अस्वीकार गरेको खण्डमा ऊ पादरी शिक्षा छाडेर बैरागी हुने वा विदेश पलायन हुने सुरमा हुन्छ । अन्ततः उसलाई सही बाटो चुन्न सुन्दरी वेश्या माराले नै सहयोग गर्छे । सन् १९६५ को उत्कृष्ट विदेशी फिल्मको ओस्कार, गोल्डेन ग्लोब, ब्याफ्टा लगायत थुप्रै पुरस्कार विजेता यस फिल्ममा सोफिया लारेनको अभिनय कला हेर्दा लाग्छ, कुनै पनि भूमिकालाई न्याय गर्नसक्ने उनी आफ्नो युगकी सर्वथा महान् अभिनेत्री हुन् ।
३) द क्रेन्स आर फ्लाइङ (१९५७)
फिल्म आर्टको कुरा गर्दा जानकारहरू रुसी निर्देशक तारकोब्स्कीलाई विशेष महत्व दिन्छन् । म भने उनका सिनेमामा निद्रा लगाउने उच्च स्तरको कला भरमार भएको पाउँछु । अतः मलाई तारकोब्स्की होइन, इटालीका नियोरियलिस्ट निर्देशक डेसिका, बिस्कोन्टी, सैन्टिस, ओलमी, रोजिलिनीहरू अनि रुसका आइजेन्सटाइन वा मिखाइल कालाजातोभहरू बढी प्रिय लाग्छन् । दोस्रो विश्वयुद्धका क्रममा रुसमाथि आक्रमण नगर्ने गोप्य सम्झौता जर्मनीले उल्लंघन नगरेको भए हिटलरको अन्धराष्ट्रवाद नै आजसम्म श्रेष्ठ राजनीतिक प्रणाली मानिन्थ्यो वा त्यसलाई ढाल्न अन्य करोडौं मान्छेले आफूलाई बलिदान गर्नुपथ्र्यो ।
जर्मनीको आक्रमणलाई प्रतिकार गर्न सोभियत नेता जोसेफ स्टालिनको सुप्रिम कमान्डमा देशभक्तिले ओतप्रोत लाल सेना तयार भए । सोभियत निर्देशक कालाताजोभले रुसी सेनाको यही देशभक्तिपूर्ण लडाइँ र त्यसले ल्याएको पारिवारिक, सामाजिक र प्रणय सम्बन्धहरूको विघटनमाथि एउटा विश्वप्रसिद्ध फिल्म बनाए, ‘द क्रेन्स आर फ्लाइङ' । आफ्नो प्रेमविवाहलाई थाती राखेर देशभक्तिपूर्ण लडाइँलाई महत्व दिने बोरिस, बोरिसको सहादतको खबर पाउँदा पनि उसलाई पर्खिरहने भेरोनिका, भेरोनिकालाई बलात्कार गर्ने, देशलाई विपत् पर्दा पुच्छर लुकाएर बस्ने अनि अरूको नाम प्रयोग गरेर घूस लिने मार्क, समर्पित भएर घाइते सिपाहीहरूको उपचार गर्ने बोरिसको पिता डा. फ्योदर इभानोभिच, उसकी छोरी डा. इरिनाजस्ता पात्रमार्फत फिल्ममा संघर्ष तत्वलाई कालाताजोभले विशेष महत्व दिएका छन् ।
जब बोरिसको सहादतको खबर सुनाउन एउटा योद्धा भेरोनिकासमक्ष आउँछ, त्यतिखेर भेरोनिकाको अनुपम धैर्य र अनुहारको अभिव्यक्ति सम्झँदा म अहिले पनि स्तब्ध हुन्छु । सिनेमाको अन्तिम दृश्यमा नाजी सेनामाथि विजय प्राप्त गरेर फर्केका लाल सेनालाई सोभियत जनता स्वागत गरिरहेका हुन्छन् । अझै आफ्नो प्रेमी फर्केर आउने आशासाथ स्वागतको फूल बोकेर त्यहाँ पुगेकी भेरोनिकालाई युद्ध कमान्डर स्तेपानोले बोरिसको अन्तिम चिनोस्वरूप उसकै तस्बिर फिर्ता दिएपछि भेरोनिकाको शोक हेरिनसक्नु हुन्छ ।
यो महान् देशभक्तिपूर्ण युद्धमा जोजो सहिद भए, तिनका परिवारको दुःख हामी सबै साझेदारी गर्न चाहन्छौं । विजयपछि हाम्रो युद्ध सकिएको छ तर युद्धप्रति हाम्रो घृणा कहिल्यै सकिनेछैन' त्यो विशाल सभामा स्तेपानोको भाषण सुनेपछि भेरोनिकाको निराशा र दुःख कसिंगर बढारिन्छ । उसलाई महसुस हुन्छ, त्यो जित सबै रुसी जनताको जित र बोरिसको सहादत सबैको दुःख रहेछ । अनुभूतिको यस्तो तीव्रतर परिवर्तनमा प्रख्यात रुसी अभिनेत्री तातियाना सामाज्लोभाको अभिनयको उत्कर्ष देख्न पाइन्छ । गोली लागेर धापमा लडेर मर्दै गर्दा आकाश, रूखपात र संसार घुमिरहेको बोरिसको अनुभूति अनि विजयी लाल सेनाको विशाल स्वागत सभाको दृश्यांकनमा सर्गेई उरुसेब्स्कीको क्यामेरा कलाको संसारभरि प्रशंसा भएको छ । यही फिल्मबाट तातियाना विश्वप्रसिद्ध भइन् । सन् १९५८ को क्यान्स फिल्म फेस्टिबलमा उनलाई ‘स्पेसल मेन्सन अवार्ड' दिइयो भने फिल्म सर्व श्रेष्ठ घोषित भयो ।
४) अ स्पेसल डे (१९७७)
इटोर स्कोलाले निर्देशन गरेको यो फिल्म मुसोलिनीको फासिस्ट शासनमा बेग्लै पृष्ठभूमिका एक्ला र निरुपाय नारी–पुरुषको आत्मीय सम्बन्धको कथा हो । समलिंगी र विद्रोही स्वभावको निलम्बित रेडियो प्रस्तोता गाब्रियलको भूमिकामा मार्सेलो मायस्त्रोत्री छन् भने छ सन्तानकी असहाय आमा एन्तोनियताको भूमिकामा ४२ वर्षे सोफिया लारेनले जीवन्त अभिनय गरेकी छन् । यो दोस्रो विश्वयुद्धका बेला हिटलर र उनको वफादार मुसोलिनीको जगजगी भइरहेको बेला एक दिनको कथा हो ।
हिटलर मुसोलिनीलाई भेट्न पहिलोपटक रोम आएका हुन्छन् । सारा सहरवासी हिटलरको स्वागतमा बिहानै जुलुस जान्छन् । ६ सन्तान र पदको घमण्डले फुलेको श्रीमान् एन्तोनियतालाई एक्लै अपार्टमेन्टमा छाडेर जान्छन् किनभने उसलाई घुमफिर गर्ने, हाँसखेल गर्ने र बाहिरको हावामा सास फेर्नेसमेत स्वतन्त्रता छैन । ऊ मुसोलिनीको सत्तालाई दिगो बनाउन सन्तान उत्पादन गर्ने कारखाना र घरेलु नोकरभन्दा बढी केही थिइन भन्ने सिनेमाले सुन्दर चित्रण गरेको छ । यस्तै बेला सबैबाट उपेक्षित एन्तोनियता र गाब्रियलको भेट हुन्छ ।
कुराकानी हुँदै जाँदा परिवारमै एन्तोनियताको आत्मसम्मान हरण गरिएको र श्रीमान्ले प्रेमका नाममा सन्तान जन्माउन बलात्कार मात्र गरेको दुःख खुल्दै जान्छ । गाब्रियलमाथि चाहिँ यसकारण अछूतजस्तो व्यवहार गरिन्छ कि समलिंगी सम्बन्ध राखेर उसले ‘महान्' मुसोलिनीको सत्तालाई चुनौती दिएको छ । यही आत्मीयताबीच गाब्रियल र एन्तोनियताबीच संसर्ग हुन्छ । पहिलोपल्ट प्रेमपूर्ण संसर्ग गर्न पाउँदा एन्तोनियतालाई परपुरुषसँगको सम्बन्धमा कुनै पछुतो हुँदैन । फिल्मको अन्तिम दृश्यमा गाब्रियललाई मुसोलिनीको सत्ताले पक्राउ गर्छ ।
एन्तोनियताचाहिँ श्रीमान्ले ‘हिटलरको महान् आगमन' अवसरमा सातौं सन्तान जन्माउन संसर्गका लागि दिएको आदेशको अवज्ञा गर्दै गाब्रियललाई हेरेर बस्छे । ओस्कार र क्यान्स फिल्ममा सर्व श्रेष्ठ सिनेमाका लागि मनोनीत यस फिल्मले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ ।
५) फ्लावर्स अफ द वार (२०१२)
वेश्याप्रति निरपेक्ष घृणा र पण्डितप्रति निरपेक्ष प्रशंसा विवेकहीन मानिसहरूको प्रवृत्ति हो । परम्परा, गौरव र मृत राष्ट्रियताको थोत्रो चस्मा नफुकाली हेर्दा देखिने दृश्य यस्तै हो । यथार्थमा न वेश्या सर्वथा घृणायोग्य हुन्छन्, न पण्डित सर्वथा प्रशंसनीय । इमानको यति चर्को खडेरीमा विवेकको तुलोमा जोखी हेर्दा मलाई वेश्या नै बढी सम्मानयोग्य लाग्छन् । खासमा तिनले सिस्टमकै नाकमा प्रहार गरिरहेका हुन्छन् ।
चिनियाँ निर्देशक झाङ यिमुको पछिल्लो चलचित्र ‘द फ्लावर्स अफ वार' एक होइन, बाह्रजना महान् वेश्याको सामूहिक हिरोइजमको कथा हो । यसमा सन् १९३७ मा जापानले नानकिङ क्षेत्रमा गरेको अतिक्रमणको पृष्ठभूमिमा क्विन हाई नदी क्षेत्रका १२ जना वेश्या र एक किशोरको मुटु चुँडाउने कथा छ । तिनीहरू १२ जना स्कुले किशोरीलाई जापानी सेनाको बलात्कार र हत्याबाट बचाउन आफूलाई बलिदान गर्छन् ।
नयाँ पिँढीका लागि आफूलाई बलिदान गर्ने ती १२ महान् महिला र फुच्चे जर्जलाई के भयो होला ? चलचित्र सकिए पनि दर्शकलाई यस प्रश्नले बेस्सरी चिमोटिरहन्छ । हुनसक्छ ती बलात्कृत भए र आत्मरक्षा गर्दागर्दै मारिए । चर्चाले संसार हल्लाएका थुप्रै चलचित्र हुन्छन् जसले दर्शकलाई मुस्किलले दुई घन्टा बाँध्न सक्छन् । परन्तु, गोल्डेन ग्लोब पुरस्कारका लागि मनोनीत ‘फ्लावर्स अफ द वार'जस्तो तिख्खर, हृदयस्पर्शी र रुचिकर चलचित्र विरलै हेर्न पाइन्छ ।
कहिलेकाहीँ मान्छेका ससाना चोखा भावनाको मूल्य जीवनभन्दा माथि हुन्छ । यस फिल्मको एउटा प्रसंग मेरा चेतनाको वरिपरि अहिले पनि घुमिरहन्छ । डाउ नामकी वेश्या पु सेङ नामको घाइते किशोर सिपाहीलाई प्रेम गर्छे र चारतारे बजाएर सुनाउँछे । त्यो किशोरको मृत्यु हुन्छ । पु जिउँदो हुँदा डाउले चारतारे राम्ररी बजाएर सुनाउन पाइन । त्यसका तीन तार चुँडिएका थिए । त्यस्तो तार कोठीमै छुटेको थियो । गाड्नुअघि भए पनि मृत पुलाई ऊ एकपल्ट चारतारेको पूर्ण धून सुनाउन चाहन्छे । जापानी प्रहरीका आँखा छल्दै उसकी साथी ल्यान र ऊ कोठी पुग्छन् । ल्यान जापानी सेनाको गोली लागेर मारिन्छे । डाउमाथि सेनाले पालैपालो बलात्कार गर्छन् । एउटाचाहिँको कान टोकेर ऊ रक्ताम्मे पारिदिन्छे । रिसले चुर भएर त्यसले बन्दुकको कुन्दैकुन्दाले घोपेर मारिदिन्छ । पुको आत्मालाई भए पनि चारतारे बजाएर सुनाउने चोखो भावनासँगै यसरी उसको हत्या हुन्छ ।
६) अर्थ (१९८३)
नारी–पुरुषको परम्परागत सम्बन्धलाई ठूलै धक्का दिने शबाना आजमीको बेजोड अभिनय भएको एउटा भारतीय फिल्म हो, अर्थ । भारतीय निर्देशक महेश भट्टको यस फिल्मलाई मैले महिला हिरोको उल्लेख्य फिल्म मान्नुको कारण के हो भने यसले पूर्वी समाजको कथित आदर्श भत्काएर महिलाको आत्मसम्मानलाई पुनर्बहाली गर्छ । असमान सम्बन्धमा प्रेम सम्भव हुँदैन । त्यस्तो सम्बन्ध स्वार्थ र भ्रमले बनेको हुन्छ । भ्रम वा स्वार्थ टुटेपछि एउटा मोडमा पुगेर त्यो टुंगिनु अनिवार्य छ । आफूले असीम प्यार गरेका पतिबाट धोका पाएकी पूजा मलहोत्राको भूमिकामा शबाना आजमीले यस फिल्मबाट सन् १९८३ को राष्ट्रिय फिल्म र फिल्मफेयरमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिइन् ।
विज्ञापन निर्माता इन्दर मायालु पत्नी पूजालाई धोका दिएर मोडल कवितासँग गृहस्थी बसाउन चाहन्छ । फिल्मले पुँजीवादी अराजकता फस्टाइरहेको भारतजस्तो देशमा घरबारविहीन, नोकरीविहीन असहाय युवतीले स्वाभिमान र चरित्र दुवै जोगाएर गर्नु परेको संघर्षको कथा भन्छ । पूजाले पतिबाहेक आफ्ना कोही नभएकाले उसलाई ‘नखोसिदिन' कविता (स्मिता पाटिल)सँग गरेको आग्रह, हिस्टेरियाग्रस्त कवितालाई उसैले आश्वासन दिनु परेको अनि अत्याचारी लोग्नेको हत्या गरी जेल परेकी महिलाकी छोरीलाई सम्हाल्नुपर्ने प्रसंगमा शबाना आजमीको अभिनयकला अविस्मरणीय छ ।
७) नुमाफुङ
हामीले हाम्रै वरिपरिका सिनेमालाई हेला गर्नुपर्ने कुनै कारण छैन । निर्देशक नवीन सुब्बाले अत्यन्त परि श्रम गरी बनाएको नुमाफुङलाई म महिला हिरोको अर्को उल्लेख्य फिल्मका रूपमा मात्र होइन, अहिलेसम्मको सर्व श्रेष्ठ नेपाली फिल्मका रूपमा पनि सम्झन्छु । यसमा लिम्बू संस्कृतिका नाममा मौलाएको रूपौली सुनौलीको विकृतिले एउटी नारीको जीवनमा पारेको असर र विद्रोहको मार्मिक कथा छ । अति भएपछि विद्रोह हुन्छ । विद्रोहले सबैको भलो गर्छ भन्ने छैन । नुमाको विद्रोहले पनि घर र माइती दुवैलाई असर पार्छ । तर, त्यो नारी अस्मितामाथि गरिएको खेलवाडको परिणाम र उसको स्वाधीनताको खोजी हो । नुमालाई कति अर्थमा इब्सेनको प्रसिद्ध नारी पात्र नोरासँग पनि तुलना गरिन्छ ।
८) १०८४ की माँ (१९९७)
सन् १९९७ मा सर्व श्रेष्ठ हिन्दी फिल्म तथा सर्व श्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएको गोविन्द निहलानीको यस फिल्मले आम हिन्दी फिल्मले जस्तो रुन्चे आदर्श नारी होइन, एउटी मायालु आमाको असीम धैर्य र अथक संघर्षको कथा भन्छ । आमा सुजाता चटर्जीको भूमिकामा यस फिल्मले जया वच्चनलाई भारतीय समानान्तर सिनेमाकी अविस्मरणीय अभिनेत्री बनाइदिएको छ । फिल्मले बंगालमा नक्सलवादी आन्दोलनको पृष्ठभूमिमा क्रान्तिकारी छोरा मारिएपछि आमाभित्र जागृत सामाजिक चेतनालाई पछ्याउँदै जान्छ ।
जन्मदिनमै छोरा मारिएपछि मात्र आमालाई थाहा हुन्छ, ऊ त गरिबको राज्य ल्याउन क्रान्तिमा होमिएको रहेछ । थानामा राखिएको छोराको लासको नम्बर हुन्छ– १०८४ । छोराकी प्रेमिका नन्दिनी, छोरासँगै मारिएको उसको साथी लाल्टु र सोमुकी आमालाई भेटेपछि सुजातालाई बल्ल थाहा हुन्छ, उनी तथाकथित पारिवारिक आदर्शको बन्दी पो रहिछन् । प्रहरी यातनाले विचरी नन्दिनीको आँखाको ज्योति गुमिसकेको हुन्छ तथापि ऊ अत्याचारी व्यवस्थाविरुद्ध लड्न समर्पित हुन्छे । यस प्रसंगले आमाको साँघुरो र स्वार्थी परिवेशको पर्खाल गल्र्यामगुर्लुम ढालिदिन्छ । सिनेमामा त्यो प्रसंग अत्यन्त प्रभावशाली छ जब घरमा छोरीको स्वयंवरको भोज चलिरहेको हुन्छ र आमाभित्र यो पाखण्डविरुद्ध अर्को युद्ध चलिरहेको हुन्छ ।
९) मसान (२०१५)
भारतीय नवनिर्देशक निरज घवनको ‘मसान'लाई म महिला हिरोको फिल्म मान्छु । यसले प्रेमीको आत्महत्यापछि पनि धैर्य नगुमाई जीवनको अथक संघर्ष गर्ने एक युवतीको मार्मिक कथा भन्छ । क्यान्स फिल्म फेस्टिबलमा पुरस्कृत यो फिल्म झट्ट हेर्दा बनारस निवासी दुई जोडी प्रेमीको दुःखान्त र अन्तरसंघर्षको कथा हो । तर, यो त्यतिमै सीमित छैन । अन्तर्यमा यसले सिस्टममाथि गतिलो प्रहार गरेको छ । होटलको कोठामा युवाजोडी देवी पाठक र पीयूषको सहवासको दृश्यलाई उत्तेजक भएको आरोप लगाउनुपर्ने कुनै कारण छैन ।
यो विवाहपूर्व यौन सम्बन्धलाई अवैधानिक ठानिने समाजमा प्रेमातुर जोडी लुकिछिपी गर्नुपर्ने क्रियाकलापको अभिव्यक्ति हो । कथाको प्रस्थान बिन्दु नै त्यहीँ छ । तिनीहरू पक्राउ पर्छन् । यहाँ ठूलो वर्गभेद छ ! धन हुनेहरू फाइभ स्टार होटल जान्छन् । त्यहाँ खुलमखुला उच्च मूल्यमा वेश्यावृत्ति भइरहेको हुन्छ । धनीमानीले रामरमाइलो गर्ने ठाउँमा प्रहरीले छापा मार्दैन । धन नहुने प्रेमीहरू सानातिना होटल, रेस्टुराँ, गेस्ट हाउसहरूको शरणमा पुग्छन् जहाँ प्रहरीले सजिलै छापा मार्छ । अनि तिनको चोखो प्रेम अवैध करार भएर पक्राउ पर्छ । प्रहरी यातना र सामाजिक कलंकको डरले प्रेमीले आत्महत्या गर्छ । बाँकी रहन्छ देवीको अथक संघर्ष र भ्रष्ट प्रहरीको बदनियत । देवी पाठकको भूमिकामा ऋचा चड्डाको अभिनय हेर्नलायक छ ।
१०) कर्मा
छिरिङ रितार शेर्पाको ‘कर्मा'लाई म महिला हिरोको अर्को उल्लेख्य सिनेमा मान्छु । गुम्बामा जीवन व्यतीत गर्ने भिक्षुणीको अनुभूति बाहिरी संसारप्रति कस्तो होला ? ‘कर्मा' यसको सुन्दर जवाफ हो । यसले धार्मिक सिमाना नाघेर मानवीय विशाल हृदयको परिचय दिन्छ । मुस्ताङको एउटा गुम्बाबाट दुई भिक्षुणी युवती कर्मा र सोनाम टासी नामक रहस्यमय व्यापारीको खोजीमा हिँड्छन् । टासीले गुम्बाबाट ठूलो रकम ऋण लिएको हुन्छ । त्यो अब धार्मिक कार्यका लागि गुम्बालाई आवश्यक परेको छ ।
छिरिङको क्यामरा तिनीहरूलाई पछ्याउँदै जान्छ । एकसरो यात्रामा पनि जनजीवनका उकालीओराली, भौगोलिक विकटता, सामाजिक भेदभाव, मानवीय प्रवृत्तिको झल्को दिन उनी सफल छन् । उनीहरू पोखरा पुग्छन् जहाँ सोनाम बिरामी हुन्छे । टासी काठमाडौं गएको सूचना पाएपछि सोनामलाई छाडेर कर्मा काठमाडौं जान्छे । त्यहाँबाट पनि ऊ भैरहवा हिँडिसकेको हुन्छ, कर्मा भैरहवा पुग्छे । संयोगले कर्मा र टासी एउटै गाडीमा हुन्छन् । टासी भारतमा युवती पैठारी गर्ने व्यक्तिका रूपमा बदनाम हुन्छ । विगतको उसको यो परिचय बदलिइसकेको रहेछ । प्रेममा असफल भएपछि ऊ त मानवसेवाको महान् यात्रामा लागेको रहेछ । समाजबाट विस्थापित महिला, अवला, तिनबाट जन्मेका परित्यक्त बालकलाई शरण दिने क्रिस्चियन संस्था चलाएर बसेको रहेछ । टासीले लिएको ऋण कर्मालाई फिर्ता गरिन्छ । पैसा लिएर फर्कंदै गर्दा कर्माभित्र विचारको हुन्डरी चल्छ । आत्मिक विकास कि सामाजिक सेवा ? कुनचाहिँ महत्वपूर्ण छ ? ऊ समाजसेवाको पक्षमा उभिन्छे ।
एउटी बौद्ध भिक्षुणीले इसाई संस्थालाई विश्वास गरेर ठूलो रकम फिर्ता गरेको दृश्य कस्तो होला ? पक्कै त्यो महान् हृदयको परिचय हो । कर्मा यही महान् कार्य गर्छे र रित्तो हात गुम्बा फर्कन्छे । अब उसलाई गुम्बा प्रमुख हुने लोभ छैन । फिल्मले मानवीय हितका काम गर्ने तरिका अनेक हुन्छन् भन्ने महान् सन्देश दिन्छ ।
यहाँ चर्चा हुन बाँकी, महिलाको मुख्य भूमिका भएका अन्य फिल्म कमजोर भन्ने मेरो आशय होइन । तीमध्ये कतिपय यहाँ चर्चा गरिएका भन्दा शक्तिशाली पनि छन् । एलेन रनेको ‘हिरोसिमा मोन अमोर', डेसिकाको भोयज, कार्ल थ्योडर ड्रेयरको द प्यासन अफ जोन अफ आर्क, रोबर्ट बेस्सोंको ट्रायल अफ जोन अफ आर्क, रिस्जार्ड बुगान्स्कीको इन्टेरोगेसन, आलेक्सान्द्र जार्खीको अन्ना कारेनिना, फेलिनीको सिटी अफ वमन, नाइट अफ क्याबेरिया, जुलियट अफ द स्पिरिट, अपर्णा सेनको ३६ चौरंघिलेन, केतन मेहताको मिर्च मसाला, श्याम बेनेगलको अंकुर, इरानी फिल्म मुस्ताङ आदि अन्य चर्चायोग्य फिल्म हुन् भन्ने मलाई लाग्छ ।