जिन्दगीको नाममा...
डियर जिन्दगी,
आज तँलाई सम्झेर केही गफ दिन मन लागेको छ । हुन त तँलाई कहिल्यै सम्झिन्नँ भन्छु तर सक्दिनँ, सम्झिहाल्छु ।
तेरो नाममा केही थान भूल÷गल्ती जो गरेको छु । भन्नका लागि केही जानाजान, केही अन्जान । खासमा जान्ने भएपछि अन्जान गल्ती गरिँदैन । तँ आफैं भन् न, जान्ने भएपछि अन्जान गल्ती गर्छ र कोही ? तर, मेरो हकमा बारबार गल्ती भइरहन्छ ।
भइरहन्छ होइन, गरिरहन्छु । नजान्दा नजान्दै कतिपय चीज जानेजस्तो गरेँ । थानका थान सवालहरू नबुझ्दा-नबुझ्दै बुझेजस्तो गरेँ । आफूसँग केही पनि नहुँदा नहुँदै भएजस्तो गरेँ । जटिलभन्दा जटिल कुरालाई सहज लिएँ, तर सहज बनाउन सकिनँ । सरलभन्दा सरल कुरालाई फ्वाँक्कैमा जटिल बनाएँ । जवान हुँदै बूढो भएको जस्तो व्यवहार गरेँ । यी र यस्तै भूलहरूले जिन्दगीमा एउटा भूलभुलैया तयार गरिदियो । म त्यसमै भुलिरहेँ । मान्छेलाई भुल्न, अल्झिनका लागि कुनै ठूलै चीज चाहिँदैन रहेछ । आफ्नै जिन्दगीको रमितामा पनि म सायद रमाइरहेँ । विगतका तमाम घटना-दुर्घटनामा अल्झिँदासम्म ठीकै हुन्छु, बल्झिँदा भने म उत्पात बल्झिन्छु ।
हो, गल्ती जानाजान नै गरिन्छ । अन्जान भयो भन्नु आत्मरती मात्रै हो । बहाना वा स्वभ्रम त्यस्तै केही हो । गल्ती गर्दा सामान्य लाग्नु जति स्वाभाविक हो त्यति नै स्वाभाविक वा अस्वाभाविक जे पनि हुन सक्छ त्यसको परिणाम । हर एक गल्तीसँगै यथेष्ट साहस-दुस्साहस जुट्छ, जुटाइन्छ नै । साहस वा दुस्साहस केही त हुनैपर्छ । एक सनक, एक लहड, एक बहानामा धेरैले धेरै गल्ती गर्छन् । मैले पनि गरेँ । धेरैले गर्ने चीज मैले पनि गरेँ । सामान्य कुरा हो नि ! कसैले नगर्ने मैले गरेको होइन । तै ठिकै छ । अहिले सोध्नुभयो भने ‘जिन्दगी जेनतेन ठिकठाक छ, घरि यता घरि उता दौडिरहेकै छ’ भनेर छोटो जवाफ दिन मलाई खासै गाह्रो पर्दैन ।
१४-१५, त्यस्तै थियो उमेर । जिन्दगीका केही ससाना अनुभव अर्काइभ हुन थालेका थिए । १६ तिर आफंैलाई भन— के गलत के सही ! जिन्दगी बाँच । आफ्नै आयुको ठेगान छैन । गलत-सहीको ठेक्का लिनलाई तँ तेरै जिन्दगीको ठेकेदार पनि त होइन । कुनै चिजको ठेगान नभएको यो नाथे जिन्दगीको ठेक्का लिन खोज्नु घाटाको व्यापार हो । छोडिदे, कति माया गर्छस् ? यो भाते जिन्दगीको यति धेरै माया गरेर तँ स्वयं भाते हुनु पनि त छैन । सम्झाएँ, कति गल्ती भोलि सहीसिद्ध भइजान्छन् । र, कति सहीहरू भोली गलत साबित पनि भइजान्छन् । समयले फरक-फरक परिभाषा जो दिन्छ नै ।
अस्तित्वले आफ्नो गर्भमा लुकाएको तेरो भविष्यले बताउला, के सही के गलत ! सो, गल्ती नगर्न भनी नबाँच्नुको कुनै अर्थ छैन ।
र भनेँ- बाँच्छु, गल्ती होस् वा सही ! किनकि नबाँच्नुजस्तो अर्को गल्ती पनि त छैन । यस्तै भनिरहेँ र त गल्ती गरिरहेँ ।
हो, यहाँ हरकोही मुडस्विङको सिकार हुन्छ । टिनएजमा यो चुरिफुरी डरलाग्दो हुन्छ । सही ऊर्जाको गलत प्रयोग गर्ने÷हुने संक्रमणकाल हो यो । हजुरबुबाले यस्तै भनिरहे । मैले माथि भनेजस्तै गरिरहेँ ।
खासमा बाँच्दा-बाँच्दै थोरधेर-धेरथोर मर्दै-मर्दै जानु प्राकृतिक कुरा हो । साह्रै ढिलो गरी बुझेको सत्य । बाँच्न मात्रै खोजेँ, अप्राकृतिक काम जो भयो । दृष्टिकोणमा खोट । भूल जो भइगएछ, जानाजान । जिन्दगीको आयु हुन्छ । जहिले सिद्धिन्छ, सिद्धिन्छ । तर, एक दिन सिद्धिन्छ । चिरायु पो छु कि झैं गरेँ । सायद त्यो उमेरमा अक्सर सबैलाई यस्तै लाग्दो हो ।
आयु सिद्धिँदै गर्दा खुसी हुन पाउने खासै कुनै काम गरेको छैन । अट्टहास हाँस्दै मर्न सक्ने गरी सन्तोष सँगाल्न सकेको छैन । बालबच्चा छन् । तिनलाई छोडिजाने केही चीज छैन । भरेभोलि के होला के होला, श्रीमतीलाई तिम्रो सेक्युरिटी यो हो है भनेर दिने कुनै आधार छैन । बा-आमालाई बुढेसकालमा दिनैपर्ने कुनै लक्जरी तयार छैन । समग्र परिवारको इज्जत बढ्ने त्यस्तो कुनै काम पनि गरेको छैन । साथीभाइका लागि गर्वकै कुरा हुनसक्ने कुनै त्यस्तो सम्झना पनि निर्माण गर्न सकेको छैन । यी सबका लागि म धेरथोर बाँच्दै, थोरधेर मर्दै गरेको भए सम्भव थियो । त्यसो गरिनँ, गल्ती गरेँ । मैले खुसी मानेका सबै माहोलहरू जोड्यो भने पनि यो असन्तुष्टि झन् गाढा भएर आउँछ । असन्तुष्टि किन भने, असलमा म असल पुत्र, पिता, प्रेमी, श्रीमान् र मित्र कुनै एक पनि हुन सकेको छैन । आधाउधी जिन्दगी त बितिसक्यो । यी पाँच चीजमा एक पनि हुन नसके पनि कम्तीमा आफ्नो कर्म÷पेसामा त उच्च कोटीको हुनैपर्ने थियो, भइनँ । केयरलेस जो थिएँ ।
कहिलेकाहीँ आउनैपर्ने कुरा मनमा आयो । ‘राजन बाबु, तँ आफूलाई अबको १० वर्षमा कहाँ देख्न चाहन्छस् ? ’ भयो के भने प्रश्न मात्रै सोधेँ, उत्तर दिइनँ । सायद उत्तर नै थिएन मसँग । कम्तीमा उत्तर भएको भए बाटो बनाउँथे होला । आउनैपर्ने प्रश्न त आयो । तर, गइहाल्यो । खोजेर पनि उत्तर दिनुपथ्र्याे । दिइनँ, गल्ती गरेँ । हुन त आजकाल पनि कहिलेकाहीँ आउँछ आउन त । तर, अझै मसँग उत्तर छैन । सायद अब त उमेर÷ऊर्जा÷स्रोतको अभाव पनि कारक भयो । त्यसैले त भन्छु, १७ देखि २५ अत्यन्तै संवेदनशील हुनुपर्ने उमेर ।
बाई द वे, ल सोचिहाल्नुस् है । अनि उत्तर पनि दिनुहोला नि ! नभए खोजेरै भए पनि । अबको पाँचपाँच वर्षको अन्तरालमा तपाईं आफूलाई कहाँ-कहाँ देख्न चाहनुहुन्छ ? मेरो त यस्तै भइगयो ।
जीवन समग्रमा हेर्ने दृष्टिकोणमा भर पर्छ । गलत । दृष्टिकोणहरू तत्कालका लागि स्वअनुकूल बनाएँ, समयानुकूल बनाएँ । र, बाचँे । उमेर ढल्कँदै गएपछि लाग्न थाल्यो— के बाचँे ? खै, के बाचँे ?
उमेर पैंतीस भयो । आजसम्म कुनै मिसन लगातार बाँचिन । कति चाहेर पनि बाँच्न सकिनँ । कति नचाहेर । आफ्नै मिसनहरू आफैंसँग बाँचिरहन सकेनन् । मैले बचाइरहन सकिनँ । तसर्थ सिजन सिजनमा भिजन बदलेँ । उपाय नास्ती भएपछि जीवन पनि नास्टी हुन्छ । सिजनल मिसन बाचेँ । आज त्यही सिजनल मिसन पनि मसँग छैन । जेनतेन ज्यूँदै छु । जल्छु, पोलिन्छु । तर, पलाउन छोडेको छैन । र, त ज्यूँदै छु ।
सम्पत्तिको नाममा केही जोडिनँ, केही छैन । कमाएँ, सिध्याएँ । यस्तै भयो । बचतसचत बाल दिइनँ । थाहा थियो, बचत गरे बाँच्न धौधौ । बाँचे, बचत गर्न । बाँच्नु कि बचत गर्नुको दोधारमा बाँच्नु रोजेँ । त्यो पनि गल्ती गरेँ । अलिअलि बाँच्नु र अलिअलि बचत गर्नु मजस्तै निम्न मध्यमवर्गीय मान्छेका लागि बुद्धिमानी हुँदो हो । आफ्टर अल ब्यालन्स म्याटर्स ! उमेर र परिस्थितिले बूढो बनाउँदै लगेपछि आफसेआफ व्यावहारिक हुँदै जाँदो रहेछ मान्छे । व्यावहारिक भएर बिताउनुपर्ने उमेर हावा हावामा बहकिएर सिध्याएँ । अब हुनुको के अर्थ ! नहुनुको के अर्थ ! बीचमै ठीक, गुजारा नै ठीक । मान्छेहरू भन्छन् नि, ल अब त व्यावहारिक हुनुपर्यो । तपार्इंलाई पनि तपाईंका मान्छेले भनिरहन्छन् होला । तर, तपाईंलाई लाग्ला कि यो उमेर व्यावहारिक÷जिम्मेवार÷गम्भीर हुने उमेर होइन । मलाई लाग्छ, व्यावहारिक हुनैपर्ने उमेर हो १७ देखि २५ । तपाईंले गर्ने कामप्रति । तपाईंको करिअरप्रति । तपार्इंप्रति ।
मेरै कुरा अगाडि बढाऊँ है ? व्यापार गरेँ । पारिवारिक-व्यक्तिगत । जागिर खाएँ । फुलटाइम-पार्टटाइम । तिनका पनि आफ्नै किस्सा छन् । सम्झन्नँ भन्छु, सम्झिहाल्छु । कतिपयले आज पनि खिस्याउँछन् । बेलाबेला पछुतोकम्पन अझै हुन्छ । र, कतिपय सम्झेँ भने खल्ती छामिहाल्न मन लाग्छ । आर्थिक अनुशासन जो ध्वस्त थियो । रात गए अग्राख पलाउँछ टाइपको मानसिकता थियो । हो, आश त्यस्तो चीज हो जसले मान्छेको सास जोगाउँछ । तर, त्यही आशको दुरुपयोग गरेँ । आशैआशले थिचेर आशलाई लास नै बनाएँ क्यार । ‘डियर आशा, हार्दिक समवेदना !’ लेखेर आफ्नै लागि समवेदना भने कस्सो कस्सो निम्त्याइनँ । कस्सो-कस्सो, आई क्यान मेक इट स्टिल ब्युटीफुल भनिरहेँ ।
बडो गजबको स्वाद छ यो शब्दमा, धैर्य । मैले व्यापार एवं जागिरमा अधैर्य नभएर गल्ती गरेको छु । जिन्दगीको बहिखातामा आफ्नै धैर्यले लगाएको नोक्सानी ठूलो छ । सो, सधैं न धैर्य सही हुन्छ । न अधैर्य सधैं गलत हुन्छ । टाइम टाइमको कुरा हो ।
देवकोटाले भनेझैं हातका मैला सुनका थैला के गर्नु धनले... होइन रहेछ । देवकोटा दाइ, गलत जो आइडिया दिइगयौ । व्यापारमा असफल मान्छे हुँ म । जागिरमा त भन्नै परेन । आफ्नै नेतृत्व सम्झें भने जोकजस्तो लाग्छ । अनि आफैंसँग झोक्किन मन लाग्छ । कहिले योजना बनाइरहेँ र कार्यान्वयन गरिनँ । कहिले योजना नै बनाइनँ, हावादारी लगानी मात्रै गरिरहेँ । कति योजना बनाएँ, अनुवाद नै गर्न सकिनँ । र, ती यावत् दिस एन्ड द्याटकै ह्याङओभरमा करिअर काउन्सिलिङको काम सुरु गरेँ । पहिला आफ्नो गर्नुपथ्र्यो । आफ्नो नगरी अरूको गरेँ । गल्ती गरेँ । अहिले सच्याउँदै छु । आफ्नो र अरू, दुवैको गर्दै छु ।
निम्न मध्यमवर्गीय परिवारमा जन्मेपछि खातका खात सपनाहरू फ्री-फ्री र फ्री मिल्छन् । भनेँ, गुमाउनु केही छैन । जोखिम मोल । के थाहा, कुन क्लिक पो मिराकल क्लिक हुन्छ । जोखिम त असंख्य मोलेँ, त्यस्तो मिराकल कहिल्यै घटेन । सायद मिराकल हुने गरी बनेको योजनाको अनुवाद नै भएन । ड्रिमिङ डज नट कस्ट एनिथिङ, सो किप ड्रिमिङ भनेँ । गलत गरेँ । ढुक्क हुनुस् । कुनै दुविधा छैन । झुरै मान्छे हुँ म ।
सबैले शिक्षा-शिक्षा-शिक्षा भने । इच्छा कसैले सोधेनन् । हो केरे भनी म पनि दिनहुँ जोड गरिरहेँ । आधारभूत शिक्षा थियो नै । बुझ्ने बेला भएकै थियो । कम्तीमा कुनै सानोतिनो व्यापारमा लाग्नका निम्ति आवश्यक शिक्षा पुगेकै थियो । त्यति गणित प्रशस्त हुन्थ्यो । त्यति काफी थियो त्यो बेला । हुँदा न खाँदाको भूत सवार गरिदिए मान्छेहरूले । म त्यसमै सवार भएँ । विश्वविद्यालय गएँ । गएँ भन्नुमात्रै भयो । त्यहाँ खर्चेको समयको मूल्य खै कति हो, थाहा छैन । सायद त्यो सत्कर्म नै थियो तैपनि मलाई ठूलो पछुतो छ । फरेस्ट्री साइन्स र स्नातक कानुनको ड्रपआउट । अंग्रेजी साहित्यमा स्नातक । आमसञ्चारमा स्नातकोत्तर । काम करिअर कोचिङ । जोक नै जस्तो छ । के गर्नु !
प्रेम गरेँ । रक्सी, चुरोट, चियासँग औधी प्रेम गरेँ । किताब, साधुसन्त, कविसँग पनि अतिशय प्रेम गरेँ । प्रेमिकाहरू सबैसँग उत्पात प्रेम गरेँ । हरेक प्रेम लत बन्यो । हरेक प्रेममा गल्ती गरेँ । लत जो बन्यो, बनाएँ । आफंैलाई आफ्नै वशमा राख्न नसक्ने गरी प्रेम गर्नु पनि गल्ती हो । चाहे त्यो नशा होस् वा प्रेयसी । २० वर्षको हुँदो हुँ, वैवाहिक बन्धनमा तनमन जो सुम्पिएँ । यो उमेरमा गरिने विवाहले मान्छेलाई कि चाहिनेभन्दा बढी परिपक्व बनाउँछ वा आवारा । म कहिले आवारा भएँ । कहिले अति परिपक्व । यो निर्णयले पनि जिन्दगीका कतिपय रेसहरू ‘सम्झना बिर्सना सलल’ भइगए । तपार्इं अहिलेको पुस्ता अलिक फरक हुनुहुन्छ । त्यो बेलाको मभन्दा धेरै नै बुझ्ने हुनुहुन्छ । सम्बन्धजन्य मामलामा सिरियस भएको राम्रो । कम्तीमा सम्बन्धजन्य कुरा लहड÷सनकमा नगर्नुहोला । उनी माली बनेर पो त, नत्र उहिल्यै उजाड-उदास भइसक्थ्यो मेरो कहानी ।
कहिले पशुपतिनाथको आरती नभेट्दा निदाउन सकिनँ । कहिले पर्पल हेजको लाइभ म्युजिकबिना निदाउन सकिनँ । कहिले मदिरा र मन्दिर दुवै नभई भएन । सम्झिल्याउँदा जिन्दगी जोक बनाएछु जस्तो लाग्छ, सम्झिल्याउँदा जिन्दगी जोक बनाएछु जस्तो लाग्छ । लतमाथि लत थप्दै गएँ । तर, आफैंले थप्दै गएको लत घटाउन कहिल्यै सकिनँ । निरीह, असहाय एवं दयालाग्दो हुन्छ मान्छे, आफ्नै लत-कुलतको सामुन्ने । माथिका सबै लत-कुलतहरू कुनै एक सनक, लहड र बहानामै जन्मिएका हुन् । खोजिबस्छु, त्यस्तै कुनै सनक, लहड, बहाना झ्याप्प आओस् र आफ्नै लतकुलतहरूको फटाक् हत्या गर्न सकूँ । अहँ आएनन् । आजसम्म । आशा त नभनूँ तर समयले त्यस्तो सनक पनि त ल्याउला ।
अनुभव, ज्ञान, क्षमता, हैसियत सबै भुलेर विगत १० वर्षदेखि नितान्त जीविकोपार्जनमा केन्द्रित भएँ । जीविका चल्दै गयो, गइरहला पनि । ती अनेकन गल्तीहरूमा गुम्सिएर, थुनिएर रोगी भएको छु । अब उमेर पनि खस्किसक्यो । बालबच्चा, श्रीमती, आमाबाको जिम्मेवारी झन्झन् बढ्यो । म जहाँको त्यहीँ छु । ती गल्ती जसको पश्चात्तापमै सधैं अलमल-अलमल भएँ । कहिले लाग्यो, गल्ती सुधारेरै मात्र अगाडि बढ्छु । सधैं लाग्यो, गल्ती भुलाएर अगाडि बढ्छु । दुवै हुन पाएन । बिचरा मेरो करिअर सधैं तिनै गल्तीहरूको गल्लीमा घरि यता घरि उता गरिरह्यो । त्यस गल्लीबाट हाइवेमा आजसम्म निस्कन सकेको छैन । यसरी फेरि अर्को भूल गरेँ ।
तपाईंलाई सोध्न मन लाग्यो होला, राजन आज ती गल्तीको कुनै मूल्य छ ? अमूल्य छ तिनको मूल्य । विगत १० वर्षदेखि मूल्य नै चुकाइरहेको छु । कुनै ठेगान छैन कहिले कुन मोडमा के के कति कति मूल्य चुकाएपछि म ती तमाम गल्तीहरूबाट मुक्त हुनेछु । कति गल्तीले जीवनको भेटी नै माग्छन् रे । डरै पो लाग्छ । उमेर छँदै सम्हालिनु पथ्र्यो । आज त उमेरको लक्जरी पनि छैन । शारीरिक अवस्था लगभग डेन्जर जोनतर उन्मुख छ । अब सम्हालिएर खासै केही हुनेवाला पनि छैन ।
स्वाभाविक हो, तपाईंलाई यस्तो लाग्न पनि सक्छ कि राजन गोदार, टेक इट इजी । लिभ इजी । जिन्दगी व्यर्थमा घाटाका चीजहरू सोचीबसी खेर फाल्नु कुनै सत्कर्म होइन । तर, जीवन नाफाघाटाको सम्मि श्रण हो । मैले कहिले नाफा मात्रै हेरेँ । आजकाल घाटा मात्रै हेरिरहेछु । अर्को गल्ती गरिरहेछु ।
गल्ती हरकोही गर्छन् । अति सामान्य विषय हो यो । गल्ती गरिन्छ, त्यसबाटै सिकिन्छ । यस्तो विषयलाई यति धेरै अनावश्यक इस्यु किन बनाएको ? भनेर गाली गर्न पनि सक्नुहुन्छ । तर, जिन्दगीमा इस्यु नै यही बनेको छ । हर क्षण हर ठाउँ यही इस्युले जीवनका अन्य अनन्य इस्युहरूलाई उठ्नै दिएको छैन, म उठ्नै सकेको छैन । आज पनि यदाकदा आशाको कल आउँछ । उठाउन भ्याएको छैन । जहिले पनि आशाको कल मिस्ड भइरहेको छ । जहिले रिसिभ हुन्छ तहिले काम होला । यही एउटा आशा बाँकी छ ।
यी तमाम कारणवश राजन गोदारको सम्भावित सुन्दर करिअर एउटा कुनामा मिल्किएको छ । गुनासो नगरी मूल्य चुकाउँदै छु । हरदिन जिन्दगीको एक टुक्रा भेटी चढाउँछु । जस-जसले जे-जे मेटे पनि कोहीकसैले आफ्नै लागि आफ्नै इतिहास मेट्न सक्दैन ।
मन थियो, अझै धेरै भनूँ । भइहाल्यो, आजलाई नभनूँ है ।