एक अनौठो प्रेम
हाँगैपच्छिे बैंसको शिखरमा पुगेर हल्का पाक्न थालेका भोगटेहरू लटरम्म थिए । त्यही बोटमुन्तिरको गोलाकार टेबलमा उनीहरूले ब्रेकफस्ट गर्दै गर्दा म त्यहाँ पुगेको थिएँ ।
बगैंचामा चार महिला थिए । एकछिनमा एकजना पुरुष पनि आइपुग्यो । सिमोन ती महिलाहरूभन्दा झन्डै आधा उमेरको देखिन्थ्यो । ऊसँग बडेमानको स्टिल क्यामरा थियो । उसको जीउडाल पनि क्यामराजस्तै बडेमानकै थियो । पोल्यान्डबाट आएको ऊ कम्तीमा पनि ६ फुटभन्दा बढी अग्लो थियो । तर, उसको स्वर भने ध्यान दिएर सुन्नुपर्ने खालको थियो अन्यथा बोलेको हो वा मुख चलाएको हो ? छुट्याउनै कठिन ! ऊ निकै गोरो थियो । अरू चार महिला पनि कम गोरा थिएनन् । पालैपालो उनीहरूले आ-आफ्नो नाम भने ।
एन्ड्री । ग्लेन्डा । मिसेल । जेनी ।
एन्ड्री आफ्ना नग्न पाखुरा र तिघ्रामा प्याट्ट प्याट्ट पिट्दै थिई । उसलाई लामखुट्टेले बेलाबेला टोकिरहेको रहेछ । रातो डाबर उठिसकेको दाहिने पाखुरामा प्याट्ट पार्दै मलाई हेरेर ऊ मुसुक्क हाँसी । यसै राम्री एन्ड्री हाँस्दा झनै राम्री देखिई ।
‘लभ बाइट्स्', मैले पनि हल्का मुस्कानसहित भनिदिएँ ।
ऊ फेरि मुस्काई । अरू पनि हाँसे ।
न्युजिल्यान्डको अकल्यान्डबाट आएकी जेनी र ग्लेन्डा धेरै वर्षदेखिका साथी रहेछन् । एन्ड्री र मिसेलको मित्रता पनि पुरानै रहेछ । तर, यात्रामा उनीहरूसँग पोल्यान्डको सिमोन पनि मिसिएको थियो ।
‘नाउ वी आर सिक्स गोइङ टु एक्प्लोर काठमान्डु', मैले भनेँ ।
‘नो, वी आर सेभेन', चार महिलामध्ये अलि मोटी देखिने जेनीले भनी ।
‘यो के कुरा गरेको तिमीले ? ', मैले आश्चर्य पोखेँ ।
‘होइन । तिमीलाई मैले एउटा नाम भन्न बाँकी नै छ', उसले मेरो आश्चर्यलाई सम्बोधन गर्न खोजी ।
‘अर्को नाम भन्नलाई यहाँ अरू को छ र ? ', मैले फेरि पनि आफ्नो आश्चर्य दोहो¥याएँ ।
‘हामीसँग बब पनि छ', उसले भनी ।
‘यहाँ त सिमोन, एन्ड्री, ग्लेन्डा, मिसेल अनि तिमी र मसहित जम्मा ६ जना मात्र छौं । कहाँ छ बब ? को हो बब ? ', मैले जेनीलाई गलत प्रमाणित गर्न खोजेँ ।
‘ही इज माइ बब', उसले आफ्नो झोलाबाट प्लास्टिकको हाँस झिकेर मेरो काखैमा राखिदिँदै भनी ।
होटलबाट निस्कनुअघि ब्रेकफास्ट टेबलबाट ‘जस्ट अ मिनेट' भन्दै कोठातिर उक्लेकी ऊ एकै मिनेटमा एउटा कालो झोला भिरेर झरेकी थिई । बल्ल थाहा पाएँ, त्यही हाँसलाई लिन पो उक्लेकी रहिछ ऊ । तर, उसले त्यति बेला बबलाई झोलाभित्रै राखेकी थिई । त्यसैले झोलाभित्र बब नामको हाँस थियो भनेर मलाई के थाहा ?
‘ऊ मेरो सहयात्री हो', बबलाई मेरो काखबाट आफ्नो काखमा तान्दै ५१ वर्षीय अविवाहित जेनीले २० वर्ष पहिलेको एउटा रात्रिभोज सम्झँदै भनी, ‘त्यो बर्थ डे पार्टी थियो । सहरभन्दा परको एउटा सुनसान स्थानमा रहेको फार्म हाउसमा आयोजित त्यो पार्टीमा म पनि निम्त्याइएको थिएँ । खासमा त्यो कसले दिएको पार्टी थियो ? म राम्ररी सम्झन्नँ । सबैलाई रक्सी लागिसकेको थियो । मध्यराततिर एउटा ठूलो गाडीमा सबैजना सँगसँगै फर्केका थियौं । सबैभन्दा पछि म ओर्लेको थिएँ । गाडीमा एउटा कृत्रिम हाँस एक्लै पछाडिको सिटमा बाँकी रहेछ । मैले उसलाई घर लगेँ । त्यो अरू कसैको थियो । मैले फर्काउन नखोजेको होइन । तर, त्यसको पर्सिपल्ट नै केही दिनका लागि म अमेरिका गएँ । फर्केर आउँदासम्म मेरो मन बदलिइसकेको थियो । मैले उसलाई आफैंसँग राख्ने निर्णय गर्दै एउटा नाम दिएँ- बब । बबको अर्थ छिटो र छोटो उफ्राइ वा नाच हो ।'
काखमा हलचल नगरी बसेको बबको टुँडो सुम्सुम्याउँदै ऊ भन्दै थिई, ‘त्यसपछि ऊ मेरो अति घनिष्ठ साथी भयो । कहिल्यै पनि हामी छुट्टिएका छैनौं र म त्यस्तो कल्पना पनि गर्न सक्दिनँ । मेरो अस्तित्वसँग एउटा छुटाउनै नमिल्ने अंश हो ऊ ।'
त्यति भन्दाभन्दै उसले निकै हतारिएर बबलाई मेरो काखमा फालिदिई र झ्यालबाट बाहिरको दृश्य खिची । खसीलाई मोटरसाइकलमा हालेर कतै लगिँदै गरेको दृश्यले ऊ अचम्भित भएकी थिई । ‘यो अचम्मको दृश्यमात्र होइन, कानुनतः बर्जित कार्य पनि हो । हाम्रो देशमा भए कति जरिवाना तिर्नुपथ्र्यो भनेर म भन्न सक्दिनँ', जेनीले भनी ।
फूलपातीको त्यो दिन उसले काठमान्डुका सडकमा असंख्य खसी र बोकाहरू देखी । र, अनेकौंपटक फोटो खिची । खसी, चंगा, टीका र पिङको दसैं-सम्बन्धबारे मैले उसलाई बताएँ । बेलाबेला दसैंका कुरा गरे पनि फेरि हामी बबतिरै मोडिन्थ्यौं । उसले चाइनाको ग्रेटवालमा खिचेको बबको तस्बिर देखाउँदै आफ्ना औंलाहरू गन्न थाली । विभिन्न महादेशहरूतिर पुगी ऊ । र, अन्तिममा बब ६० वटा देश गइसकेको जानकारी दिई । पछिल्लो २० वर्षमा ऊ पनि ६० देश गइसकिछ । त्यसअघि उसले अरू कति देश घुमिसकेकी थिई होली ? अहिलेसम्म पनि बब न्युजिल्यान्डबाट नजिकै रहेको क्यानडा भने पुगेको छैन रे । बबलाई भेट्नु एक वर्षअघि ऊ क्यानडा गएकी रहिछ । त्यसपछि जाने योग नै परेन रे । ‘तर, अर्को वर्ष म बबलाई लिएर क्यानडा जाने छु', उसले तत्काल त्यस्तो मुड बनाई ।
‘बबबिना कतै जाने त के जानेबारे कल्पना पनि गर्न सक्दिनँ', उसले भनी ।
‘बब अहिले नेपालमा छ, जो बुद्धको जन्मभूमि हो, जो एभरेस्टको देश हो, जो हिमालको देश हो, जो नेपालीको देश हो । भर्खरै स्वयम्भू घुमेर ऊ अब वसन्तपुर जाँदैछ । त्यसपछि पाटन, पशुपति, बौद्ध र भक्तपुर जाँदैछ । त्यसपछि एभरेस्ट बेस क्याम्प', मैले भनेँ ।
‘फर्केपछि हामी चितवनको सौराहा पनि जाँदैछौं', उसले थपी ।
‘लुम्बिनी पनि जाँदैछौ ? ', मैले सोधेँ ।
‘दुःखको कुरा यसपटक हामी त्यहाँ जाने छैनौं', उसले स्वरलाई अलि सानो बनाएर भनी ।
‘नेपाल एकपटक घुमेर पुग्ने ठाउँ होइन । अर्कोपटक आयौ भने लुम्बिनी जाऊ', मैले सुझाव दिएँ ।
‘अवश्य । हामी फेरि नेपाल आउनेछौं र लुम्बिनी जानेछौं । होइन न त बब ? ', बबलाई सोधे झैं गरी उसले मलाई सुनाई ।
हाम्रो गाडी गुडिरहेका थियो । म मोबाइलबाटै उसको भिडियो खिचिरहेका थिएँ । बबलाई काखमा राखेर ऊ बबको कथा सुनाउँदै थिई । बबको विगत र वर्तमान सुनाइरहँदा स्वरमा मात्र होइन, उसको आँखामा पनि चम्किलो खुसी प्रस्ट देखिन्थ्यो ।
‘कसैले मलाई धेरैभन्दा धेरै चीज दिएर बदलामा बब माग्यो भने पनि म त्यसको लागि तयार छैन । तर, म एभरेस्ट बेस क्याम्प पुगेपछि कोही एभरेस्टको टप जाँदैछ र बबलाई पनि सँगै लैजान चाहन्छ भने उसलाई म बब दिनेछु । त्यस क्रममा बब त्यतै कतै हरायो र फर्केन भने पनि चित्त बुझाउनेछु । मलाई बब उचाइमा पुग्दा आनन्द लाग्छ । बब एभरेस्टको टप पुग्यो भने मेरो लागि त्योभन्दा अर्को ठूलो खुसी केही हुनेछैन', हिमालप्रतिको आकर्षणले निकै भावुक भएर ऊ त्यसो भन्दै थिई । तर, मलाई लाग्दै थियो, ऊ केही छिन पनि बबलाई छाड्न तयार छैन । बब जेनीको जीवनका प्रत्येक सुखदुखको साक्षी र साथी हो ।
थुप्रै मानिससँग उसले संगत गरी तर ती धेरैसँग उसको सम्बन्ध सधैं उस्तै रहेन । तर, बबसँगको उसको सम्बन्ध र घनिष्ठता उस्तै र अझ गहिरिँदै गयो । बबसँगको उसको सम्बन्धकै कारण धेरै मानिसले उसलाई सिल्लीसमेत भने रे ।
‘बबसँगको मेरो प्रेम देखेर कतिले मलाई एकखालको साइको पनि भन्ठान्छन् तर उनीहरू मेरोअगाडि मेरो प्रेमको सम्मान गर्छन् । ट्रेकिङ गाइड हिरन त्यस्तैमध्येको एक हो । हाँसीहाँसी उसले एभरेस्ट बेस क्याम्पसम्म बबलाई हामीसँगै लैजाने अनुमति दियो', आभार मिसाएर उसले भनी ।
जेनीलाई थाहा छ, बब अजीवित छ । तर, उसको लागि बब अमर छ । बब कहिल्यै मर्दैन ।
जेनीकी आमाले नेपाल यात्रामा बबलाई सँगै लगे पनि एभरेस्ट बेस क्याम्प जाँदा भने काठमान्डुमै छोडेर जान भनेकी थिइन् रे । ‘अग्लो र अप्ठ्यारो हिमाली बाटोमा मलाई कुनै अप्ठ्यारो नहोस् भनेर आमाले मलाई त्यसो भन्नुभएको म बुझ्न सक्छु तर आमाको लागि म जे हुँ, बब मेरो लागि त्यो भन्दा कम होइन । त्यसैले एभरेस्टको टप देखिने गरी म उसको फोटो एभरेस्ट बेस क्याम्पमा खिच्नेछु', उसले भावुक अनुहार बनाएर भनी ।
‘बब बुद्धजस्तै शान्त छ । तर, बेलाबेला अनौठो किसिमले चञ्चल पनि देखिन्छ । नदीमा मात्र होइन, चुपचाप बसेको तलाउको पानीमा पनि ऊ हलचल नगरी बस्न सक्दैन । म आफू डुंगामा बसेर बेलाबेला उसलाई डोरीले बाँधेर डुंगाबाहिर तैरिन छाडिदिन्छु । उसका अनेक व्यवहारहरूले म मात्र होइन, यात्रामा अनेक मान्छे रोमाञ्चित भएका छन्', ऊ मलाई सुनाउँदै थिई ।
छिनछिनमा बबलाई किस गर्दै ऊ मलाई बबको कहानी सुनाउँदै थिई । बब कति भाग्यमानी ! पटकपटक आफ्नो छातीको बीचमा टाँस्दै बबलाई बाजा जसरी दुवै हातले बजाउँदै ऊ बच्ची जसरी रमाइरहेकी थिई ।
‘मंगोलियामा एउटा सानो केटा मेरो नजिक आयो । मैले उसको हातमा बब राखिदिएँ र फोटो खिचेँ । तर, त्यहाँ मलाई निकै अप्ठ्यारो भयो । फोटो खिचिसकेपछि त्यो केटाले बब उसैलाई दिनुपर्ने जिद्दी ग¥यो । बल्लबल्ल बबलाई ऊबाट फुत्काउन सफल भएँ', युद्ध नै जिते जसरी उसले भनी ।
‘ल भन, बबको मूल्य कति हो ? ', न मैले किन्ने हो, न उसले बेच्ने हो भन्ने मनोविज्ञानमा मैले सोधेँ ।
‘इट्स फ्री', त्यति भनेर उसले तत्कालै थपी, ‘इट्स प्राइसलेस । इट्स प्रिसियस ।'
सुरुमा बब निकै रंगीन थियो रे । ‘कालो र सुनौलो रङ मिसिएको उसको आवरण केही कृत्रिमजस्तो देखिए पनि निकै आकर्षक थियो', उसले भनी, ‘अहिले उसको त्यो रङ निकै फिका भइसकेको छ । तर, खुइलिएको रङमा मलाई ऊ निकै वास्तविक र आत्मीय लाग्छ ।'
मैले नेपालमा हाँसलाई अनेक रूपमा बुझिने गरेको बताएँ । हाँस विद्याकी देवी सरस्वतीको वाहन भएको बताउँदै राजहाँसलाई दूध र पानी मिसिएको घोलबाट दूध मात्र छान्नसक्ने प्राणीको रूपमा पनि बुझिने गरेको सुनाएँ । त्यो जानकारी पाएर निकै धन्य भएको उसले मलाई बताई । हाँसबारे ऊ अझ धेरै जान्न खोज्दै थिई तर उसलाई जति मलाई के थाहा ?
जेनीले मसँग एकै छिनमा १, २ र ३ भन्न सिकी । त्यसपछि ४, ५ र ६ हुँदै ७ सम्म पनि सिकी । उसले ४ नम्बरसम्म उसका सहयात्रीलाई गनी । ५ नम्बरमा मलाई, ६ नम्बरमा ऊ आफैंलाई र ७ नम्बरमा बबलाई गनी । नेपाली गन्तीमा बबलाई नछुटाउन उसले ७ नम्बरसम्म सिकेर कण्ठ गरेकी रे ।
असोज-कात्तिक उच्च पर्यटकीय सिजन भएकाले काठमान्डुस्थित विश्व सम्पदाहरू पर्यटकले खचाखच थिए । त्यसैले कोही पनि कतै नअलमलिऊन् र नछुटून् भनेर भीडबीच एकपटक मैले उनीहरूलाई १, २, ३ भन्दै ५ सम्म गनेँ । उसले बबलाई देखाउँदै ६ भनी ।
एकछिनपछि ‘म पनि आउँदै छु भन्दै ऊ गाडीबाट ओर्लिई । उसको आँखामा आँखा गाडेर म हाँसँे ।
‘म पनि आउँदै छु होइन । हामी पनि आउँदै छौं', उसले बबलाई देखाउँदै आफ्नो भनाइ सच्याई ।
‘तिमीले बबलाई बिस्र्यौ', फेरि हाँस्दै मैले भनेँ।
‘कहिलेकाहीँ म सोच्छु, म र बब दुई होइनौं । हामी एक हौं । त्यसरी उसलाई म मभित्रै गन्छु', उसले भनी ।