समर्थकलाई ठटाएपछि एभरा समस्यामा

समर्थकलाई ठटाएपछि एभरा समस्यामा

लिस्बन: युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअघि आफ्नै क्लबका एक समर्थकलाई हिर्काएपछि मार्सिल्लेका प्रभावशाली डिफेन्डर प्याट्रिक एभरा समस्यामा परेका छन् । फ्रान्सेली क्लब मार्सिल्लेले बिहीबार राति पोर्चुगिज क्लब भिक्टोरिया डी ग्विमारेजको मैदानमा खेल्ने कार्यक्रम थियो । सोही खेलको अभ्यासका क्रममा ३६ वर्षीय एभराले आफ्नै क्लबका समर्थकलाई ठटाएका थिए ।

मैदानजनिकै बसेर आफ्नो क्लबको अभ्यास हेरिरहेका ती समर्थकको टाउकोमा एभराले ‘एरोबेटिक किक' प्रहार गरेका थिए । समर्थकमाथि जाइलागेका एभरालाई टोलीकै अन्य साथीले छुट्याएका थिए । समर्थकमाथि हातपात गरेपछि एभरालाई भिक्टोरिया डी ग्विमारेजविरुद्घको खेल खेल्नबाट रोक लगाइएको थियो । उनी परिवर्तित खेलाडीको रूपमा टोलीमा सहभागी थिए । उक्त खेलमा मार्सिल्ले १—० गोलले पराजित भएको थियो ।

युरोपेली फुटबल महासंघ (यूईएफए) को अनुशासन समितिले एभरामाथि थप कारबाही गर्ने भएको छ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एभरामाथि गरिने थप कारबाहीको निर्णय हुन भने बाँकी छ । मार्सिल्लेका ती समर्थकले अभ्यासमा व्यस्त एभरालाई करिब आधा घन्टादेखि ठूलो स्वरमा जिस्काइरहेको समाचार फ्रान्सेली समाचारपत्रहरूले प्रकाशित गरेका छन् । आफूलाई जिस्काएपछि आक्रोशित बनेका एभराले ती समर्थकको टाउकोमा किक प्रहार गरेका थिए ।

फ्रान्सेली पत्रिका एल इक्विपका अनुसार समर्थकमाथि किक प्रहार गर्नुअघि एभरा र ती समर्थकबीच केही समय विवाद पनि भएको थियो । विवादकै क्रममा आवेशमा आएर एभराले ती समर्थकमाथि किक प्रहार गरेका थिए । ‘प्याट्रिक एभरा टोलीका अनुभवी खेलाडी हुन्, पक्कै पनि त्यहाँ केही भएको हुनुपर्छ, अन्यथा उनले यस्तो कार्य कदापि गर्ने थिएनन्', मार्सिल्लोका प्रशिक्षक रुडी गार्सियाले भनेका छन् ।

करिब आठ वर्ष म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दा एभराले क्लबलाई पाँचवटा प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सेनेगलका खेलाडी एभरा म्यानचेस्टर युनाइटेडबाट तीन वर्ष इटालियन सिरिए क्लब युभेन्ट्समा बिताएपछि यसै सिजन मार्सिल्लोमा आबद्ध भएका हुन् । गत जनवरीमा मार्सिल्लेमा आबद्ध भए पनि उनले क्लबका लागि हालसम्म दुई खेलमात्र खेलेका छन् ।

एभराको उक्त घटनालाई विभिन्न सञ्चारमाध्यमले मार्सिल्लेकै पूर्वखेलाडी एरिक क्यान्टोनाको घटनासँग तलना गरेका छन् । म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दा क्यान्टोनाले सन् १९९५ को जनवरीमा भएको क्रिस्टल प्यालेसविरुद्घको खेलका क्रममा एक समर्थकलाई ‘कुङ् फु किक' प्रहार गरेर ढालेका थिए । उक्त घटनालगत्तै फ्रान्सेली खेलाडी क्यान्टोनालाई रातो कार्ड देखाइएकोे थियो भने उनलाई नौ महिनासम्म कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध पनि लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.