सामाजिक सञ्जाल प्रयोगबारे न्युजरुमलार्इ सल्लाह
विश्वविख्यात पत्रिका न्युयोर्क टाइम्सले शुक्रबार १३ अक्टोबर २०१७ (२७ असोज २०१७) मा त्यहाँ कार्यरत पत्रकारहरूलाई सामाजिक सञ्जाल प्रयोगबारेमा दिएका मार्गनिर्देशनहरू अद्यावधिक गर्नुका साथै केही विषय थपेर परिमार्जन गर्यो।
नयाँ मार्गनिर्देशनमा न्युयोर्क टाइम्सको पत्रकारितामा सामाजिक सञ्जालले खेलेको भूमिकाको प्रशंसा गरिएको छ । तर उक्त मार्गनिर्देशनमा त्यहाँ कार्यरत पत्रकारहरूलाई कुनै वाद र राजनीतिक दलको पक्षधर देखिने गरी वा उक्त पत्रिकाले लेख्दै गरेको विषयमा विचार अभिव्यक्त गर्दा बढी नै सचेत हुने भनिएको छ।
पारदर्शिताको लागि भन्दै उक्त पत्रिकाका कार्यकारी सम्पादक डीन ब्याकेटले पठाएको परिचयात्मक मेमोसहितको मार्गनिर्देशनको पूर्ण रूप न्युजरुममा उपलब्ध गराइएको थियो ।
उक्त पत्रिकाले यी मार्गनिर्देशनका बारेमा पाठकहरूका प्रतिक्रिया र राय पनि मागेको छ । यो मार्गनिर्देशनका बारेमा केही जिज्ञासा उत्पन्न भएमा न्युयोर्क टाइम्सको अनलाइन सेवामार्फत प्रतिक्रिया दिन उक्त पत्रिकाले अनुरोध गरेको छ ।
पत्रकारिता विकासको सन्दर्भमा द न्युयोर्क टाइम्स र नेपालका पत्रपत्रिकका न्युजरुममा धेरै भिन्नता हुन सक्छन् । फरक सामाजिक र सांस्कृतिक मान्यताका कारण नेपालको धरातलीय यथार्थ फरक हुन सक्छ । तर नेपालका सञ्चारमाध्यमका न्युजरुममा कार्यरतहरूलाई पनि यो उपयोगी हुनसक्ने ठानी उक्त मार्गदिर्नेशन यहाँ गरिएको छ ।
१. न्युजरुमलाई कार्यकारी सम्पादकको मेमो
वर्षौंसम्म सामाजिक सञ्जालमा प्रभावकारी भूमिका खेल्न न्युयोर्क टाइम्स सफल भएको छ । हाम्रा न्युजरुमका सामाजिक सञ्जाल ‘अकाउन्टहरू’ लाई लाखौं मानिसहरू पछ्याउँछन् । हाम्रा धेरै पत्रकार फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा प्रभावकारी आवाज बनिसकेका छन् ।
विश्वको सबैभन्दा राम्रो समाचार गृह बनिरहनका लागि हामीले सामाजिक सञ्जालमा गतिशील उपस्थिति देखाउनैपर्छ । तर सामाजिक सञ्जालमा हामी जिम्मेवारीपूर्वक र हाम्रा न्युजरुमका मान्यताअनुरूप प्रस्तुत पनि हुनुपर्छ । त्यसैले सामाजिक सञ्जालमा हाम्रो उपस्थितिसम्बन्धी अद्यावधिक गरिएको र विस्तारित मार्गनिर्देशन प्रस्तुत गरेका छौं । यो मार्गनिर्देशन क्लिफ लेभी, फिल कोर्बेट र सिन्थिया कोलिन्सको सहकार्य र प्रयासबाट सम्भव भएको हो र यसका बुँदाहरू हाम्रो न्युजरुमका अनुभवमा आधारित छन् ।
यी बुँदालाई राम्रोसँग पढ्नुहोस् र हृदयमै राख्नुहोस् ।
डीन ब्याकेट, कार्यकारी सम्पादक
२. पृष्ठभूमि
हाम्रो पत्रकारितामा सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको छ । यी सञ्जालहरू हाम्रा संवाददाता र सम्पादकहरूले आफ्ना काममा सहयोग पुग्ने गरी प्रयोग गर्न सक्छन्, समयसमयमा महत्वपूर्ण जानकारी दिन सक्छन्, जिज्ञासाको उत्तर दिन र नयाँ जिज्ञासा राख्न पाउँछन्, स्रोतहरू व्यवस्था गर्न सक्छन् र पाठकसँग अन्य वैकल्पिक तरिकाले संवाद गर्न सक्छन् । सामाजिक सञ्जाल संवादको नयाँ माध्यमका रूपमा प्रयोग गर्न सक्छन् । सामाजिक सञ्जालको प्रयोगले पाठक र हाम्राबीचको पर्दा हटाएर पाठकहरूलाई हाम्रा रिपोर्टिङ देखाउन र रिपोर्टिङमा उनीहरूको सहयोग लिन सकिन्छ । यस्ता माध्यमबाट नयाँ पाठकसम्म पहुँच विस्तार गर्नसमेत सकिन्छ ।
तर सामाजिक सञ्जालले पत्रिकामाथि केही खतरा पनि निम्त्याउन सक्छ । यदि हाम्रा पत्रकारहरू पूर्वाग्रही भएको वा सामाजिक सञ्जालबाट प्रवाहित विचार ‘सच्याउन’ खोजेको देखिएमा त्यस्तो गतिविधिले न्युयोर्क टाइम्सको पूरै न्युजरुमको विश्वसनीयता घटाइदिन सक्छ । हामीले सधैं स्पष्टसँग भन्दै आइरहेका छौं– हाम्रा न्युजरुममा भएका व्यक्तिहरूले हाम्रो तटस्थता र निष्पक्षतामाथि शंका उत्पन्न हुने गरी सामाजिक सञ्जालमा केही पनि पोस्ट् गर्नु (सम्प्रेषण गर्नु) हुँदैन ।
सम्बन्धित विभागका प्रमुखहरूले ती विभागमा कार्यरतहरूबाट यी मार्गनिर्देशन पालना भएको सुनिश्चित गर्नुपर्छ । यी मार्गदिर्नेशनको पालनालाई कार्यदक्षता पुनर्मूल्यांकनमा समेत पारिनेछ ।
३. कसरी बनाइयो र कसरी अद्यावधिक गरियो ?
मार्गनिर्देशन बनाउने क्रममा यसलाई हाम्रा पत्रकारहरूको अनुभवमा आधारित बनाउन र यसलाई सहकार्य र सहमतिका आधारमा बनाउन हामीले न्युजरुमबाट असाध्यै धेरै राय, सुझाव र प्रतिक्रियाहरू लिएका छौं । सामाजिक सञ्जालमा प्रभावकारी रूपमा प्रस्तुत भइरहेका संवाददाताहरूले यसलाई समीक्षा गरेका छन् र असाध्यै सहयोग हुने सुझावहरू दिएका छन् । प्रस्तुत बुँदाहरूमा उनीहरूले स्वीकृति जनाएका छन् । त्यसरी सहयोग गर्ने संवाददाताहरू हुन्– यामिच अलसिन्डोर, पिटर बेकर, रुक्मिनी कालीमाची, निक कन्फेसर, म्याक्स फिसर, म्यागी हेबरम्यान, केटी रोजर्स र मार्गोट स्यांगर–क्याट्ज ।
४. मुख्य बुँदाहरू
१. सामाजिक सञ्जालमा पोस्ट गर्दा हाम्रा पत्रकारहरूले कुनै वादको उग्र समर्थक देखिने, राजनीतिक विचारहरूलाई समर्थन गर्ने, दलका उमेदवारहरूलाई तोकेर समर्थन गर्ने र आक्रामक कमेन्ट गर्ने जस्ता न्युयोर्क टाइम्सको ख्याति घटाउने काम गर्न कदापि हुँदैन ।
२. न्युयोर्क टाइम्सले वस्तुगत आधारमा प्रस्तुत गर्न लागेका विषयहरूमा हाम्रा पत्रकारहरूले कुनै पक्ष लिनु हुँदैन ।
३. यी मार्गनिर्देशनहरू न्युजरुमका प्रत्येक विभागहरूमा लागू हुन्छन् । राजनीति र सरकारका बारेमा नलेख्नेहरूका हकमा पनि यी मार्गनिर्देशन उत्तिकै लागू हुन्छन् ।
पिटर बेकर भन्छन्: यो बुझ्नु आवश्यक छ कि राष्ट्रपति ट्रम्पका बारेमा हाम्रा संवाददाता र सम्पादकहरूले गरेका ट्विटलाई न्युयोर्क टाइम्सकै विचार वा लाइनका रूपमा बुझ्न सक्छन् । ट्रम्पका बारेमा नलेख्नेहरूले त्यस्ता पोस्ट गर्दा पनि पाठकले त्यसरी नै बुझ्न सक्छन् । ह्वाइटहाउसले पनि त्यस्तो भिन्नता देख्दैन । (राष्ट्रपति ट्रम्प र न्युयोर्क टाइम्सका बीच राम्रो सम्बन्ध छैन । पत्रिकाले उनको आलोचना गर्छ र ती आलोचनालाई ट्रम्प स्वीकार गर्दैनन् । न्युयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमलाई ट्रम्प ‘नक्कली’ मिडिया भन्छन् । यी ‘नक्कली’ समाचारमाध्यमले उनको नचाहिँदो खेदो खनेको आरोप ट्रम्पले लगाउने गरेका छन्) । यस्तो अवस्थामा हामी सबै एकै ठाउँमा उभिनु जरुरत छ ।
हामीलाई लाग्छ, हाम्रा पत्रकारहरूको सबै सामाजिक सञ्जालका गतिविधिलाई यो नीतिले समेट्छ । तपाईंलाई लाग्ला कि फेसबुक, ट्विटर, इन्स्टाग्राम, स्न्यापच्याट र अरू सामाजिक सञ्जालका हाम्रा अकाउन्टहरू हाम्रा व्यक्तिगत (स्पेस) हुन् र ती हामीले काम गर्ने संस्थाहरूसँग सम्बन्धित छैनन् । तर हामीले अनलाइनमा राखेका (पोस्ट गरेका) र लाइक गरेका सबै कुरा धेरै हदसम्म सार्वजनिक नै हुन्छन् । सार्वजनिक क्षेत्रमा गरेका हाम्रा हरेक क्रियाकलापलाई न्युयोर्क टाइम्ससँग जोडेर हेर्न सक्छन् मानिसहरूले ।
निक कन्फेसर भन्छन्: वास्तवमा मेरो ट्विटर अकाउन्ट न्युयोर्क टाइम्सकै अकाउन्ट जस्तै हो । यो पत्रिकाले मेरो ट्विटर अकाउन्ट नियन्त्रण गर्दैन, तर मेरो ‘फिड’ मा देखा पर्ने कुरामा यो पत्रिकालाई नै उत्तरदायी ठानिन्छ र यसलाई पत्रिकासँग जोडेर हेरिन्छ । राम्रो नराम्रो जे लागे पनि सामान्य पाठकहरूले मेरो सामाजिक सञ्जालका अकाउन्टहरूलाई पत्रिकाको डिजिटल रूपको एउटा हिस्सा जस्तै गरेर बुझ्छन् । यति ठूलो सञ्चारमाध्यममा काम गर्नुको यति मूल्य चुकाउन (मनमा लागेका कुरा जस्ताको तस्तै पोस्ट गर्न नपाउनु) हामी तयार हुनुपर्छ । यो जायज पनि छ । मेरो ट्विटर अकाउन्ट यति धेरै प्रभावशाली भएको वा पछ्याइएको म न्युयोर्क टाइम्समा काम गरेको भएर नै हो ।
१. सार्वजनिक जीवनका सेवाहरूका बारेमा भएका गुनासाको सामाजिक सञ्जालमा गुनासो गर्ने प्रवृत्तिलाई पनि हामी प्रोत्साहित गर्दैनौं । तपाईंको गुनासो जायज र वैध हुन सक्छ, तर न्युयोर्क टाइम्सको संवाददाता वा सम्पादक भएको हुनाले तपाईंको गुनासोले विशेष महत्व पाउन सक्छ ।
२. फेसबुक र अन्य सामाजिक सञ्जालमा निजी र गोप्य समूहहरू र कुनै वादको उग्र पक्षपोषण गर्ने विभाजनकारी समूहहरूमा पनि संलग्न नहुनुहोस् । रिपोर्टिङमा सहयोग लिन यस्ता समूहहरूमा संलग्न हुनुभएको हो भने आफूले पोस्ट गर्ने कुरामा सचेत हुनुहोस् ।
३. सामाजिक सञ्जालमा अरुलाई सम्मानपूर्वक व्यवहार गर्नुहोस् । पाठकले तपाईंको कामका बारेमा प्रश्न उठाउने र आलोचना गर्ने गर ेभने सोचविचार गरेर मात्र प्रतिक्रिया दिनुहोस् । प्रतिक्रिया दिने पाठकले राम्रोसँग पढेको रहेनछ भन्ने आशयको प्रतिक्रिया नदिनुहोस् ।
यदि आलोचना आक्रामक र असंवेदनशील छ भने उत्तर नदिएकै राम्रो । सामाजिक सञ्जालमा धम्की दिने र दुव्र्यवहार देखाउनेहरूलाई ब्लक गर्ने वा नदेखिने बनाउन पाउने हाम्रा पत्रकारहरूको अधिकारलाई हामी समर्थन गर्छौं, तर आलोचना गरेकैले मात्र ब्लक गर्ने कार्यचाहिँ कृपया नगर्नुहोला ।
रुक्मिनी कालीमाची भन्छिन्: कसैले सामाजिक सञ्जालमा दुव्र्यवहार देखाउँदा म रिसाउँथें र तिनीहरूलाई नराम्रा प्रतिक्रिया दिन्थें । त्यसले परिस्थिति झन् नराम्रो बनाउँदो रहेछ । अन्त्यमा मैले के थाहा पाएँ भने त्यस्ता व्यक्तिलाई सीधै ब्लक गर्न थालें भने मैले सामाजिक सञ्जालको छलफलको बहाबलाई नियन्त्रण गर्न सक्दो रहेछु । महिलालाई त्यस्ता दुव्र्यवहार देखाउनेहरूलाई ठीक मानेर तिनीहरूलाई पछ्याउने मानिसहरू पनि हुँदा रहेछन् । दुव्र्यवहार देखाउने सबैलाई ब्लक गरेपछि म त्यस्तो नराम्रो संवाद पूरै रोक्न पनि सक्छु । न्युयोर्क टाइम्समा काम गर्ने महिला लेखकलाई आपत्तिजनक तस्बिरहरू पठाएर ठीक पार्नुपर्छ भन्ने सोच्नेहरूविरुद्ध यो नै सबैभन्दा राम्रो रणनीति हुन सक्छ ।
१.. सामाजिक सञ्जालकै कारणले तपाईंलाई सुरक्षा चुनौती भयो भने तपाईंको प्रमुख वा तोकिएको व्यक्तिलाई खबर गर्नुहोस् । यहाँ कार्यरत पत्रकारहरूको सुरक्षाका लागि न्युयोर्क टाइम्सको नीतिहरू छन् ।
२. प्रत्यक्ष प्रसारण र अपडेटका लागि सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं, तर सकेसम्म हाम्रा पत्रकारहरूले पत्रिकाकै डिजिटल माध्यमबाटै त्यस्तो समाचार प्रवाह गर्न प्रयास गरून् भन्ने हामी चाहन्छौं ।
३. कुनै पनि तुरुन्तै प्रवाह गर्नुपर्ने समाचार पत्रिकाको आफ्नै विभिन्न माध्यमबाट आऊन् भन्ने हामी चाहन्छौं, तर कहिलेकाहीं सामाजिक सञ्जालबाट पहिला प्रसारण गर्न उचित हुने अवस्था पनि हुन सक्छ । यसमा सुझाव, सल्लाह र मार्गनिर्देशनका लागि तपाईंको विभाग प्रमुख वा सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नुहोस् ।
४. पारदर्शी हुनुहोस् । तपाईंले केही गलत वा अनुचित कुरा ट्विट गर्नुभयो र त्यसलाई हटाउन (डिलिट गर्न) चाहनुभयो भने त्यस्तो हटाएको जानकारीपछिका ट्विटहरूमा दिनुहोस् । यसका लागि कृपया हाम्रो सामाजिक सञ्जालमा भूलसुधार नीति पालना गर्नुहोस् ।
५. तपाईंले न्युयोर्क टाइम्सबाहेक अरू स्रोतहरूका लिंक राख्नुभएको छ भने फरकफरक र विविध विचार भएका लिंकहरू राख्नुहोस् । अरू स्रोतहरूबाट समाचार, विचार र व्यग्यं बारम्बार लिंक गर्नु उचित होइन । बहसको विषयको एउटा पक्षको मात्र लिंक प्रस्तुत गर्दा तपाईं पनि त्यसैको पक्षधर हुनुहुँदो रहेछ भन्ने पर्छ ।
६. न्युयोर्क टाइम्सले स्वीकार नगरेका अरू स्रोतहरूका स्कुप र आक्रामक समाचार सेयर गर्नुअगाडि होसियार हुनुहोस् । कहिलेकाहीं अर्को सञ्चार गृहबाट आएको समाचार न्युयोर्क टाइम्सका पत्रकारले ट्विट गर्दा यो पत्रिकाले त्यो समाचारलाई स्विकारेको गलत अर्थ लाग्न सक्छ ।
आवाज, प्रस्तुति र रिपोर्टिङमा विविधता ल्याउन हाम्रा पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गर्न पाउँछन् । खासगरी नयाँ तरिकाले समाचार प्रस्तुति गर्न सकेसम्म न्युयोर्क टाइम्सकै डिजिटल माध्यमबाट यस्तो गर्न प्रोत्साहित गरिन्छ ।
मार्गोट स्यांगर–क्याट्ज भन्छिन्: यी अरू माध्यम (सामाजिक सञ्जालको प्रयोग) को रमाइलो पक्ष के हुन् भने यी न्युयोर्क टाइम्सको आलेखमा भन्दा यहाँ फरक किसिमले प्रस्तुत हुन सकिन्छ । तपाईं आफूलाई थाहा नभएका कुरा सोध्न सक्नुहुन्छ, थोरै भए पनि हाँसो गर्न सक्नुहुन्छ, अचम्म लागेको संकेत गर्न सक्नुहुन्छ र अरूका काम पनि सेयर गर्न सक्नुहुन्छ । मलाई ट्विटर प्रयोग किन उपयोगी हुन्छ भने म यसबाट विज्ञहरू र पाठकहरूसँग कम औपचारिक तरिकाले छलफल गर्न सक्छु र मेरा विचार परीक्षण गर्न पाउँछु । तर पनि म मेरा ट्विटहरू न्युयोर्क टाइम्सको संवाददाताको ट्विट भन्दै उद्धृत हुन सक्छन् भन्नेमा सचेत छु ।
१. हाम्रा पत्रकारहरूले सामाजिक सञ्जालमा नयाँ कुरा प्रयोग गर्न पाउँछन् भन्नुको आशय यो होइन कि उनीहरूले अरूको विचारलाई ‘सच्याउन’ कोसिस वा प्रयास उनीहरूले गर्न पाउँछन् ।
५. पोस्टिङ गर्न लागेको विषयमा द्विविधा उत्पन्न भएमा
तपाईंको सामाजिक सञ्जालमा गर्न लागेको पोस्टिङ न्युयोर्क टाइम्सको मापदण्डअनुरूप छ कि छैन भनी शंका लागेमा आफैंलाई यी प्रश्न गर्नुहोस् ः
१. न्युयोर्क टाइम्समा लेखिने आलेखमा तपाईं यस्ता विचार अभिव्यक्त गर्न सक्नुहुन्छ ?
२. तपाईंको पोस्ट पढ्ने व्यक्तिले तपाईंको पूर्वाग्रह वा तपाईं कुनै विषयमा कतै ढल्किएको पत्ता लगाउन सक्छ ?
३. पाठकले तपाईंको पोस्ट देखे र तपाईं द न्युयोर्क टाइम्सको पत्रकार हो भन्ने थाहा पाए भने तिनीहरूले यो पत्रिकामा आएका विषयवस्तु तटस्थ र निष्पक्ष हुन्छ भन्ने विश्वास गर्लान् ?
४. तपाईंका पोस्टहरूले तपाईंका सहकर्मीहरूलाई प्रभावकारी रूपमा काम गर्न त वाधा पुर्याउँदैन ?
५. कसैले तपाईंको सामाजिक सञ्जालका पूरै भित्ता, तपाईंले सेयर गरेका लिंक, रिट्विट हेर्दा तपाईंले कुनै विषयलाई निष्पक्ष र तटस्थ तरिकाले प्रस्तुत गर्ने विषयमा आशंका गर्न सक्छ कि सक्तैन ?
म्यागी हेवरम्यान भन्छिन्:
केही पोस्ट गर्नुअगाडि आफैंलाई सोध्नुहोस् ः के यो भन्नैपर्ने कुरा हो ? के यो तपाईंले नै भन्नुपर्ने कुरा हो ? र यो तपाईंले यही समयमा भन्नुपर्ने कुरा हो ? यी प्रश्नमध्ये एउटाका लागि मात्रै पनि होइन भन्ने उत्तर आउँछ भने हतारिएर पोस्टिङ नगर्नु राम्रो हुन्छ ।
१. तपाईंलाई अझै पनि द्विविधा भयो भने तपाईंका प्रमुख वा सम्बन्धित व्यक्तिलाई सामाजिक सञ्जालका राम्रा अभ्यासबारे सोध्नुहोस् ।
२. यी सामाजिक सञ्जालका मार्गनिर्देशनका अलावा यहाँ कार्यरतहरूले न्युजरुमको नैतिक पत्रकारिताका मार्गनिर्देशन पनि यहाँ लागू हुन्छन् र पालना गरिनुपर्छ ।
अन्त्यमा
तपाईंले थाहा पाइहाल्नुभयो होला, हामीले सन्तुलन कायम गर्न कोसिस गरेका छौं । हामी हाम्रो न्युजरुमले सामाजिक सञ्जालको सदुपयोग गरोस् भन्ने चाहन्छौं किनभने यसले पाठक, श्रोता र दर्शकसँग संवादमा रहिरहने अवसर दिन्छ र न्युयोर्क टाइम्सको पहुँच पनि बढाउँछ । तर हाम्रा आफ्नै सहकर्मीबाट यस्ता माध्यममा कसरी रचनात्मक रूपले संलग्न हुने भनी आएका यी सुझाव र दृष्टिकोण हाम्रा पत्रकारहरूले हृदयदेखि नै पालना गर्नेछन् भन्ने आशा पनि गरेका छौं ।
हामी तपाईंहरूका प्रतिक्रियाको हार्दिक स्वागत गर्दछौं । यी मार्गनिर्देशनका बारेमा केही प्रश्न भएकमा क्लिफ लेभी, फिल कोबर्ट र सिन्थिया कोलिन्ससँग सम्पर्क गर्नुहोला । सामाजिक सञ्जाल गतिशील प्रकृतिको भएकाले यी मार्गनिर्देशनहरू पनि निश्चित रूपमा अद्यावधिक र परिमार्जन भइरहने जानकारी गराउन चाहन्छौं ।
(१३ अक्टोबर २०१७ मा प्रकाशित न्युयोर्क टाइम्सको अनलाइन संस्करणबाट अनूदित । यो सामाजिक सञ्जालको प्रयोगसम्बन्धी मार्गनिर्देशन हो ।)
अनुवादक: शिवप्रसाद तिवारी