एउटा सिकार गन्तव्य

एउटा सिकार गन्तव्य

ढोरपाटन देशको एकमात्र सिकार आरक्ष हो । लेकाली हावापानी क्षेत्रमा पर्ने भएकाले यो क्षेत्र जैविक विविधताका दृष्टिले धनी मानिन्छ । प्राकृतिक भूसम्पदा, दुर्लभ वन्यजन्तु, वनस्पति एवं पर्यापर्यटनका दृष्टिले ढोरपाटन महत्वपूर्ण सिकार गन्तव्य हो। बागलुङको उच्च हिमाली भूभागमा अवस्थित धौलागिरि हिमशृंखलामै पर्छ ढोरपाटन । यो म्याग्दी, बागलुङ, डोल्पा र रुकुम गरी चार जिल्लामा फैलिएको छ । यसको कुल क्षेत्रफल एक हजार तीन सय २५ वर्ग किलोमिटर हो । भौगोलिक अवस्थितिका हिसाबले आरक्षको पूर्वपट्टि दारेखानी, झाल्के र लामाभन्ज्याङ सम्मका धुरी पर्छन् । पश्चिमतर्फ चाहिँ खरिवाङखोला, कुल्टाभन्ज्याङ र ज्याङ्लाभन्ज्याङ रहेका छन् । त्यस्तै, दक्षिणपट्टि सुर्तिबाङ र उत्तरगंगा छन् भने उत्तरी सिमानामा पुथा, चरेन र गुर्जा हिमालले आरक्षलाई पहरा दिइरहेका छन् ।

ढोरपाटनको उत्तरपट्टि सदा हाँसिरहेका देखिने हिमशृंखलाहरूले मनै प्रफुल्ल पार्छन् । वर्षैभरि ती चुचुरा हिउँको सेतो फेटा कसेर उभिएका देखिन्छन्, युगौंदेखि । दक्षिणतर्फका केही कम उचाइ भएका हरिया टाकुराहरूले हिउँदमा मात्रै सेतो फोटा कस्छन् । शिशिरमा ती उजाड देखिन्छन् ।

आरक्षको ठूलो भूभाग घाँसे मैदानले भरिएको छ । भीर र पहराले पनि उत्तिकै स्थान ओगटेका छन् । बाँकी भूभाग खर्क, बुट्यान, जंगल एवं खोलाले ओगटेको छ । आंशिक भाग खेतीयोग्य जमिनका रूपमा पनि प्रयोग भएको खेख्न सकिन्छ । मुख्यतया यहाँ मगर, थकाली, गुरुङ एवं दलित समुदायका मानिसको बसोबास छ ।


...
ढोरपाटन आरक्ष क्षेत्रको न्यूनतम उचाइ दुई हजार मिटरदेखि सुरु हुन्छ । अधिकतम उचाइ सात हजार दुई सय ४६ मिटरको चुरेन हिमालसम्मै फैलिएको हुनाले यस आरक्षमा शीतोष्ण, लेकाली एवं टुन्ड्रा हावापानी पाइन्छ । वर्षातको समय यहाँ जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ । कात्तिकदेखि बाक्लो तुषारो जम्न हुन्छ र माघ महिनादेखि भने यहाँ लगातार हिउँ पर्छ ।

वनसम्पदाका दृष्टिले पनि महत्वपूर्ण छ ढोरपाटन । आरक्षको ठूलो क्षेत्रफल खोटो सल्ला, गोबे्र सल्ला, धुपी, भोजपत्र, खर्सुं र गुराँसजस्ता वनस्पतिले ढकमक्क देखिन्छ । अनेक दुर्लभ वनस्पति र जडीबुटी पनि यहाँ पाइन्छन् । यार्सागुम्बा, पाँचऔंले, जटामसी, नीरमसी, बोझो, चिराइतो लगायतका मूल्यवान् एवं दुर्लभ जडीबुटीका लागि पनि ढोरपाटन प्रसिद्ध मानिन्छ ।

दुर्लभ एवं संरक्षित पक्षीहरूका लागि त ढोरपाटनको महत्व अधिक छ । डाँफे, मुनाल, हिउँकुखुरा, कोकलास, चिरलगायतका संरक्षित चरा यहाँ पाइन्छन् । त्यस्तै नाउर, घोरल, झारल, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका संरक्षित एवं दुर्लभ जनावरका लागि पनि यो क्षेत्र प्रसिद्ध छ । यी पशुपक्षीको अवलोकनका लागि पनि थुप्रै पर्यटकको यहाँ घुइँचो लाग्ने गर्छ । आरक्ष क्षेत्रको पनि सेंग र सुनदह क्षेत्रमा वन्यजन्तुहरूको बसोबास बाक्लो पाइन्छ ।

सोखका लागि सिकार गर्नेदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्मका लागि ढोरपाटन भरपर्दो सिकार आरक्ष हो । देशविदेशबाट खुंखार सिकारी यहाँ मनोरञ्जन र प्रतिस्पर्धा लड्नसमेत आउँछन् । बर्सेनि राष्ट्रिय निकुञ्ज आरक्ष विभागले टेन्डर आह्वान गरी यस क्षेत्रमा सिकारी पठाउने गर्छ ।

आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइने सिकार आरक्षका प्रमुख अणनाथ बरालले बताए । उनका अनुसार एउटा नाउर सिकार गर्न सिकारीले तेह्र लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ । सिकारीलाई लाइसेन्सदेखि लिएर सिकार खेल्न लाग्ने सबै रकम लिने काम विभागको हो । ढोरपाटनमा सिकारका लागि कात्तिक-मंसिर र वैशाख-जेठ महिना उत्तम मानिन्छ ।

ढोरपाटन भरपर्दो धार्मिक गन्तव्य पनि बन्नसक्छ । आरक्ष कार्यालयबाट एक किलोमिटर दूरीमा देउरालीनजिकै उत्तरगंगा र ढोरवराह थान छन्, जहाँ धार्मिक पर्यटकको घुइँचो लाग्छ । वैशाख पूर्णिमा र जनैपूर्णिमामा यहाँ मेला पनि लाग्छ । मेला भर्न बागलुङ, म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, बुटवल लगायतका जिल्लाबाट हजारौं श्रद्घालु भक्तजन आउँछन् ।

यहाँका छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको बराहथान, चिसापानी, भण्डारी गाउँको सिमबराह पनि महत्वपूर्ण धार्मिक स्थल हुन् । त्यस्तै पुख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुनदह, जाल्पाताल, रुद्रतालजस्ता अन्य धार्मिक एवं पर्यटकीय स्थल पनि यहाँका पहिचान हुन् ।

ढोरपाटन क्षेत्रको भ्रमणका लागि पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै दिशाबाट यहाँ पुग्न सकिन्छ । हाल बागलुङ-बुर्तिबाङ-ढोरपाटन, बेनी-दरवाङ-मुना-ढोरपाटन, बुटवल-गुल्मी-बुर्तिबाङ-ढोरपाटन गरी विभिन्न मार्ग विस्तार भइरहेका छन् । त्यस्तै रुकुम, डोल्पा र प्यूठानबाट पनि पर्यटकीय मार्ग ढोरपाटनसम्म तानिएका छन् ।

विकास र पूर्वाधारका दृष्टिले पनि यो क्षेत्रको महव बढ्दै गएको देखिन्छ । निर्माणाधीन बहुचर्चित मध्यपहाडी लोकमार्गले पनि ढोरपाटन सिकार आरक्ष छोएर जान्छ । यस क्षेत्रमा सरकारले तीन सय मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अध्ययनसमेत गरिरहेको छ । आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि हिजोआज बढ्दै जान थालेको छ । चर्चित गुरिल्ला पदमार्गसँग पनि ढोरपाटन जोडिएको छ ।
आरक्षको पूर्वी सिमानाको जलजला क्षेत्र क्याम्पिङका लागि उपयुक्त स्थान हो । यहाँबाट यस क्षेत्रका विभिन्न भूप्राकृतिक दृश्यको अनुपम दृश्यावलोकन गर्न सकिन्छ । हवाई मैदान भए यहाँ हवाईजहाज पनि आउँदैन । २०४४ देखि नै हवाई सेवा बन्द छ ।
...
आरक्ष क्षेत्रभित्रका छ्यान्तुङ, गुर्जाखानी, लम्सुङ लगायतका क्षेत्रलाई क्याम्पिङ साइटको रूपमा विकास गर्न स्थानीय आमा समूह सक्रिय छन् । वनस्पति तथा वन्यजन्तु अध्ययन-अवलोकन गर्न आरक्ष उपयोगी छ । ठाउँठाउँमा होटल, लजलगायत पर्यटन पूर्वाधार बनाउने काम भइरहेको छ । अब खाँचो छ त केवल यस क्षेत्रको पहिचान र प्रवद्र्धनका लागि सरकार र सरोकारवाला पक्षहरूको सक्रियताको । यति भएमा ढोरपाटन देशकै एउटा नमुना क्षेत्र बन्ने निश्चित छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसले आफ्नो महत्व बढाउँदै लैजानेमा शंका छैन ।

काठमाडांैबाट आउने पर्यटकका लागि पोखरा, बागलुङ, बुर्तिबाङ, बोवाङको मोटरबाटो हुँदै ढोरपाटन पुग्न सजिलो छ । यहाँका अधिकांश ग्रामीण क्षेत्रमा बर्खायाममा भने यातायात नियमित हुँदैनन् । रुकुम र म्याग्दीको सदरमुकाम बेनीदेखि पैदल यात्रा गर्ने हो भने आरक्ष पुग्न तीनदेखि चार दिनको समय छुट्याउनै पर्छ । यसबाहेक आरक्षका विभिन्न सिकार ब्लकहरूको सीमाक्षेत्रको बाटो प्रयोग गरेर पनि ढोरपाटन पुग्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.