क्राभ मागाका नेपाली गुरु
खेलकुद क्षेत्रमा लाग्नेमध्ये धेरैको चाहना हुन्छ, अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम चिनाउने र आफू पनि चिनिने । यही चाहना र इच्छा आकांक्षा बोकेर खेलकुदमा लाग्नेहरूले नेपाललाई संसारमा चिनाएका छन् र आफूलाई स्थापित गरेका छन् । तर, देवजंग पण्डित (३२) मार्सल आर्टस्मा लाग्नुका पछाडि धेरै कारण थिए । खेल खेलेर देशको नाम राख्ने र आफू चर्चित हुनेभन्दा पनि सकेसम्म धेरै खेलका कला सिकेर आफ्नै नेपाली हावापानी सुहाउने खेलको विकास गर्ने चाहना उनको थियो ।
त्यसैगरी अर्को सबैभन्दा ठूलो कारण उनका दाइ सुदेवजंग पण्डित आईटीएफ तेक्वान्दो भित्र्याउन महत्र्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिमध्ये एक थिए । त्यसैले दाइको पाइला पछ्याउँदै देवजंगले पनि मार्सल आर्टस्मा पाइला टेके । दाइ आईटीएफ तेक्वान्दो संघको पदाधिकारी भएकाले देवजंगले पनि सुरुमा आईटीएफ तेक्वान्दो नै खेल्न थाले । आफूभन्दा पहिला दाइ खेलकुदमा लागेकाले उनलाई खेलकुदमा लाग्न सहज भयो । घरपरिवारले पनि राम्रै सहयोग गर्यो । राम्रो खेलाडी बन्नका लागि उनले घरपरिवारबाट सदैव प्रोत्साहन पाइरहे ।
घरपरिवारको साथ र सहयोगकै कारण देवजंगले खेलकुदमा निकै छिटो प्रगति गरे । २०५७ सालमा आयोजना भएको आईटीएफ तेक्वान्दो प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्न सफल भए । तर नयाँनयाँ कुरा सिक्न र जान्न चाहने देवजंग आईटीएफ तेक्वान्दोमा धेरै समय रमाउन सकेनन् । ‘मैले खेल्न सुरु गरेको छोटो समयमा नै खेलकुदमा आफ्नो छाप राखिसकेको थिएँ । तर, किनकिन भित्री मनदेखि नै आईटीएफ खेल्न मन लागेन । त्यसैले आईटीएफ छाडेर डब्लूटीएफ तेक्वान्दो खेल्न सुरु गरेँ', देवजंग भन्छन् ।
काठमाडौं धापासीका स्थायी बासिन्दा देवजंगले दाइको अनुमतिबेगर नै डब्लूटीएफ तेक्वान्दो खेले । यसका कारण दाजुभाइबीच केही समय मनमुटाव पनि भयो । दाइ आईटीएफ नै खेल्न दबाब दिने, भाइ कुनै हालतमा पनि आईटीएफ नखेल्ने भएपछि पण्डित दाजुभाइबीच लामो समयसम्म बोलचाल नै बन्द भयो । कविराज खड्गीसँग डब्लूटीएफ तेक्वान्दो सिक्न थालेका देवजंगले दाजुभाइबीचको असमझदारीकै कारण डब्लूटीएफ तेक्वान्दो छाड्नु पर्यो ।
तेक्वान्दो छाडे पनि उनले खेलकुद क्षेत्र भने छाडेनन् । अर्को खेल बक्सिङ रोज्न पुगे । बक्सिङमा उनले दुईवटा राष्ट्रिय पदक पनि जिते । मार्सल आर्टस्का नयाँनयाँ कला सिक्न तल्लीन देवजंग बक्सिङमा पनि धेरै समय रमाउन सकेनन् । तेक्वान्दोभन्दा बक्सिङमा उत्कृष्ट प्रदर्शन गरे पनि उनले त्यसलाई छाडेर वादोरियो कराते रोजे । उनले वादोरियोबाट करातेका आधारभूत कला र सीप सिके । वादोरियो खेल्दाखेल्दै केही साथी मिलेर गोर्खा एक्सन मार्सल आर्टस् संघ स्थापना गरे । उनी लगायतको समूहले तेक्वान्दो, बक्सिङ र करातेका कलालाई परिस्कृत गर्दै नेपाली ढाँचामा गोर्खा एक्सन नयाँ मार्सल आर्टस्को विकास गरेका थिए ।
गोर्खा एक्सन मार्सल आर्टस् संघको पहिलो सचिव बनेका देवजंगले आफ्नै संयोजकत्वमा चारवटा राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरे । नेपालमा मार्सल आर्टस् खेल सुषूप्त अवस्थामा रहेका बेला लगातार चारवटा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर उनले मार्सल आर्टस्लाई जगाउने काम गरेका थिए । छोटो समयमै गोर्खा एक्सन मार्सल आर्टस्ले लोकप्रियता हासिल गरेपछि संघभित्र विवाद सुरु भयो । संघका पदाधिकारीबीच पदका लागि संघर्ष चल्न थाल्यो । तीव्र राजनीतिक चलखेल र सबैको आआफ्नै व्यक्तिगत स्वार्थ देखेपछि देवजंगले गोर्खा मार्सल आर्टस् छोडे । संघको केन्द्रीय सचिव र केन्द्रीय प्रशिक्षकसमेत रहेका देवजंगले छाडेपछि निष्क्रिय बनेको संघको अन्ततः राष्ट्रिय खेलकुद परिषद्ले दर्ता नै खारेज गरिदियो ।
२२ जिल्लामा संगठन विस्तार भएको र क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघ खारेज हुँदा आफू सबैभन्दा धेरै दुःखी भएको देवजंगले बताए । ‘गोर्खा मार्सल आर्टस् संघ गठन गर्नमा धेरै मेहनत र पसिना बगाएको थिएँ । साथीहरूको व्यक्तिगत स्वार्थ र पदलोलुपताले गर्दा संघ खारेज हुँदा साह्रै दुःख लागेको थियो । खेलकुदमै लाग्दिनँ भन्ने पनि सोचेको थिएँ तर जतिसुकै कोसिस गरे पनि यो क्षेत्रलाई छाड्न सकिनँ', देवजंग विगतलाई सम्झँदै भन्छन् ।
गोर्खा एक्सन मार्सल आर्टस् संघको दर्ता खारेज भएपछि देवजंग लामो समयसम्म खेलकुदमा निष्क्रिय रहे । तर साथीभाइको करकाप र आफ्नै पनि भित्री इच्छाका कारण अन्तर्राष्ट्रिय मार्सल आर्टस् खेलकुद संघ (आईएमजीसी)मा आबद्ध भए । आईजीसीका निर्वाचित केन्द्रीय सदस्य देवजंग अहिले नेपालमा नयाँ मार्सल आर्टस् खेल ‘क्राभ मागा'को संस्थागत विकासमा सक्रिय रूपमा लागेका छन् । उनले नेपालमा नयाँ खेल भित्र्याउनका लागि थाइल्यान्ड, हङकङ र भारतमा तालिम लिए । क्राभ मागाको सिभिल इन्स्ट्रक्टर कोर्स गरे ।
काताबिनाको यो खेललाई नेपालमा संस्थागत गर्न उनी अहिले दिनरात लागिपरेका छन् । संघ दर्तादेखि खेलाडी उत्पादनमा सक्रिय रूपमा लागेका छन् । संघ दर्ता भइरहेकै अवस्थामा उनले पाँच सयभन्दा बढी खेलाडी उत्पादन गरिसकेका छन् । ५÷६ जिल्लामा यो खेललाई विस्तार गरिसकेका छन् । यो खेलमा काता नभए पनि प्रतियोगिता हुन्छ । विपक्षीको अट्याकलाई डिफेन्स गर्नसक्ने र खेलाडी विजयी हुन्छ । यो खेलमा हातहतियारको पनि प्रतिस्पर्धा हुन्छ ।
क्राभ मागा ७० भन्दा बढी देशमा लोकप्रिय खेलका रूपमा रहेको छ । काता नहुने यो मार्सल आर्टस् मूलतः सेल्फ डिफेन्समा आधारित खेल हो । ‘अहिलेका नयाँ पुस्तालाई नयाँ तरिकाको मार्सल आर्टस्का बारेमा जानकारी दिने मुख्य उद्देश्यसहित क्राभ मागालाई नेपालमा स्थापित गर्न लागेको छु । यसका लागि धेरै मुलुकमा गएर ट्रेनिङ लिने काम गरिसकेको छु', देवजंग भन्छन् । उनी टेक्निकल सेमिनारमा सहभागी हुन जनवरीमा फ्रान्स जाने तयारीमा छन् ।
उनले विभिन्न विद्यालय र फिटनेस क्लबमा क्राभ मागा र सेल्फ डिफेन्सका बारेमा प्रशिक्षण दिने गरेका छन् । नेपालमा यो खेल सुरु भएको छोटो समयमै यसले लोकप्रियता हासिल गरेकोमा भने देवजंग खुसी देखिन्छन् । अरूलाई पिटेर आफूले जित्नेभन्दा पनि आफ्नो आत्मरक्षा आफैंले कसरी गर्ने भन्ने कुरा क्राभ मागाले सिकाउने दाबी उनको छ । उनी क्राभ मागालाई नन अफिसियल मार्सल आर्टस्भन्दा माथि पुर्याउने अभियानमा छन् । क्राभ मागामा लागेको एक वर्षको अवधिमै विभिन्न जिल्लामा संगठन विस्तारदेखि ५÷६ सय खेलाडी उत्पादन गरिसकेकाले यो खेलले अरू खेललाई पछि पार्ने दाबी उनले गरे ।
उनी आफूले मार्सल आर्टस्का धेरै खेल खेल्नु र रोज्नुका पछाडि पनि धेरै कारण भए पनि मार्सल आर्टस्का बारेमा धेरै कुरा जान्नु मुख्य कारण रहेको बताउँछन् । ‘हरेक मार्सल आर्टस्का आआफ्नै कला छन् । कुनै एउटै मार्सल आर्टस् खेलले आत्मरक्षाको खेललाई पूर्ण बनाउन सक्तैन । यसका लागि धेरै खेलका कला र सीप सिक्नुपर्छ', देवजंग भन्छन्, ‘पूर्ण रूपमा आत्मरक्षाको खेल बनाउन मैले धेरै खेल खेलेँ, तिनको कला सिकेँ ।'
नेपालमा मार्सल आर्टस् खेल अहिले पनि पुरानै ढर्राबाट चलेकोमा भने उनलाई दुःख लागेको छ । ‘अहिले पनि मार्सल आर्टस् खेल पुरानै ढर्राबाट चलेको छ । हामीकहाँ राजनीतिक व्यवस्था परिवर्तन भयो तर मानिसको मानसिकतामा परिवर्तन आउन सकेको छैन । यही कुरा खेलकुद क्षेत्र विशेषगरी मार्सल आर्टस् विधामा लागू हुन्छ', देवजंग भन्छन् ।