गुमनाम तरलवादीको ‘एउटा विस्मात्'
गाउँबाट फर्किएबित्तिकै यस साता अलिक समसामयिक साहित्यिक कृति पढ्न मन लाग्यो र हालसालै मदन पुरस्कारप्राप्त एक पुस्तक खोजेर पढ्न थालेँ । त्यो पुस्तक मन लगाएर पढ्दै थिएँ र आधाउधी पढिसिध्याउँदै पनि थिएँ तर अर्को पुस्तक हात पर्यो, ‘क्वाल खातिर' अर्थात् एउटा विस्मात् । आफू जिन्दगीमा साहित्यकार बन्न नसके पनि एक साहित्यप्रेमी बन्न पाएकोमा सन्तोष मान्ने अविनाथ राईको पहिलो कवितासंग्रह ।
ख्वाल्बो क्वाल खातिर
त्वामगोत्ना ब्वाल्साङ बाम
ज्वामगोत्ना प्वाल्साङ बाम
आम्सेहिस् लिम्सि उत्थिउ दुम्मे पासाखचिक्बुन्चो तिवाँ
लिम्चाम बिटुंगो बाम दुम्मे पासाख् ब्अिम्बुन्चो तिवाँ
आ चाम्दोतिड रुप्साख-खुप्साखआ बेबा रहरतिड प्वाकानाकि पासाख्
कुडु भानालाम ख्वालाह्याड योबुम्सो ह्वाला
कुडु भाइलाम ग्ल्वाकुह्याड स्यालै पाउम्सो ह्वाला ।
(क्वाल खातिर, पृ. ४५)
यस काव्यकृतिको गुरुत्वबल यति धेरै रहेछ कि भूमिकादेखि आद्योपान्त कविता पढिसक्दा पनि अन्य कतिपय पुस्तक पढ्दाजस्तो रुचि भंग भएन । एकोहोरो पारेर विषयवस्तुले तानेको तान्यै गरिरह्यो । धेरै हदसम्म सर्जकको जीवन भोगाइ, परिवेश र परिस्थिति आफूसँग मिलेर पनि यसो भएको हुन सक्छ । तर, मुख्य कुरा विस्मृत भइसक्नुपर्ने बाल्यकालीन कतिपय सूक्ष्म एवं अस्मेल अनुभव र अनुभूतिका कथावस्तुलाई जीवनको यस मध्यान्तरमा आएर पनि जस्ताको तस्तै भावुक शैलीमा कविताको रूप दिनसक्ने कविको लेखन सामथ्र्यले नै यसो बनाएको हो । निजात्मक प्रसंगहरूको माध्यमबाट सिंगो समाजसँग संवाद गर्न सक्नु यस कृतिको विचित्र पक्ष ठानेको छु । सबै कविता अनुवादसहित नेपाली र वाम्बुले राई मातृभाषामा छन् ।
साइसो ल्वाम
त्याँसो ल्वाम
ल्वाम ह्वाल् दिस्ना, नुस्सो, प्ल्याक्कु
आक्वाल ल्वासि चाप्चो रैछा
क्र्वाडिस्वांख्वाम ल्याक्कु ।
(ल्याक्कु, पृ. ८५)
करिब ३० को दशकतिर कवि, कथाकार, स्तम्भकार, सम्पादक र मुक्तककारका रूपमा परिचय बनाइसकेका स्रष्टा हुन्— अवि राई ‘भावुक' । उहाँका उस बेलाका निकटस्थ समकालीन थुप्रै मित्र नेपाली साहित्यमा मूर्धन्य स्रष्टाका रूपमा स्थापित रहनुभयो । तरलवादी साहित्यिक आन्दोलनको जस÷अपजस त आफू लिन चाहनुहुन्न तर तरलवादको मान्यता अर्थात् दृष्टिकोणको सम्प्रेषण एवं प्रसारको लागि उहाँले सम्पादन गर्नुभएको ‘पूर्वाद्र्ध' पत्रिका नै मुखपत्र थियो । यस वादको प्रयोगका खातिर उहाँले पनि कथा, कविताहरू लेख्नुभएको छ । यसको सकारात्मक व्याख्या, बहस र मूल्यांकन गर्न अल्छी गर्नु भएन । त्यसैले उहाँलाई तरलवादी आन्दोलनको एक गुमनाम अभियन्ता भन्दा अतिशयोक्ति ठहरिन्न ।
लेखन क्षेत्रमा वि श्राम लिनुभएको तीन दशकभन्दा लामो समयको अन्तरालमा नेपाली साहित्यले धेरै पालुवा फेरिसक्यो । दूधकोसी, सुनकोसी, मलुङखोलाको त के कुरा बाग्मती, विष्णुमती, नख्खु खोलामै कतिकति पानी बगिसक्यो ।
उहाँ मेरो काका । साहित्यिक क्षेत्रमा लाग्नलाई मेरो एक मुख्य पारिवारिक प्रेरणास्रोत उहाँ नै भएको कुरा धेरै अन्तर्वार्तामा भनेको छु । विशेषगरी पढाइ क्षेत्रमा हामी सानो छँदा माइला काका र कान्छा काका हाम्रो लागि मिथकजस्तै हुनुहुन्थ्यो । हाम्रो आदर्शका पात्र । उनै कान्छा काकाको साहित्यिक प्रतिभा र लगाव त्यति बेला थाहा पाइयो, जुन ताका उहाँ सरकारी नोकरीमा प्रवेश गरी साहित्याकाशबाट ओझेल परिसक्नुभएको थियो ।
कथा पढेर, गीत सुनेर, फिल्म हेरेर सम्भवतः धेरै रोएँ होला तर कविता पढेर भने म एकपटक मात्र रोएको छु । त्यो कविता मेरै कान्छा काकाको थियो, ‘जानेहरूलाई' । त्यस कविता यस संग्रहमा पनि संगृहीत रहेछ । मैले यो कविता म काठमाडौं आएको साल (२०४७) मा पहिलोपटक पढेको थिएँ । भाव र विचारको सन्तुलित संयोजन एवं सरल र सरस शैलीयुक्त उहाँका रचनाहरू पढेर मलाई ऊर्जा र प्रेरणा मिल्थ्यो । उहाँको साहित्यिक योगदानलाई आफ्नो विरादरी सम्झेर उहाँले जहाँनेर आफ्नो साहित्यिक यात्रालाई वि श्राम दिनुभयो, त्यहीँबाट अगाडि बढूँ भन्ने लागेर साहित्यलाई आफ्नो जीवनको मूलबाटो बनाइयो । यसले गर्दा उहाँका हामी दुई भतिजा म र कान्तिपुरकर्मी गणेश राई (दाजु), यस क्षेत्रमा चुर्लुम्मै भिज्यौं ।
बोहतामा केही दही चामल
दियो, धूप र फलपूmलहरू
केही अक्षता, सगुनका टिकाहरू
बाह्रमासे पूmलका मालाहरू हुन सक्छ
- गाउँ÷देशबाट जानेहरूलाई
(जानेहरूलाई, पृ. ५८)
राष्ट्रसेवकका रूपमा उहाँ कुनै ताका देशमा सहकारीको विकास, प्रवद्र्धन र प्रभावकारी व्यवस्थापनका लागि सहकारीको बाह्रखरी सिकाउने ‘माड्साब' बन्नुभयो त कुनै बेला अर्थ मन्त्रालयमा रहेर सरकारको राम्रो बजेट निर्माण गर्ने टिममा सक्रिय रहनुभयो । उहाँले आफ्नो पेसाको क्षेत्रमा होस् या आफ्नो घरपरिवार र समाजमा होस् सदा योग्य, सक्षम, मेहनती, इमानदार र निष्ठावान् व्यक्तित्व कायम राख्न सफल हुनुभयो । हालै उमेरको हद पूरा गरी सेवानृवृत्त हुनुभयो ।
५० को दशकदेखि उहाँ आफ्नो वाम्बुले राई जातिको पहिचान र संस्थागत विकास, मातृभाषाको जगेर्ना, संस्कृति संरक्षणका लागि मियोको भूमिका निर्वाह गर्नुभयो । वाम्बुले राई भाषाको शब्दकोश (ग्रन्थ) र वाम्बुले राई जातिअन्तर्गत द्वर्वाङ्चा पाछाको वंशावली गरी उहाँको दुईवटा खोज एवं अन्वेषणमूलक पुस्तक प्रकाशित भयो । वाम्बुले मातृभाषा प्रधान ‘लिब्जु-भुम्जु' त्रैमासिक पत्रिकामा उहाँका दर्जनौं लेखरचना प्रकाशित छन् । यस आधारमा भन्नुपर्दा उहाँको साहित्यिक यात्रामा वि श्राम छैन । मात्र यति हो, मातृभाषामा लेख्नेहरू ओझेलमा पर्नुपर्ने हुन्छ ।
सेवानिवृत्त हुनुभएलगत्तै प्रकाशित यो कृति पनि उहाँले आपूm साहित्यकारमा दर्ज हुन होइन, मूलतः आफ्नो जन्म दिने आमाप्रति भावपूर्ण अनुग्रह व्यक्त गर्न र उनै आमाले काखमा राखी लाम्टा चुसाउँदै सिकाउनुभएको मातृभाषाको समृद्धिको खातिर तयार पार्नुभएको हो ।
मामा -
ज्वाचो उंगु क्वाचो उनु थि
उङ् जामेइ क्वासख ख्वाचो उनु थि
हिमा उंगु जामा उनु थि
‘रच्छे छिमा' प्वाचो सामा उनु थि
उनु सोज्यामलेज्याम आमाइँ ख्रिब्बेइ आबा
मामा, उनुल्वाङ भाताला सामाइँ हिब्बेइ आबा ।
(मामा उन् ब्अिम्निम्वाल्, पृ. १)
अर्थात्
आमा -
खाने म हेर्ने तिमी थ्यौ
मैले खाएको हेरेर अघाउने तिमी थ्यौ
अनिकाल म, अन्न तिमी थ्यौ
‘रक्षा क्षमा' गर्ने देउता तिमी थ्यौ
तिम्रो शीलस्वभाव केही नि लेख्या छैन
आमा, तिमीभन्दा माथि देउता नि देख्या छैन ।
आमाको लाडप्यारमा हुर्किंदै गरेको नाबालक सुरुमा आमाको काखदेखि र विस्तारै गाउँघरदेखि टाढिनु पर्दा आमा, बुवा, दाजु-दिदीहरू एवं अन्य इष्टमित्र र गाउँघरदेखि टाढा हुनु पर्दाको न्यास्रोपनले उहाँलाई भावुक बनायो । उहाँ काठमाडांै आउनुभएको ताका असनका गल्लीहरूमा हिप्पीहरूको पदचाप मेटिएको थिएन । साहित्यमा लाग्ने क्रममा हरिभक्तसँग खुब लहसिनुभयो । यी सब कारणले गर्दा पनि उहाँ अत्यन्तै भावुक स्वभावको बन्नुभयो । त्यही भावुकताले उहाँका सिर्जनाहरू सरस र कोमल बनायो ।
उनुख् ग्वाहार आपइँमेइ तिवाँ
स्वार्चो स्वप्स्वार्वाँम स्याङ
साकाब्राका दुम्सितुङ्मुसो ह्वाला
उन् आबानुमेइ तिवाँ ।
(उनु आबानुमेइ तिवाँ, पृ. ६३)
यो कृति पढ्दा अधिकांश कविताका हरफ-हरफमा ‘बाफ् रे...,ओ माइ गड' भनेँ । कृतिको भूमिकामा भाषाविद् प्रा.डा. नवलकिशोर राईले लेख्नुभएको छ, ‘अविनाथजीले आफ्नो मातृभाषामा साहित्यको सिर्जना गर्नुभयो । म त उहाँलाई अंग्रेजी भाषाको ‘चौसर' र नेपाली भाषाका भानुभक्तसँग तुलनीय ‘वाम्बुले भानुभक्तै' भने पनि हुन्छ भन्छु' । यस भनाइप्रति मेरो विमति छैन तर अझ उहाँलाई वाम्बुले काव्य जगत्को ‘भानु'मात्र होइन, ‘भूपि' भन्छु । यति मीठो भाव, विचार, भाषिक स्तरीयता, कलात्मकता, लयात्मकता र कोमलता भएको काव्य सिर्जना गर्नसक्ने व्यक्ति वाम्बुले भाषाका त महाकवि नै हुन् ।
थोःम उन् दा त्याँपिप आमाम् र्वानुम द्याम
खालि पिताङयाङ ग्वाकुल् बेता ल्वानुम द्याम
ब्अिसिङ् फोसिल् त्वामाङ् रुसु हुम्नुम द्याम
आमायाति देसै इ न्याच्चो सुम्नुम द्याम
कावा उन् डा आमाम् र्वानुम द्याम ।
(आमाम् र्वानुम द्याम, पृ. ५)
यी लगायतका सबै कविता उच्च काव्यिक गुणयुक्त छन् । यतिका स्वादिलो कविताहरू सिर्जना गर्न समृद्ध साहित्य भएको भाषामा पनि मुस्किल पर्छ । यस कृतिको प्रकाशनले वाम्बुले काव्य क्षेत्रमा एक कोशेढुंगा निर्माण भएको छ ।