भित्रिन थाले चीनबाट निर्वाचन सामग्री
त्रिशूली : आसन्न मंसिर १० र २१ मा हुने संघीय र प्रदेश निर्वाचनका लागि नेपालको उत्तरी छिमेकी देश चीनबाट रसुवागढी नाका हुदै निर्वाचन सामग्री भित्रिन थालेका छन् । रसुवागढी हाल नेपाल र चीन जोड्ने एक मात्र नाका रहेको छ ।
काठमाडौबाट १५२ किलोमिटर दुरीमा उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकाबाट मतपेटिका बाहेकका निर्वाचन सामग्री आउने क्रम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । निर्वाचन सामग्री बोकेका कन्टेनरलाई रसुवागढी नाकाबाट प्रवेश गराई नुवाकोटको विदुर हुँदै काठमाडौं पठाइएको पौडेलले बताइन
रसुवा प्रशासनका अनुसार आगामी मंसिर १० र २१ दुई चरणमा गर्न लागिएको निर्वाचनका लागि केरुङबाट पहिलो चरणमा दुई वटा कन्टेनरमार्फत निर्वाचन सामाग्री आयात गरिएको छ ।नजिक र सस्तो रहेका कारण चीनवाट निर्वाचन सामग्री खरिद गरिएको जनाइएको छ । चीनबाट आयात गरिएका निर्वाचन सामग्रीहरुमा मतपेटिका र मतपत्रवाहेक निर्वाचनलाई आवश्यक पर्ने सिल, छेकावार, रवर म्याटलगायतका रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
निर्वाचन सामग्री बोकेका कन्टेनरहरु नेपाल प्रवेश गरिरहेका छन् । निर्वाचन सामग्री ल्याउनका लागि १० वटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनरको पनि प्रयोग गरिने जनाइएको छ । आउन बाँकी रहेका सामग्री केही दिनमा नै नेपाल ल्याइने बताइएको छ ।
पहिलो चरणको निर्वाचनका लागि केरुङबाट आएका ३५ हजार थान वट्टा मसी, ३० हजार थान छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टनेर रसुवागढी नाकावाट नुवाकोट हुंदै काठमाडौ पठाइएको छ ।
रसुवागढी नाका हुँदै ल्याइएको उक्त सामग्री नेपाल प्रहरी र शसस्त्र प्रहरीको स्कर्टिङमा निर्वाचन आयोग लगिएको हो । यस पटकको निर्वाचन सामग्री ग्लोबल लोजेष्टिक कम्पनीले आयात गरेको हो ।
कम्पनीका अनुसार केरूङमा ८ थान कन्टेनरमा सेक्युरिटी शिल, मसी, छेकाबार, स्ट्याम म्याट लगायतका निर्वाचन सामग्री लोड भएर बसेको छ । गत स्थानीय निर्वाचनमा चीनवाट केरुङ हुदै रसुवागढी नाकावाट २६ हजार ६ सय थान मतपेटिका, आठ लाख थान सिल खरिद गरि आयात गरिएको थियो ।