क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार
हवाना : क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।आउँदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ ।
आयोगले जारी गरेको वक्तव्यका अनुसार कुल उम्मेदवारहरु मध्ये ३५.४ प्रतिशत उम्मेदवार महिला रहेका छन् ।त्यसैगरी झण्डै ६६.४४ प्रतिशत उम्मदेवारहरु दोहोर्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ ।क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा राजनीतिक पार्टीको उम्मेदवारको रुपमा प्रचार गर्न नपाईने व्यवस्था रहेको छ ।
आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छन् भने मतदाताले पनि त्यसैका आधारमा उम्मेदवारको छनौट गर्नेछन् ।यीनै उम्मेदवारहरु मध्येबाट नै १५ प्रदेशसभाका लागि र उम्मेदवारहरु मध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन् ।
क्युबामा नगरपालिकास्तरको निर्वाचन हरेक साढे दुई बर्षमा हुने गरेको छ भने प्रदेश सभा र राष्ट्रिय सभाका लागि पाँच-पाँच बर्षमा मात्रै निर्वाचन हुनेगरेको छ । अहिलेका राष्ट्रपति राहुल क्याष्ट्रोको पाँच बर्षे दोस्रो कार्यकाल आगामी सन् २०१८ को फेब्रुअरीमा सकिनेछ । (रासस/सिन्ह्वा)