अरुन्धतीको आवाजले बढी प्रचार पाइरहेको छ

अरुन्धतीको आवाजले बढी प्रचार पाइरहेको छ

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा ‘मिडिया स्टडिज’का प्राध्यापक डा. राकेश बटबयाल भारतको निकट इतिहासका ज्ञाता मानिन्छन् । उनले विश्वविद्यालयको इतिहास, विश्वविद्यालयले समाजमा पारेको प्रभाव, राष्ट्रवाद र उपनिवेशवादको इतिहासबारे खोज गरेका छन् । उनका ‘कम्युनालिज्म इन बंगाल’, ‘जेएनयूः मेकिङ अफ अ युनिभर्सिटी’, ‘जेएनयूवाली एन्टिनेसनल डायरी’लगायत किताब प्रकाशित छन् । साउथ एसियन फाउन्डेसन फर एकेडेमिक रिसर्च (सफर) र सेन्टर फर एडभान्स्ड स्टडी इन् साउथ एसिया (कासा)ले आयोजना गरेको सेमिनारमा भाग लिन काठमाडौं आएका डा. बटबयालसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी :

मिडिया र पत्रकारितामा के फरक छ ?

 मिडिया ठूलो क्षेत्र हो, जहाँ सञ्चारका विविध प्रकार अटाउँछन् । यो गहिरो र फराकिलो दुवै छ । गहिरोको हिसाबले हामीले प्राचीनकालदेखि अहिलेसम्म हेर्न सक्छौं । सञ्चारका जुनसुकै विधि भए पनि ती सबै मिडिया हुन् । मन्दिर पनि मिडिया हो । उदाहरणको लागि, विवाह पनि मिडिया हो । पुरानो परम्परामा रहेको अश्वमेध यज्ञ पनि मिडिया हो जसलाई राजाहरूले आफ्नो शक्ति प्रचारप्रसार गर्न प्रयोग गर्थे । अचेल दिल्लीको राजपथमा २६ जनवरीमा आयोजना गर्ने परेड पनि मिडिया हो । त्यसैले मिडिया धेरै प्रकारले जोडिन्छ । पत्रकारिता भने सञ्चारको एक अंगमात्र हो । मिडियाको भने धेरै प्रकार हुन्छन् । संस्कार पनि मिडिया हो । के तपाईं संस्कारलाई पत्रकारिता भन्न सक्नुहुन्छ ? पत्रकारिता (जर्नालिज्म) वा पत्रकार (जर्नलिस्ट) पत्र (जर्नल) बाट आएको हो । आजको सन्दर्भमा, टेलिभिजन आउनुभन्दा पहिला पत्रकारिता भन्नाले प्रिन्ट माध्यममात्र बुझिन्थ्यो । जबकि मिडिया भने प्रिन्ट माध्यम वा इलेक्ट्रोनिक माध्यमभन्दा अरू पनि हुनसक्छ ।

अर्थात् मिडिया भनेको शक्ति प्रसार गर्ने माध्यम हो ?
- शक्ति, सन्देश आदि । त्यसैले त म्याकलुहान (क्यानेडाली प्राध्यापक, दार्शनिक, पब्लिक बौद्धिक जसले मिडिया सिद्धान्तबारे निकै काम गरेका छन्) मिडियम मसाज हो भन्छन् नि !

समकालीन संसारमा मिडियाको भूमिका के छ ?
- यो प्रश्न अब अनावश्यक भइसकेको छ किनभने जीवन र मिडिया निकै गहिरोसँग गाँसिएका छन् । कुनै साधनको भूमिका के भनेर छट्याउनै सक्दैनौं । हामी अहिले बिहानदेखि बेलुकासम्म आफैं मिडिया बनेका छौं । आइकन पनि मिडिया बनाइएका छन् । सचिन तेन्डुलकर मिडिया हुन् । दीपिका पादुकोण मिडिया हुन् । उनले के कुरा गर्ने, कस्तो कपडा लगाउने, कुन पर्फ्युम प्रयोग गर्ने भन्न सन्देश प्रसार गर्छन् । त्यसैले मिडियाले अहिले जितिरहेको छ । हामी बिहान उठ्नासाथ मेल चेक गर्छौं र फेसबुक हेरेरमात्र निदाउँछौं । त्यसैले हामीले मिडियाको भूमिका के भन्नुभन्दा मिडियाबिनाको जीवन कस्तो होला भनेर चिन्तन गर्दा उपयुक्त हुन्छ ।

 

 

 

अब पत्रकारिताबारे कुरा गरौं । दक्षिण एसियाको समकालीन पत्रकारिताका चासोहरू के के हुन् ?
- केही विश्वव्यापी चासोहरू छन् । सबैभन्दा पहिलो त शक्तिकेन्द्रहरूसँग बोल्ने स्वतन्त्रता हो । त्यसपछि पारदर्शी समाजको प्रसार हो । यी विश्वव्यापी चासोहरू हुन् । यी आधारभूत मानवीय मूल्यहरूको पक्षमा पत्रकारिता उभिन्छ । पत्रकारिता केवल सत्य बोल्नु होइन, शक्तिसँग सत्य बोल्नु हो । समाज र राजनीतिक अघि बढ्दै गएपछि चासोहरू पनि थपिन्छन् । उदाहरणका लागि समानता त्यस्तै अर्को एक चासो हो । सबैले समानतालाई मुख्य चासोको रूपमा नलिन सक्छन् । पहिले समानतालाई माक्र्सवादी चासोको रूपमा लिइन्थ्यो । अहिले यो माक्र्सवादी चासोको रूपमा मात्र नरहेर विश्वव्यापी चासो बनिसकेको छ । त्यस्तै मानवताको एक हिस्सा हुनुको हिसाबले पनि केही चासोहरू छन् जस्तै जलवायु परिवर्तन । तपार्इं भारतीय वा नेपाली आवश्यकतालाई मात्र जोड दिएर विश्वव्यापी तापमान वृद्धिलाई नजरअन्दाज गर्न सक्नु हुन्न ।

केही क्षेत्रीय चासोहरू पनि त होलान् नि ?
- यिनै विश्वव्यापी चासोहरूबाटै क्षेत्रीय चासोहरू जन्मिने हुन् । असमानता त्यसैमध्ये एक हो जसमा विश्वव्यापी र क्षेत्रीय दुवै चासो जोडिन्छ । हामीले यति ठूलो असमानतालाई कसरी समाधान गर्छौं भन्ने ठूलो प्रश्न हो । अर्को चासो हो, गरिबी । अर्को हो, स्वास्थ्य । अहिले संसारकै सबैभन्दा अस्वस्थ मानिस दक्षिण एसियामा बस्छन् । अर्को हो साक्षरता । साक्षरता केवल अक्षर चिन्नु होइन, गतिलो शिक्षा पाउनु पनि हो । यी चासोहरू राज्य व्यवस्थासँग जोडिन्छन् । प्रजातन्त्रले नयाँ नयाँ राज्यव्यवस्था ल्याएको छ जोसँग यी चासोहरू नहुन सक्छन् । पत्रकारको भूमिका राज्यव्यवस्था र राजनीतिक वर्गलाई यी चासोबारे बताउनु हो । त्यसैले दक्षिण एसियामा पत्रकारिता चुनौतीपूर्ण बनिरहेछ । राजतन्त्रविरुद्ध संघर्ष गर्दा होस् वा बेलायती उपनिवेशविरुद्ध संघर्ष गर्दा शत्रु चिनिन्थ्यो । तर, अहिले त्यस्ता शत्रु छैनन् । त्यसैले त गान्धीले भनेका थिए, प्रजातन्त्रमा तिमी प्रजातान्त्रिक आन्दोलन कसरी चलाउँछौं किनकि त्यहाँ त आफ्नै दाजुबहिनी शासक हुन्छन् । पत्रकारिता अहिले किन पनि चुनौतीपूर्ण बनेको छ भने पत्रकार पनि त्यही वर्गबाट आएका हुन् । तपाईं कसरी शक्तिबीचको फरक छुट्टाउनुहुन्छ ? अनि शक्तिकेन्द्रसँग कसरी आवाज उठाउनुहुन्छ ?

काठमाडौंमा आयोजित एक कार्यक्रममा दक्षिण एसियाको सञ्चारबारे प्रवचन दिने क्रममा तपाईंले मूलधारको मिडियालाई पुँजी, राष्ट्रवाद र पब्लिक स्पेसका लागि भएको संघर्षले आकार दिइरहेको चर्चा गर्नुभएको थियो । सञ्चारमा पुँजीको भूमिकाबारे प्रष्ट पारिदिनुहोस् न !
- वास्तवमा यो विषय प्रविधिसँग जोडिन्छ । केही मानिस सरल ढंगले भन्छन्- पहिले मिसन पत्रकारिता थियो, अहिले छैन । यो साह्रै सरल बुझाइ हो । वास्तवमा यो पुँजीसँग सम्बन्धित छ । भारतमा १९औं शताब्दीमा पत्रकारिता सुरु भयो । त्यतिबेला सामाजिक रूपमा सचेत मानिसले पत्रिकामा लगानी गरेका थिए । सुरेन्द्रराज बेनर्जीले जम्मा १८ रुपैयाँमा पत्रिका सुरु गरेका थिए । गान्धीले त लगभग बिना पैसा नै पत्रिका सुरु गरेका थिए ।

त्यतिबेला पत्रिकाको सञ्चालनको लागि खासै धेरै पैसा चाहिँदैनथियो । सम्पादकको चारपाइ नै कार्यालय हुन्थ्यो । तर, अहिले मिडिया सञ्चालन अप्ठ्यारो भएको छ । नयाँ पुस्ता एक क्लिकमा संसारको जानकारी चाहन्छ । त्यसैले मिडिया अब लगानीउन्मुख भएको छ । जस्तै, काठमाडौंमै रिपब्लिकाले ‘न्युयोर्क टाइम्स’ पनि प्रकाशन गर्छ । तर, कुनै काठमान्डु टाइम्स न्युयोर्कबाट प्रकाशन हुन त सक्दैन । त्यसैले प्रकाशनमा असंगति छ । त्यो असंगति पुँजीमा पनि छ । तपाईंसँग पुँजी छ वा छैन भन्नेले अब अर्थ राख्छ । यसले सूचना प्रवाहमा पनि असंगति ल्याएको छ । वास्तवमा १९औं शताब्दीभन्दा पहिलेदेखि नै पुँजीले भूमिका खेलिरहेको थियो । तर, पछिल्लो समय पुँजी निर्णायक बन्यो । पुँजीको निर्णायक भूमिका अहिलेको मिडियाको लागि चुनौती हो ।

अर्थात्, पुँजीवादी अवधारणाले पनि निर्णायक भूमिका खेलिहरेका छन् ?
- यदि पुँजीले निर्णायक भूमिका खेल्छ भने कस्तो समाचार प्रस्तुत गर्ने भन्नेमा पनि भूमिका खेल्छ । त्यसैले अहिले भारतमा ग्रामीण रिपोर्टिङ दोस्रो प्राथमिकता बनिरहेको छ । अहिले पनि ६० देखि ७० प्रतिशत भारतीय कृषिमा निर्भर छन् । तर, इन्डिया टुडे, हिन्दुस्तान टाइम्सजस्ता पत्रिकामा ती किसानहरूको प्रतिबिम्ब पाइँदैन ।

मिडियाहरू के गरिरहेछन् त ?
- निकै रोचक प्रश्न । भारतीय पत्रिकालाई हेरौं । धेरैजसो पत्रिकाका रिपोर्टरहरू ग्राउन्ड लेभलमा छैनन् । ती सहरमा मात्र छन् । जबकि सन् १९८० को दशकमा पनि भारतीय पत्रिकाका रिपोर्टरहरू विदेशमा हुने गर्थे । अहिले त्यस्तो छैन । मध्यपूर्वमा पनि ‘द हिन्दु’लाई छोडेर भारतीय पत्रिकाका रिपोर्टरहरू छैनन् । मध्यपूर्वसँग त भारतको ऐतिहासिक सम्बन्ध हो । त्यसैगरी नेपाली पत्रिकाले न्युयोर्क वा अन्य ठाउँमा रिपोर्टर राख्न सक्दैन ।

पुँजी प्रभावकारी हुनुको अर्को आयाम पनि छ । पुँजी प्रभावकारी भएपछि पुँजीको तर्क नै समाचारको पनि तर्क बन्छ । नाफा वृद्धि पुँजीको स्वभाव हो । त्यसैले सञ्चारमाध्यममा गरिएको लगानीले पनि नाफाको खोजी गर्छ । तर, पत्रिकाको मूल्य त निकै कम छ । मेरो विचारमा भारतमा जस्तो सस्तो पत्रिका त कतै पाइन्न । त्यसो भए नाफा कसले बढाइरहेको छ त ? विज्ञापनले । एक पाठकको रूपमा मैले पत्रिकाको नाफा वृद्धिको लागि भूमिका खेल्दिनँ, त्यसैले मैले चाहेको समाचार त्यहाँ पाउँदिन । पुँजीको स्वार्थ नै अहिले सञ्चारमाध्यमको स्वार्थ बनेको छ । त्यसको असर हो सत्य र भ्रष्टाचार दुवै मुद्दामा सञ्चारमाध्यम प्रभावित छ ।

त्यसो भए के हामी समकालीन पत्रकारितालाई समाचार र सत्यको पुँजीवादी उत्पादन भन्न सक्छौं ?
- अवश्य । त्यही त भइरहेको छ । त्यसैले हामीले विश्वव्यापी मानवीय चासोहरूलाई जोड दिनुपर्छ । त्यसोगरे मात्र नैतिकताको विकास हुन सक्छ ।

 तर, मूलधारका सञ्चारमाध्यमले त विश्वव्यापी मानवीय चासोहरूलाई खासै जोड दिएका छैनन्, होइन र ?
- किनभने उनीहरूले त्यसलाई स्थान दिने प्रयास गरिरहेका छैनन् । मूलधारका मिडियाको यही प्रवृत्तिकै कारण अहिले सामाजिक सञ्जाल र अरू वैकल्पिक मिडियाहरू उदाइरहेछन् ।

त्यसको अर्थ सामाजिक र वैकल्पिक मिडियाले यी चासोलाई स्थान दिन सक्छन् भन्ने हो ?
- तिनीहरूले मूलधारका मिडियालाई पुरानै ठाउँमा फर्किन र यी चासोलाई सम्बोधन गर्न बाध्य पार्न सक्छन् । तर, उनीहरू आफैंलाई पुँजीको शासनबाट बाहिर निस्केर यी चासो सम्बोधन गर्न गाह्रो छ । यही अर्थमा नै म भारतीय राष्ट्रवादको पक्ष लिन्छु । विचारधाराको हिसाबले भारतीय राष्ट्रवाद विश्वव्यापी छ । यसको केन्द्रमा गरिबी उन्मूलन, प्रजातन्त्र र धर्मनिरपेक्षता छ । यस्तो खालको राष्ट्रवाद भारतीय प्रजातन्त्रको मूल हुनसक्छ । यस्तो राष्ट्रवादमात्र ठूलो शक्तिविरुद्ध जुध्न सक्छ ।

अर्थात्, राष्ट्रवाद विश्वव्यापी पुँजीसँग संघर्ष गर्नसक्छ ?
- हाम्रो सन्दर्भमा सक्छ । केही मानिसहरू भन्छन्- राष्ट्रवाद त पूँजीवादी हुन्छ । तर, राष्ट्रवादका पनि प्रकार हुन्छन् भन्ने बुझ्नुपर्छ ।

तर, पंकज मि श्रजस्ता लेखकहरू त राष्ट्रवाद हिंसात्मक हुन्छ भन्छन् नि !
- त्यो निकै भ्रमित बुझाइ हो । यदि अहिले भारतीय राष्ट्रवाद हटाए भारतमा के रहन्छ त ?

के भारतीय राष्ट्रवाद र हिन्दुत्वबीच केही सम्बन्ध छ ?
- अहँ छैन । भारतीय राष्ट्रवादको मूल सार उपनिवेशवाद विरोधी आन्दोलन र असंलग्न आन्दोलनबाट निर्माण भएको हो । यो विकास र क्षेत्रीय विकास, असमानताको अन्त्य, गरिबी उन्मूलन गर्ने शक्तिको रूपमा उदाएको हो । यी नै भारतीय राष्ट्रवादका चासोका विषय हुन् । हिन्दुत्व भने जिन्नाले धर्मको कोणबाट गरेको राष्ट्रवादकै अर्को रूप हो ।

तपाईंको विचारले म अल्मलिएँ । सीधै सोध्छु, के मोदीको राष्ट्रवाद भारतीय राष्ट्रवादसँग मेल खान्छ ?
- कुनै पनि हालतमा खाँदैन । उनीहरू सैन्य शक्तिलाई राष्ट्रवाद भनिरहेछन् । हिन्दुत्वलाई राष्ट्रवादको रूपमा व्याख्या गरिरहेछन् ।

ठीक छ । हामी राष्ट्रवादबारे नै कुरा गरौं । मूलधारका मिडिया र राष्ट्रवादबीच के सम्बन्ध छ ?
- हुन त बेनेडिक्ट एन्डरसनले युरोपको सन्दर्भमा प्रिन्ट मिडियाको विकाससँगै ‘काल्पनिक समुदाय’को जन्म भएको चर्चा गरेका छन् । (एन्डरसनले ‘इम्याजिन्ड कम्युनिटी’ नामक किताबमा छापाखानाको विकास भएपछि जन्मेका पत्रिकाहरूले एउटै भाषा बोल्ने र उस्तै तरिकाले सोच्ने फरक भूगोलमा बस्ने, समान विचार राख्ने काल्पनिक समुदाय बनेको तर्क गरेका छन् ।) म त्यसरी सोच्दिनँ । 
राष्ट्रको चिन्तन इतिहाससँग जोडिन्छ । जस्तैः कला, साहित्य सबै राष्ट्रियताको स्रोत हो । उदाहरणका लागि १९औं शताब्दीको भारतीय नृत्यलाई लिऔं । भरतनृत्यम् मन्दिरमा गरिने नृत्य हो । यो न भारतीय, न तमिल नृत्य हो । उपनिवेशवादविरुद्ध राष्ट्रिय आन्दोलनसँगै यी सबै भारतीय राष्ट्रियतासँग जोडिन पुगे । त्यही आन्दोलनले उच्च सिर्जनशीलतालाई सतहमा ल्यायो । त्यतिबेला हरेक लेखक, हरेक दार्शनिक, वैज्ञानिक महान् थिए । पछिल्ला केही वर्षमा त सबैभन्दा खराब चिज हामीमाझ आइरहहेका छन् । मानिसहरू मारिएका छन्, कुटिएका छन् । बेलायती उपनिवेशविरुद्धको संघर्षले भने उत्कृष्टताको निर्माण गरेको थियो । नेहरू, गान्धी कोही पनि औसत थिएनन् । त्यसैले त सबैले स्वतन्त्रताको आन्दोलनलाई समर्थन गरे ।

 तर, अहिले नेताहरू विश्वव्यापी पुँजीको एजेन्ट बनेका छन्, होइन त ?
- यही नै अहिलेको चिन्ताको विषय हो । भारतीय जनता पार्टी, आरएसएस, कांग्रेस सबैमा अहिले द्वन्द्व छ । म एजेन्ट त भन्दिनँ । त्यहाँ एकथरी शक्तिले पुँजीलाई जोड दिइरहेको छ भने अर्को शक्तिले खानाको अधिकार, वाक स्वतन्त्रता र सहभागिताको अधिकारलाई जोड दिइरहेको छ ।

के विश्वव्यापी पुँजीको लगानीमा चल्ने मिडियाले यस्तो खालको राष्ट्रवाद प्रवद्र्धन गर्न सक्छन् त ?
- अहँ कसरी सक्नु ? त्यसैले त तेस्रो विश्वमा राष्ट्रवादको विद्रुपीकरण गरिएको छ । भित्र र बाहिर दुवैबाट विद्रुपीकरण भएको छ । पंकज मि श्रजस्ता लेखकहरूको भ्रमपूर्ण बुझाइ त्यसैको परिणाम हो । तर, राष्ट्रवाद नभए के हुन्छ त ? राष्ट्रवाद सामाजिक शक्तिको मुख्य कारक हो । पश्चिमले अहिले देखिने उत्तम विचारहरू जस्तै व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्रको निर्माणमा चार सयदेखि पाँच सय वर्ष लगायो । हामीले यसको अभ्यास गर्न थालेको सय वर्ष पनि भएको छैन । भारतले सुरुदेखि नै प्रजातन्त्रको पूर्ण प्रत्याभूति साथ विकासको यात्रा सुरु गरेको हो । संसारमा कुनै पनि देशले पूर्ण प्रजातन्त्रसहित विकास गरेको होइन । अमेरिकाले विकास गर्दा प्रजातन्त्र थिएन । जापानमा सेना र प्रजातन्त्र थियो । बेलायत उपनिवेशवादी शक्ति थियो । तर, भारतले त पूर्ण प्रजातन्त्रसहित विकासको यात्रा सुरु गर्‍यो । त्यसैले ठूलो मात्रामा शक्ति प्रस्फुटित भयो । माओले चीनमा किसान शक्ति प्रस्फुटन गरे । नेहरू, गान्धी र कम्युनिस्टहरूले भारतका गाउँबाट किसान, मजदुरलगायतका शक्ति प्रस्फुटन गरे ।

 तर, अरुन्धती रोयजस्ता लेखक त भारतमा ‘प्रजातान्त्रिक स्वेच्छाचारिता’ भएको आरोप लगाउँछन् त ?
- लेखक, साहित्यकारको रूपमा उहाँहरूलाई त्यसो भन्ने सहुलियत छ । तर, संस्थाकै एक अंगको रूपमा पत्रकार वा अरूहरूको त जिम्मेवारी छ । उहाँहरूले आफ्नो क्षेत्रको रक्षा गर्न सक्नुहुन्छ, मैले पनि त्यही गर्नुपर्छ । मसँग त प्रतिदिन सयौं विद्यार्थीले प्रश्न गरिरहेका हुन्छन् । त्यस अर्थमा म जिम्मेवार हुनुपर्छ । केही लेखकको आफ्नै खाले जिम्मेवारी हुन्छन् । रवीन्द्रनाथ टैगोरले जापानी राष्ट्रवादको विरोध गरेका हुन् । त्यसैगरी दार्शनिक, लेखकको फरक-फरक धारणा हुन सक्छ । तर, इतिहासकार, राजनीतिशास्त्री, प्राज्ञिकको रूपमा विद्यार्थीसँग छलफल गर्ने हुनाले हाम्रो भूमिका जिम्मेवारपूर्ण हुन्छ । किनभने ती सबै विद्यार्थी लेखकमात्रै त बन्दैनन् । यदि मैले भारतमा प्रजातान्त्रिक स्वेच्छाचारिता छ भन्ने हो भने जागिरबाट राजीनामा दिएर उपन्यास लेख्न बसे हुन्छ । तर, म त संस्थाको हिस्सा हुँ । मैले त परिवर्तन गर्नु छ । त्यसैले मेरो बुझाइ फरक छ ।

राष्ट्रवादबारे तपाईंको बुझाइ र जेएनयूमा भएको विद्यार्थी आन्दोलनले स्थापना गरेको बुझाइलाई कसरी व्याख्या गर्न सक्छौं ?
- मेरो किताबले भन्छ- जेएनयूलाई माक्र्सवादी अखडाको रूपमा लिइन्छ । तर, यो राष्ट्रवादीहरूले निर्माण गरेका हुन् । भारतीय राष्ट्रवाद युरोपेली राष्ट्रवादजस्तो होइन । भारतीय राष्ट्रवाद राजनीतिक रूपमा उपनिवेशको विरोध हो भने सामाजिक रूपमा छुवाछूत अन्त्य, दलित मुद्दा, असमानता उन्मूलन हो । अम्बेडकर, नेहरू, गान्धी, डाँगे योसँग जोडिन्छन् । जिन्ना, आरएसएस भने यसमा पर्दैनन् ।

 यो त उदारवादसँग समान देखिन्छ त !
- भारतीय सन्दर्भको उदारवाद । युरोपेली उदारवाद उपनिवेशको पैरवी हो । अहिले भारतमा आधुनिक उदारवादी भनेर चिनिइने रामचन्द्र गुहा, प्रताप, भानु मेहता सबै नयाँ आर्थिक नीतिका रक्षक हुन् । उनीहरू नयाँ आर्थिक नीतिका उत्पादन हुन् । विश्वव्यापी पुँजीवादले बनाएका पोस्टरब्वाई हुन् ती ।

तर, अघि मैले नाम लिएका लेखकहरूले माओवादी समस्या, काश्मिर समस्याबारे मुद्दा उठाइरहेछन् । राज्यले आवश्यक सुनुवाइ नगरेको आरोप लगाइरहेछन् नि ?
- आदिवासी समस्या त्यहाँ पहिलेदेखि नै छ । माओवादीले आदिवासी मुद्दालाई आत्मसात् गरेका छन्, म अपहरण गरेका छन् भन्दिनँ । र, उनीहरूले आफ्नै खाले समाधान दिएका छन् । तर, त्योभन्दा फरक समाधान पनि त हुन सक्छन् नि । प्रजातन्त्रमा विविध खाले विचार आउन सक्छन् । अरुन्धती रोयको समाधान नै एकमात्र समाधान वा नन्दिनी सुन्दरको समाधानमात्र अन्तिम त हुन सक्दैन । यत्ति हो उनीहरूको आवाजले बढी प्रचार पाइरहेको छ।

 उनीहरू राज्यले क्रूरतापूर्वक दमन गरिरहेको भन्छन् नि त ?
- राज्यका आफ्नै तर्क हुन सक्छन् । म भन्छु राज्यले फरक तरिकाले सम्बोधन गर्नुपर्छ ।

राज्य राष्ट्रवाद हो त्यो ?
- राज्य राष्ट्रवाद होइन । राज्यले भारतीय राष्ट्रवादबाट वैधानिकता प्राप्त गरेको हो ।

मोदी सरकारले पनि ?
- मोदी सरकारसँग वैधानिकता नभएकाले त्यो राष्ट्रवादलाई हटाएर आफ्नै खाले राष्ट्रवाद निर्माण गर्न खोजिरहेछ । त्यसैले उसले सेनालाई जोड दिइरहेछ र हरेकलाई अराष्ट्रवादी भनिरहेछ । त्यसैले द्वन्द्व बढिरहेछ । यो किन पनि भएको छ भने विश्वभरि नै धार्मिक राष्ट्रवाद मौलाइरहेछ । भारतीय राष्ट्रवादले गति लिन अब जनतासँग जानुपर्छ । पपुलर मुभमेन्टमा जोड दिनुपर्छ ।

 राष्ट्रवाद त चरित्रगत हिसाबले नै ध्वंसात्मक हुन्छ भनिन्छ नि ?
- त्यसो भए मलाई भन्नुस्, उपनिवेशवादविरोधी आन्दोलनमा मानिसलाई एक बनाउने र उत्कृष्टता दिने के थियो ? मैले राष्ट्रवादको वकालत गरिरहेको होइन । अन्ततः जनता नै मुख्य हुन् । जनतालाई केले हित गर्छ भन्ने हेर्ने हो । माक्र्सवादी सिद्धान्तअनुसार, सन्दर्भले निर्धारण गर्छ । अहिले पुँजीवादविरुद्ध लड्न पनि राष्ट्रवाद चाहिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.