हरि अधिकारीको ठट्यौली चयन

हरि अधिकारीको ठट्यौली चयन

कवि भइसकेपछि कोही पनि हराउँदैन । संसारमा भएका जनसंख्याको कति प्रतिशत होलान् कवि ? ठ्याक्क आँकडा कसैले बताउन नसके पनि विश्वमा भएका जनसंख्याको एकदमै कम प्रतिशत मात्र कवि छन् । अब यसलाई कसरी हेर्ने ? असंख्य जनका बीच टड्कारा थोरै चम्किला कवि भन्ने कि थोरै कवि असंख्य जनमा बिलाएको भन्ने ? यो हेर्ने दृष्टिकोणको कुरा हो । दृष्टिको कुरा हो ।

मोही माग्ने ढुंग्रो लुकाउने किन ? यो सन्दर्भ मैले नेपाली साहित्यका सिद्धहस्त कलमकार उपन्यास, कथा, कविता र पुस्तक समीक्षाका स्रष्टा हरि अधिकारीले १५ असोजमा अन्नपूर्ण पोस्ट्को परिशिष्टांक ‘फुर्सद’मा प्रकाशित ‘समकालीन कविताका १० स्वर’ कथनका विषयमा लिएको हुँ ।

साहित्य लेखनमा लागेको र प्रतिबद्ध भएर लागेको कुनै व्यक्ति आफ्नो रचनालाई कसैले कस्तो टिप्पणी गर्‍यो भनेर चिन्ता र चासो राखेर हिँडिरहँदैन वा हिँड्दैन । उसको रचना अमूक कोही व्यक्तिले साह्रै मन परायो वा एकदमै मन पराएन भने पनि त्यसले खासै फरक पर्ने होइन । त्यो रचना कति बलियो छ वा त्यसले कतिन्जेल पाठकको मन छुन्छ, त्यसले त्यो लेखकको रचनात्मक उपस्थितिको निक्र्योल गर्छ । तर, यो छुट्याउने जिम्मा कसको हो ? पाठकको ? दौंतरी लेखकको ? समालोचकको ? प्राध्यापकको ? कसको ? एक शब्दमा भन्ने हो भने त्यसको जिम्मा समयको हो।
धारिला कलम र चोटिला प्रहारका लागि नामी हरिदाइले सो लेखमा लेखेका छन् :

 

‘विक्रमको तीसको दशकको आधाआधीमा तत्कालीन दलविहीन निरंकुश व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउँदै भएको राजनीतिक आन्दोलनले बनाएको खुकुलो परिवेशमा नेपाली कविताको संसारमा उत्साही कविहरूको एउटा ठूलो जमात नै देखा पर्‍यो । त्यस बेला आएका दिनेश अधिकारी, विमल कोइराला, विश्व विमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ, मीनबहादुर विष्ट, गोविन्द गिरी प्रेरणा, विष्णुविभू घिमिरे, नकुल सिलवाल, तीर्थ श्रेष्ठ, लव गाउँले आदि कविले नेपाली कविताको भण्डारलाई संख्यात्मक रूपमा समृद्ध बनाउनमा महत्वपूर्ण योगदान त गरे । तर, एकजना मीनबहादुर विष्टले बाहेक अरू कसैले पनि उक्तिचातुर्य, पृथक र आकर्षक विम्बविधान र नवीन शैलीको संधानका दृष्टिले कविको विशिष्ट छाप आफ्ना कवितामा छोड्न नसकेकाले ती भीडमा हराउन पुगे ।’

हरि अधिकारीजस्तो कलमको जिम्मेवार हस्तीले ‘सुधी पाठक’को हवाला दिएर अधिकांश कविमाथि हास्यास्पद लाञ्छना लाउन कसरी सके, यो विचारणीय छ । के त्यो अनाम सुधी पाठक कलमकार हरि अधिकारीभन्दा विज्ञ र विद्वान् हो ? -

मैले आफ्नो नाम देखेर मात्र होइन दसजना कविलाई एकै घानमा हालेर कविको रूपमा मीनबहादुर विष्टको मात्र अस्तित्व देखाएर तथा दिनेश अधिकारीलाई गीतकारको कित्तामा धकेलेर जुन निक्र्याेल उनले निकाले, त्यसमा बहस हुनुपर्ने आवश्यकता देखेँ ।

मलाई ताज्जुब लागेको कुरा के हो भने हरि अधिकारीले विशेष रूपले उल्लेख गरेका १० नाममा मीनबहादुर विष्ट मात्रै यस्ता नाम हुन् जसले लेखनलाई पूर्णतया वि श्राम दिएका छन् । उनले वि श्राम लिएको रजत जयन्तीभन्दा बढी भइसक्यो । हो, उनको एउटा कविता तोडमरोड गरेर पाठ्यक्रममा राखिएको छ, त्यो बेग्लै प्रसंग हो । बाँकी नौ कविमा नकुल सिलवाल दिवंगत भइसकेका छन् भने संख्याको हिसाबले लव गाउँले, विष्णुविभू घिमिरे, हेमन्त श्रेष्ठ र विमल कोइराला कम होलान् । तर, सबैजसो सक्रिय नै छन् ।

कम्तीमा लेख्नै छाडेका छैनन् । कम्तीमा सभा समारोहमा कविता पढ्न छाडेका छैनन् । कम्तीमा केही थान कवितासंग्रह प्रकाशन गरेका छन् भने भीडमा हराएको भन्न कसरी मिल्छ ? तीबाहेक अरू त नित्य निरन्तर रचनाकर्ममा जुटेका छन्, प्रकाशनमा जुटेका छन् । बरु हराएकै भन्न त मीनबहादुर विष्टलाई मिल्ला जो न कुनै साहित्यिक समारोहमा झुल्किएका देखिन्छन्, न रचना प्रकाशनमा देखिएका छन्, न त प्रकाशनमा उपस्थिति जनाएका छन् । यो त पूरै व्यंग्य गरेजस्तो पो देखियो त।

हो, कविता कसको कुन दीर्घजीवी होला, कुन कविता समयलाई जित्ने खालको हुन्छ, त्यसबारे अड्कल लगाउन सकिन्छ । यो बेग्लै पक्ष हो । त्यो अड्कल सही नै हुन्छ भन्ने पनि छैन ।
महाकवि देवकोटाको अजर अमर कृति ‘मुनामदन’ हो भन्नेमा कुनै दुविधा छैन । यो कृति नै देवकोटालाई चिनाउने कालजयी कृति बन्यो । यो कथानकको हिसाबले मौलिक थिएन । शैलीको हिसाबले परम्परागत झ्याउरे छन्द थियो । हरि अधिकारीले उल्लेख गरेजस्तो ‘उक्तिचातुर्य, पृथक् र आकर्षक विम्बविधान र नवीन शैली’ मुनामदनमा छैन । उनका शाकुन्तल, सुलोचना, प्रमिथसजस्ता अलौकिक महाकाव्यलाई पनि मुनामदनले किन दोछायामा पार्‍यो त ? यो समयले पारेको हो ।

अर्काे कुरा, कुनै पनि कालमा टड्कारो अग्लो व्यक्तित्व बनाउने लेखकको संख्या कम नै हुन्छ । सेक्सपियर कतिजना छन् ? एउटा । वेदव्यास कति छन्, एकजना । देवकोटा कतिजना छन्, मात्र एक । त्यसको मतलब तत्कालीन समयका अरू सर्जक भीडमा हराएका हुन् त ? एक्लै दौडेर प्रथम हुनुको कुनै अर्थ रहन्न । धावकहरूको भीडमा मात्रै प्रथम हुनेको अस्तित्व देखिन्छ । त्यसको मतलब प्रथम हुने बाहेकका अरू भीडमा हराएका होइनन् । त्यो प्रथम हुनेलाई चहक त्यो भीडले दिएको हुन्छ । त्यो भीड नभए त्यो एक्लो प्रथम हुनेको व्यक्तित्व नै कसरी टड्कारो हुने ?

त्यस्तै सिर्जनशील स्रष्टाहरूले कहिले कस्तो कृति लेख्ने हुन्, त्यो पूर्वानुमान गर्न सकिन्न । लेख्नेहरूले नै, निरन्तर लेख्नेहरूले नै बेजोडका कृति दिने हुन् । हामीकहाँ एउटा रोग छ, धेरै लेखेपछि त्यो संख्यात्मक मात्र हुन्छ, गुणात्मक हुँदैन । यो सोच केवल वौद्धिक रोगमात्रै हो । थोरै लेख्दैमा उत्कृष्ट, विशिष्ट र महान् हुने, बढी लेख्ने बित्तिकै कमसल र संख्यात्मक हुने भन्ने हुँदैन । लेख्न सक्नु खुबी हो । धेरै लेख्न सक्नु झन् ठूलो खूबी हो । धेरै लेख्नेले धेरैमध्ये थोरै उच्च स्तरको लेख्न सक्लान् । थोरै लेख्नेका लागि त त्यो अवस्था पनि सुलभ हुँदैन । बरु साहित्यका समीक्षकलाई बढी लेख्ने साहित्यकारप्रति यसकारण वितृष्णा भएको बुझिन्छ, उनीहरूमा धेरै कृति पढ्ने धैर्य हुँदैन, समय हुँदैन, रुचि हुँदैन र संख्यात्मक भनेर ठोक्दिन्छन् र हात झड्कार्दै बाटो लाग्छन् । नेपाली साहित्यमा यो दीर्घ रोग हो ।

हरि अधिकारीको अर्को कथन यस्तो छ :

‘त्यस समूहका कविहरूले प्राय: एकरसमय, छुट्याएर चिन्न नसकिने, एउटै शैलीका र सामयिक घटनाका प्रतिक्रियामा व्यक्त आक्रोशप्रेरित कविता नै धेरै संख्यामा लेखेको देखिन्छ । सुधी पाठकहरूले त्यति बेला ठट्टामा भन्ने गरेका थिए— हाम्रा अधिकांश कविले लेखेका कविता लेखकको नाम छोपेर पढ्न दिने हो भने एउटाले लेखेकोलाई अर्कोले लेखेको भनिने सम्भावना सय प्रतिशत हुनेछ ।’

यो अर्को अज्ञान हो । उनको उपर्युक्त भनाइको लक्ष्य माथिका १० कवि हुन् । म दाबीका साथ के भन्न सक्छु, यी १० कविका लेखनको आफ्नोपन र पृथक पहिचान छ । लेख्ने त उही देवनागरीमै हो, त्यसो भनेर उस्तै लाग्नु एउटा कुरा हो, तर कविताको संरचना र शैली प्रत्येकको फरक छ, पृथक छ र निजत्वपूर्ण छ । यी कविहरूमध्ये अधिकांशले आफूलाई चिनाउने कविता लेखिसकेका छन् । कसैले बुझ्दैन, बुझ्न चाहँदैन वा बुझेर बुझ पचाउँछ भने कसले के भन्न सक्छ र ।

वास्तवमा कुनै पनि पाठ बुझ्नु नै अमूर्त र अव्याख्यानीय कर्म हो । कविता त झन् बुझ्न कठिन र परिभाषित गर्न कठिन साहित्यिक विधा हो । हाडे ओखरजस्ता कविता पनि हुन्छन् । अत्यन्त सरलतामा पनि गहन अर्थ दिने कविता पनि हुन्छन् । कुनै कविले मुडमा अर्थ लगाएर कविताको अर्थ खुल्दैन, कुनै व्याख्याताले बनिबनाउ चस्मा लगाएर त्यही चस्माको रङका आधारमा कविता देख्छ भने उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तर त्यो दृष्टि न सार्वभौम हुन्छ न त टिकाउ नै । हरि अधिकारीजस्तो कलमको जिम्मेवार हस्तीले ‘सुधी पाठक’को हवाला दिएर अधिकांश कविमाथि हास्यास्पद लाञ्छना लाउन कसरी सके, यो विचारणीय छ । को हो सुधी पाठक ? के त्यो अनाम सुधी पाठक कलमकार हरि अधिकारीभन्दा विज्ञ र विद्वान् हो ? यो त पूरै हावा कुरा भएन र ?

यस लेखोटमा हरि अधिकारीले १० कविको छनोट गरेका छन् । त्यो छनोट गर्ने पूर्ण स्वतन्त्रता उनमा छ । त्यो उनको व्यक्तिगत रुचि र स्वतन्त्रतामा कसैले दखल गर्न न आवश्यक छ, न त्यो दखल अर्थपूर्ण नै रहन्छ । न त्यसको आधार जान्न जरुरी छ, न कालखण्ड नै । तर, उनले लेखेका यी हरफले भने मलाई अलमलमा पारिदियो :

‘समसामयिक नेपाली कविताको ऐतिहासिकताका बारेमा सरसर्ती यति कुरा राखिसकेपछि म समसामयिक नेपाली कविताका, मेरो विचारमा विशेष रूपले उल्लेख्य अथवा आफ्नो ढंगका कविताका लागि मेरो नजरमा अरूभन्दा केही बढी प्रशंसा गर्नलायक १० जना कविको नाम लिन चाहन्छु । यो कुनै मास्टरी शैलीको स्याबासी होइन न त मैले यहाँ नामोल्लेख नगरेका कविहरू यहाँ नाम परेका कविहरूभन्दा कमसल हुन् भन्ने नै मेरो दाबी छ ।’

न त मैले यहाँ नामोल्लेख नगरेका कविहरू यहाँ परेका कविहरूभन्दा कमसल हुन् भन्ने नै मेरो दाबी छ भनेपछि उनले गरेको १० कविको चयन ठट्टामा रूपान्तर भएको छ र यसले पूरै लेखको हाराकिरी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.