यू-१९ क्रिकेट : नेपालले बंगलादेशलाई ६ विकेटले हरायो
काठमाडौं : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपालले अन्तिम खेलमा भने सानदार जित आत्मसाथ गरेको हो। पहिलो र दोस्रो खेलमा कमजोर रहेको ब्याटिङलाई नेपालले तेस्रो खेलमा सुधार गरेको थियो। अन्तिम खेलको जितसँगै नेपालले तीन खेलको श्रृङ्खला २-१ ले गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो। दुई सय २६ रनको विजय लक्ष पाएको नेपालले ४६.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।
नेपालको जितमा अशिफ शेख सर्वाधिक ९० रन बनाएका थिए। सैफ हसनको बलमा एलबिडब्लु आउट भएका अशिफले ८८ बलमा उक्त रन जोडेका हुन्। तीन छक्का र नौ चौका हानेका थिए। जितेन्द्र सिंहले ४५ रनको योगदान गरे।
एक सय ९ बलमा उक्त रन जोडेका जितेन्द्रले एक छक्का र तीन चौका हानेका थिए। रोहित कुमार पौडेलले २५ र अनिल कुमार शाहले १५ रन बनाउन सके। कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित २७ रन बनाए। भिम सार्कीले १३ रन जोडे। बलिङमा बंगलादेशका रोनी हुसेन, काजी अनिक इस्लाम, सकवत हुसेन र सइत हसनले एक एक विकेट लिएका थिए।
यसअघि बंगलदेशका लागि अनिमुलले सर्वाधिक ८० रन बनाएका थिए। ८७ बलमा उक्त रन जोडेका अनिमुलले आठ चौका हानेका थिए। महमद रकिबले ३९,पिनाक घोष २३, रोसिउल हकले पनि अबिजित २१ रन बनाए। कप्तान सैफ हसन १७ तथा अफिफ हुसेन १८ रन बटुलेका थिए।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउन सकेनन्। बलिङमा नेपालका शाहव आलमले तीन विकेट लिए। अनिल कुमार शाहले दुई तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट झारेका थिए। नेपालका अशिफ शेख म्यान अफ दी म्याच घोषित भए। नेपाल पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपाल एक सय २३ रनले पछि परेको थियो।
अर्काे साताबाट मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ युथ एसिया कप क्रिकेटको तयारीस्वरूप नेपालले बंगलादेशसँग अभ्यास खेल खेलेको हो। नेपाल युथ एसिया कपमा पनि बंगलादेश रहेकै समूह ‘ए’मा परेको छ। नेपालको समूहमा टेस्ट मान्यता पाएको भारत र आयोजक मलेसियाको युवा टोली पनि छ।