भारतीय दूतावासको 'क्याम्प अफिस' नहटाउन व्यवसायीको माग, राजनीतिकस्तरमा विरोध
विराटनगर : विराटनगरका उद्योगी÷व्यवसायीले विराटनगरस्थित भारतीय दूतावासको क्याम्प अफिस हटाउनुको साटो यसलाई स्तरोन्नति गर्दै महावाणिज्य दूतावास कार्यालय बनाउन माग गरेका छन् ।
भारत सरकारका एक अधिकारीले यसलाई महावाणिज्य दूतावास कार्यालय नै बनाउन चाहेको पनि स्पष्ट गरेका छन् । विराटनगरमा रहेको भारतीय दूतावासको क्याम्प अफिस हटाउन माग गर्दै राजनीतिकस्तरमा भने निकै ठूलो विरोध हुने गरेको छ । भारतले वीरगन्जमा पनि महावाणिज्य दूतावास कार्यालय सञ्चालन गर्दै आएको छ ।
भारत सरकार भने यसलाई स्तरोन्नित गर्न इच्छुक रहेको नेपालस्थित भारतीय दूतावासका मिसन उपप्रमुखले बताएका छन् । भारत विराटनगरको क्याम्पस अफिसलाई महावाणिज्य दूतको कार्यालय बनाउन चाहेको तर यसका लागि नेपाल र भारत दुबैको चाहाना हुनुपर्ने उपप्रमुख डा. अजय कुमारले बताए ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगर आएका कुमारको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भारत पनि यहाँको क्याम्पस अफिसलाई कन्सुलेट कार्यालयमै रुपान्तरण गर्न चाहन्छ तर यसका लागि राजनीतिलाई अलग गरेर आम जनताको हित र फाइदाका रुपमा बुझेमात्रै सम्भव हुन्छ ।’ उनले विसाखापटनमा नेपालको महावाणिज्य दूतावासको कार्यालय सञ्चालन हुनासाथ विराटनगरमा भारतको महावाणिज्यदूतको कार्यालय सञ्चालनमा आउने बताए ।
विराटनगरको क्याम्प अफिस अनधिकृत रुपमा बसालिएको भन्दै केही राजनीतिक दलले भने यसलाई हटाउनु पर्ने माग गर्दै आएका छन । नेकपा माओवादीसहित ३३ दलले नेपालस्थित भारतीय दुतावासको ध्यानाकर्षण गराउँदै क्याम्प अफिस हटाउन माग गरेका थिए । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले क्याम्पस अफिसलाई महावाणिज्य दुतावासको कार्यालय बनाइनु पर्ने आफूहरुको माग रहेको बताउँदै भने, ‘महावाणिज्य दूतावासको कार्यालय बनाइए हामीले सानातिना काम गराउन पनि काठमाडौंस्थित भारतीय दूतावासको कार्यालय धाउनु पर्ने समस्या हट्नुका साथै यहींबाट सीमापार व्यापारका धेरै काम हुने भएकोले व्यापारमा सहजता आउँछ ।’ उनले वाणिज्य दूतावास खोलिए पूर्वबाट भारतसँगको सम्पर्क र सम्बन्धको नयाँ आायम थपिने पनि दाबी गरे ।
२०६५ भदौमा कोसी बाँध भत्किएर सडकमार्ग सञ्चालनमा समस्या हुँदासवारी आवागमन सहजीकरण गर्न बिहार हुँदै नेपाल छिर्नुपर्ने अवस्था आइपरेको थियो । पूर्व–पश्चिम यातायात आवागमनका लागि रुट पर्मिट दिन भारतीय दूतावासले विराटनगरमा क्याम्प अफिस खोलेको थियो । त्यसलाई अहिले कूटनीतिक सम्पर्क कार्यालय बनाइएको छ । राजनीतिक दलले भने त्यो कार्यालयबाट राजनीतिक गतिविधिसमेत हुने गरेको भन्दै विरोध गर्दै आएका छन । भारत सरकारले सम्पर्क सहजीकरण र आइपर्ने सीमावर्ती कागजी प्रक्रियालाई सहज बनाउन पनि विराटनगर कार्यालय जरुरी रहेको महशुस गरेर यसलाई स्तारोन्नति गर्ने चाहना राखेको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले भारतको बिहारस्थित मिरगञ्जको पुललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरे । संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र बुहुसांस्कृतिमा आधारित भएको चर्चा गरे । कार्यक्रममा उद्योगीले द्विपक्षीय व्यापारमा देखिएका समस्यालाई सरकारस्तरमा समाधान गर्ने पहल गर्न आग्रह गरे ।