फिल्म साउथ एसिया : भारत र श्रीलंकाका डकुमेन्ट्रीले मारे बाजी
काठमाडौं : भारत र श्रीलंकाका निर्देशकले निर्देशन गरेका दुई डकुमेन्ट्रीलाई संयुक्त रूपमा ‘रामबहादुर ट्रफी आउट स्ट्यान्डिङ फिल्म अवार्ड’ बाट पुरस्कृत गर्दै फिल्म साउथ एसियाको एघारैाँ संस्करण आइतबार सम्पन्न भएको छ । भारतका तुशार माधव र सार्भनिक कौर निर्देशित ‘सोज : अ ब्यालेड अफ म्यालाडिज’ र श्रीलंकाका निर्देशक जुडे रत्नम निर्देशित ‘डेमोन्स इन प्याराडाइज’ लाई दुई हजार अमेरिकी डलरसहित ट्रफी प्रदान गरिएको हो ।
यसैगरी, एक हजार अमेरिकी डलरको जुरी अवार्ड ‘सेफर्डरस अफ दी ग्ल्यासिरिज’ लाई प्रदान गरियो । यो डकुमेन्ट्री भारतका दुई निर्देशक स्टाटजिन डोरजाई र किस्टिन मोडलेटले संयुक्त रूपमा बनाएका हुन् । एक हजार डलरकै तारिक मसुद बेस्ट डेब्यु अवार्ड भारतका निर्देशकले बनाएको ‘रसन पिया’ ले पायो ।
बालबालिकासम्बन्धी विषयमा निर्माण भएको भारतका निर्देशक चन्द्रशेखर रेड्डी निर्देशित ‘फायर फ्लाइज इन्ट ही एबेज’ लाई युनिसेफले बेस्ट फिल्म अन चिल्ड्रेन इस्यु पुरस्कार प्रदान गर्यो । यो पुरस्कारको राशि पनि एक हजार डलरकै छ । म्यानमारका कई नाउ खमले निर्देशन गरेको ‘३२ सोल्स’ ले बेस्ट स्टुडेन्ट अवार्डसहित पाँच सय डलर हात पार्यो ।
पाकिस्तानी निर्देशक हेमोल त्रिदेवी र मोहम्मद अलीले बनाएको फिल्म ‘अमंग दि बिलिभर्स’ फिल्म महोत्सवको अन्त्यमा देखाइएको थियो । आइतबार नै ‘वर्क एन्ड लेबर’ विधा समेटिएका डकुमेन्ट्री देखाइएको थिए ।
‘डकुमेन्ट्री बियर्स विटनेस’ भन्ने मुख्य उद्देश्यका साथ सुरु भएको फिल्म साउथ एसियामा मानवअधिकार श्रम, आर्ट, जेन्डर एन्ड सेक्सुवालिटीलगायतका विधाका फिल्म समेटिएका थिए ।उद्घाटनको क्रममा देखाइएको फिल्म ‘फायर फ्लाइज इन् द एबिस’ अन्तिम दिन पनि देखाइएको थियो । कामको खोजीमा भारतको मेघालयमा पुगेर कोइलाखानीमा काम गर्न पुगेका नेपालीको अवस्था यसमा देखाइएको छ जहाँ नेपालीहरू निकै जोखिम मोलेर खानीमा काम गरिरहेका छन् भने बालबालिका अध्ययनबाट वञ्चित छन् । भारतीय निर्देशक चन्द्रशेखर रेड्डीको यो फिल्म हेर्न युवाको भीड लागेको थियो । त्यस्तै, अफगानिस्तान, पाकिस्तान र भारतका कथा तथा कामको सिलसिलामा कतार पुगेर श्रम गरिरहेका मानिसको मर्मस्पर्शी कथा पनि देखाइएको थियो ।
फिल्म साउथ एसिया २०१७ का अध्यक्ष कनकमणि दीक्षितले भने, ‘दक्षिण एसियाका गुणस्तरीय नन्फिक्सन फिल्म देखाइए । यस्ता फिल्मले एकअर्को मुलुकका जल्दोबल्दो विषय बुझ्न सजिलो हुन्छ । सहानुभूति दिन सजिलो हुन्छ ।’ यस्ता वृत्तचित्र निर्माण गरेकोमा फिल्म निर्माताप्रति उनले आभार प्रकट गरे ।
फिल्म साउथ एसियाका निर्देशक मितु बर्माले नेपालका दर्शक देखेर उत्साहित भएको बताइन् । एसियन कलेज अफ जर्नालिजम चेन्नाईका संस्थापक शशि कुमारले उद्घाटन गरेको फेस्टिभलमा तीन सयवटा फिल्मबाट छानिएका ६३ वटा फिल्म देखाइएका थिए । जसमध्ये ४५ वटाले पाँच विधाका लागि प्रतिस्पर्धामा गरेका थिए ।