लोकतान्त्रिक गठबन्धन नबन्दा कांग्रेसलाई घाटा

लोकतान्त्रिक गठबन्धन नबन्दा कांग्रेसलाई घाटा

तौलिहवा : दोश्रो चरण अन्र्तगत मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दलहरु चुनावी मैदानमा होमिएका छन् । देशभर बामपन्थी दलहरु संयुक्तरुपमा चुनावी मैदानमा उत्रिएका छन् भने कतिपय स्थानमा लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । तर कपिलवस्तुमा भने बामपन्थी दलसँग कांग्रेस एकल प्रतिस्पर्धा गर्ने भएको छ ।

 

जिल्लाका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ तहमा वामगठबन्धनसँग नेपाली कांग्रेस एकल प्रतिष्पर्धामा उत्रेको छ । जिल्लामा मधेशवादी दल, नयाँ शक्ति र राप्रपासँग संयुक्त रुपमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास असफल भएपछि यस्तो अवस्था आएको हो । अहिले बामगठबन्धनसँग एक्लै प्रतिष्पर्धा गर्नुपर्दा कपिलवस्तुसका ३ वटै क्षेत्र कांग्रेसका लागि चुनौती पूर्ण देखिएका छन् र्। कांग्रेसका लागि अस्तित्व जोगाउने सकस सुरु भएकोछ । क्षेत्र नं १ र २ मा वाम गठबन्धन फराकिलो अन्तरका साथ अगाडी रहेकोछ । क्षेत्र नं ३ मा भने हालै फोरम परित्याग गरि कांग्रेस पसेका अभिषेक शाहका कारण पनि चुनावी टक्कर बढ्ने देखिन्छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनितिक दलहरुले पाएको मतका आधारमा पनि कांग्रेस र एमाले माओवादी गठबन्धन सहितको बाम मोर्चाबीचको चुनाव रोचक बन्ने देखिएको छ । राजपा र फोरमका ठूला नेता कांग्रेस एमाले पसेपछि विगतमा कपिलवस्तु कब्जा गरेको मधेशवादी दलको अवस्था अहिले निकै खस्किएको छ । भर्खरै सम्पन्न १० वटा स्थानीय तहमा पाएको मतका आधारमा पनि दलहरुको आगामी प्रतिस्प्रधाको आकलन गर्न सकिन्छ ।

प्रतिनिधि सभा १ : प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका ३ वडा जोडिएका छन् । स्थानीय तह निर्वाचनमा ती क्षेत्रका प्रमुख पदका उम्मेद्धवारलाई खसेको मतको आधारमा लोकतान्त्रिक दलहरुको मत २७ हजार १ सय २८ मत हुन जान्छ । कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र नयाँ शक्तिको उम्मेद्धवारले उक्त मत पाएका छन् । बाम गठबन्धनको २६ हजार ७ सय १ मत रहेकोछ । तर संघीय फोरम र नयाँ शक्ति सहितका दल छुट्टाछुटटै लडेकाले कांग्रेसको मात्र मत करिब ४ हजारले घट्न जान्छ । जस अनुसार ४÷५ हजार मतले स्वत ः बाम गठबन्धन अगाडी रहेको स्थानीय तहको परिणामबाट प्रष्ट हुन्छ । अर्को तर्फ राजपा छाडेका वृजेश कुमार गुप्ताको समूहको मत समेत बाम गठबन्धनमा आएका कारण यस पटकको निर्वाचनमा बाम गठबन्धन बलियो देखिएको हो । बाणगंगा नगरपालिकामा लोकतान्त्रिक दलहरुले १६ हजार १ सय १, बाम गठबन्धनले १९ हजार ६ सय ८२ मत पाएका छन् । शुद्धोधन गाउँपालिकामा लोकतान्त्रिक दलहरुले ४ हजार ६ सय ७२ र बाम गठबन्धनले ३ हजार ४ सय ३७ मत पाएका थिए । मायादेवी गाउँपालिकामा लोकतान्त्रिक दलहरुले ६ हजार ३ सय ५५ र बाम गठबन्धनले ३ हजार ५ सय ८२ मत स्थानीय तह निर्वाचनमा पाएका थिए । यो सबैमा लोकतान्त्रिक गठबन्धन नबनेकाले करिव ५ हजार मतले बाम गठबन्धन अघि देखिन्छ । तसर्थ बाम गठबन्धन र कांग्रेस एकल चुनाव लड्दा ७ देखि माथिको फराकिलो अन्तरमा बाम गठबन्धनका उम्मेदवार विजयी हुने देखिएकोछ ।

प्रतिनिधि सभा २ ः
बुद्धभूमी नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिकाको अधिकांश भाग तथा यशोधरा गाउँपालिका प्रतिनिधि सभा क्षेत्र नं. २ मा पर्दछन् । राजपा त्यागेर एमाले सहित बाम घटकबाट उम्मेद्धवार बनेका वृजेश कुमार गुप्ता तथा कांग्रेस सभापति सुरेन्द्रराज आचार्यबीच टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा पनि दुबै मोर्चाबीच प्रतिस्प्रधा देखिएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक दलहरुले ३४ हजार ९ सय २३ मत पाएका छन् भने बाम गठबन्धन तथा वृजेश कुमार गुप्ता निकट प्रमुख उम्मेद्धवारले ३४ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् ।

जसमा ७१ मतको मात्र अन्तर देखिएको छ । तर सो क्षेत्रमा पनि राजपा, फोरम र नयाँ शक्तिको अलग अलग उम्मेदवारीका कारण कांग्रेससँग करिव २८ हजार मत मात्र रहेको मान्न सकिन्छ । लोकतान्त्रिक दलहरुले कपिलवस्तु नगरपालिकामा ९ हजार २ सय ५४ र बाम गठबन्धनले ८ हजार ९ सय ४९ मत पाएका थिए । बुद्धभूमी नगरपालिकामा बाम गठबन्धनले ११ हजार ६ सय ४१ र लोकतान्त्रिक दलले ११ हजार ४ सय ६२ मत पाएका छन् ।

महाराजगंजमा बाम गठबन्धनले ८ हजार ८ सय ४८ र लोकतान्त्रिक दलहरुले ८ हजार ७ सय २ मत प्राप्त गरेका थिए । यशोधरामा लोकतान्त्रिक दलहरुले ५ हजार ४ सय ७८ र बाम गठबन्धनले ५ हजार ४ सय १४ मत पाएको थियो । यी सबैमा पनि लोकतान्त्रिक दलहरुको गठबन्धन नबन्दा काँग्रेस उम्मेदवार बाम गठबन्धन भन्दा करिब ५ हजार मतले पछि पर्ने स्वत विष्लेषण गर्न सकिन्छ ।

प्रतिनिधि सभा ३
लगातार फोरमबाट २ पटक सम्म सभासद बनेर हालै कांग्रेस प्रवेश गरेका अभिषेक शाहको पकड क्षेत्रका स्थानीय तहमा एमाले र स्वन्त्रत सहित माओवादीले जितेपछि यतिखेर यस क्षेत्रमा पनि कडा टक्कर देखिएको छ । मधेस आन्दोलनका एक हस्ती इश्वर दयाल मिश्र बामपन्थी समूहबाट उम्मेद्धवार बनेपछि यहाँ पनि प्रतिस्प्रधा निकै रोचक हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा बाम गठबन्धनले ३ नम्बर क्षेत्रबाट १५ हजार ७ सय ५५ मत पाएका थिए भने लोकतान्त्रिक दलहरुले १२ हजार ६ सय २१ मत पाएको थिए ।

तर माओवादी र कांग्रेस सहित शाह परिवारबाट समेत बागी उम्मेद्धवार भई अत्याधिक मत बाडिएको कारण यहाँ यसै केही भन्न सक्ने अवस्था नरहेको राजनितिक विश्लेषकहरु बताउँछन् । विजयनगर गाउँपालिकामा बाम गठबन्धनले ३ हजार ९ सय ६३ र लोकतान्त्रिक दलहरुले १२०५ मत पाएका छन् । शिवराज नगरपालिकामा बाम गठबन्धनले ७ हजार ८ सय ७६ र लोकतान्त्रिक दलहरुले ६ हजार ५६ मत पाएका छन् । कृष्णनगरमा लोकतान्त्रिक दलको ५ हजार ३ सय ६० र बाम समूहमा ३ हजार ९ सय १७ मत खसेको थियो । यहाँ प्रतिस्पर्धा देखा परेकाले बाम गठबन्धनले यति नै अन्तरमा जित्न सक्छ भन्ने आकलन गर्न कठिन छ । सतहमा हेर्दा कांग्रेस भन्दा वाम गठबन्धन बलियो देखा परेकोछ ।

यता स्थानीय तह निर्वाचनपछि जिल्ला निर्वाचन कार्यालयले गरेको नयाँ मतदाता संकलन अभियानमा २५ हजार २ सय १४ जना नयाँ मतदाता थपिएका छन् । सबै भन्दा बढी प्रतिनिधि सभा १ को (१) अन्र्तगत नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय श्रोतका अनुसार करिब ९ हजार ५ सय मतदाता त्यहिका छन् । स्थानीय तह निर्वाचनमा बाणगंगा नगर प्रमुखमा जम्मा ५ सय मतका झिनो अन्तरले पराजित नतिजा अहिले थपिएका नयाँ मतदाताले धेरै उथलपुथल गर्न सक्नेछन् । नयाँ मतदाता दर्ताका लागि एमाले, कांग्रेस र माओवादीले आफु निकटकालाई ह्वीप नै जारी गरी दर्ता गराउन पठाएका थिए । बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकामा बढि थपिएका मतदाताले पनि आगामी निर्वाचनको परिमाणलाई अर्कै मोड दिने हैसियत राख्ने राजनितिक विश्लेषक हरीराज शर्मा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.