वामगठबन्धन साख जोगाउने दाउमा
संखुवासभा : पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा पूर्वी पहाडी जिल्ला संखुवासभामा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा वामगठबन्धन र नेपाली कांग्रेसबीच तिब्र प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुदै छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि वामगठबन्धनबाट राजेन्द्र गौतम र कांग्रेसबाट दिपक खड्काबीच मुख्यरुपमा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गौतम र खड्काबीच २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सङ्खुवासभा क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा भएको थियो ।
२०७० को निर्वाचनमा खड्काले ११ हजार ५ सय ५२ मत ल्याएका थिए । एमालेका गौतमले १० हजार ९ सय ७३ मत ल्याएर पराजित भएका थिए । सो निर्वाचन एमाले र माओवादीको मत जोड्दा १५ हजार २ सय ६६ मत हुन आउँछ । खड्का विजयी भएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत भएका थिए ।
यसरी २०७० निर्वाचनमा समग्र जिल्लाको मतपरिणमा एमाले र माओवादीको मत जोड्दा काँग्रेस ७ हजार ६ सय ८३ मतले पछि हुन आउँछ । जसमा काँग्रसेसको २० हजार ९ सय ६७ मत तथा एमाले र माओवादीको जम्मा २८ हजार ६ सय ५० मत आएको थियो । तर सो निर्वाचनमा दुबै क्षेत्र काँग्रसेले जितेको थियो । क्षेत्र नं. १ बाट विजयी तारामान गुरुङ स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
२०४८ सालमा जिल्लाको दुबै क्षेत्रमा एमाले विजयी भएको थियो । सो चुनावमा क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र क्षेत्र नं. २ बाट पर्शुमेघी गुरुङ विजयी भएका थिए । त्यसैगरी २०५१ सालको मध्यवर्ती चुनावमा पनि दुबै क्षेत्रमा एमाले नै विजयी भए । क्षेत्र नं. १ बाट डेडराज खड्का र क्षेत्र नं. २ बाट हरि बैरागी दाहाल विजयी भएका हुन् । त्यसपछिको २०५६ सालमा भएको निर्वाचनमा क्षेत्र नं. १ मा काँग्रेसका टंकप्रसाद राई र क्षेत्र नं. २ मा एमालेका पर्शुमेघी गुरुङ नै विजयी भएका थिए । माओवादी निर्वाचन प्रकृयामा आएपछि २०६४ सालको संविधानसभा चुनावमा एमाले र माओवादीले एकएक क्षेत्र जितेको यस जिल्ला दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसले जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा दश स्थानीय तह रहेको यस जिल्लामा एमाले र काँग्रेसले पाँचपाँच तह जितेको हो । २७ हजार १ सय ११ मतल्याएको एमालेले पाँच प्रमुख र छ उप्रमुख पद जितेका कारण जिल्ला समन्वय समितिमा एकल समिति गठन गरेको थियो । खाँदबारी, मादी र चैनपुर नगरपालिका र सभापोखरी, मकालु गाउँपालिकाको प्रमुख र उपप्रमुख त्यसैगरी पाँचखपन नगरपालिकाको उपप्रमुख पद एमालेले जितेको हो ।
धर्मदेवी नगरपालिका र चिचिला, भोटखोला, सिलिचोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा पाँचखपन नगरपालिकाको प्रमुख पदमा जित हाँसिल गरेको थियो । उसले २७ हजार ४ सय ६१ मत ल्याएको हो । त्यसैगरी केही वडा अध्यक्षमा चित्त बुझाएको माओवादी केन्द्रले ६ हजार ५ सय ६० मत ल्याएको थियो । वामगबन्धनको मतपरिणाम जोड्दा ३३ हजार ६ सय ७१ मत हुन आउँछ । यसरी हेर्दा वामगठबन्धनको काँग्रेसको भन्दा ६ हजार २ सय १० मत बढी देखिन्छ ।
उता २०६४ को पहिलो संविधानसभा निर्वाचन पनि काँग्रेस भन्दा एमाले र माओवादी २५ हजार ९ सय ५५ मतले अगाडी रहेको छ । सो निर्वाचनमा एमाले र माओवादीलाई जम्मा ४१ हजार ४ सय ५४ मत आएको थियो । काँग्रेसलाई १५ हजार ४ सय ९९ मत आएको थियो ।
प्रदेशसभा
प्रदेशसभा निर्वाचनमा पनि वामगठबन्धन र काँग्रेसबीचनै प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १(क) बाट वामगठबन्धनका पुर्णप्रसाद राई र काँग्रसका टंकप्रसाद राईबीवच कडा प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रका दुबै उम्मेद्ववार पुरानै अनुहारका हुन् । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्काललीन एकीकृत नेकपा माओवादीबाट पुर्णप्रसाद र टंकप्रसादबीच भएको प्रतिस्पर्धामा माओवादीले जित हाँसिल गरेको थियो । २०५६ सालका प्रत्यक्ष निर्वाचित सांसद् टंकप्रसाद २०६४ सालको संविधानसभाको पहिलो निर्वाचन माओवादी केन्द्रका पूर्णप्रसाद राईसँग हार ब्यहोरेका थिए । २०६४ निर्वाचनमा हार व्यहोरेका काँग्रेस उम्मेद्ववार राई वामगठबन्धनबाट उठेका माओवादी उम्मेद्ववार राईसँग बदला लिने दाउमा छन् ।
यस अघिको मत परिणाम हेर्ने हो भन स्थानीय तहको निर्वाचनमा काँग्रेसको १२ हजार ८ सय ९ मत र एमाले माओवादीको १६ हजार ३ सय ५६ मत रहेको थियो । यो मत अन्तरमा पनि वामगठबन्धन ३ हजार ५ सय ४७ मतले अगाडि हुन आउँछ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि ३ हजार ९ सय ६९ मतले एमाले माओवादी अगाडि नै देखिन्छ । जसमा काँग्रेसको ९ हजार ४ सय १५ मत तथा एमाले र माओवादीको १३ हजार ३ सय ८४ मत रहेको थियो । त्यसैगरी पहिलो संविधान सभाको निर्वाचनमा अझ काँग्रेस १४ हजार ९ सय ९० मतले एमाले र माओवादी भन्दा पछि छ । सो चुनावमा एमाले र माओवादीको २२ हजार ९६ तथा काँग्रेसको ७ हजार १ सय ६ मत थियो ।
क्षेत्र नम्बर २ (ख) मा प्रमुख दुई उम्मेदावर भने नयाँ अनुहारका छन् । वामगठबन्धन एमालेबाट तुलसीप्रसाद न्यौपाने र काँग्रेसबाट दिपक लिम्बुबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । एमाले यस पटक आप्mनो साख फर्काउने तयारीमा छ । सो क्षेत्रमा २०५६ साल र २०७० सालको चुनाव बाहेको अन्य चुनाव ऐमालेले जित्दै आएको थियो । क्षेत्र नम्बर २ मा २०१५ सालमा काँग्रेसका लिलानाथ दाहालले जितेका थिए भने त्यस पछि निरन्तर कम्यूनिष्टले जितेको थियो । दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नं. २ बाट एमालले आप्नो साख गुमाएको थियो । विगतमा भएको मतपरिणाम विश्लेषण गर्दा यस पटकको निर्वाचन एमाले र माओवादी केन्द (वामगठबन्धन) बलियो देखिन्छ ।
यस अघिको स्थानीय तहको निर्वाचनमा एमाले र माओवादीको जम्मा १७ हजार ३ सय १५ र कांग्रेसको १४ हजार ६ सय ५२ मत रहेको थियो । स्थानीय तहको चुनावी परिणाम अनुसार २ हजार ६ सय ६३ मतले एमाले र माओवादीको मत भन्दा कांग्रेस अगाडि छ । त्यसैगरी दोस्रो संविधान सभाको निर्वाचनमा पनि ३ हजार ७ सय १४ मत अन्तरले काँग्रेस पछि रहेको थियो । सो चुनावमा एमाले र माओवादीको जम्मा १५ हजार २ सय ६६ मत र काँग्रेसको ११ हजार ५ सय ५२ मत थियो भने पहिलो संविधान सभाको चुनावमा पनि एमाले र माओवादीले १० हजार ९ सय ६५ मतले अगाडि देखिन्छ । जसमा एमाले र माओवादीको १९ हजार ३ सय ५८ मत र काँग्रेसको ८ हजार ३ सय ९३ मत थियो । यो तथ्याङ्कलाई हेर्दा चुनावी मैदानमा दुवै क्षेत्रमा वामगठबन्धन बलियो देखिन्छ ।
जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीको (वामगठबन्धन), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन पाटी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति, ग्रीन पार्टी र राष्ट्रिय जनता पार्टीका उम्मेद्ववार पनि चुनावी मैदानमा छन् ।
जिल्ला १८ दल दर्ता भए पनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको(वामगठबन्धन), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन पाटी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति, ग्रीन पार्टी र राष्ट्रिय जनता पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका छन् । त्यसैगरी १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहेको छ ।