'सुशासन र समृद्धिका लागि कांग्रेसलाई भोट'
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन र समृद्धिका लागि कांग्रेसलाई मत दिन मतदातासँग अपिल गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को आँबुखैरेनीमा पार्टी कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा विकास निर्माणले गति लिने बताए।
यसका लागि नेपालमा पूर्वाधार खडा गरेर गाउँ ठाउँमा पक्की बाटो र विकास पुर्याएर तथा देशका सबै ठाउँमा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर श्रृजना गरेर कांग्रेस अघि बढ्ने उनले बताए।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेलले विस्थापित मनलाई गाउँ फर्कने बनाउन आफूले उम्मेदवारी दिएको बताए। ‘विदेशिएका युवालाई गाउँ आउने वातावरण बनाउने सपना पुरा गर्न म लाग्दैछु', उनले भने।
नेता पौडेलले आँबुखैरेनी चार नम्बर प्रदेसको ढोका भएको भन्दै अब यस क्षेत्रमा विकास निर्माणले गति लिने दावी गरे । उनले डुम्रेमा पनि चुनावी प्रचार कार्यालय स्थापना गरेका थिए।