पहिलो पटक चुनाव लड्ने धेरै
पोखरा : कांग्रेस केन्द्रीय सदस्य ४२ बर्से जीवन परियार पहिलोपटक जनतामाझ प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार परियारलाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ निर्वाचन क्षेत्र भएको कास्कीमा मुख्य पार्टीका १८ उम्मेदवारमध्ये कांग्रेसका परियारजस्ता नयाँ अनुहार उल्लेख्य छन् ।
पार्टीका उम्मेदवारलाई जिताउन जनतामाझ पटकपटक क्रियाशील भएकाले निर्वाचनमा आफूलाई जनताले अनुमोदन गर्ने परियारको विश्वास छ । ०४९ सालको स्थानीयदेखि प्रत्येक निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन जनतामाझ पुगेको हुँदा आफूलाई चुनाव नयाँ नलागेको उनको भनाइ छ । परियारसँगको प्रतिस्पर्धामा वाम गठबन्धनबाट माओवादी केन्द्र कास्कीका सहसंयोजक ३८ वर्षे दीपक कोइराला छन् । उनी पनि आमचुनावका नयाँ अनुहार हुन् । क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष र क्यानको समेत कार्यवाहक अध्यक्ष भएर खेलकुद क्षेत्रको विकासमा काम गरेकाले जनतामाझ आफू नयाँ अनुहार नभएको उनले सुनाए ।विद्यार्थी राजनीति हुँदै कांग्रेसमा क्रियाशील देवराज चालिसे पहिलोपटक कास्की २ बाट प्रतिनिधिसभा सदस्यको चुनावमा छन् ।
०५९ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु सभापति बनेका चालिसे नयाँ उम्मेदवार हुनुलाई सकारात्मक मुद्दाका रूपमा उठाइरहेका छन् । ‘संसारकै उत्कृष्ट लोकतन्त्रमा एक व्यक्ति दुईपटकभन्दा चुनावमा जाँदैन, अर्कोले मौका पाउँछ’, यसअघि २ पटक चुनाव जितेका एमाले युवा नेता रवीन्द्र अधिकारी लक्षित उनको भनाइ छ ।
०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, अनेरास्ववियुको अध्यक्ष, ०६१ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु सभापतिसमेत भएर काम गरेका अधिकारी दुईपटक संविधानसभा सदस्य निर्वाचित भइसकेका छन् । मंसिर २१ गने हुने निर्वाचनमा पनि बाजी मार्दै ह्याट्रिक गर्ने दाउका साथ चुनावी मैदानमा उत्रिएका अधिकारी आफूले कास्कीको मात्र नभएर समग्र राष्ट्रकै विकासका पूर्वाधार निर्माण गर्न विकास समितिको सभापति भएर काम गरेका कारण मतदाताले फेरि विजयी गराउने दाबी गर्छन् ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै युवा संघको केन्द्रीय अध्यक्ष बनेका एमालेका नेता राजीव पहारी पनि आमनिर्वाचनका नयाँ अनुहार हुन् । उनी कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट वाम गठबन्धनका प्रदेशसभा सदस्यको उम्मेदवार छन् । अबको आवश्यकता विकास र समृद्धि भएकाले चार नम्बर प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउने योजनासाथ जनतामाझ पुगेकाले जनताको साथ पाउने उनको विश्वास छ ।
पहारीसँगको प्रतिस्पर्धामा कांग्रेसका पुराना कार्यकर्ता भोजबहादुर गुरुङ सिकन्दर निर्वाचनमा होमिएका छन् । आफूलाई भाषणभन्दा काम गर्न आउने उनको भनाइ छ । निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट कांग्रेसका जिल्ला सभापति कृष्ण केसी प्रदेशसभाका उम्मेदवार छन् । उनी पहिलोपटक निर्वाचनमा होमिएका हुन् । ४ नम्बर प्रदेशको समग्र विकासको खाका कांग्रेससँग भएकाले आफ्नो पार्टीका उम्मेदवारले जित्ने उनको दाबी छ ।
सोही क्षेत्रमा बाम गठबन्धनबाट एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ निर्वाचनमा होमिएका छन् । पार्चे गाविसका पूर्वअध्यक्ष गुरुङले आमनिर्वाचनमा पहिलोपटक अवसर पाएका हुन् । प्राकृतिक स्रोत-साधनको संरक्षण र उपयोग गर्दै समग्र प्रदेश नम्बर ४ लाई समृद्धिको बाटोमा लम्क्याउन आफ्नो उम्मेदवारी भएकाले वाम गठबन्धनका उम्मेदवार चुनावमा विजयी हुने गुरुङको दाबी छ ।
कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा पनि नयाँ अनुहार युवा नेता गुरु बराललाई चुनावी मैदानमा उतारेको छ । नेविसंघको कास्की अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष भएका बराल वाम गठबन्धनका संयुक्त उम्मेदवार एमालेका जिल्ला अध्यक्ष कृष्ण थापासँग भिड्दै छन् । थापा साविक पोखरा उपमहानगरपालिकाका मेयर हुन् । थापा संविधानसभा दोस्रो निर्वाचनमा भएको पराजयको घाउ बिर्साउने योजनामा छन् ।
प्रदेशसभाको २ (ख)बाट कांग्रेसले नयाँ अनुहारका रूपमा विन्दु थापालाई उठाएको छ । थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रले राजकाजी गुरुङ (करण)लाई उम्मेदवार बनाएको छ । करण यसअघि संविधानसभा पहिलो चुनावमा पोखराबाट विजयी र दोस्रो निर्वाचनमा पर्वतबाट पराजित उम्मेदवार हुन् ।
वाम गठबन्धनले प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट एमालेका युवा नेता जगत विश्वकर्मालाई उठाएको छ । उनी पहिलोपटक आमनिर्वाचनमा होमिएका हुन् । एमालेको पोलिटब्युरो सदस्य विश्वकर्मा २२ वर्षको उमेरमा लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । विश्वकर्मासँग कांग्रेसले जिल्लाका पुराना र कहिल्यै चुनाव नजितेका नेता पूर्वसभापति शुक्रराज शर्मालाई उठाएको छ । कास्कीमा रास्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, विवेकशील साझा पार्टीलगायत विभिन्न पार्टीले पनि धेरैजसो नयाँ युवा अनुहार चुनावी मैदानमा उतारेका छन् ।