महाकालीपारि पहिलो पटक उम्मेदवार

महाकालीपारि पहिलो पटक उम्मेदवार

 

महेन्द्रनगर : कञ्चनपुरमा महाकालीपारिको मत हरेक निर्वाचनमा निर्णायक देखिँदै आएको छ । तर, यहाँका मतदाताले भने आफ्नो क्षेत्रका उम्मेदवार पाउन सकेका थिएनन् । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने उनीहरूले प्रदेशसभाका लागि दुई जना उम्मेदवार पाएका छन् ।

क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभातर्फ वाम गठबन्धन र कांग्रेसबाट उम्मेदवारी दिएका दुवै जना महाकालीपारिका हुन् । त्यसमा पनि उनीहरू एकै वडा महाकाली नगरपालिका-७ मा बसोबास गर्छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार र कांग्रेसबाट बेलबहादुर राना चुनावी मैदानमा छन् ।

 

दुई उम्मेदवार आफ्नै क्षेत्रबाट पाउँदा मतदाता कसलाई भोट दिने भन्ने अन्योलमा छन् । ‘पहिलो पटक एकै वडाका दुई जनाले उम्मेदवारी दिन पाएका छन्’, स्थानीय गोपी कँडेलले भने, ‘दुवै नेता पूर्वजनप्रतिनिधि भएर कामसमेत गरिसकेका हुन् ।’

दुवै उम्मेदवार एकै वडाका र जनतामाझ भिजेका व्यक्ति भएकाले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ ।

दुवै उम्मेदवारका चुनावी एजेन्डा हेरेर सक्षमलाई भोट दिने पक्षमा मतदाता देखिएका छन् । साविकको दोधारा-चाँदनी क्षेत्रले दुई उम्मेदवार पाउनु खुसीको कुरा भएको स्थानीयले बताएका छन् । वाम गठबन्धनका उम्मेदवार सुनारले आफूले गाविस अध्यक्ष हुँदा गरेको विकास जनताले देखेको उल्लेख गर्दै यसपटक मत दिएर जिताउनेमा विश्वस्त रहेको बताए । ‘मैले गाविस अध्यक्ष हुँदा गरेको विकास सबैले देखेकै छन्’, उनले भने, ‘अहिले पनि महाकाली नगरपालिकालाई समृद्ध बनाउने अभियानसहित जनतामाझ आएको छुँ ।’

दोधारा-चाँदनीमा निर्माण गरिने सुख्खा बन्दरगाह, महाकाली नगरपालिकालाई सदरमुकामसम्म जोड्ने सडकका साथै शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्याको अन्त्यलगायत समृद्ध महाकाली नगरपालिका बनाउने आफ्नो चुनावी एजेन्डा रहेको उनले बताए । महाकालीमा निर्माणाधीन पुलको कार्यान्वयनसहित महाकाली नगरपालिकालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी भएको उनको दाबी छ।

उनी २०४९ सालमा दोधारा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसबाट निर्वाचन जितेका उनी २०५१ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार एनपी साउदविरुद्ध बागी उठेर तीन सय मतले पराजित भएका थिए ।

कांग्रेस उम्मेदवार राना २०४९ सालमा जिल्ला विकास समिति सदस्य र २०५४ मा दोधारा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनले पनि जनप्रतिनिधि हुँदा आफूले गरेको विकास र पछिल्लो समय कांग्रेसले थालेको विकास अभियानमा सबै जनताले साथ दिने विश्वास व्यक्त गरे । ‘म र मेरो पार्टीले यस क्षेत्रमा गरेको विकास सबै जनताले देखेकै छन्’, उनले भने, ‘ त्यही विश्वासले पनि अझ यस क्षेत्रको समृद्धिका लागि भोट दिएर जिताउनेछन्।’

उनले पनि दोधारा-चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, महाकालीमा पक्की पुल निर्माण, बाढी नियन्त्रणसहित शिक्षा, स्वास्थ्य, सबैलाई रोजगारी नै आफ्नो चुनावी एजेन्डा बनाएका छन् । उनले वाम गठबन्धन भए पनि कांग्रेसलाई निर्वाचन जित्न असहज नहुने दाबीसमेत गरे । उनलाई राप्रपाको सहयोग मिलेको छ ।

दुवै उम्मेदवार एकै वडाका र जनतामाझ भिजेका व्यक्ति भएकाले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ । प्रदेशसभातर्फ (२) मा भीमदत्त नगरपालिकाका केही वडासमेत पर्दछन् । भीमदत्तका ११, १२, १३, १४, १५, १६ र १८ नम्बर वडा क्षेत्र नम्बर ३ (२)मा पर्छन् । प्रदेशसभाको यो क्षेत्रमा ४४ हजार आठ सय ६८ मतदाता छन् । महाकाली नगरपालिकामा २२ हजार तीन सय १५ र भीमदत्तका सात वडामा २२ हजार पाँच सय ५३ मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.