बागी फकाएर घरदैलोमा

बागी फकाएर घरदैलोमा

 

विराटनगर : बागी व्यवस्थापनसँगै मोरङका ठूला दल निर्वाचन प्रचारमा लागेका छन् । बागी उम्मेदवारी फिर्ता लिएकाहरूले पनि पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।कांग्रेसबाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका ६ मध्ये चार जनाले सोमबार प्रेस युनियन मोरङले गरेको अन्तरसंवाद कार्यक्रमबाट एजेन्डा प्रस्तुत गर्दै निर्वाचन प्रचारमा होमिएको घोषणा गरे ।

निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्यले लोकतन्त्रको थप संरक्षण, दलहरूबीच एकता र आर्थिक विकासजस्ता राष्ट्रिय सन्दर्भलाई लिएर आफू निर्वाचनमा होमिएको बताए । उनले विराटनगरलाई प्रादेशिक राजधानीका रूपमा विकास गर्ने, केसलिया, सिंघिया, जुँडीलगायत नदी नियन्त्रणको योजना, विराटनगरमा अन्तर्राष्ट्रिय रंगशाला र क्षेत्रीय विमानस्थलको विकास पहिलो प्राथमिकता रहेको सुनाए ।

 

 

क्षेत्र नम्बर १ का उम्मेदवार डिगबहादुर लिम्बू, २ का डा. मीनेन्द्र रिजाल, ३ का डा. सुनील शर्मा र ४ का आचार्यले एकसाथ चुनावी एजेन्डा प्रस्तुत गरे । कार्यक्रममा क्षेत्र नम्बर ५ का अमृत अर्याल र ६ का डा. शेखर कोइराला भने अनुपस्थित थिए ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालका अनुसार वाम गठबन्धन पनि चुनावी अभियानमा लागेको छ । माओवादी केन्द्र र एमाले उम्मेदवार संयुक्त रूपमा मतदाताको घरदैलोमा पुग्न थालेका छन् । ‘कतिपय ठाउँमा प्रचार कमिटी गठन गर्ने र स्थानीय निर्वाचन परिचालन कमिटी बनाउने काम भइरहेको छ’, उनले भने, ‘स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको जनमतलाई बचाउँदै हामी विजयी हुने रणनीतिमा छौं ।’ उनले बहुमत ल्याउने केन्द्रीय तयारीअनुसार नै जिल्लामा चुनावी अभियान अघि बढाएको सुनाए ।

मोरङमा ‘हेभिवेट’ उम्मेदवार आमनेसामने भएका छन् । क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइरालाबीच हुने प्रतिस्पर्धालाई चासोका हेरिएको छ । सोमबार मात्र पण्डितले मतदाता रिझाउने योजनाका विषयमा कार्यकर्ता, भ्रातृसंगठन र शुभेच्छुकसँग छलफल गरे । उनले कार्यक्रममा भने, ‘एमालेले विगतमा प्राप्त गरेको जनसमर्थनलाई कायम राख्दै विजय सुनिश्चित बनाउनुपरेको छ ।’ उनले एमालेका चुनावी एजेन्डालाई जनतासम्म लैजान र कांग्रेसले विगतमा प्राप्त गरेको जनसमर्थनका बाबजुद विकास गर्न नसकेको क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताए ।

एमालेले मोरङमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई छाडिदिएको छ । कांग्रेसका आचार्यसँग प्रतिस्पर्धामा उभिएका मोदीले भने, ‘संगठनको आन्तरिक व्यवस्थापन मिलाएर चुनावी तयारीमा व्यस्त भएका छौं । मतदातासँग भेटघाट गर्ने क्रम पनि सुरु भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.