नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

तेह्रथुमः आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।

मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ। उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन्।

 

जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन्। तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्र्याउने चटारो छ।

यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताएका छन्।

“चुनाव आयो रे, नेताहरु गाउँघरमा डुल्न थालिसके”, उनी भन्छन्, “हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनीहरुलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो।”

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ। मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ। तर गाउँका किसानलाई चुनावले छोएको छैन। कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन्।

यो याममा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन्।

चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ। गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए। तर अहिले भने किसानले कम चासो लिएका छन्।

“पार्टीका पछि लागे पेट केले भर्ने रु” फेदाप गाउँपालिका–२ की मालती जोगी भन्छन्, “मानो रोपेर मुरी भित्र्याउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ।”

किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने यो बेला अहिले मुख्य समय हो। त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन्। पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ।

त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन्। दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचारप्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचारप्रसार थालेका छन्।

कतिपय कृषकलाई चुनाव के हो रु भन्ने कुरा नै जानकारी छैन। गाउँगाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषक रनभुल्ल परेका हुन्। स्थानीय तहमा भोट हालेपछि यति चाँडै मत दिनुपर्दैन भन्ने बुझेकाहरूले प्रतिनिधि र प्रदेश सभा चुनावमा कसरी मतदान गर्ने भन्ने अन्योल देखिन्छ।

निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको तयारी भए पनि सुरु भइसकेको छैन। एक महिनामात्र बाँकी रहँदा पनि निर्वाचन शिक्षा कार्यक्रम सुरु नभएकाले त्यो प्रभावकारी नहुने निश्चित छ। नमूना मतपत्रसमेत अझै नआउँदा गाउँघरको चुनावी सभामा नमूना मतपत्र लैजान नपाइएको उम्मेदवारहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.