भक्तपुरका ४४ मतदानस्थल संवेदनशील

भक्तपुरका ४४ मतदानस्थल संवेदनशील

भक्तपुर: भक्तपुर जिल्लाका ४४ वटा मतदान स्थल सुरक्षाका दृष्टिले संवेदनशील रहेका छन्। जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार भक्तपुरका ७८ मतदानस्थलमध्ये ४४ वटा संवेदनशील रहेका हुन्। 

बाँकी ३४ मतदानस्थल सामान्य रहेको प्रजिअ पोखरेल बताउँछन्। ‘सुरक्षा निकायहरुको आधारमा ४४ वटा मतदान केन्द्र संवेदनशील र ३४ वटा सामान्य रहेका छन्’, उनले भने।

सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयले मतदान केन्द्रहरुको स्थलगत अध्ययन अवलोकनपछि ती मतदान केन्द्र संवेदनशील भएको निष्कर्ष निकालिएको हो।

शान्ति सुरक्षा, राजनीतिक दलहरुको प्रभाव एवं मतदान केन्द्र र मतदाताको दूरीको आधारमा संवेदनशील र सामान्य मतदानस्थल छुट्याइएको महानगरीय प्रही परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए।

उनले भयरहित एवं सुरक्षित ढंगले निर्वाचन गर्न केन्द्रीय सुरक्षा योजनाअनुसार भक्तपुरमा पनि सुरक्षाकर्मीहरु परिचालन हुने बताए। उनका अनुसार भक्तपुरमा एक हजारभन्दा बढी जनपद प्रहरी र सातसय ३६ म्यादी प्रहरी परिचालन हुनेछन्।

भक्तपुरका ७८ मतदानस्थलमा दुई सय नौ मतदान केन्द्र रहेका छन् । एउटा मतदानस्थलमा दुइटादेखि पाँच वटासम्म मतदान केन्द्र रहेका छन्। एउटा मतदान केन्द्रमा बढीमा एक हजार जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्मा बताउँछन्।

उनका अनुसार भौगोलिक अवस्था एवं मतदाता र मतदान केन्द्रको दूरी बढी भएका र साँघुरो ठाउँमा कम्तीमा पाँचसय मतदाताको लागि एक मतदान केन्द्रसमेत तोकिएको छ। जसअनुसार भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण नगरपालिका ३ स्थित यापीभैरव माध्यमिक विद्यालय मतदान स्थलमा एक हजार एकसय १० मतदाताको लागि दुइटा मतदान केन्द्र निर्धारण गरिएको छ।

त्यस्तै चाँगुनारायण नपा कै वडा नं ७ स्थित बाल्मीकि आधारभूत विद्यालय मतदानस्थलमा एक हजार एकसय ३६ मतदाताको लागि दुइटा मतदान केन्द्र निर्धारण गरिएको छ।

भक्तपुरमा कुल एक लाख ७८ हजार ९५ जना मतदाता रहेका छन्। जसअनुसार निर्वाचन क्षेत्र नं.१ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं. २ मा ८३ हजार नौ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश क मा ४३ हजार पाँच सय ५२ मतदाता रहेका छन्। उक्त प्रदेशमा सिंगो चाँगुनारायण नपा र भक्तपुर नगरपालिकाको १० नम्बर वडाका मतदाताहरुले मतदान गर्नेछन्।

त्यस्तै भक्तपुर नगरपालिका वडा नं १ देखि ९ सम्मका पचास हजार ६ सय १२ मतदाताले प्रदेश ख मा मतदान गर्नेछन्। निर्वाचन क्षेत्र नं २ को प्रदेश क मा सिंगो सूर्यविनायक नपाका मतदाताले मतदान गर्नेछन्। उक्त प्रदेशमा ४४ हजार ८९ मतदाता छन्। त्यस्तै प्रदेश ख मा ३९ हजार आठ सय ४६ मतदाता रहेका छन् । सिंगो मध्यपुर थिमि नपा उक्त प्रदेशको सीमांकन हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.