कार्यकर्तासँग मनीष सुमनको प्रतिस्पर्धा
राजविराज : राजपा महासचिव मनीष सुमनले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) मा प्रदेशसभातर्फ कार्यकर्तासँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। सुमनलाई राजपा–फोरम गठबन्धनले उम्मेदवार बनाएको विरोधमा राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादव उत्रिएसँगै प्रतिस्पर्धा कार्यकर्तासँग हुने भएको हो।
स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदमा उम्मेदवारीबाट वञ्चित भएपछि यादव प्रदेशसभातर्फ आकांक्षी थिए। टिकट नपाएपछि उनी चार दिनसम्म राजविराजमा अनशनसमेत बसेका थिए। सुमनले टिकट पाएपछि उनी राजपा परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका हुन्। आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट खाका लिएर चुनावी मैदानमा ओर्लिएको उनको भनाइ छ।
राजपाको केन्द्रीय सदस्य पद परित्याग गरेका परमानन्द मेहतासमेत सोही प्रदेशसभाका लागि एकीकृत राप्रपा (राष्ट्रवादी)बाट चुनावमा होमिएका छन्। पार्टीकै पुराना कार्यकर्ता यादव र मेहताबाट उम्मेदवारी परेपछि सुमनलाई चुनौती थपिएको छ। सुमनले क्षेत्रको समग्र विकास, मधेसीको सम्मान र अधिकारका लागि आफ्नो उम्मेदवारी परेकाले विजयप्रति विश्वस्त रहेको बताए।
वाम गठबन्धनबाट महेशप्रसाद यादव उम्मेदवार छन्। भूमिगतकालदेखि नै गरेको त्याग तथा पार्टी सरकारमा रहेका बेला सप्तरीमा भएका विकास निर्माण कार्यको जनताले उचित मूल्यांकन गर्ने उनको भनाइ छ। लामो समयको क्रियाशीलतापछि टिकट पाएका कांग्रेसका महानन्द यादव पनि चर्चामा छन्। यो क्षेत्रमा नौ जना प्रतिस्पर्धामा छन्।