आचारसंहिता पालना गराउन दलीय संयन्त्र गठन

आचारसंहिता पालना गराउन दलीय संयन्त्र गठन

भक्तपुर : मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा आचारसंहिता पालना गर्न सहयोग, समन्वय र सहकार्य गर्न राजनीतिक दलसहितको संयन्त्र गठन गरिएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका जिल्ला प्रमुखहरू संयन्त्रमा रहेका छन्।

 

प्रमुख निर्वाचन अधिकृतको कार्यालय एवं जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार भएको सर्वदलीय बैठकले उक्त संयन्त्र गठन गरेको हो। संयन्त्रमा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला र नेमकिपा जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू सदस्य छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनाल, नेकपा मालेका कुमार थापा, राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष रामशरण लामिछाने, नयाँ शक्तिका राष्ट्रशमशेर थापा, विवेकशील साझाका शशिविक्रम कार्कीलगायत पनि सदस्य छन्।

माओवादी केन्द्रले भने संयन्त्रमा बस्ने नेताको नाम उपलब्ध गराइनसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। उक्त बैठकमा उपस्थित माओवादी केन्द्रका सचिवालय सदस्य सुनील गोठेले उक्त संयन्त्रमा बस्ने प्रतिनिधिको नाम पछि उपलब्ध गराउने बताएका थिए।

बैठकमा उपस्थित सम्पूर्ण दलका नेता तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। संयन्त्रका संयोजक पोखरेलले दलहरूको प्रतिबद्धताकै आधारमा निर्वाचन आचारसंहिता पालना गर्न सहयोग, समन्वय र सहकार्य गर्न संयन्त्र निर्माण गरिएको बताए।

‘मंसिर २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित एवं विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण दलका जिल्ला नेतृत्व र उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन्', प्रजिअ पोखरेलले भने, ‘सोही प्रतिबद्धताअनुसार निर्वाचन आचारसंहिता पालना गर्न÷गराउन सहयोग, समन्वय र सहकार्य गर्न संयन्त्र गठन गरेका हौं।'
बैठकमा मतदातालाई प्रभावित पार्न पैसा बाँड्नु निर्वाचन आचारसंहिता उल्लंघन हो कि होइन भनी प्रश्न गरिएको थियो। यदि, मतदातालाई प्रभावित गर्ने गरी पैसा बाँड्नु निर्वाचन आचारसंहिता उल्लंघन भए उक्त कार्य गर्ने उम्मेदवारमाथि कारबाही गर्न माग गरिएको थियो।

बैठकमा विवेकशील साझाका नेता एवं भक्तपुर निर्वाचन क्षेत्र २ का उम्मेदवार शशिविक्रम कार्कीले मध्यपुर थिमीमा एमालेका प्रदेशसभा उम्मेदवार राजेन्द्रमान श्रेष्ठले स्थानीय भजनमण्डललाई पैसा बाँडेको भिडियोसहित प्रमाण पेस गरेका थिए। उनले उक्त पैसा बाँड्ने कार्यमा मध्यपुर थिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समेत अगुवाइ गरेकाले उक्त निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कारबाही गर्न प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा एवं प्रजिअ पोखरेलसमक्ष माग गरेका थिए।

त्यस्तै, नयाँ शक्तिका नेता राष्ट्रशमशेर थापाले पैसा बाँडेर मतदाता किन्ने दल र त्यसका उम्मेदवारमाथि कारबाही नगर्ने भए निर्वाचन आचारसंहिता लागू गर्नुको औचित्य नभएको बताएका थिए। एमालेका उम्मेदवारले पैसा बाँडेको कुराले बैठक तातेपछि एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले अमुक संस्थाले सहयोग बाँड्दा पुगेका आफ्ना उम्मेदवारलाई पैसा बाँडेको आरोप नलगाउन आग्रह गरेका थिए।

बैठकमा निर्वाचन आचारसंहिता उल्लंघनबारे प्रमाणसहित आउँदा पनि मुख्य निर्वाचन अधिकृत एवं प्रजिअले आचारसंहिता उल्लंघन भएको भन्न सकेनन्। बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरी प्रशासनले एमाले उम्मेदवारले पैसा बाँडेको बारे आफूहरूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए। जसले गर्दा निर्वाचन आचारसंहिता पालना हुने ग्यारेन्टी नभएको बैठकमा सहभागी अन्य दलका प्रतिनिधिले बताएका छन्।

‘प्रमाणसहित निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्दा पनि मुख्य निर्वाचन अधिकृत एवं प्रजिअले त्यसलाई आचारसंहिता उल्लंघन हो भन्न सकेनन्', बैठकमा सहभागी राजमोका जिल्ला अध्यक्ष शिवहरि खनालले भने, ‘त्यसैले पछि पनि निर्वाचन आचारसंहिता पालना हुने विश्वास छैन।' मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरी प्रशासनले दलबाट प्रतिबद्धता खोजेका थिए, सोहीअनुसार दलका प्रतिनिधिले प्रतिबद्धता जनाएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.