विप्लवको पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार पक्राउ
रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ , सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’, कार्यकर्ता रामसिंह घर्ती र श्यामबहादुर घर्ती पक्राउ परेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेजीको अभियानमा जुटेका विप्लवका नेता र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । लिबाङमा शून्य मतदान गराउनका लागि उनीहरुले भित्ते लेखन समेत गर्दै आएका थिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
चुनाव विरोधी गतिविधिमा संलग्न भएको र सेक्रेटरी प्रयासका नाममा सार्वजनिक मुद्दा समेत रहेको सुरक्षा स्रोतले जनाएको छ । चुनाव खारेज गर्ने अभियानमा जुटेका नेकपाका नेता कार्यकर्ता अर्धभूमिगत अवस्थामा रहेको प्रहरीको दाबी छ ।
स्थानीय तहको चुनावमा थबाङका स्थानीय नेता कार्यकर्ताले स्वतन्त्रबाट चुनाव उपयोग गरेका थिए । विप्लवका कार्यकर्ताले स्थानीय तहको चुनाव विथोल्न धबाङ, जिनाबाङलगायत मतदान स्थलका मतपेटिकामा एसिड खन्याएका थिए ।
प्रहरीले विप्लवका कार्यकर्ताको पछिल्लो गतिविधिले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारीमा चुनौती थपिएको भन्दै उनीहरुका गतिविधिलाई निगरानी गरिराखेको छ ।