चितवनमा प्रचण्ड र विक्रम पाण्डेको रोचक भिडन्त

चितवनमा प्रचण्ड र विक्रम पाण्डेको रोचक भिडन्त

भरतपुर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री थिए। एउटै मन्त्रिमण्डलमा रहेर काम गरेका प्रचण्ड र पाण्डे अहिलेको निर्वाचनमा आमनेसामने छन्। प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डेबीचको प्रतिस्पर्धा चर्चामा छ।

संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं, सिरहाबाट उठेका दाहाल यसटक गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार हुन्। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उनले प्रचार अभियान तीव्र पारेका छन्। उम्मेदवारी दर्ताका लागि आउँदा उनी चार दिन चितवन बसे। प्रचण्डले पहिलो चरणमा शिवनगर, जगतपुर, देवनगर र माडीको कार्यक्रममा पुगे। चुनावी प्रचारका क्रममा उनले जिल्ला नेतासँग चुनावी माहोल नजिकबाट बुझेका छन्।

दाहाललाई वन तथा भूसंरक्षणमन्त्री पाण्डेले चुनावी मैदानमा चुनौती दिएका छन्। राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन्। उनले पनि मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न थालिसकेका छन्।

प्रचण्डलाई जिताउन एमाले र पाण्डेलाई जिताउन कांग्रेस कार्यकर्ता लागिपरेका छन्। निर्वाचन प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढी देखिएको छ। दाहालका लागि सबैभन्दा बढी चुनौती कांग्रेस कार्यकर्ता देखिएका छन्।

यसअघि कांग्रेससँग गठबन्धनको मत पाएर दाहालपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन्। मेयरमा जितेपछि वाम गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ता माओवादीसँग रुष्ट छन्। सोही क्षेत्रअन्तर्गत पर्ने माडीको बाँदरमुढे घटनाका कारण पनि माओवादीले आलोचनाको सामना गर्नुपरेको छ।

सशस्त्र द्वन्द्वकालमा माओवादीले सार्वजनिक बसमा बम प्रहार गर्दा ३९ जनाको ज्यान गएको थियो। उनले माडी पुगेर द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भन्दै माफीसमेत मागे। आफूले निर्वाचन जिते विकासको लहर ल्याउने प्रतिबद्धता उनको थियो। माडीमा सुरुङ मार्ग र आकाशे पुलमध्ये एउटा बनाएर चितवन राष्ट्रिय निकुञ्जमा आवतजावत गर्न सहज बनाउने आश्वासन पनि बाँडे। ‘जित्न सकिने जिल्लाबाट निर्वाचन लड्न अनुरोध आएको थियो’, उनले भने, ‘यहाँका जनताको समस्या सम्बोधनका लागि नेतृत्व लिन चितवन आएको हुँ।’

पाण्डेले पनि चुनावी कार्यक्रमलाई तीव्र पारेका छन्। आफूले धोका नदिने भन्दै उनी कांग्रेस कार्यकर्ता लिएर चुनावी मैदानमा छन्। ‘म यो भूमि र यहाँका जनतासँग भिजेको छु’, उनले भने, ‘मलाई सबैले चिनेका छन्, विकास र जनताको माया नै मेरो जितको आधार हो।’ क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार आठ सय २३ मतदाता छन्। दाहाल र पाण्डेसहित १४ जना उम्मेदवार छन्। यीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.