सडक माग्दै मतदाता

सडक माग्दै मतदाता

 बैतडी : ‘च्वाँगढ पिछडिएको क्षेत्र हो । यसको विकासका लागि हरसम्भव प्रयास गर्छु । सडक मेरो प्राथमिकताको विषय हो ।' २०५६ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले यसो भन्दै मत मागेको सिगास-२ का जनकसिंह धामीले बिर्सिएका छैनन् । चन्द सांसद मात्र निर्वाचित भएनन् ०५९-६० मा दुई सय ३७ दिन प्रधानमन्त्री बने । तर, गाउँमा सडक पुगेन ।

 

झन्डै दुई दशक अवधिमा कति सरकार फेरिए तर हरेक निर्वाचनमा च्वाँगढवासीको मुख्य माग सडक नै छ । ‘सडक पुगेपछि मात्र अन्य विकास सम्भव छ भनेर हामीले सडकलाई मुख्य माग बनाएका हौं', सिगासको थालाकाँडाका पदम रोकायाले भने, ‘पहिलो र दोस्रो संविधानसभा सदस्यका उम्मेदवारसँग हाम्रो मुख्य माग सडक नै थियो । अहिले पनि सडक नै हो । हाम्रो माग सम्बोधन हुने निर्वाचन कहिले आउँछ थाहा छैन ।'

सशस्त्र द्वन्द्वका बेला च्वाँगढ क्षेत्रलाई माओवादीले आधारइलाका बनायो । माओवादीले विकासका आश्वासन मात्र बाँडेको स्थानीयको आरोप छ । ‘शान्ति प्रक्रियापछि माओवादी पटक-पटक सरकारमा गयो । तर, हाम्रा दिन अझै फेरिएनन्', सिगास-२ की गीता धामीले भनिन्, ‘यसपटकको चुनावमा जसले हामीलाई सडक दिने प्रतिबद्धता जनाउँछ उही पार्टीलाई भोट दिन्छु ।'

सिगासका दुई वडालाई मात्र कच्ची सडकले छोएको छ । त्यो पनि वर्षात्को बेला बन्द हुन्छ । ‘गाउँपालिकाको केन्द्र पुग्नै ६ घन्टा बढी हिँड्नुपर्छ । गाउँपालिकाको केन्द्रमा पुग्न पैदल हिँड्नुको विकल्प छैन', स्थानीय टेकसिंह धामीले गुनासो गरे ।

यो क्षेत्रमा सडकसँगै खानेपानी, सिँचाइ, विद्युत् र शिक्षाका समस्या उस्तै छन् । सिगासधुरा मन्दिरसम्म सडक पुगे च्वाँगढ क्षेत्रको मुहार फेरिने स्थानीयको आस छ । ‘सिगासधुरामा दर्शन गर्न आउने हजारौं दर्शनार्थी सडक अभावकै कारण पुग्न सकेका छैनन् । त्यो क्षेत्रको बारेमा प्रचार नै हुन सकेको छैन', गायक मुरलीधर अवस्थीले भने, ‘दलहरूले हाम्रो क्षेत्रलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरे । यो क्षेत्रको समस्या समाधानका लागि खासै पहल गर्न सकेका छैनन् ।'

सरकारले केही दिनअघि घोषणा गरेको पिछडिएको क्षेत्रमा पनि सिगास गाउँपालिका अटाएन । ‘जुन ठाउँमा बाटोघाटोको असुविधा छ । खानेपानी, विद्युत्, स्वास्थ्य समस्या, भौगोलिक विकटता छ । त्यो ठाउँ पिछडिएको क्षेत्रमा परेन । पिछडिएको क्षेत्रको मापदण्ड कस्तो रहेछ ? हामी त अचम्ममा परेका छौं', सिगास बहुमुखी क्याम्पसका पूर्वप्रमुख योगेन्द्रराज अवस्थीले भने, ‘दुर्गम क्षेत्रको विकास गर्ने विकासवादी नेता चयन गर्नुपर्ने बेला आएको छ ।'

अघिल्ला चुनावमा जस्तै अहिले पनि उम्मेदवारहरु तिनै पूराना आश्वासन बोकेर मत माग्न घरदैलोमा पुग्न थालेका छन् । ‘उम्मेदवारसँग पुरानै एजेन्डा छन् । तर, यसपटक हामी ठोस प्रतिबद्धता नआएसम्म कसैको विश्वास गर्दैनौं', शिवलिंगका देवकी अवस्थीले भनिन्, ‘हाम्रो क्षेत्रलाई समृद्ध बनाउने योजना भएका उम्मेदवारलाई भोट दिन्छौं ।'

साधनस्रोतको समुचित प्रयोग हुन नसकेका कारण विकास हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले पनि स्वीकारे । भने, ‘पश्चिम सेती प्रोजेक्टको क्षेत्र पनि यही पर्छ । सिगासधुरा स्तो धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ पनि यही पर्छ । यसको विकासका लागि अब सबैले ध्यान दिनु आवश्यक छ ।'

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी चुनावी मैदानमा छन् । अन्य उम्मेदवार मैदान भए पनि यी दुईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.