‘गाडी कुदेको हेर्ने रहर छ'

‘गाडी कुदेको हेर्ने रहर छ'

 ताप्लेजुङ :  मिक्वाखोला—४, साँवाका वृद्ध मनबहादुर लिम्बूले सातपटक भोट गरिसके । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनममा उनी आठौं पटक भोट खसाल्दै छन् । अहिलेसम्म जित्ने नेताले चित्तबुझ्दो काम नगरेको उनको गुनासो छ । ‘मलाई साँवा हुँदै पापुङसम्म गाडी कुदेको हेर्ने रहर छ', उनले भने, ‘जसले गाउँको विकासमा पहल गर्न सक्छ उसलाई नै भोट दिन्छु ।'

 

कृषिमा संलग्न साँवाकै युवा लोकेन्द्र थलङले फलफूल र तरकारी बजारसम्म पुर्‍याउन नसक्दा कुहिएरै नष्ट हुने गरेको सुनाए । गाउँसम्म सडक पुगे स्थानीय उत्पादन बजारमा बिक्री गरी घरखर्च टर्ने उनको आशा छ । सडक खन्न कस्सिएका स्थानीयवासीको सपना दुई वर्षअघि लिवाङमा गएको पहिरोले टुटाइदिएको थियो । त्यही भएर उनीहरू यसपटक विकास गर्ने नेतालाई जिताउन चाहन्छन् । ‘हाम्रो गाउँको समस्यालाई बुझ्न र समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्छौं', थलङले भने, ‘पापुङसम्म सडक सञ्जाल जोडिए यो क्षेत्रमा विकासको मूल नै फुट्छ ।'

याङ्वरक—२, थेचम्बुका ७० वर्षीय प्रसादसिंह मेन्याङ्बो पनि जनताप्रेमी उम्मेदवारलाई जिताउन चाहन्छन् । चार भाइ छोरालाई कमाउन विदेश पठाएर बूढेशकालमा आफू मात्र घरमा एक्लै बस्नुपरेको पीडा सुनाउँदै उनले भने, ‘गाउँमै केही काम पाए यही कमाउँथे, बूढेशकालको सहारा पनि हुन्थ्यो, अब यही काम गर्ने अवसर सिर्जना गर्नेलाई भोट दिन्छु ।'

अर्का वृद्ध मचिन्द्र लिम्बूको विचार भने फरक छ । विगतमा पैसा खर्च गर्नेले जितेका कारण गाउँको विकास नभएको उनको भनाइ । ‘पैसा खर्च गरेर जितेकाहरू घूस खानमै तल्लीन हुन्छन्', उनले भने, ‘हामीलाई विकास चाहिएको छ, विकासमा लाग्ने नेताले जित्नुपर्छ ।' अधिकांश मतदाता जिल्लाको विकास गर्ने सक्षम उम्मेदवारलाई मत दिने बताउँछन् । मुख्य रूपमा प्रत्येक वडा सडक सञ्जालले जोडिए विकासले धेरै फड्को मार्ने स्थानीयको अपेक्षा छ । ‘स्थानीय जनप्रतिनिधिलाई जितायौं, केही काम गर्न सुरु गरेका छन्', फुङलिङ—८ का कृष्ण पौडेलले भने, ‘अबको प्रदेशसभा र संघको निर्वाचनपछि विकासले अझै गति लेला ।'

यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले-माओवादी केन्द्र गठबन्धनबीच हुने देखिएको छ । एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यतर्फ एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्वजिल्ला सभापति केशवप्रसाद दाहालसहित आठ जना प्रतिस्पर्धामा छन् । प्रदेशमा भने १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.