एल्बममा मैथिली गीतको बहार
जनकपुरधाम : मिथिलाको कला र संस्कृतिको सबैभन्दा बलियो पक्षका रूपमा यहाँका लोकगीत रहेका छन् । मिथिलामा जन्मदेखि मृत्यु संस्कारसम्म लोकगीत गाउने परम्परा छ ।मैथिली लोकगीतका एल्बमको इतिहास भने धेरै पुरानो छैन ।
जनकपुरमा २०५२ सालमा संगीतप्रेमी कलाकारले गठन गरेको मिथि समूहले यहाँ गीतिएल्बम निकाल्न सुरु गरेको हो । यो समूहले निकालेको पहिलो गीतिएल्बम ‘रे छौरा तोरा बज्जर खसतौ' निकै लोकप्रिय भयो । विशेष गरी युवा समूहमा गीतिएल्बम चर्चा रह्यो ।
जनकपुरबाट निस्केको पहिलो मैथिली एल्बममा संगीतकार एवं गायक सुनिल मल्लिक, गीतकार अशोक दत्त, प्रवेश मल्लिक, गायक आभाष लाभ, गायिका रश्मि, नेहा प्रियदर्शनी सहितका कलाकारले आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए । तर, २०५५ सालमा मैथिली गीतिएल्बमको इतिहासमा क्रान्ति आएको हो । उति बेला बजारमा आएको ‘गीत घरघरके' एल्बमले ठूलो प्रसिद्धि हासिल गर्न सफल भएको थियो । जनकपुरमा अहिले पनि कुनै सांस्कृतिक कार्यक्रम आयोजना भयो भने यही एल्बमका गीत गुञ्जिने गर्छन् । जनकपुरबाट निस्केको सबैभन्दा सफल गीतिएल्बमका रूपमा यसलाई मानिएको छ । त्यसैगरी मैया भवानी विनती सुनु, हमर धकधकी बढैयाजस्ता गीतिएल्बम पनि यसै समूहको सक्रियतामा निर्माण गरिएको हो ।
मिथि समूहले सुरु गरेको गीतिएल्बम यात्रामा मिथिला नाट्यकला परिषद् पनि सहयात्री बन्दै नयाँ आयाम थप्न पुग्यो । विशेषगरी नाट्य क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न सफल भएको मिनापले ‘लेहुआएल आँचर' र ‘खोता सिंगार' नामको एल्बम निर्माण गरेपछि मैथिली गीतको प्रचार अझ बढी भयो । मैथिली गीतिएल्बमको बढ्दो लोकप्रियताले गायकगायिकामा उत्साह थपिँदै गयो र एल्बम निकाल्ने क्रम संस्थागत रूपमा मात्र सीमित नभई व्यक्तिगत रूपमा पनि आरम्भ भयो । सोही क्रममा गायक सञ्जय यादवले २०६१ सालमा ‘चाँदके टुकडा' नामक गीतिएल्बम निजी लगानीमा निर्माण गरे । त्यसको सफलतापछि यादवको लगानी र स्वरमा गीतिएल्बम निकाल्ने लहर नै चल्यो र माल टनाटन छै, रसगर चहटगर, तोँ छे सभसँ नम्बर वन लगायतका एल्बम निर्माण भए ।
२०५० सालदेखि २०६५ सम्म जनकपुरमा गीतिएल्बम निकाल्ने होड निकै देखिए पनि त्यसपछि माहोल सेलाएको हो । अहिले फाट्टफुट्टबाहेक गीतिएल्बम निर्माणमा खासै लगानी भएको देखिँदैन । जनकपुरमा २०५२ सालमा संगीतप्रेमी कलाकारले गठन गरेको मिथि समूहले गीतिएल्बम निकाल्न सुरु गरेको हो । यो समूहले निकालेको पहिलो गीतिएल्बम ‘रे छौरा तोरा बज्जर खसतौ' निकै लोकप्रिय भयो । विशेष गरी युवा समूहमा गीतिएल्बम चर्चामा रह्यो ।