अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि खुल्यो पोल

अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि खुल्यो पोल

पोखरा : कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका एमाले उम्मेदवार जगत विश्वकर्माको गाडी बुधबार राति १० बजे तोडफोड भयो। त्यसको जानकारी एमाले नेताहरूले निर्वाचन अधिकृतलाई गराए। तर निर्वाचन अधिकृतको कार्यालयले भने नेताहरूले सोचेभन्दा फरक जवाफ दियो र भन्यो, ‘त्यो गाडी उम्मेदवारको भनेर हामी चिन्न सक्दैनौँ। उम्मेदवारले चढ्ने भनेर गाडीको अनुमति लिइएको छैन।’

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार बिहीबारसम्म पनि कास्कीका कुनै पनि उम्मेदवारले आफू चढ्ने गाडी दर्ता गराएर अनुमति लिएका छैनन्। रेग्मीले भने, ‘एकजना पनि गाडीको अनुमति लिन आउनुभएको छैन।’ उम्मेदवारी मनोनयन हुनुअघि नै निर्वाचन अधिकृतको कार्यालयले दलका प्रतिनिधि तथा नेताहरूलाई डाकेर आचार संहिताको पढाएको थियो। त्यसबेला नै उम्मेदवारले प्रयोग गर्ने गाडी, चालक लगायतको अनुमति लिनुपर्ने बताइएको थियो।

भकाभक गाडीमा कुद्ने तर अहिलेसम्म अनुमति लिन नजाने गरेपछि बिहीबार निर्वाचन आचार संहिता अनुगमन समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दलहरूलाई फेरि सूचित गर्ने निर्णय गरेको छ। बैठकले अनुमति नलिइकन कुदाइएका गाडी नियन्त्रणमा लिने निर्णय पनि गरेको छ। समितिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, कोष तथा लेखा नियन्त्रण अधिकृत लगायत सदस्य हुन्छन्।

निर्वाचन आचार संहितमा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणसम्बन्धी शीर्षक नै छ। त्यसमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारले हलुवा तथा चार पांग्रे गाडी ४ र मोटरसाइकल ४ वटा प्रयोग गर्न सक्ने व्यवस्था छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले भने चार पांग्रे गाडी दुइटामात्रै र बाइक ४ वटा प्रयोग गर्न पाउँछन्। गाडीको अनुमति लिँदा चालकको लाइसेन्स, गाडीको ब्लुबुक लगायत कागजपत्र बुझाउनुपर्छ।

कास्कीमा ९५ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये कसैले पनि पनि सवारी साधनसम्बन्धी आचार संहिता पालना गरेका छैनन्। नेकपा एमालेका कास्की अध्यक्ष तथा एक उम्मेदवार कृष्ण थापाले तुरुन्तै आफूले अनुमति लिने र अरुलाई पनि लिन लगाउने बताएका छन्।

कास्की कांग्रेसका सदस्य कृष्ण तिमिल्सिनाले पनि छिट्टै पास बनाउने जनाए। ‘अहिलेसम्म हामी सम्पर्क कार्यालयहरू स्थापनामै व्यस्त छौं, प्रचारको काम सुरु भएको पनि छैन, गाडी प्रयोगमा आएको छैन, अब लिन्छौं अनुमति’, उनले भने। सहायक निर्वाचन अधिकृत भोलाराज रेग्मीले अहिलेसम्म उम्मेदवारहरूबाट भएको आचारसंहित उल्लंघन बारेमा कसैले पनि उजुरी नपरेको जानकारी पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.