मकवानपुरमा कमल थापालाई वाम गठबन्धनको चुनौती

मकवानपुरमा कमल थापालाई वाम गठबन्धनको चुनौती

हेटौंडा : प्रतिनिधिसभाका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा पुरानै अनुहार प्रतिस्पर्धामा छन्। एक दशक अघिका प्रतिस्पर्धी पुनः चुनावी मैदानमा हुँदा चुनाव रोचक बन्दै गएको छ। संक्रमणकालीन राजनीतिका चतुर खेलाडीका रुपमा चिनिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिनिधिसभा सदस्यको लागि मकवानपुर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालसँग प्रतिस्पर्धा गर्दैछन्।

मकवानपुर २ मा वाम गठबन्धनबाट एमालेका विरोध खतिवडा र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) चुनावी मैदानमा छन्। मकवानपुर क्षेत्र नम्बर १ मा थापा र दाहालबीचको प्रतिस्पर्धा भने यो चौथो पटक हो। २०४८, २०५१ र २०५६ सालका यी दुई प्रतिद्वन्द्वी १८ वर्षपछि पुनः आमनेसामने भएका हुन्।

उपप्रधानमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष थापालाई नेपाली कांग्रेसले समर्थन गरेको छ। एमालेका नेता दाहाललाई माओवादी केन्द्र साथ दिएको छ। २०५६ को निर्वाचनपछि दुबै नेता मकवानपुर १ बाट उम्मेदवार भएनन्। २०६४ मा कमल थापा क्षेत्र मकवानपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए। २०७० मा समानुपातिकमा बसे। एमाले नेता दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेनन्। २०४८ र २०५६ मा दाहाल विजयी भएका थिए। भने २०५१ को निर्वाचन थापा विजयी भएका थिए।

कडा प्रतिस्पर्धाका कारण मकवानपुर १ का मतदाताले कसलाई रोज्छन् भने कुरा अनुमान लगाउन गाह्रो छ। तर, स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार थापा खतराको घेरामा छन्। स्थानीय तहको निर्वाचनलाई नियाल्दा यस क्षेत्रमा वाम गठबन्धनको ४० हजार १ सय ३६ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको ३२ हजार ४ सय ९७ मत रहेको छ। उनीहरुसँगै तत्कालीन नेकपा माओवादीका सांसद प्रल्हाद लामिछाने पनि चुनावी मैदानमा छन्। लामिछानेले वाम गठबन्धनको कति काट्न सक्छ, त्यसले पनि थापालाई मद्दत पुग्ने विश्लेषकको भनाइ छ।

राप्रपा नेपालका अध्यक्ष थापा १ नम्बर क्षेत्रका मतदाताले आफूलाई विजयी गराउनेमा ढुक्क रहेको बताउछन्। वाम गठबन्धनका उम्मेदवार दाहालले थापाले राष्ट्रिय राजनीतिमा छाएपनि मकवानपुरका लागि केही नगरेकाले अब मतदाताले विश्वास नगर्ने दाबी गर्छन्।

मकवानपुर २ मा प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा रहेका लोकतान्त्रिक गठबन्धनका उपाध्याय र वाम गठबन्धनका खतिवडा दुई पटक आमने सामने भइसकेका छन्। २०४८ र २०५१ को निर्वाचनमा आमने सामने भएकोमा जित भने दुबै पटक खतिवडाले हात पारेका थिए।

संसदभित्र खरो प्रतिपक्षको भूमिका निर्वाह गरेका खतिवडा एमाले केन्द्रीय सदस्य हुन्। जलस्रोत राज्य मन्त्री समेत भएकी उपाध्याय कांग्रेस केन्द्रीय सदस्य हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी विश्वासपात्र मानिएकी उपाध्याय यस अघि समानुपातिक सांसद पनि थिइन्।

स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार मकवानपुर २ मा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन १८ हजार ९ सय ४७ मतले अघि छन्। वाम गठबन्धनले ४८ हजार ५ सय ४५ मत पाएका थिए भने लोकतान्त्रिक गठबन्धनले २९ हजार ५ सय ९८ मत प्राप्त गरेका थिए।
वाम गठबन्धनका उम्मेवार खतिवडा सोचे भन्दा पनि राम्रो माहौल देखिएको बताउछन्। ‘वाम गठबन्धन पार्टी एकतासम्म पुगोस् भन्ने धेरै मतदाताको चहाना छ, जितका लागि समस्या छैन’, उनले भने। तर चुनावी प्रचारको क्रममा चित्लाङमा रहेकी लोकतान्त्रिक गठबन्धनी उम्मेवार उपाध्याय यस पटक आफूलाई नै जिताउने दाबी गर्छिन्।

‘हल्ला गरिएजस्तो वाम गठबन्धन बलियो छैन, कांग्रेसको नेतृत्व यस क्षेत्रका जनताले चाहेका छन्’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.