साझा एजेन्डामा प्रादेशिक राजधानी

साझा एजेन्डामा प्रादेशिक राजधानी

धनकुटा : निर्वाचन प्रचारमा लागेका सबै दलका उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउने मुद्दालाई साझा एजेन्डाका रूपमा उठाएका छन् । लोकतान्त्रिक र वाम गठबन्धनसहित अन्य दलका उम्मेदवारको मुख्य एजेन्डाका रूपमा प्रादेशिक राजधानी परेको हो । धनकुटा साविक पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामसमेत हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले प्रादेशिक राजधानीबाहेक मुद्दालाई पनि प्राथमिकतामा राखेका छन् । उनीहरूले पूर्वाधार व्यवस्थापन, उन्नत कृषि, कृषिमा आधारित उद्योगको विकास, रोजगारी, सुलभ र गुणस्तरीय शिक्षाजस्ता विषय लिएर आआफ्नो पक्षमा मत मागिरहेका छन् ।

 प्रतिनिधिसभा र प्रदेशसभाका लागि धनकुटामा दुई गठबन्धनसहित १३ दलका १९ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई चुनावी मैदानमा छन् । सोही गठबन्धनबाट प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा एमालेका निरन राई र २ मा इन्द्रमणि पराजुली उम्मेदवार छन् ।

 लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका उद्योगमन्त्री सुनीलबहादुर थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । सोही गठबन्धनबाट कांग्रेसका निवर्तमान सांसद मनोहरनारायण श्रेष्ठ क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभातर्फ क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।

एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राईले प्रदेश राजधानी धनकुटा बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको बताए । भने, ‘धनकुटा हरेक दृष्टिकोणबाट उपयुक्त छ । धनकुटालाई राजधानी बनाउन वाम गठबन्धनले मात्र सक्छ ।'

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले पनि धनकुटालाई प्रादेशिक राजधानी बनाउने एजेन्डालाई मुख्य रूपमा उठाएका छन् । भने, ‘अघिल्लो निर्वाचनमा मैले गरेका वाचा पूरा गरेको छु । अबको मेरो उम्मेदवारी धनकुटालाई प्रदेशिक राजधानी बनाउनेदेखि आर्थिक समृद्धिसम्मको हो ।'

धनकुटा नगरपालिकामा सरकारी स्वामित्वका तीन सय ९१ भवन छन् । सहरी विकासका नाममा करिब तीन सय रोपनी, नेपाल ट्रस्टका नाममा एक सय ९४, पर्यटन कार्यालयका नाममा एक सय ३४, विद्युत् प्राधिकरणका नाममा दुई सय रोपनी जग्गा छ । सरकारी स्वामित्वको ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा रहेको तथ्यांक छ ।

धनकुटाको बेलहारा डाँडामा हवाई मैदान निर्माणाधीन छ । धनकुटा परापूर्वकालमा पनि पूर्वकै प्रमुख प्रशासनिक तथा न्यायिक केन्द्र गौंडाका रूपमा स्थापित थियो । पछि पञ्चायती व्यवस्थामा २०२९ सालमा देशलाई विकेन्द्रीकरण गर्ने अवधारणाअनुरूप (पहिले ४ र पछि २०३१ सालमा ५) विकास क्षेत्रमा विभाजन गर्दा पूर्वाञ्चलको प्रमुख प्रशासनिक केन्द्रका रूपमै मान्यता दिइएको थियो ।

धनकुटा पहिलेदेखि नै प्रशासनिक केन्द्रका रूपमा रहँदै आएकाले राजधानी बनाउँदा कुनै विवाद नहुने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठको तर्क छ । यहाँ एक लाख पाँच हजार एक सय ८८ जना मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.