रियालिटी क्रेज

रियालिटी क्रेज

गत असोज ६ गते सम्भवतः नेपाली टेलिभिजन क्षेत्रको इतिहासमै पहिलोपटक नेपाली दर्शक सबैभन्दा व्यग्र देखिए । कुनै एउटा शो हेर्नका लागि यत्तिको व्यग्रता सायद योभन्दा पहिले कहिल्यै देखिएको थिएन । कतारमा भइरहेको ‘नेपाल आइडल'को ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण हेर्नका लागि यो व्यग्रता देखिएको थियो । ६ महिना लामो प्रतीक्षापश्चात् त्यो दिन ‘नेपाल आइडल'को घोषणा हुँदै थियो । समय घर्किंदै गयो, प्रत्यक्ष प्रसारण आएन । धेरैको ढुकढुकी बढ्न थाल्यो, लाइभ नदिने पो हो कि क्या हो ! दर्शकमा रिसको पारो बढ्न थालिसकेको थियो ।

सामाजिक सञ्जालमा दर्शकका हजारौं टिप्पणी आउन थाले । यो आक्रोशमात्र थिएन, ‘नेपाल आइडल'प्रतिको प्रेम पनि थियो । दर्शकमा देखिएको यो व्यग्रताले नेपालमा टीभी रियालिटी शोको बढ्दो लोकप्रियता प्रष्ट पार्छ । ‘नेपाल आइडल' पछिल्लो समय चलेको ‘रियालिटी शो'मध्ये सबैभन्दा चर्चित कार्यक्रम हो । आइडलमा आएको दर्शकको भोट र सामाजिक सञ्जालमा यसबारे भएका टिप्पणीले यसको लोकप्रियता पुष्टि गर्छन् । कुनै एउटा शोमा झन्डै १० करोड भोट आउनु सामान्य होइन । देशको कुल जनसंख्याको तीन गुणाभन्दा बढी भोट आउनुले रियालिटी शोको क्रेज स्थापित गरिदिन्छ ।

‘नेपाल आइडल'मात्र होइन, पछिल्ला केही वर्षयता धेरै रियालिटी शोले उल्लेख्यनीय दर्शक पाउन थालेका छन् । चाहे त्यो ‘नेपाली तारा' होस् या ‘छमछमी' । कुनै समय मदनकृष्ण श्रेष्ठले चलाउने ‘नगद पाँच लाख' पनि दर्शकमाझ चर्चित बनेको थियो । अहिले हिमालय टेलिभिजनमा आउने ‘रोडिज' पनि दर्शकमाझ उत्तिकै चर्चित छ । एपी वान टेलिभिजनले अब चाँडै नै ‘नेपाल गट ट्यालेन्ट' र ‘बुगीवुगी' सुरु गर्ने घोषणा गरेको छ । आखिर किन नेपाली जनमानसमा यति धेरै लोकप्रिय भइरहेछन् रियालिटी शोहरू ?

यसको एउटा कारण हुन सक्छ, यस्ता शोले तयार गर्ने सेलिब्रेटीहरू । रियालिटी शोले दर्शकलाई मनोरञ्जनमात्र दिँदैन सतहमा आउन नसकेका प्रतिभालाई सेलिब्रेटीकै रूपमा स्थापित गरिदिन्छ । दीपक लिम्बू, सन्तोष लामा, इन्दिरा जोशीजस्ता अहिले संगीत बजारमा स्थापित सेलिब्रेटी यस्तै रियालिटी शोका उत्पादन हुन् । यिनै सेलिब्रिटीको लाइनमा पछिल्लो समय उभिन आइपुगेका छन्- बुद्ध लामा । एक वर्ष अघिसम्म नामै नसुनिएका बुद्ध अहिले युवा पुस्ताबीच लोकप्रिय छन् । अब टेलिभिजन हेर्ने दर्शकका लागि बुद्ध कुनै गुमनाम मान्छे रहेनन् ।

विभिन्न परिस्थितिले सतहमा आउन नसकेका प्रतिभालाई बाहिर ल्याउने यस्ता रियालिटी शो एकपछि अर्काे गर्दै थपिइरहेका छन् । परिवर्तनशील संसारमा आफू पनि परिवर्तन हुन यस्ता शो चलाउनु परेको बताउँछन् ‘रोडिज'का निर्देशक अमनप्रताप अधिकारी । कालो कपडालाई पर्दा बनाएर अन्तर्वार्ता लिने ढर्रा पुरानो भएकाले अब नयाँ शैली अपनाउनुपरेको उनको भनाइ छ । ‘सधैं स्टार प्लस र डीआईडीमा रमाउनेमात्र होइन,' उनी भन्छन्, ‘आफ्नै नेपालीपन आउने कार्यक्रमको आवश्यकता छ ।'

सायद नेपाली दर्शक पनि आफ्नै भाषा र भूगोलको प्रतिबिम्ब खोजिरहेका थिए । त्यसैले नै यी टीभी रियालिटी शो लोकप्रिय हुन पुगे । टीभी रियालिटी शो अहिले टेलिभिजनमा आउने अरू कार्यक्रमलाई विस्थापित गर्नेगरी स्थापित भइरहेछन् । दर्शकहरू कामै छोडेर टेलिभिजनको पर्दामा आँखा डुलाउँछन् । ‘नेपाल आइडल' चलिरहँदा देश नै संगीतमय बनेको देखियो । रियालिटी शोप्रतिको यो क्रेजलाई गाउँगाउँसम्म विस्तारित टेलिभिजन नेटवर्कको उपजको रूपमा पनि लिन सकिन्छ । त्यसो त यस्ता शोप्रतिको क्रेज नेपालको मात्र अनुभव होइन ।

संसारभरि नै रियालिटी शोको क्रेज भएको बताउँछन् अधिकारी । भन्छन्, ‘कहिले कमेडीलाई रुचाइयो भने कहिले टेलिसिरियललाई । अहिले रियालिटी शोको बतास चलेको छ ।' उनले भनेझैं नेपालमा पनि यस्ता शोको प्रभाव टेलिसिरियललाई पर्न थालेको हो कि भनेर अनुमान लगाउन सकिन्छ । विश्वस्त हुने आधार भने छैन । मान्छेहरू फरक स्वाद लिनका लागि रियालिटी शोप्रति आकर्षित भएका पनि हुन सक्छन् । हाम्रोमा यस सम्बन्धमा अध्ययन÷अनुसन्धान भएको छैन । दर्शकको आकर्षण बढी भएकाले टेलिसिरियलतिरको बिजेनस रियालिटी शोतिर जान थालेको अनुमान लगाउँछन्, पत्रकारिताका अध्यापक टंक उप्रेती । दर्शक बढेपछि स्वाभाविक रूपमा विज्ञापन पनि आउने भयो । उप्रेती भन्छन्, ‘विज्ञापन प्रशस्त भएपछि कार्यक्रम चल्ने नै भयो ।'

विविधतायुक्त समाजमा मानिसको रुचिमा पनि विविधता हुन्छ । नेपालमा गम्भीरभन्दा पनि मनोरञ्जनात्मक दर्शक धेरै भएकाले यस्ता शोको माग बढी भएको उप्रेतीको बुझाइ छ । यस्ता रियालिटी शोका नियमित दर्शक हुन्, सागर पौडेल (३६) । कालीमाटी, ताहाचल बस्दै आएका उनले नेपाली तारा नछुटाई हेर्थे । नेपाल आइडलका एपीसोड पनि छुटाएँ भन्ने लाग्दैन उनलाई । गायन मनपर्ने हुनाले यस्ता कार्यक्रम हेर्छन् । कुनै कृत्रिमता नहुने र प्रतिस्पर्धीहरूको वास्तविक प्रतिभा नै आउने भएकाले यस्ता शाहरूबाट धेरै सिक्न सकिने धारणा छ पौडेलको ।

नेपाली दर्शक नेपाली रियालिटी शोमा मात्रै केन्द्रित भने छैनन् । क्रेजी दर्शक हरेक रियालिटी शो नछुटाई हेर्छन् । चाहे त्यो अमेरिकन आइडल होस् वा अमेरिकन बुगिउगी वा इन्डियन आइडल । दृश्यमा वास्तविक चित्र घुमिरहने हुनाले पनि यसको लोकप्रियता बढेको हुन सक्छ । कथानक नहुने र खास विषयप्रति खासखास मान्छेको दृष्टिकोण र सिर्जनशीलता थाहा पाउन सकिने भएकाले यस्ता कार्यक्रम हेर्ने गरिन्छ । कहिलेकाहीँ रियालिटी शो हेर्ने कारण नै नहुन पनि सक्छ । केहीले मनोरञ्जनका लागि मात्र हेर्छन् ।

त्यसो त रियालिटी शोको आलोचना नै नहुने पनि होइन । पारदर्शिता नभएको, निर्णायकहरू पूर्वाग्रही हुने गरेको जस्ता आरोप नेपाली रियालिटी शोहरूले बेलाबेला खेप्ने गर्छन् । व्यापारमा इमोसन घुसाएको भन्नेजस्ता आरोप पनि रियालिटी शोहरूलाई लागिरहेकै छ । धेरैको तर्क छ, ‘सिर्जनशीलता मात्र खोजेको भए प्रतिस्पर्धीको विगत देखाउनु ठीक होइन ।' रियालिटी शोहरूले ‘टप राउन्ड' तिर कहिलेकाहीँ प्रतिस्पर्धीहरूको विगत पनि देखाइदिन्छन् । यस्ता आलोचना भइरहँदा पनि कार्यक्रम हेर्नहरूको संख्या ओरालो लागेको चाहिँ छैन ।

नेपालमा देखाइने धेरै रियालिटी शो विदेशबाट प्रभावित भएको देखिन्छ । ‘नगद पाँच लाख' भारतमा अमिताभ बच्चनले चलाउने ‘कौन बनेगा करोडपति' सँग मिल्दोजुल्दो थियो । भारतीय सोनी टेलिभिजनमा आउने बुगीवुगीको नेपाली संस्करण एपी वान टेलिभिजनले प्रसारण गर्ने तयारी गरिरहेको छ । यस्ता कार्यक्रमहरू अमेरिका, बेलायतजस्ता देशहरूमा लामो समयदेखि प्रसारण हुँदै आएको थियो । त्यसको बतास अहिले नेपालसम्म आइपुगेको हो । अरू देशमा सफल भएकाले त्यसलाई नेपालमा पनि प्रयोग गरिएको बताउँछन् लेखक÷विश्लेषक उज्ज्वल प्रसाईं ।

रियालिटी शोले विशेषगरी ‘अपनत्व' बढाउने र मनोरञ्जन पनि दिने भएकाले विश्वभरि नै यसको क्रेज बढेको उनको भनाइ छ । साथी, चिनेको मान्छे, एउटै क्षेत्र जस्ता कुरा जोडिने भएकाले रियालिटी शोप्रति मान्छेहरूको अपनत्व बढ्छ । ‘यो वास्तविक र ‘अपिलिङ' पनि हुन्छ,' उनी भन्छन्, ‘गाउँको एउटा मान्छे गायककारको रूपमा चिनिन्छ भने त्यसले मलाई सजिलै छुन्छ । म कार्यक्रम हेर्न थाल्छु ।' अपनत्वसँगै मनोरञ्जन पनि दिएपछि त्यसले मान्छेलाई अल्झाउने नै भयो ।

रियालिटी शोलाई व्यवसायसँग पनि जोड्छन् प्रसाईं । टेलिसिरियलमा विज्ञापनबाट मात्र आम्दानी हुने ठाउँमा रियालिटी शाहरूले भोटिङबाट पनि राम्रो कमाइ गरेको उनको ठम्याइँ छ । यो व्यवसाय पछाडि पनि अपनत्वको भावनाले नै काम गरेको उनको धारणा छ । भन्छन्, ‘पैसा तिर्न मान्छे त्यतिबेला तयार हुन्छ जतिबेला उसले अपनत्व पाउँछ ।'

रियालिटी शो क्रेजको अर्को आयाम पनि छ । शोले आफूसँगै च्यानलकै चर्चा पनि चुलीमा पुर्‍याइदिन्छ । त्यसैले आफू स्थापित हुन पनि टेलिभिजन च्यानलहरूले यस्ता शोको आयोजना गर्छन् । नेपालमा मात्र हैन, विश्वभरि नै रियालिटी शो देखाउने टीभी च्यानलहरू एकदमै चर्चित भएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी वा नेपाली च्यानल एपी वानका यसका पछिल्ला उदाहरण हुन् ।

टेलिभिजनहरू रियालिटी शोसम्म हिँडेको बाटो छोटो भने छैन । कुनै समय भारतीय च्यानलहरूमा धार्मिक विषयमा आधारित टेलिसिरियल लोकप्रिय थिए । दूरदर्शन च्यानलमा आउने रामायण, महाभारत प्रशस्त दर्शक कमाएका टेलिसिरियल थिए । विद्युत् र टेलिभिजनको आम प्रसार नभएको समयमा पनि एन्टेना राखेर श्यामश्वेत टेलिभिजनमा टोलभरका मानिस टीभी हुनेको घरमा जम्मा भएर ती सिरियल हेरिन्थे । त्यो एउटा चरण थियो भारतीय टीभी च्यानलहरूको ।

टेलिभिजन र केबल नेटवर्कको विस्तारपछि भारतीय टेलिभिजनमा मध्यमवर्गीय पारिवारिक जटिलताले स्थान पाउन थाले । विशेषगरी गृहणी केन्द्रित सिरियलले बजारमा राम्रै चर्चा पाए । अहिले ती टेलिसिरियलहरूको स्थान रियालिटी शोहरूले लिएका छन् । नेपालमा रियालिटी शोबारे चर्चा गर्दा भारतलाई पनि सँगै बुझ्नुपर्ने बताउँछन् विश्लेषक प्रसाईं । हाम्रा शोहरू धेरै भारतबाटै प्रभावित छन् । ‘बाहिरी देशमा सफल भएको देखेर भारतले पनि आफ्नो देशमा सञ्चालन गर्‍यो,' उनी भन्छन्, ‘सफलता देखेरै नेपाली च्यानलहरूले पनि प्रयोग गरिदिए । नेपालमा अहिले रियालिटी शोको प्रयोग भइरहेको छ । परिणामतः सफलता पनि हात परिरहेकै छ ।

२०४४ सालमा नेपाल टेलिभिजनमा ‘प्रतिभाको डबली'बाट पहिलोपटक नेपाली च्यानलमा रियालिटी शो भित्र्याएका संगीतकार शम्भुजित बाँस्कोटा पनि शोहरूको क्रेज बढेको स्वीकार गर्छन् । उनले ‘प्रतिभाको डबली' सुरु गर्दा ‘अमेरिकन आइडल' पनि सञ्चालन भएको थिएन । उनको शो ले भारतीय टेलिभिजनका दर्शकलाई विस्थापित गरेको थियो । बाँस्कोटा सम्झन्छन्, ‘त्यतिबेला भारतीय दूरदर्शन हेर्न छाडेरै मान्छहरू बिहानैदेखि कार्यक्रम हेर्न बस्थे ।' मान्छेहरूको प्रतिभालाई सबैसामु ल्याउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने उनको ठम्याइँ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.