जो फिल्ममा नेपालीपन चाहन्छन्
२०६२-६३ सालको आन्दोलनसम्म आइपुग्दा नेपाली युवकयुवतीको बिदेसिने दर ह्वात्तै बढेको थियो । मूलतः सशस्त्र द्वन्द्वको प्रभावले रोजगारीको ठूूलो सपना बोकेर जानेहरू अधिक थिए । मातृभूमि छाडेका तिनै युवा पुस्तालाई लक्षित गरी भिडियो म्यागाजिन बनाउने जोश चल्यो— फिल्म निर्माता शक्तिवल्लभ घोरासैनीलाई त्यति बेला । यो १२ वर्षअघिको कुरा । जुन सोचेजस्तो भएन । उनको यो व्यवसाय पूर्णकालीन भइसकेको पनि थिएन । त्यसपछि नयाँ ढंग र थप जाँगर लिएर फिल्मी क्षेत्रमै जम्ने सोचाइ बनाए । मजाले चलिरहेको आफ्नो व्यापार पनि छाडिदिए ।
सिन्धुपाल्चोक पुख्र्यौली भएका घोरासैनी सानैदेखि राजधानीसँग नजिक थिए । आफ्नो व्यवसाय सुरु गर्नुअघि उनका जागिरे पिताको घर थियो यहाँ । बाहिरी जिल्लाबाट राजधानी छिरेका आफ्ना सहयात्री र दौंतरीको तुलनामा उनलाई ‘भाग्यमानी' भन्दा फरक पर्दैन । काठमाडौंमा भाडामा बस्ने आममानिसले भोगेका समस्याबाट उनी सधैं टाढा रहे । नेपाली उखान ‘देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ' उनीसँग मेल खाएन । भन्छन्, ‘मेरो त्यस्तो कुनै सुनाउन लायक जीवनसंघर्षको कथा छैन, जसरी अरूले आफ्ना सफलता र असफलताका आँसु झार्ने कहानी सुनाउँछन् ।'
भिडियो म्यागाजिन फ्लप भएर के भो ? उनले हिम्मत हारेनन् । त्यसपछि ‘बोक्सी' फिल्म लिएर बजारमा आए । यसमा उनी कलाकार र निर्माताको दोहोरो भूूमिकामा छन् । कथा र संवाद अविनाश श्रेष्ठको छ । बालकृष्ण समको नाटकमा आधारित ‘बोक्सी' सामाजिक विषयवस्तुमा आधारित छ । फिल्म त्यसताका निकै हिट भयो । थुपै्र अवार्ड पनि जित्यो । चर्चा बटुल्यो । यसपछि उनको ‘द मिरर' भिडियो सार्वजनिक भयो । यो नेपाली ग्रामीण महिलाको दिनचर्यामा आधारित छ । झिसमिसेमै उठेर दिनभरको घरधन्दा र बाहिरी कामको बोझले लखतरान भएर सुतेपछि इच्छाविपरीत यौन क्रियामा भाग लिनुपर्ने महिलाको बाध्यतासम्मलाई यसमा देखाइएको छ । जम्मा सात मिनेटको भए पनि यसलाई धेरैले मन पराइदिए ।
२०६९ सालमा आएको फिल्म ‘किन लाग्छ माया'ले धेरै दर्शकको मन जित्यो । र, उत्कृष्ट पाँच फिल्ममा पनि पर्न सफल भयो । त्यस्तै अर्को ‘ओ माई म्यान'मा काल भैरबको विषय उठान गरिएको छ । हाल उनी फिल्म ‘लम्फु'को अन्तिम काममा व्यस्त छन् । ‘यो एउटा युवाको सपनाको कथा हो', उनले भने, ‘मान्छेलाई कसरी समयले नायक र खलनायक बनाउँछ, यो त्यस विषयमा आधारित छ ।' फिल्मले आमयुवाको मन जित्ने कुरामा उनी ढुक्क छन् ।
नेपाली फिल्मको बजार बढ्दै गएकोमा घोरासैनी सन्तुष्ट छन् । तर, केवल लगानी र व्यापारलाई आधार मानेर स्तर मापन हुन नसक्नेमा भने उनी सचेत छन् । ‘हामी देखासिकी गरिरहेका छौं । हामीमा अध्ययन र अनुसन्धानको अभाव छ', उनी भन्छन्, ‘हरेक क्षेत्रमा योग्य मान्छेको अभाव छ । संख्यात्मक रूपमा धेरै भए पनि गुणात्मक रूपमा हामीमा धेरै कमी कमजोरी छ ।'
उनको विचारमा फिल्म भरपूर मनोरञ्जनात्मक हुनुपर्छ । यसो भन्दैमा सामाजिक एवं सांस्कृतिक पक्षलाई लत्याउन नहुने उनको ठम्याइ छ । फिल्मले सामाजिक ऐनाको काम गर्न सकोस् । त्यसमा समाज बोलेको होस् । पात्रहरू यथार्थपरक हुन् । यसले दर्शकको भावना र सोचमा प्रभाव पार्न सक्ने हुनुपर्छ । अग्र्यानिक ‘इत्यादि' नाम दिएर गरिने व्यापार र प्रचारप्रति उनी विमति राख्छन् । नेपाल र नेपालीको गरिबी बेचेर, कमजोरी देखाएर भन्दा मौलिक पक्षलाई अगाडि सार्नुपर्ने कुरामा उनको जोड छ, ‘यही कारणले हामी विश्वस्तरमा आउन सकेनौं । नेपाली फिल्मको बजारलाई फराकिलो पार्न सकेनौं ।'
भन्छन्, ‘फिल्ममा दृश्य भाषाले ठूलो महत्ता राख्छ । चिनियाँ र कोरियन फिल्मले विश्वभर बजार लिएको छ । यसको कारण उनीहरूको दृश्य भाषा अब्बल भएर हो । त्यहाँ उनीहरूको आफ्नोपन हुन्छ । विदेशी भाषा त अति कमले मात्र बुझ्छन् नि ? फिल्मका पारखी कति धेरै हुन्छन् ।' नम्र एवं शालीन निर्माता घोरासैनी बोल्दा र प्रश्नको उत्तर दिँदा बडो सचेत बन्छन् । न उनले अरूको गुणगान गाउन समय खर्चे न त कमजोरी केलाउनै । भने, ‘निश्चल बस्नेतको फिल्म लुट बजारमा आएपछि नेपाली फिल्मले केही हदसम्म फड्को मारेकै हो ।'
आउँदै गरेको पछिल्लो फिल्म ‘लम्फु'बाट केही नयाँपनको आभास होस् भन्ने चाहेको उनलेृ बताए । देशको कुनै पनि क्षेत्रमा थिति बस्न नसकेको कुरामा उनी दुःखी छन् । निर्माता र प्रदर्शकबीचको अविश्वास पनि नेपाली फिल्मजगत्को एउटा दुखद पक्ष भएको उनको ठम्याइ छ । नेपालमा राज्यपक्षले फिल्म क्षेत्रप्रति देखाएको उदासीनताले हामी माथि उठ्न नसकेको उनको विचार छ । राज्यले यसलाई सांस्कृतिक उद्योगको रूपमा लिएर अघि बढ्नुपर्छ भन्छन् । यो प्रविधिको युगमा एक्लै हिँड्न सम्भव छैन । अन्य मुलुकमा प्रभाव जमाउन फिल्म एक सशक्त माध्यम हो भन्ने बुझेका व्यक्ति नीतिनिर्माण तहमा पुग्न आवश्यक देख्छन् उनी । कला र संस्कृतिमा धनी छौं भन्ने नाममा संरक्षण र प्रवद्र्धन पक्ष फितलो भएको प्रति उनको गुनासो छ । यसकारण पनि राज्यले दायित्वबोध गर्नुपर्ने उनी बताउँछन् ।
उनलाई यहाँसम्म आइपुग्न निर्देशक गोपालचन्द्र लामिछानेको ठूलो साथ रहेछ । उल्लिखित सबै फिल्मको निर्देशन लामिछानेले नै गरेका हुन् । उनीहरूको यो सम्बन्धले ‘नेपालीहरू समूहमा काम गर्न सक्दैनन्' भन्ने भनाइलाई करिबकरिब गलत साबित गरिदिन्छ । निर्देशक लामिछाने भन्छन्, ‘हाम्रा कतिपय स्वभाव र विचार पनि मिल्लान् । यही भएर हामी १२ वर्षदेखि सँगै छौं । आपसी विश्वासका आधारमा काम गरिरहेका छौं ।'
निर्माता घोरासैनी हरेक क्षेत्रमा आफ्नोपनले महत्व राख्ने विचार राख्छन् । हाम्रो विशिष्ट दर्शन, योग, आख्यान, लोकपरम्परा, कला, उखानटुक्का, सामाजिक परम्परा र मान्यता आदिलाई लिएर काम गर्नसके नयाँपन दिन सकिने उनी बताउँछन् । फिल्म हेरिसकेपछि त्यसले दर्शकलाई केही सिकाओस् भन्ने चाहना राख्छन् उनी । ‘हरेक फिल्मले दर्शकलाई सामाजिक सम्पत्तिका रूपमा छाप छोड्न सकोस्', उनी भन्छन् ।