काठमाडौं १ मा कसको मत कति ? सिंह, मिश्र र शर्माको चर्को प्रतिस्पर्धा

काठमाडौं १ मा कसको मत कति ? सिंह, मिश्र र शर्माको चर्को प्रतिस्पर्धा

काठमाडौँ : चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी सुरु भएको छ। सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा (एमाले) र नकेपा (माओवादी केन्द्र)को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ।

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन्।

पूर्व उप्रधानमन्त्रीसमेत रहेका काँग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहेका वाम गठबन्धनका उम्मेदवार शर्मा र बिबिसी नेपाली सेवाका पूर्वप्रमुख रहनुभएका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

 

तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ। कांग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ। यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ।

उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ। सिंह कांग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुन् भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जा मन्त्री हुँदा विद्युत्भार कटौती गरेर चर्चा कमाएका जनार्दन शर्माका भाइ हुन्।

यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र काँग्रेस तेस्रो स्थानमा थियो।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, कांग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ।

सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत गरिरहेका छन्।

कांग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउछन्। आफूले सांसदका रूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उनी विश्वस्त छन्।

काठमाडौँका जनता परिवर्तनमा विश्वास गर्ने र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माको भनाइ छ। वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उनले बताए।

साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको दाबी गर्छन्। घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उनले टिप्पणी गरे।

यस्तै प्रदेश सभातर्फ काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ (क) दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’ मा विष्णुकुमारी भुसाल (भट्टराई) र ‘ख’मा उम्मेदवार गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार छन्। क्षेत्र नं १ को ‘क’मा १३ जना र ‘ख’ मा १४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नं १ मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’ मा १७ हजार ६७३ मतदाता छन्। काठमाडौँमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.