मतपेटिका सुरक्षा ‘चुनातीपूर्ण'

मतपेटिका सुरक्षा ‘चुनातीपूर्ण'

काठमाडौं : स्थानीय तहको चुनावमा सुरक्षा चुनौतीको दृष्टिले सामान्य मानिएको सोलुखुम्बुलाई शुक्रबारको घटनापछि प्रहरीले संवेदनशील जिल्लामा राखेको छ। चुनावी प्रचारमा झन्डा, पर्चा र पम्प्लेट च्यातिएपछिको विवादमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। माओवादीको पकड जिल्ला भनिएको रुकुममा शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा सवार गाडीलाई लक्ष्य गरेर बम विस्फोट गराइएपछि सुरक्षा निकाय थप सतर्क बनेको छ। तत्कालीन माओवादीबाट चोइटिएर बनेको नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको माओवादीले विस्फोट गराएको आशंका गरिएको छ।

सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा रणनीति बनाएर चुनावी सुरक्षामा खटिएका छन्। सेनाले पैदलगस्ती सुरु गरिसकेको छ। प्रहरी र सशस्त्रले पनि दैनिक गस्ती गरिरहेका छन्। यद्यपि, दुई चरणमा हुने संघ र प्रदेश चुनावको मतगणना एकैपटक गर्ने सरकारी योजनामा यी घटनाले सुरक्षा चुनौती थपेको विश्लेषण हुन थालेको छ।

पहिलो चरणको चुनावमा १९ हजार आठ सय नौ मतदान केन्द्र र १० हजार ६ सयवटा मतदान स्थल छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार मतपेटिका पहाडी जिल्लामा सदरमुकाममा र सुगम जिल्लामा निर्वाचन कार्यालयमा सुरक्षा घेरामा राखिनेछ। उनले भने, ‘मतदान भइसकेपछि मतपेटिका र निर्वाचन अधिकृतलाई प्रहरीले एस्कर्टिङ गरेर सम्बन्धित निर्वाचन कार्यालयमा सुरक्षा घेराभित्र राखिनेछ। दोस्रो चरण निर्वाचन भइसकेपछि मात्रै गणना गरिन्छ।'

सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा रणनीति बनाएर चुनावी सुरक्षामा खटिएका छन्।

उनले चुनावमा पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने बताए। ‘मतदान केन्द्र, उम्मेदवार, मतदाता र मतपेटिका सुरक्षाको विषयमा दैनिकजसो आयोग कार्यालयमा बैठक भइरहेका छन्। कुनै त्रुटि नहने गरी सुरक्षा योजना बनाइएको छ', शर्माले भने।
अहिले सेनाले धमाधम मतपत्र जिल्ला-जिल्लामा पुर्‍याउँदै आएको छ।

सहायक प्रवक्ता शर्माका अनुसार सेनाकै सुरक्षामा मतपत्र राखिएको छ। पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, रसुवा, गोरखा, रामेछाप, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, सल्यान, प्युठान, अछाम र जाजरकोटमा मतपेटिका सुरक्षाको विषयमा शुक्रबार आयोगमा छलफल भएको थियो। सुरक्षा निकायले यीमध्ये रामेछाप, अछाम, रुकुम, जाजरकोट, रोल्पा र सल्यानलाई ‘संवेदनशील' मानेका छन्। सवारी साधनको दृष्टिले सदरमुकामसम्म सहज भए पनि मतदानस्थल र मतदान केन्द्रको दूरी फराकिलो हुने हुँदा सुरक्षाकर्मीको पहुँच विस्तारमा जोड दिनुपर्ने आयोगको निष्कर्ष छ।

त्यसैगरी, छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराईका जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सुनसरी, बारा, रौतहट, पर्सा र सर्लाहीमा समेत उच्च सुरक्षा सतर्कता अपनाइने प्रहरीले जनाएको छ। सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतका अधिकारीसँग सीमा सिल गर्ने विषयमा समेत कुरा गर्ने प्रहरी मुख्यालयले जनाएको छ। खासगरी सशस्त्र समूहले यी क्षेत्रमा चुनाव हुन नदिन र भाँड्न कुनै ‘हर्कत' अपनाउन सक्ने आशंकामा सुरक्षा सतर्कता अपनाइने मुख्यालयले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले चुनावमा समग्र सुरक्षा एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए। उनले भने, ‘पहिला चुनाव शान्तिपूर्ण रूपमा गराउँछौं, चुनावपछि मतपेटिकाको सुरक्षाका लागि मतदान अधिकृत र उम्मेदवार प्रतिनिधिलाई स्कर्टिङ गरेर मतगणना स्थलमा पुर्‍याउँछौं। मतगणना सुरक्षा घेराभित्रै सुरु हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.