अनबिचारेबल अक्षय

 अनबिचारेबल अक्षय

प्रोलग
उसलाई कम्पालाको बर्सात् मनपर्छ । ओस्लोको स्क्यान्डिनेभियन पत्झड मनपर्छ । पूर्णिमाको रातमा बालीको आकाशमा तुन्द्रुङ्ग झुन्डिएको जून उसलाई अतुलनीय लाग्छ । ग्वाटेमाला– सिटीको नेसनल प्यालेसमा ऊ काठमान्डुका भोगटे र आरुबखडा सम्झन्छ ।
दार–एस–सलामको समुद्री तहमा भेटिइने मत्स्य–हन्टरहरूलाई ऊ वालेकुमसलाम गर्छ । बाकु–अजरबैजानको गेस्ट हाउसमा असनको गुँदपाक खाँदै ऊ निदाउँछ । र, कुनै बिहान रियो डे जेनरियोको बाथरुममा हृदय–स्नान गर्छ ।
ब्याङ्कक र सियोलका गुम्बाहरूमा ऊ शान्ति र सन्तुष्टिको श्वास फेर्छ ।
जुरिकको हिउँदे क्याफेमा ऊ बट्रेन्ड रसेलको– हिस्ट्री अफ वेस्टर्न फिलोसफी– पढ्छ । र, कायरोको बियर लाउन्जमा नित्सेको–दस स्पेक जराथुस्त्र–मा हराउँछ । ब्रसेल्सको ‘स्ट्रिट फोटोग्राफी फेस्टिभल’मा ऊ मेट्रो–गल्र्सका भ्यानिला–ओठहरूमा छायांकित फ्रजाइल स्माइललाई आफ्नो निकोन डीएसएलआर क्यामेरामा क्लिक–क्लिक–क्लिक गर्छ ।

Image may contain: 1 person
बुडापेस्टका अपरिचित बूढा पेन्टरहरूसित पेरुभियन सिगारको धुवाँ उदाउँदै ज्याक्सन पोलाकको अल्काहलिक डेथबारे ऊ अन्तहीन चर्चा गर्छ । बेइजिङको ओपेरा हाउसमा चिनियाँ नृत्य हेर्दै गर्दा उसलाई किन–किन जर्मन नृत्याङ्गना पिना बाउसको असीम याद आउँछ । र, त्यही यादले त्यही सप्ताहन्त उसलाई जर्मनी पु¥याउँछ ।
त्यसपछि बर्लिनको बियर फेस्टिभलमा– हु इज अफ्रेड अफ कार्ल माक्र्स– भन्दै कम्युनिस्ट मेनिफेस्टोको क्याचफ्रेजलाई विनिर्माण गर्दै ऊ इजिप्सेली मदिरा–मैयाँहरूको कानमा कानेखुसी गर्छ–लभर्स अफ द वल्र्ड युनाइट । र, थप्छ :
– चियर्स लेडिज, इग्नाइट योरसेल्फ दिस नाइट !
त्यसो त तपार्इं उसलाई कहिलेकाहीँ आयरल्यान्ड या मस्कोतिर चुपचाप फुटपाथमा मर्निङ वाक गरिरहेको अवस्थामा पनि भेट्न सक्नु हुनेछ ।
जेम्स जोयसले उहिल्यै उडाएको सिग्रेट्यौली धुवाँ बतासमा अझै कतै अल्झेर झुन्डिइबसेको पो छ कि भन्दै ऊ डब्लिनका नाइट–स्ट्रिटहरू चहार्छ । स्पेनको ‘डाली थिएटर–म्युजियम’मा अवस्थित सल्भाडोर डालीको समाधिमा ऊ सर्रियल चित्रकारको आत्मालाई प्रार्थनाहरूमाझ पुकार्छ । र, प्राग सहरमा फ्रान्ज काफ्काको चिहानसामु आफ्नो उदास मन थुपार्छ ।
कहिले ऊ बनारसको कालमोचन घाटमा कुण्डलिनी ध्यान गरिरहेको भेटिइन्छ भने कहिले ऊ भेटिइन्छ– अमेजन या नाइल या टेम्स नदी किनारमा गायत्री–मन्त्र जपिरहेको भाव–मुद्रामा । उसको रुकस्याक खोतली हेर्ने हो भने भागवत गीता, बाइबल, कुरान मात्र होइन, त्यहाँ द इकोनमिस्ट, द वालस्ट्रिट जर्नल, द गार्जियन तथा पेरिस रिभ्यु–का पछिल्ला अंकहरू पनि तपाईं देख्न सक्नु हुनेछ ।
तान्जानियाको सेरेङ्गेटी नेसनल पार्कमा जनावरहरूको ‘पवित्र राज्य’ रमण गर्दा उसलाई मानव राज्यप्रति वितृष्णा जाग्छ । कम्बोडियाको किलिङ फिल्डमा मानव खप्परहरूको टावर देख्दा उसलाई होमो सेपियन्सको मूर्खतामाथि दया लाग्छ ।
र, अमिलो मनलाई शान्त पार्न जान्जिबारको जलमा स्कुवा डाइभिङ गर्छ । पेरुको माचुु पिक्चु चढ्छ । फ्रेन्च आल्प्समा स्की गर्छ ।
मलाई ऊ अद्भुत लाग्छ ।
प्रेत, मसान, भूत पो हो कि झैं लाग्छ !
इस्तानबुलको डिस्कोथेकमा बेली डान्स गर्न ऊ भसक्कै मन पराउँछ । आम्स्टर्डमको क्याफेमा ऊ ‘काठमान्डू गोल्डेन’ या ‘सेक्स इन द बिच’ फ्लेभरको तोप÷हुक्का तान्छ । र, इग्वाजु झर्ना हेर्दै ब्राजिलियन वन झाँक्रीहरूसित आयोवास्का–उत्सव मनाउँछ ।
तपार्इंलाई ऊ सिनेमाका पासिङ दृश्यज्मा आक्कलझुक्कल देखा पर्ने स्ट्रिट बेगर, वेयरा, जादुगर या यायावरजस्तो लाग्नेछ । भियानाका गल्लीहरूमा उसलाई भ्यानिला हिमक्रिम खाँदै हिँडिरहेको देख्नुहुनेछ । पेरिसका नाइट–क्याफेहरूमा क्यापुचिनो र मार्लबोेरो पिउँदै शून्यमा टोलाइरहेको देख्नु हुनेछ ।
ऊ मेरो जीवनको एक सरप्राइज–गिफ्टजस्तो लाग्छ । ज्यादै अनप्रेडिक्टेबल, अनडिसाइफरेबल एन्ड लास्ट बट नट लिस्ट : अनविचारेवल ।
कहिले ऊ बेल्जियममा शरणार्थी भएका नेपालीहरूको अफिसियल कागजपत्रहरू ट्रान्सलेट गरिरहेको हुन्छ । कहिले लन्डनको बिल्डर बनी धमाधम घर, रेसिडेन्सियल अपार्टमेन्ट, स्काइक्रापर्सलगायत सपिङ मल निर्माण गरिरहको हुन्छ, चर्चहरू रिनोभेट गरिरहेको हुन्छ । कहिले ऊ न्युयोर्कको ब्रोडवे थिएटरमा आफ्नो जन्मदिन–मार्च थर्टिन–मनाइरहेको हुन्छ त कहिले बार्सिलोनको फुटबल स्टेडियममा हुर्रा हुर्रा गर्दै चिच्याइरहेको हुन्छ ।
खुदा खैर करे । छैंटीमा भावीले निधारमा लेखिदिएको भाग्यलाई ऊ ग्लोब–ट्रटर बनि यसैगरी सच्याइरहेको हुन्छ ।
कहिले त कस्तो समेत हुन्छ भने नगरकोटीको किताब विमोचनमा ऊ ‘दोचा: द हिमाली जुत्ता’ समातेर ङिच्च हाँसिरहेको हुन्छ । र, कहिले शिल्पी थिएटरमा मञ्चमै बकाइदाका साथ ह्विस्कीको चुस्की लिँदै ‘अक्षरगन्ज’ विमोचन गरिरहेको हुन्छ ।
।। अक्षरगन्ज र ह्विस्की ।।
२०७१ सालको मंसिर– १७ केही क्लासिक थियो ।
शिल्पी थिएटर सहरका कवि, लेखक तथा कला पारखीहरूद्वारा खचाखच भरिएको थियो । वातावरण आल्हादमय थियो । थिएटरको छतबाट चुहिएको स्पटलाइटमा मास्टर अफ सेलिब्रेसन पत्रकार मित्र बसन्त बस्नेतले–अक्षरगन्ज–को किताब लोकार्पण कार्यक्रममा सम्पूर्ण अतिथि गणहरूलाई स्वागत गरिरहेका थिए ।

प्रिय सर, आज पर्यन्त लेख्दै छु, लेख्दै छु । बस् लेख्दै छु । निरन्तर अभ्यास गर्दैछु । आजसम्म फगत एक फिक्सन डिजाइनर छु । लेखेर नै कुनै दिन लेखक बन्नेछु ।


मखलेल मुद्रामा मिस्टर बस्नेत पाहुनाहरूलाई नगरकोटी–किस्साका आजीवोगरिब दास्ताँ–ए–बयाँ–सुनाउँदै थिए ।
यस्तैमा आउट–अफ–ब्लुज रंगमञ्चको ढोका ढड्याङ्ढुडुङ् गर्दै एउटा मानिस ब्रिफकेस हल्लाउँदै मञ्चमा प्रवेश ग¥यो । ब्ल्याक सुटमा सजधजिएको उसले ब्रिफकेसलाई काँचको कफी टेबलमा राख्यो । आफूलाई मेचमा थन्क्यायो । र, ब्रिफकेसबाट ह्विस्की र गिलास निकाल्यो । एक लार्ज पेग बनायो । अनि हातमा गिलास लिँदै पहिलोपटक दर्शकदीर्घातर्फ मुखातिब हुँदै भन्यो :
–चियर्स एभ्रिबडी । वेलकम टु अक्षरगन्ज !
त्यसपछि ह्विस्कीको चुस्की लिँदै भन्यो, ‘आज १७ गते । नगरकोटीको कुन्नि कतिऔं बर्थ डे । तसर्थ म केवल १७ मिनेट बोल्नेछु । नट मोर, नट लेस् । अबको १७ मिनेट कृपया यो अपरिचित मनुष्यलाई झेल्न तयार हुनुहोस् ।’ यति भनेपछि उसले ह्विस्कीको अर्को चुस्की लियो । आफ्नो नाडी घडी हे¥यो र भन्यो :
–माई टाइम स्टाटर््स नाऊ ।
आफू को हुँ ? उसले केही बताएन । नगरकोटी को हो, त्यसको त झनै बालै भएन । केवल अक्षरहरूमाथि उसले नन्स्टप व्याख्यान दियो । बीच–ओ–बीचमा ह्विस्की चियर्स गर्दै । दर्शकलाई हँसाउँदै । गम्भीर बनाउँदै । नाडी घडी हेर्दै । उसको अक्षर–गानद्वारा सम्पूर्ण दर्शक मन्त्रमुग्ध भए । अन्तत: घडी हेर्दै उसले भन्यो :
– १७ मिनेट सकियो । मेरो समय पनि सकियो । थ्याङ्क यु फर लसनिङ टु मि !
त्यसलगत्तै ऊ जसरी आएको थियो, त्यसरी नै गयो । दर्शकका मनमा उब्जिएका कौतुहलहरूलाई ह्विस्की र गिलाससितै ब्रिफकेसमा प्याक गरी ऊ– तौबा तौबा– रफुचक्कर भयो । अर्को दिनको सम्पूर्ण अखबारहरूमा उसको युनिक अन्दाज एवम् ह्विस्कीको रहस्यमय चर्चा भयो । सहरमा ऊ एकाएक चर्चित भयो ।
असक्षगन्ज–उत्सवमा सामेल भएका प्रियजनहरूले मलाई पछिसम्म केरकार गरे : त्यो अपरिचित वास्तवमा को थियो र कहाँबाट आएको थियो ? म भने गर्थें : ऊ मेरो बाल्यकालको साथी थियो र प्रशान्त महासागर अनि कालाहारी मरुभूमिको यात्रा पार गरी त्यसदिन ऊ मेरो जन्मदिनमा अक्षरहरूलाई सेलिब्रेट गर्न शिल्पी थिएटर आएको थियो, ब्रिफकेसमा ह्विस्की बोकी ।
छापा तथा टीभी अन्तर्वार्ताहरूमा मलाई सोधियो : सार्वजनिक कार्यक्रममा त्यसरी मदिरा पिएर बात मार्न पाइन्छ ? त्यस्तो अनैतिक धन्दा चलाउन पाइन्छ ? अलिकति मर्यादा चाहिन्न ? शिष्टता र सभ्यतालाई त्यसरी घात गर्न पाइन्छ ? जवाफमा भनियो :
– जरुर पाइन्छ । टु हेल विथ से–कल्ड मर्यादा एन्ड शिष्टता एन्ड सभ्यता ! ब्रदर, अक्षरगन्जमा अक्षरहरूलाई सेलब्रेट गर्न मदिराको साथ चाहिन्छ । अलिकति मात चाहिन्छ ।

बर्थ डे ब्लुज
सबै साबुनहरू लक्सजस्तै भाग्यमानी काँ हुन्छन् र !
यदि लक्सको विज्ञापन हेर्नुभएको छ र यसको ऐतिहासिकताको ख्याल छ गर्नुभएको छ भने लक्सजस्तै लक्की साबुन तपाईंले अरू कुनै पाउनु हुने छैन । यो कुरा म ग्यारेन्टीका साथ भन्न सक्छु । यो एकमात्र त्यस्तो सेक्सी साबुन हो जसले बलिउडका प्राचीन अभिनेत्रीहरू– मधुवाला र मीनाकुमारीदेखि लिएर अहिलेका– करिना कपुर र दीपिका पाडुकोण– इत्यादिका नरम एन्ड गरम त्वचाको स्पर्श गर्न पाएको छ । यस्तो दुर्लभ अहोभाग्य दुनियाँको कुन साबुनलाई प्राप्त छ ? ‘कसैको लक होस् त लक्सजस्तो’ भन्ने नगरकोटीयन–उखान त्यसै बनेको होइन रैछ बाबै !
अक्षय मेरो निम्ति लक्स थियो । यस्तो लक्सी–सोप जो मेरो मनका राग र दागहरू पखाल्न हरदम तयार हुन्थ्यो ।
म प्राय: मौन÷गुपचुप बस्न रुचाउने जन्तु । एकान्तप्रिय एकलकाँटे स्वभावको । अन्तमुर्खी । आफ्नो इन्टरनल लोनसमनेसमा हराउन चाहने बैरागी । ‘दस स्पेक जराथुुस्त्र’मा फ्रेडरिक नित्से भन्छ: लेनसमनेस इज माई होम । मलाई लाग्थ्यो, नित्सेले यो पंक्ति मेरै निम्ति रचेको हो । बचपनदेखि नै मेरो जीवनमा एउटा अपूरणीय एकान्तिक सन्नाटाले राज गरेको थियो । बेला कुबेला सन्नाटाको उक्त राज्यमा अक्षय आउँथ्यो र भन्थ्यो :
– तेरो जीवनमा इतना सन्नाटा भला क्युँ छ कुमार ? ये मन सन्नाटाकी दागसे नहीं, दरअसल सोनाटाकी पाश्र्व रागसे भरनी चाहिए । चियर्स ।
यसरी ऊ पटकपटक लक्सी–सोप बन्थ्यो । र, मेरा मनका मयलहरू धोइपखाली गथ्र्यो । सन्नाटाभन्दा बढी उसलाई म्युजिकल सोनाटा मनपथ्र्यो । ज्याज मनपथ्र्यो । नेपाली लोक धुन मनपथ्र्यो । र, मनपथ्र्यो– ब्लुज ।
मेरो बर्थ डे सेलिब्रेट गर्ने उसका आफ्नै मौलिक तरिकाहरू थिए । यसलाई ऊ बर्थ डे ब्लुज भन्न रुचाउँथ्यो । उसले जम्मा तीनपटक मेरो जन्मदिन मनाएको छ जो मेरा ेनिम्ति चिरस्मरणीय छन् । तिनलाई त म नर्कमा पनि सम्झुँला । एउटाको असामयिक चर्चा त माथि नै गरिसकिएको छ । अब बाँकी दुई बर्थ डे ब्लुजको कुचर्चा– तपाईंको अनुमति भए पनि नभए पनि– मुनी गरिइनेछ ।
कुरा लगभग २३ वर्षअघि मंसिर– १७ को हो ।
पाटनको चाकुपाटमा बसोबास थियो । साँझपख ऊ आयो । साथमा अरू दुई साथीसहित । स्कुलदेखिका डियर फ्रेन्ड्स : मनोज केसी र चेहेन्द्र लामा । चेहेन्द्र र अक्षय त्यसताका विश्वभाषा क्याम्पसमा स्पेनिस भाषाको अध्ययन गर्थे । नाइट सिफ्टमा । मलाई स्पेनिस भाषाका अश्लील शब्द एवम् वाक्य संरचनाहरू भक्कु सिकाउँथे । जहाँसम्म मनोजको कुरा छ, हामी उसलाई स्कुले युगदेखि नै जेम्स बोन्ड भन्थ्यौं । त्यसको कारण के भने ऊ ‘द लिभिङ डे लाइट्स’ र ‘लाइसेन्स टु किल’मा जेम्स बोन्डको भूमिका निभाउने ब्रिटिस अभिनेता टिमोथि डाल्टनजस्तै देखिन्थ्यो । मनोजको नीला आँखा प्लस मुहारको बुनोट डिट्टो डाल्टनका जस्ता लाग्थे । साथीहरू उसलाई भन्ने गर्थे, ‘जेम्स बोन्ड, तेरो अर्को फिल्म कहिले आउँछ ? नेक्स्ट फिल्मको सुटिङ कहिले हुन्छ ? ’ त्यस्ता प्रश्नको उसित रेडिमेड जवाफ हुन्थ्यो :
– गायज्, फिल्मबारे डाइरेक्टरसित छलफल हुँदैछ । सायद यही विन्टर होलिडेजमा सुटिङ सुरु हुन्छ ।
खेदको कुरा त के मात्र भइदियो भने ‘लाइसेन्स टु किल’ पछि डाल्टनले ब्रिटिस सेक्रेट एजेन्टको भूमिकामा अभिनय गर्न छाडिदिए । पछिल्ला बोन्ड मुभिज्मा पियर्स ब्रोस्नन देखा परे । दु:खद् कुरा ! मनोजको मुहार ब्रोस्ननसित मेल खाएन । तसर्थ उसलाई जेम्स बोन्ड भनिरहने कुरा पनि भएन । मनोजलाई सिर्फ मनोज भनियो ।
त्यो दिन उनीहरूले ‘तोप’ बनाए । मेरो जन्मदिनको अवसरमा २१ तोपको सलामी त होइन बरु ४ स्टिक तोपको धुवाँमार्फत सलामी अर्पण गरे– ह्याप्पी बर्थ डे कुमार ! लौ, अब बियर चियर्स गरौं ।

‘डियर फ्रेन्डस् ! यो गीत मेरो साथी कुमारको लागि मात्र नभई मंसिर १७ मा जन्मने सबै साथीहरूको लागि हो । भर्खरै त्यही परको वीर अस्पताल या थापाथलीको प्रसूति–गृहमा कुनै बच्चा जन्मेको होला ! यो ह्याप्पी बर्थ डे गीत त्यो नवजात मनुष्यको लागि पनि हो ।’


उनीहरूले एक कार्टुन ‘टुबोर्ग : व्हेरेभर यु आर’ लिएर आएका थिए । चेहेन्द्रले बियरको बिर्को खोल्नै लाग्दा अक्षयले भन्यो, ‘लिसन टु मि गायज, यसो गरौं ।’ हामीले भन्यांै, ‘कसो गरांै ? ’ मलाई देखाउँदै उसले भन्यो, ‘यसको जन्मदिनलाई आज विशेष बनाऔं । फोटो स्टुडियोमा गई फोटो खिचाऔं । यस्तो मौका घरीघरी काँ आउँछ ? भविष्यमा त स्टुडियो गई फोटो खिचाउने समय नै हामीसँग हुने छैन । व्हाट डुु यु से गायज् ? ’ उसको प्रस्ताव सुनी मैले भने :
– अक्षय ! यु आर अनविचारेवल यार !
– के भनिस् ? – ऊ अल्मलियो ।
– तँ ज्यादै अनथिङ्केवल छस् ।
– त्यो होइन । तैंले अर्कै शब्द प्रयोग ग¥या थिस । के रे ?
– अनविचारेवल !
– यस, द्याट्स इट ! – ऊ हैसियो : आई एम अनविचारेवल ! थ्याङ्क यु कुमार फर क्वाइनिङ सच अ लभ्ली वर्ड फर मि । चियर्स । यही न्युली क्वाइन्ड शब्द ‘अनविचारेवल’को सम्मानका खातिर एक–एक बोतल समातौं र बाटोमा खाँदै फोटो स्टुडियो जाऔं । ओके गायज् ?
– ओके !
त्यसपछि बाटोमा बियर पिउँदै ग्याङ अफ फ्रेन्ड्सलाई मैले पाटनढोकाको फोटो स्टुडियो लगेँ । फोटोग्राफरलाई उर्दी जारी गर्दै अक्षयले भन्यो :
– ब्रो ! फोटोचाहिँ ब्ल्याक एन्ड व्हाइटल ल ! किनभने हामी ब्ल्याक एन्ड व्हाइट युगका मान्छे हौं । हाम्रो जीवनमा कलरफुल दिनहरू आउनै बाँकी छ ।
फोटो खिचाइवरी अर्को बाटो घर फर्कंदा सडकको छेउमा एउटा सडेगलेको मृत कुकुर फेला प¥यो । डुङ्डुङ्ती गन्हाइरहेको । मानिसहरू नाक छोपी हिँडिरहेको देखेर अक्षयलाई उदेक लागेछ । ऊ केही परको पसलमा गयो । एकछिनमै एउटा जुटको बोरा लिएर आयो । र, हामीलाई भन्यो :
– सडेको यो कुकुरको लास सडकमा होइन, बरु यो सहरको मानिसहरूको दिमागमा छ । यो लास मान्छेहरूको सडेगलेको थोत्रो विचार हो । कमन गायज्, यो लासको सद्गती गरौं । थोरै भए पनि पुण्य कमाऔं !
बोरालाई अक्षयले भुइँमा ओछ्यायो । हामी लासलाई झ्यानाकुटी गर्न अघि बढ्यौं । अक्षयले मलाई रोक्दै भन्यो :
– तँ बर्थडे ब्वाईलाई किन लास उठाउन लगाउने ? तँ गडको लासबारे चिन्ता गर्, हामी डगको लासलाई ठेगान लगाउँछौं ।
साबुन होस् त लक्सजस्तो । साथी होस् त अक्षयजस्तो । बच्चैदेखि ऊ यस्तै थियो । उसको सोच र व्यवहारप्रति म सदा नतमस्तक रहेँ ।
त्यो दिनको घटना मलाई ज्यादै मेटाफरिकल लाग्छ । कुकुरको लास बोकी साथीहरू मलाई सडक किनारामा एक्लै छाडी गएका थिए । मलाई लाग्यो, उनीहरूले मेरो दिमागभित्र युगौंदेखि सडिरहेको थोत्रो विचार, वाद, सिद्धान्त र दर्शनको लास बोकी गए । र, मलाई मुक्त गरे ।
०००
लगत्तै अर्को वर्षको मंसिर– १७ मा बर्थडे सेलिब्रेट गर्ने सवालमा अक्षय अझ बढी इनोभेटिभ शैलीमा प्रस्तुत भयो ।
त्यसताका डिल्लीबजारको एउटा फर्निचर पसल– श्रीट्रेडर्स– मा म सेल्सम्यान थिएँ । पसल मालिक थिए नेपालगन्जतिरका सज्जन शिवप्रसाद जोशी । मलाई निकै माया गर्थे । विश्वास गर्थे । हिसाबकिताब र सारा पसलको जिम्मा मलाई दिन्थे ।
लगभग ३ बजेको हुँदो हो । पसलमा एउटा अग्लो मान्छे पस्यो । प्लास्टिकको झोला झुन्ड्याएर । अफिस दराजहरू हे¥यो । सर्सती । पाँचवटा दराज लाने भो ।
लम्बु–मानवले हिसाब गर भनेपछि मैले क्यालकुलेटर थिचँे । सामान्यतया १२ देखि १५ पर्सेन्ट डिस्काउन्ट गर्न सकिन्थ्यो । हिसाब देखाएँ । उसले प्लास्टिकको झोलाबाट एउटा बन्डल निकाल्यो । बन्डल पत्रिकाले बेरिएको थियो । खोल्यो । उक्त बन्डलमा हजारका नोटहरू देखि म जिल्ल परेँ । चकित–ओ–चकित भएँ । कस्तो रोचक मान्छे ! झोलामा थप अरू बन्डल पनि थिए । म थप चकित–ओ–चकित परेँ । पैसा बोक्ने निजको अन्दाज मलाई गज्जब–ओ–गज्जब लाग्यो ।
मलाई तत्काल के महसुस भैगयो भने यो लम्बु–ग्राहक थप पाँच पर्सेन्ट डिस्काउन्टको निम्ति ज्यादै योग्य छ । मैले उसलाई २० पर्सेन्ट छुट दिने भएँ । निजले भन्यो, ‘मलाई किन यति छुट ? ’ जवाफमा भने:
– किनकि मलाई तपार्इंको यसरी निस्फिक्री पैसा बोक्ने स्टाइल मनप¥यो । बाई द वे आज मेरा बर्थ डे पनि हो । यसै उपलक्ष्यमा तपार्इंलाई एक्स्ट्रा पाँच पर्सेन्ट डिस्काउन्ट गरेको हुँ ।
मेरो कुरा सुनी ऊ मुस्कुरायो । उसलाई लाग्यो सायद, कस्तो अचम्मको सेल्सम्यान रहेछ । किनकि मलाई पनि लागेको थियो, कस्तो अचम्मको ग्राहक रहेछ । ऊ अचम्म । म अचम्म । हिसाब बराबर । तर, पैसाको गड्डीबाट हजारको एउटा नोट थुतेर मेरो हातमा थमाउँदै निजले भन्यो :
– आई एम इन्प्रेस्ड ! बर्थडे ब्वाईलाई मेरो तर्फबाट सानो बोसन गिफ्ट । टेक इट, डोन्ट हेजिटेट !
हेजिटेट गर्ने त सवालै भएन । नोटलाई मैले जिन्सको खल्तीमा दोब्य्राएर राखेँ ।
उसले दिएको त्यो बोनस–गिफ्ट हजारको नोटलाई मैले कसरी खर्च गरेँ, त्यो प्रसंग मुनि कतै अवश्य पनि आउला नै । तर, केहीबेर त्यही लम्बु ग्राहकबारे सोच्ने अनुमति मलाई दिइयोस् है त !Image may contain: food
त्यो लम्बुलाई मैले पछि नेपाल टेलिभिजनमा देख्न थालेँ । अनेक मानिससित, अनेक अन्तर्वार्ता गरिरहेको, अनेकपटक । टीभी अन्तर्वार्ता पनि त्यति आकर्षण हुँदो रहेछ भन्ने कुरा मैले उसैलाई हेरेपछि थाहा पाएँ । मेरो पसलमा जसरी बोलेको थियो, त्यही अन्दाजमा ऊ बोल्थ्यो । टीभीमा । बडो सानसित । आफ्नो ग्राहक त्यसरी टेलिभिजनमा बोलेको कुन सेल्सम्यानलाई मन नपर्दो हो ! अझ ऊ त मेरो स्पेसल ग्राहक थियो । यो स्पेसल लम्बु ग्राहकको नाम रहेछ : इन्द्र लोहनी ।
खैर ! त्यो दिन इन्द्र लोहनीको प्रस्थानपश्चात् पसलमा दुई मित्रको आगमन भयो । अक्षय र चेहेन्द्र । अक्षयले हामीलाई असनचोक लिएर गयो । अन्नपूर्णा देवी मन्दिर पछिल्तिरको क्यान्डल हाउसको साहुजीलाई उसले भन्यो :
– ब्रो ! एउटा किङ साइज्ड मैनबत्ती दिनुस् !
पसलेले याँमानको मैनबत्ती उसको हातमा थमाइदियो । ‘ल कुमार, मैनबत्ती बाल्’ अक्षयले भनेपछि मैले खल्तीबाट लाइटर निकालेँ र मैनबत्ती बालेँ । त्यसपछि ताली बजाउँदै मित्रद्वय गाउन थाले– ह्याप्पी बर्थडे टु यु....। जसलाई पसले ब्रोले अचम्मका साथ इन्जोय ग¥यो ।
अक्षयले भन्यो :
– क्यान्डल बोकी म अघिअघि हिँड्छु, ह्यापी बर्थ डे गाउँदै । कुमार, तँ बर्थ डे ब्वाई, बीचमा बस् । चेहेन्द्र, तँ लाइनको पुछारमा ! तेरो काम चाहिँ ताली बजाउने र गीतमा मलाई साथ दिने, बुझिस् ?
चेहेन्द्रले बुझेँ भन्यो । त्यसपछि हामी लामबद्ध भई असनको भीडमा मिसियौं । मानिसले हामीलाई बाटो छाडिदिए । त्यो गज्जबको नजारा थियो । एउटा केटो क्यान्डल बोकी अघि लागेको छ, बर्थ डे गीत गाउँदै । दोस्रो केटो मखलेल मुद्रामा लमकलमक हिँडिरहेको छ । तेस्रो केटो ताली बजाउँदै छ । पसलपसलबाट पसलेहरू रमिता हेरिरहेछन् । त्यो दिन कथम् कदाचित इन्द्रबहादुर राईले हामीलाई देख्दा हुन् त अवश्य पनि अर्को उपन्यास या कथा लेख्दा हुन्: आज अर्को रमिता छ ।
धिपधिपे क्यान्डललाई बतासबाट जोगाउँदै अक्षयले हामीलाई जमलको राष्ट्रिय नाचघर समीपैको एउटा क्याफेमा पु¥यायो । वेटरलाई सोध्यो– ‘क्यान्डल स्ट्यान्ड छ ? ’ बेटरले छैन भन्यो । अक्षयले क्यान्डललाई एस्ट्रेमा राख्यो । त्यहीँ चिपकाइदियो । केही समय त्यहाँ बिताएपछि उसले भन्यो :
– साँझ पनि भयो । अब कुमार, तेरो बर्थडे सेलिब्रेट गर्न गजल रेस्टुराँ जाऔं !
त्यसपछि बागबजारतिर लाग्यौं । हामी प्राय: गइरहने त्यो ‘महफिल गजल रेस्टुराँ’ तिनताका हरेक साँझ गुलजार हुने गथ्र्यो । र, त्यहाँ छिर्दा मलाई अक्सर गजलमा नुहाएर फ्रेस भएझैं लाग्थ्यो । त्यहाँको गजल–स्नान ज्यादै प्रीतिकर हुन्थ्यो । गजल–स्नानको निम्ति मसित लक्स साबुनउर्फ अक्षय भएसी त मलाई अरू के नै पो चाहिथ्यो र !
टेबलमा रहेको फर्माइसी–स्लिपमा म प्राय: एउटै गजलको फर्माइस लेखेर पठाउँथे । गायिका (नाम बिर्सें) ले मेरो नाम उच्चारण गर्दै भन्थी : अब प्रस्तुत छ, टेबल नम्बर १३ का कुमार नगरकोटीको मनपसन्द गजल...।
त्यसलगत्तै उसको ओठबाट चित्रा सिंहको ‘दर्दभरी नग्मे’ गुञ्जिन थाल्थ्यो :
पसिने पसिने हुए जा रहे हो !
ये बोलो कहाँ से चले आ रहे हो !!
त्यो दिन अचम्मै भयो । टेबल नम्बर– १३ बाट ‘पसिने पसिने’ गजलको फर्माइस गएन । हामी तीनैजनाको तर्फबाट अक्षयले– ह्याप्पी बर्थ डे– बोलको गीत स्लिपमा भ¥यो । अनि त्यो स्लिप आफैं लिई गायिका सामु गयो । गायिकालाई उसले कुन्नि के–के सम्झाउँदै कानेखुसी गरेको देखियो । केहीबेरमै गायिकाको आवाज सुनियो :
– टेबल नम्बर १३ बाट आज अलि बेग्लै गीतको अनुरोध आएको छ । सधैं ‘पसिने पसिने’ बोलको गीत गाउन अनुरोध गर्ने हाम्रा नियमित श्रोता कुमार नगरकोटीको आज जन्मदिन रहेछ । उहाँलाई शुभकामना व्यक्त गर्दै अब प्रस्तुत छ ‘ह्याप्पी बर्थ ड’ बालेको गीत ...।
साँच्ची भन्या हुँ । गड प्रमिस् । विद्या नष्ट । माँ कसम । साँच्ची भन्या हुँ : इन्द्रबहादुर राई हुन्थे भने जरुर, जरुर, जरुर ‘आज अर्को रमिता छ’ लेख्थे ।
उता गायिकाले लय तान्नै लाग्दा यता अक्षय मेचबाट जुरुक्क उठ्यो र ‘एकछिन एकछिन’ भन्दै सबैको ध्यानकर्षित गर्दै दौडेर मञ्चतिर गयो । ठूलो ठलो आवाजमा दर्शकलाई सम्बोधन गर्दै बोल्न पो थाल्यो :
– ‘डियर फ्रेन्डस् ! यो गीत मेरो साथी कुमारको लागि मात्र नभई मंसिर १७ मा जन्मने सबै साथीहरूको लागि हो । भर्खरै त्यही परको वीर अस्पताल या थापाथलीको प्रसूति–गृहमा कुनै बच्चा जन्मेको होला ! यो ह्याप्पी बर्थ डे गीत त्यो नवजात मान्छेको लागि पनि हो । यो गीत मंसिर १७ मा जन्मने मनुष्यहरूमा समर्पित छ । चियर्स ।’
म भावुक भइगएँ । अक्षय यस्तै थियो । यस्तै छ । र, यस्तै रहनेछ । सम्बोधनपश्चात् ऊ टेबलमा आयो । मैले उसलाई घोप्लक्क अँगालो मारेँ ।
सदा गजल गुञ्जने ‘महफिल गजल रेस्टुराँ’मा त्यो साँझ ‘ह्याप्पी बर्थ डे’ बोलको गीत गुञ्जियो । त्यस्तो अनविचारेवल घटना त्यो महफिलमा न पहिले भएको थियो न सायद त्यसपछि नै भयो । पुतलीसडक ट्राफिक पोस्ट् आसपासको त्यो गजल रेस्टुराँ आजकल छैन । यो घटना घटेको पनि वर्षौं भयो । यदाकदा त्यहाँबाट गुज्रँदा ‘पसिने पसिने’ बोलको गजल कतै गुञ्जिएझैं लाग्छ । अतीतकी गायिकाले– ह्याप्पी बर्थ डे कुमार– भनेझैं लाग्छ ।
र, इन्द्र लोहनीले बोनस–गिफ्ट दिएको हजारको नोट तिनै गायिकालाई जिन्सको खल्तीबाट झिकेर उपहार टक्र्याएको पनि हिजैमात्र हो झैं लाग्छ ।
।। अर्को कप कफी ।।
उसको नाम थियो : नताशा । एक लोनसम युवती । प्राय: ऊ एउटै क्याफेमा गई कफी पिउँथी । सिंगो मस्को सहरमा उसको आफ्नो भन्ने कोही थिएन । ऊ ज्यादै एक्लो थिई । क्याफेमा उसले एक दिन आफूजस्तै एक्लो युवक देखी । ढोकाबाट छिरेर त्यो युवक सरासर आई नताशाको सामुन्नेको कुर्सीमा बसेको थियो । चुपचाप ।
नताशाले वेटरलाई भनी :
– अर्को कप कफी ।
कफी खाएर युवक गइहाल्यो । धन्यवादसमेत भनेन । कुनै शिष्टाचार देखाएन । नताशालाई त्यो गैरशिष्टाचारी मान्छे मन प¥यो । ऊ अर्को दिन पनि आयो । नताशाले अर्को कप कफी मगाई । यो क्रम दिनानुदिन बढ्दै गयो । युवकको नाम– भ्लादिमिर– बाहेक नताशालाई उसको बारेमा केही थाहा भएन । युवकले बताएन पनि । ऊ त फगत चुपचाप आउँथ्यो । कफी पिउँथ्यो । र, केही नभनी गइहाल्थ्यो । चुपचाप ।
भ्लादिमिर केही दिन क्याफेमा देखा परेन । यही ‘केही दिन’को रिक्ततामा नताशा भ्लादिमिरको प्रेममा परी । अक्सर प्रेम रिक्तताको बाँझो जग्गामा फुल्ने फूल न हो ! मनको सुनसान मन्दिरमा गुञ्जने दिव्य संगीत न हो प्रेम !
मनको बाँझो जग्गामा भ्लादिमिर नाम गरेको हिबिस्कस फुलेको नताशाले चाल पाई । सन्नाटाले राज गरेको मन–मन्दिरमा सोनाटा गुञ्जिएको चाल पाई । तर, भ्लादिमिर आएन । मस्कोको चिसो बिहान हुँदी भ्लादिमिर कुन चिहान खन्न गयो होला भनी ऊ कल्पन थाली । भ्लादिमिरको खजमजिएको केश, ख्याउटे मुहार अनि फाटेर ठाउँठाउँमा टालिएको ओभरकोटको बैगुनी सम्झनाले उसलाई सताउन थाल्यो । अर्को कप कफी चिसिन थाल्यो ।
एक दिन सदाझैं मास्क र पञ्जा लगाइवरी नताशा लास चिरफार गर्ने च्याम्बरमा छिरी । पोस्ट्मार्टमको निम्ति कुनै लास नचिरेको दिन लगभग हुँदैनथ्यो । उसले अनेक प्रकारका बीभत्स लासहरू चिरेकी थिई । वास्तवमा लास चिर्दा–चिर्दा उसले मानवीय संवेदना एवम् अनुभूति लगभग बिर्सिसकेकी थिई । तसर्थ ऊ एक्लो थिई । तर, त्यो दिन फलामको टेबलमा उत्तानो पारी सुताइएको लास देखेर ऊ ज्यादै विचलित भई ।
टेबलमा भ्लादिमिरको लास थियो ।
अर्को दिन क्याफेमा ऊ इटर्नल्ली एक्लो थिई । संवेदनाहीन । अनुभूतिहीन । चुपचाप । गुमसुम÷मौन । औंलाको कापबाट निस्केर उडेको सिग्रेट्यौली धुवाँलाई एकनासले हेरिरहेकी । यस्तैमा वेटर आयो । उसको हातमा सदाझैं किस्ती थियो । किस्तीलाई कफी–टेबलमा राख्दै उसले भन्यो :
– अर्को कप कफी ।
०००
स्कुल छँदा अक्षयले लेखेको थियो यो कथा: अर्को कप कफी । त्यसबेला हामी कक्षा १० मा पढ्थ्यौं । यो कथा उसले इभनिङ–क्लासमा लेखेको थियो । र, मलाई पढ्न दिएको थियो ।
अक्षय र मैले एउटा साझा नोटबुक बनाएका थियौं । नोटबुकमा भर्नुपर्ने कोलममा हामीले आफ्नो नाम लेखेका थियौ ं: अक्षय कुमार । क्लास : नर्सरी । रोल नम्बर : शून्य । स्कुल : लाइफ एन्ड डेथ । त्यो नोटबुकमा हामी एकअर्कालाई सम्बोधन गरी चिठी लेख्थ्यौं । पालैपालो । कहिलेकाहीँ कथा लेख्थ्यौं । कहिले कविता ।
समयक्रममा नोटबुकहरू थपिँदै गए । हामीले अनगिन्ती नोटबुकका पानाहरू भ¥यौं । त्यही क्रममा उसले– अर्को कप कफी– कथा लेखेको थियो । टिप्पणीहेतु कथाको मुनि मैले लेख्या थेँ– ‘किन विदेशी टाइपको कथा लेखेको ? पात्रका नाम नताशा, भ्लादिमिर । ठाम मस्को । रसियन साहित्यको निकै प्रभाव प¥याजस्तो छ ! किन स्वदेशी कथा नलेखेको ? ’ त्यसको जवाफमा उसले नोटबुकमा लेखेको थियो :
– कुमार ! कथा स्वदेशी या विदेशी हुँदैन । कथा केवल युनिभर्सल हुन्छ ।
त्यो युनिभर्सल कथा पछि स्कुल म्यागजिन– दीपिका– मा छापियो । अक्षयको पहिलो र अन्तिम कथा त्यही थियो– अर्को कप कफी । त्यसपछि उसले कथा लेखेन ।
।। क्यानभासमा कोरिएको युगको अन्तिम चित्र ।।
हामीलाई ‘अफिस म्यानेजमेन्ट’ विषय पढाउने गुरु रेश्मीशेखर सुवेदीले एउटा नाटक लेखे : क्यानभासमा कोरिएको युगको अन्तिम चित्र । नाटकको निर्देशकमा उनले मलाई नियुक्त गरे । र, नाटकको मूल पात्र–वैज्ञानिक–मा मैले अक्षयलाई नियुक्त गरेँ ।
अमिताभ बच्चनको सर्वकालीन फ्यान अक्षयले नाटकमा कमाल–ओ–कमाल ग¥यो । अभिभावक दिवसमा मञ्चन गरिएको त्यो नाटकले चियर्स, चियर्स एन्ड लट्स अफ चियर्स पायो । अक्षयको अभिनयलाई सबैले मुक्त कण्ठले प्रशंसा गरे । अक्षय स्कुलको हिरो भयो ।
त्यसो त साथीहरूमाझ ऊ सदा हिरो नै थियो । एकदम निडर प्लस विद्रोही । पुलिस स्कुलको कडा अनुशासनमा हामी हुर्केका थियौं । तर, अनुशासनलाई सीधै – हु द हेल केयर्स – भन्न र गर्नमा उसलाई गज्जबको मज्जा आउँथ्यो । नियम र बन्धनहरूप्रति उसमा घोर अरुचि थियो । बेलाबेला ऊ अनुशासनको खिल्ली उडाइरहन्थ्यो ।
एक दिन ऊ क्लासमा ढिलो आयो । क्लास प्रवेश गर्न उसले गुरुसित यसरी अनुमति माग्यो :
– हेलो फ्रेन्ड ! मे आई कम इन ?
– स्ट्यान्ट आउटसाइड ।– गुरु रिसाउनुभयो ।– एन्ड टेल मि, हु आर यु टु कल मि अ फ्रेन्ड ?
– आई एम योर फ्रेन्ड । – अक्षयले भन्यो ।
– यु आर माई स्टुडेन्ट । नट फ्रेन्ड । एन्ड आई एम यो टिचर । – गुरुले भन्नुभयो ।
– नो, नो । यु आर मिस्टेकन, सर । यु आर माई फ्रेन्ड । बिकज आई थिंक टिचर सुड बी फ्रेन्ड्ली । – उसले भन्यो ।
अक्षयका अनेक किस्साहरू स्कुलमा चर्चित थिए ।
एक दिन डर्मिटरिको झ्याल फुटेको पाइयो । होस्टल–वार्डेनले सबैलाई लाइनमा खडा गरे । र, सबैलाई पाइपको छडीले पालैपालो पिट्न थाले । अक्षयले पाइप नै समाइदियो र हु¥याइदियो । उसले वार्डेनलाई भन्यो :
– मैले किन सजाय पाउने ? मैले नगरेको अपराधको सजाय मलाई किन ? डोन्ट ट्रिट मि लाइक अ क्रिमिनल । लर्न सम ह्युमन बिहेभियर ।
वार्डेनलाई समेत ‘लर्न समथिङ’ भन्ने अक्षयले कालान्तरमा मलाई भन्न थाल्यो : ‘ट्राई टु अनलर्न कुमार । लर्निङले ज्ञानको विश्वास जरुर बढाउँछ तर त्यो विश्वास आत्मविश्वासको चोर बाटो हुँदै अन्धविश्वासमा गई टुंगिने सम्भावना हुन्छ । फर एक्जाम्पल माक्र्सवाद ज्ञानको विश्वास हो । माक्र्सवादमाथि आत्मविश्वास राख्नुसम्म उचित हो । तर, माक्र्सवाद अन्धविश्वासमा परिणत हुनु चाहिँ ह्युमान ट्राजेडी हो । नेपाली सो–कल्ड माक्र्सवादीहरूको ट्राजेडी यही हो । माक्र्सवादमात्र होइन कुनै पनि तथाकथित वादको ट्राजेडी यही हो । चियर्स ।’
स्कुलमा आयोजित वादविवाद प्रतियोगिता होस्, या वक्तृत्वकला, उसलाई परास्त गर्ने कुनै माई–का–लाल पैदा भएन । कहिलेकाहीँ होमवर्क नगर्दा गुरुको पिटाइ जरुर खान्थ्यो तर पिटाइ खाँदाखाँदै पनि साथीहरूलाई हसाँउथ्यो : ‘होम’मा बस्या भए पो होमवर्क गर्नु, ‘होस्टल’ बसिएको छ कसरी ‘होम’ वर्क गर्नु ? फेरि लगत्तै गम्भीर कुराले क्षणभरमै साथीहरूको हाँसो अपहरण गर्दै भन्थ्यो :
– डोन्ट लाफ् एट अदर्स । लर्न टु लाफ एट योरसेल्फ !
एक पटकको कुरा हो । मित्रवत् गुरु रश्मीशेखर सुवेदीले लेखेको स्क्रिप्टमा ‘डोभ ग्रुप’का साथीहरूले भिडियो फिल्म बनाउने भए । साथीहरू स्क्रिप्ट लिई मकन आए । अनि मलाई फिल्मको निर्देशक र गायक बन्न आग्रह गरे । मैले हुन्छ भनेँ र एउटा सर्त राखेँ :
– यो फिल्मको हिरो चाहिँ अक्षय हुनेछ ।
‘डोभ ग्रुप’लाई ढुक्कुरे ग्याङ पनि भनिन्थ्यो । मेरो सर्त सुनेर ग्याङ्का सदस्यहरू ट्वाँ परिगए । ग्याङको डनले भन्यो– ‘यस्तो काँ हुन्छ कुमार ? पैसा हाल्ने हामी, हिरो बन्ने अक्षय ? ’ तर, मैले अक्षयको सिफारिस गरिरहेँ । अन्तत: छोटे डनले भन्यो, ‘ठीकै छ कुमार । तिमीले भनिहाल्यौ । अक्षयलाई गेस्ट अपियरेन्सको एउटा रोल दिउँला । हिरोको रोल चाहिँ दिन सकिन्न ।’
यो कुरा अक्षयलाई सुनाउँदा उसले भन्यो :
– तँ फिल्मको निर्देशक बन् कुमार । गायक पनि बन् । रिलको हिरो पनि के हिरो ! म त रियल लाइफको हिरो छँदै छु नि, यार !
यो हिरोले मलाई जीवनको पहिलो सिग्रेट चखायो । क्लास टेनको वनभोजमा । स्थान: वज्रवारहीको जंगल । रश्मीशेखर गुरुको ब्याग अक्षयले बोकेको थियो । ऊ, चेहेन्द्र, जेम्स बोन्ड र म वनविहारमा लाग्यौं । चौरमा आराम गर्दै–गर्दा अक्षयले गुरुको ब्याग खोतल्यो । झोलाभित्र किताबहरूसितै सिग्रेटको बट्टा रहेछ । सलाई रहेछ । सबैलाई एक–एक स्टिक सिग्रेट दिँदै अक्षयले भन्यो :
– कमन् गायज् ! जीवनको पहिलो स्मोकिङ इक्सपिरियन्सलाई यादगार बनाऔं । हामीलाई ज्ञान बाँड्ने गुरुकै सिग्रेटबाट स्मोकिङ जर्नीको शुभारम्भ गरौं, चियर्स ।
हामीले चियर्स चिच्यायौं ।
पहिलो सर्को के तानेका थियौं, भसक्कै खोक्न थाल्यौं । वन हाम्रो लहरे खोकीको ‘चियर्स’ले गुञ्जायमान भयो । त्यही लहरे खोकीको छेउटुप्पो पछ्याउँदै गुरु आफ्नो झोला खोज्दै हामीकहाँ आएका हुनन् । हामी एकार्कालाई हेर्दै मुसुमुसु हाँस्यौ । गुरुले झोला खोले । बट्टा निकाले र सिग्रेट स्टिक गने पनि सायद । भने, ‘तिमीहरूले मेरो सिग्रेट खाएको ? ’ अक्षयले भन्यो:
– सर, तपाईं लुकिलुकी सिग्रेट खानुहुन्छ । हामीले पनि तपाईंको सिग्रेट लुकिलुकी खाइदियौं । सब् काम लुकिलुकी भएको छ । हिसाबकिताब बराबर भएको छ सर ।
‘क्यानभासमा कोरिएको युगको अन्तिम चित्र’को हिरोले त्यसो भनेपछि त्यही नाटकका लेखक तैँ चुप मै चुप भइगए ।
प्रिय रेश्मीशेखर सर !
कहीँ कतै तपाईं यो क्याजुअल मेमोयर पढिरहनुभएको छ भने तपाईंलाई ती पुराना दिनहरू पुन: एकपटक सम्झन आग्रह गर्छु । तपाईंजस्तो मित्रवत् गुरु मैले आजसम्म कहीँ कतै भेटिनँ । अक्षय र मेरो ‘साझा नोटबुक’ पढ्ने एकमात्र अर्को मान्छे तपाईं हुनुहुन्थ्यो । तपाईंप्रति मेरो सिकवा गिला के मात्र रह्यो भने विश्व साहित्य त्यतिबिघ्न पढेको तपाईंले हामीलाई भने ‘अफिस म्यानेजमेन्ट’जस्तो झुर, नीरस एवम् उदेकलाग्दो विषय पढाउनुभयो, जसको होमवर्क गर्ने झ्याउलो मैले कहिल्यै गरिनँ ।
त्यसबेलाका मेरा लेख, कथा, कविताहरू पढी मलाई हौसला दिनुहुन्थ्यो । मलाई भन्नुहुन्थ्यो :
– कुमार, मेरो क्लासवर्क नगर । होमवर्क नगर । केही छैन । तर, लाइब्रेरीका सम्पूर्ण किताबहरू पढ ।
यसबेला म घरिघरि तपाईंलाई सम्झिरहेछु । यो क्याजुअल मेमोयरमा तपाईं– गेस्ट अपियरेन्स्–को रूपमा प्रकट हुनुभएको छ । सिनेमाको गेस्ट आर्टिस्टजस्तो ।
तपाईं मेरो जीवनको गेस्ट आर्टिस्ट नै त हुनुहुन्थ्यो ।
एक साँझ तपाईंले मलाई आफ्नो क्वार्टरमा बोलाउनुभएको थियो । स्कुल म्यागजिनमा छापिएको मेरो कथा– विन्दु–बारे लामो कुरा गर्दै भन्नुभएको थियो :
– खै कुमार ! यस्तो राइटिङ कस्ले पो बुझ्ला र ! तर, तिमी लेख्दै जाउ । तिमीलाई बुझ्ने मजस्तो पाठकहरू कुनै दिन आउनेछन् । कसैले बुझेनन् भनी कहिल्यै हरेस नखाऊ । लेख्दै जाऊ, बस्, लेख्दै जाऊ ।
त्यसैले त प्रिय सर, आज पर्यन्त लेख्दै छु, लेख्दै छु । बस् लेख्दै छु । निरन्तर अभ्यास गर्दैछु । आजसम्म फगत एक फिक्सन डिजाइनर छु । लेखेर नै कुनै दिन लेखक बन्नेछु ।
जहाँसम्म तपाईंको सिग्रेट चोरेर लुकिलुकी खाने मलगायत मेरा साथीहरूको कुरा छ, तीमध्ये जेम्स बोन्ड आजकल नेपालगन्जतिर छ । उसले सिग्रेट पिउन त्यागिसकेको छ । अहिले कुनै अन्तर्राष्ट्रिय संस्थाको बिग बोस भएको छ । चेहेन्द्र आफ्नै मल्टिमिलियन कम्पनीको हाकिम भएको छ । आफ्नो मर्सिडिज बेन्जमा मलाई कहिलेकाहीँ घुमाउन लैजान्छ । जहाँसम्म अक्षयको कुरा छ, त्यो विश्व घुमक्कड यायावरको दास्ता–ए–बयाँ म कसो गरी गरुँ ! त्यो त बतासको झोक्काजस्तो छ जसलाई मुठ्ठीमा राख्न अलमोस्ट असम्भव छ ।
प्रिय गुरु !
अब अर्को च्याप्टर सुरु गरुँ ?
।। यो कथा हो तृष्णा मेरो ।।
स्कुलका कार्यक्रमहरूमा गीत गाउँथे । म्युजिक टिचरले म्युजिकल इन्स्ट्रुमेन्टको प्रयोग गर्न खोज्दा ‘नो म्युजिकल बाजा, प्लिज’ भन्थेँ र माइकसामु डल्लै गाउँथे : बिते हुए लम्हो की कसक साथ तो होगी÷ख्वाबो मे ही हो चाहे मुलाकात तो होगी...।
मेरो गायकीमा साथीभाइहरू फिदा हुन्थे । भन्थे :
– आँच् ब्रो ! दामी दिइस् नि !
त्यसैले ढुक्कुरे ग्याङका ब्रोहरूले फिल्मको निर्देशकलगायत गायक पनि भइदिन मलाई आग्रह गरेका थिए । फिल्मको लागि गीत पनि लेखेँ र गाएँ । त्यसको चर्चा– रिलिज नभएको एउटा फिल्म– नामक स्मृतिलेखमा गरिएको छ, जसलाई मेरा पाठकहरूले ‘अक्षरगन्ज’मा अवश्य पढिसकेका हुनन् । त्यसको डिटेलिङतिर नजाँदा नै बेस ! एउटा कुरा चाहिँ के हो भने त्यो गीत रेकर्ड भएको थियो कालिकास्थानको ‘सिम्फोनी स्टुडियो’मा । पछिल्लो समय बजारमा आएको कलाकार मदनकृष्ण श्रेष्ठको किताब पढ्दा थाहा भयो – मेरो पहिलो गीत रेकर्ड भएको स्टुडियोका मालिक रहेछन् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।
अक्षयको चाहना÷सदिच्छा थियो– म एक असल गायक बनुँ । चारैतिर मेरो गायनको प्रशंसा होस् । म फेमस सिंगर बनुँ । उसको यस्तो सदाशयता थियो । गायनमै मनोयोगका साथ तल्लीन हुनैका लागि म कुपन्डोलको एउटा शास्त्रीय संगीत पाठशालामा भर्ना भएँ । रियाज गर्न थालेँ । एक दिन अक्षयले भन्यो :
– हेर् कुमार ! गायक बन्न भोइस टेस्टमा पास हुनु पर्दोरहेछ । त्यसको लागि म्युजिक नेपालमा तेरो नाम लेखाएको छु । त्यसपछि तलाईं गायक बन्नबाट कसैले रोक्न सक्दैन ।
तोकिएको दिन म्युजिक नेपालको स्टुडियो पुगेँ । साथमा अक्षय थियो । भ्वाइस टेस्टको लागि मस्तसित आफ्नै अन्दाजमा गाएँ : यो कथा हो तृष्णा मेरो । यो गीत रोज्नुको पछाडि भर्खरै विश्वज्योति हलमा हेरिएको फिल्म ‘तृष्णा’को करामत थियो । किन–किन यही गीत रुद्रघण्टीमा झुन्डिएको थियो । मलाई लाग्यो पनि होला सायद– कुमार सानुले गाएको गीत कुमार नगरकोटीले गाउँदा गजबै होला !
आजकल मलाई लाग्छ, गायक बन्ने मेरो कथा एक तृष्णा थियो । तृष्णा–गीत रेकर्ड गरेको दुईचार दिनमै अक्षय उच्च अध्ययनको लागि दिल्ली उड्यो । मैले शास्त्रीय गायनको कोर्स बीचैमा छोडिदिएँ । भ्वाइस टेस्टको रिजल्ट बुझ्न म्युजिक नेपाल पनि गइनँ । घाट, जोगी र साधुहरूको संगत भएपछि सिंगर बन्ने मृगतृष्णालाई मनको चिहानमा सदाका निम्ति गाडिदिएँ । विश्वसाहित्य र दर्शनको स्वअध्ययनमा ज्यान दिएँ ।
अक्षयसित त्यसपछि भेट भएन । दिल्ली युनिभर्सिटीको जाकिर हुसैन कलेजमा उसले अनेक किस्साहरू रच्यो सायद । दिल्लीबाट ऊ अझ उच्च अध्ययनको लागि फ्रान्स उड्यो । अध्ययनकै सिलसिलामा फ्रान्सबाट बेल्जियम उड्यो । ऊ चराझैं अनन्त आकाशमा उडिरह्यो । विश्वरमण गरिरह्यो ।
मेरो जीवनको एयरपोर्टबाट ऊ त्यसरी उडेर गएको थियो । २० वर्षसम्म मेरो एयरपोर्ट सुनसान भयो । टर्मिनल भवन जीर्ण भयो । अराइभल र डिपार्चर लाउन्ज निर्जन भए । म त्यही एयरपोर्टमा उसलाई कुरी बसें । र, २० वर्षपश्चात् एउटा प्लेन ल्यान्ड ग¥यो । मलाई देख्नासाथ उसले भन्यो :
– गायक बन्लास् भनेको तँ मूला त खतरनाक लेखक पो भएछस् । नट ब्याड, माई फ्रेन्ड । बीस वर्षपछि तेरो बर्थ डे सेलिब्रेट गर्न आएको छु । भेन्यु काँ छ भन् !
‘शिल्पी थिएटर’, मैले भनेँ, ‘अक्षरगन्जको विमोचनमा तैंले बोल्नुपर्छ । यसपटकको बर्थ डे तैंले मेरा अक्षरहरूसितै सेलिब्रेट गर्नुपर्छ ।’ उसले भन्यो :
– अक्षरहरूलाई त मदिराको साथ चाहिन्छ, कुमार । मदिरा र अक्षरहरूको लभ अफेयर्स परापूर्वकालदेखिको हो । तेरो किताब विमोचनमा मैले मदिरा खाँदा हुन्छ ?
‘चियर्स अक्षय’, मैले भनेँ, ‘तैले नखाँदा अरू कसले पो खाँदा हुन्छ !’
।। चियर्स, चियर्स एन्ड लट्स अफ् चियर्स ।।
अक्षय, तँ एकपटक लन्डनबाट अनेक दश चहार्दै २१ दिनको रोड–ट्रिपमा काठमान्डु आइस् । पर्यटन बोर्डमा तैंले पत्रकार सम्मेलन गरिस् । अफ्रिकी मुलुक केन्याको देहाती गाउँमा सडक–बत्ती निर्माणको निम्ति तैंले प्रशस्त धन दान गरेको घोषणा गरिस् । पत्रकारहरूले तँलाई सोधे, ‘स्वदेशमा दान नगरी त्यो विदेशी अनकन्टार गाउँको निम्ति किन दान गरेको ? ’ तैंले भनिस् :
– दान स्वदेशी या विदेशी हुँदैन । दान युनिभर्ससल हुन्छ ।
तेरो बच्चाको बानी र वाणी अझै उस्तै छ । हाम्रो साझा नोटबुकमा तँ लेख्थिस् नि : कथा स्वदेशी या विदेशी हुँदैन । कथा युनिभर्सल हुन्छ । चियर्स ।
‘मिस्टिका’ उपन्यास लेख्ने ताका तैंले एक दिन भनिस् :
– तेरो ब्याङ्क ब्यालेन्स कति छ कुमार ?
– शून्य छ । ब्याङ्कसित मेरो कुनै सम्बन्ध छैन । – मैले भनेँ ।
मूला फुलटाइम राइटरको ब्याङ्क ब्यालेन्स शून्य ? तँ चकित्–ओ–चकित परिस् । त्यही क्षण तैंले बाइक स्टार्ट गरिस् र मलाई दरबारमार्गस्थित एउटा ब्याङ्कमा लिएर गइस् । नेरु एक लाख डिपोजिट गर्दै मेरो नामको ब्याङ्क अकाउन्ट खोलिस् । रियल्ली अक्षय, यु आर इन्क्रेडिबल्ली अनविचारेबल ! त्यही अपराह्न थप ५० हजारको गड्डी मेरो हातमा थमाइदिँदै तैंले भनिस् :
– सहरको कोलाहलदेखि टाढा कतै जा र ‘मिस्टिका’ लेख् । लेख्न मन लागेको कुरा मस्तसित दिल खोलेर लेख् । व्यावहारिक या आर्थिक चिन्तालाई गोली ठोक् । त्यसको जिम्मा मेरो भो । चियर्स ।
अर्को दिन म नगरकोटको– द फोर्ट रिसोर्ट – गएँ र उपन्यासको फस्र्ट ड्राफ्ट लेख्न बसेँ ।
एक दिन तेरो घरको बार्दलीमा बसी एकाबिहानै कफी पिउँदै रुमीका कविताहरूबारे चर्चा गर्दै थियौं । प्रसंगवश रुमी जन्मेको र मरेको टाइमलाइनबारे हामीबीच मतमतान्तर भयो । मैले रुमी तेह्रौं शताब्दीका हुन् भनेँ र तैेंले बाह्रौं शताब्दीको भनिस् । बच्चैदेखिको बानीअनुसार तैले बाजी ठोक्छस् भनिस् । स्वभावत: ठोक्छु भनेँ ।
तँलाई याद होला : स्कुलमा हामी ब्रेकफास्टको बाजी ठोक्थ्यौं । मासुको बाजी ठोक्थ्यौं । बाजी हार्दा तैंले मेरो भागको धेरै बोइल्ड अन्डाहरू खाएको छस् । डिनरको मासु खाइदिएको छस् । बाजीमा प्राय: तँ नै जितिरहन्थिस् ।
रुमीको सन्दर्भमा भने त्यो बिहान तँ फेल खाइस् । बाजी हारिस् । सर्त थियो हार्नेले आफूसित भएको सम्पूर्ण नगद विजेतालाई बुझाउनुपर्ने । मसित यस्तै सात÷आठ सय थियो । आफ्नो हार स्वीकार्दै तैंले रेफ्रिजिरेटर खोलिस् र डिप–फ्रिजबाट प्लास्टिकमा बेरिएको नगद निकालिस् । मलाई दिइस् । त्यहाँ हजारका २७ वटा नयाँ नोटहरू थिए ।
२७ वटा नोटको कुरा त यस्तै उस्तै हो । तर, रेफ्रिजिरेटरको डिप–फ्रिजमा पैसा राख्ने मान्छे मैले कहिल्यै देखेको थिइनँ । क्वाइट इन्ट्रेस्टिङ । तैंले भनिस्, ‘कुमार, पैसा त्यस्तो आगो हो जसले मनुष्यलाई पोल्छ । भए पनि पोल्छ, नभए पनि पोल्छ । त्यसैले यसलाई चिस्याउनु पर्छ । यसलाई रेफ्रिजिरेटरमा राखेर ‘कुल’ पार्नुपर्छ । ताकि पैसाले तँलाई नपोलोस् । चियर्स ।’
– यो त झेन स्टाइल भयो अक्षय । – मैले बताउँदा तैंले भनिस् :
– आई एम द झेन । एन अनविचारेवल झेन । चियर्स ।
एकदिन ठमेल–सर्फिङमा निस्किँदा एउटा पसलको एन्टिक डिजाइनको मालाले मलाई भुतुक्कै पा¥यो । स्टोनको अद्भुत मालाको मूल्य पसलेले टुवेल्भ थाउजेन्ड रुपिज् भन्यो । टुवेल्भ थाउजेन्ड ? यो त अति भयो । मूल्य गतिलो लागेन । पसेललाई भनेँ :
– टुवेल्भ डजन्ट साउन्ड गुड । प्लिज मेक इट थर्टिन् ।
पसले ट्वाँ प¥यो । अपत्यारिलो नजरले मलाई तलदेखि माथिसम्म हे¥यो । बट् आई वज गड ड्याम सिरियस् । मैले तँलाई फोन गरेँ– ‘मलाई तु थर्टिन थाउजेन्ड पठाइदे ।’ क्षणभरमै तैंले पठाएको मनुवाले मलाई नोटको बन्डल हस्ते ग¥यो र गइगयो । पसलेको हातमा बन्डल थमाइदिएँ र आकर्षक माला लिएँ । पैसा गन्दा पसले झस्क्यो । त्यसो त टुवेल्भ थाउजेन्डको माललाई थर्टिन थाउजेन्डमा खरिद गर्दा बिचरो त्यसै पनि झस्केको थियो ।
दोस्रोपटक पसले झस्कनुको कारण के रै’छ भन्दा उसको हातमा थर्टी थाउजेन्ड थियो । ऊ इमानदार रहेछ । १७ हजार मलाई फर्काइदियो । तँलाई फोन गरी सोध्दा तैंले भनिस् :
– थर्टिन पो भन्याथिस् । मैले थर्टी सुनें । तँ फाइदामै छस् । मोज गर् । चियर्स ।
त्यो क्रिस्टल–मालालाई मैले किताबको झोलामा राखें र ट्याक्सी चढी बालकुमारी आएँ । घर पुग्दा एक्लै खाली हात पुगेछु । किताबको झोला र माला ट्याक्सीमा छुटेछ । सावित्रीलाई यो कुरा भनिनँ । भनेको भए ऊ पक्कै पनि भन्दी हो– मेरो लोग्नेलाई हिसाबकिताब गर्न आउँदैन ।
चियर्स ।
।। काठमान्डु इज् अ जंकयार्ड ।।
समयको लामो अन्तरालपश्चात् एक दिन एकाबिहानै अक्षयको फोन आयो । फोनमा उसले भन्यो, ‘तँ बस्ने सहर एउटा विशाल कबाडखाना हो बुझिस्, कुमार । काठमान्डु इज् अ जंकयार्ड । पनौतीमा ५० रोपनी धर्ती किनेको छु । खेती किसानी गर्दैछु । घरहरू बनाउँदैछु । तेरो लागि त एउटा प्राइभेट घाट पनि बनाउँदैछु ।’
जग्गा नभनी ‘धर्ती’ किनेको छु भन्छ । मेरो लागि प्राइभेट घाट बनाउँछु भन्छ । दिस म्यान इज् टोटल्ली अनविचारेबल ।
लन्डनमा यो मान्छेले धेरै बेलायतीहरूको घर बनाएको थियो । मान्छे मात्र होइन, ईश्वर बस्ने घर (गिर्जा...)हरूको रिनोभेसन गरेको थियो । मसित भन्थ्यो, ‘मनुष्य र ईश्वरहरूको घर बनाउँदा–बनाउँदा आफ्नै घर बनाउन झन्डै बिर्सें । तसर्थ एक दिन लन्डनको ह्यारो–अन–द–हिल गएँ र आफ्नो लागि उन्नीस सय पच्चीसमा निर्माण भएको भव्य इंग्लिस कटेज किन्दिएँ ।’
कहिलेकाहीँ मलाई लाग्छ, यो मान्छे इन्टलेक्च्युअल भन्दा बढी इन्ट्युसनल छ । इन्ट्युसनलभन्दा बढी इन्स्टिङचुअल छ । युरोपका बिजनेस टाइकुनहरूसित पनि बसेकै छ । बनारसका तान्त्रिकहरूसित पनि रमाएकै छ । महाभारतलगायत वैदिक टेक्स्टहरू खर्लप्प निलेको छ र कार्ल माक्र्सको ‘दास क्यापिटल’ तथा थोमस पिकेट्टीको – क्यापिटल इन द टुवेन्टी फस्र्ट सेन्चुरी– पनि पढेकै छ । संस्कृतका श्लोकहरू पनि गुनगुनाएकै छ, शेक्सपियरका सोनेटहरू वाचन गरेकै छ । दिस म्यान इज रियल्ली अनविचारेबल ।
आफूले किनेको ‘धर्ती’ देखाउन उसले मलाई एक दिन पनौती लिएर गयो । महाभारत पर्वत शृंखला खोंचको पूरै डाँडा किनेको रहेछ । चारैतिर हरियाली नै हरियाली । गाउँले तथा बटुवाहरूको लागि कुवा खनाएको रहेछ । त्यही कुवाको चिसो पानी खाएँ । भन्छ : ‘सब् तोरीहरू भानुभक्त भई टोपले । घाँसीलाई बिर्से ।’ त्यसपछि उसले कुवाको भित्तामा कुदाएको अक्षरहरू देखाउँदै मलाई पढ्न भन्यो । मैले पढेंँ – भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम पछि केही रहोस् भनी कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन पनि किन आज यस्तो !’
यो मान्छेसित सकिँदैन बाबै !
कुवामात्र कहाँ हो र ! त्यसैको बगलमा भव्य पाटी पनि बनाएको रहेछ । बटुवाहरूको निम्ति । बीस÷पच्चीसजना एकैपटक बास बस्न मिल्ने । चिटिक्क परेको । भावविह्वल त म त्यसबेला भइगएँ जब पाटीमा उसले कुँदाएको क्यालिग्राफिक डिजाइनमा महाकविको– कुन मन्दिरमा जान्छौ यात्री– का पंक्तिहरू देखेँ : हाडहरूको सुन्दर खम्बा, मांसपिण्डको दिवार÷मस्तिष्कको सुनको छाना, इन्द्रियहरूको द्वार÷नशा नदीका तरल तरंग, मन्दिर आफू अपार÷कुन मन्दिरमा जान्छौ यात्री !’
आफ्नो छोराको नाम – मोक्ष – राखेको मेरो यो साथी मलाई कहिलेकाहीँ आफ्नो कथा ‘मोक्षान्त: काठमान्डु फिभर’को फोटोग्राफर पात्रजस्तो लाग्छ जो निर्वाण, मोक्षको खोजमा यो लफडादायी जगतमा भौंतारिरहेको छ ।
एपिलग
प्रिय नताशा !
उहिल्यै उहिल्यै लमजुङको दुराडाँडामा एउटा ब्राम्हण बस्थे । बनारस–काशीबाट आयुर्वेदमा शास्त्री उपाधि लिएका यिनी प्रकाण्ड विद्वान त थिए नै र थिए एक कविराज । २००७ सालअगावै यी ब्राह्मणले सामाजिक आन्दोलन गरे । विद्रोह गरे । काम कुरो एकातिर कुम्लो बोकी कुन्नि कतातिर भन्याझैं फूल, नवैद्य, अक्षता लिई मन्दिरतिर नगई यी ब्राह्मण त बरु हलो बोकी खेततिर पो लागे । खेत जोते ।
ब्राह्मण भइकन खेत जोत्ने ? यस्तो अनर्थ गर्ने ? राणा प्रशासनले यी विद्रोही ब्राह्मणलाई पाता कसेर जेल चलान गरे । इतिहासमा यो विद्रोह – हलो क्रान्तिका नाममा दर्ज छ । अचम्म त के भने ती ब्राह्मणलाई सगोत्रीहरूले नै दलित करार गरे । उनी अछूत भए । कुरा यतिमात्र होइन । गायत्री–मन्त्र केवल ब्राह्मणको पेवा होइन भनी सबैले पढ्न, वाचन गर्न पाऊन् भनी ती ब्राह्मणले गायत्री–मन्त्रलाई नै ठूलाठूला अक्षरमा आफ्नो घरको दलिनमा कुँदे ।
ती विद्रोही ब्राह्मणको नाम थियो, तोयनाथ अधिकारी । जसले समाजका दलित, अछूतहरूलाई आफ्नो आत्मीय ठाने । समाजको ढोङ, छुवाछूत, कुरीतिविरुद्ध जीवनभर लडे । र, अन्तत: सन्न्यासग्रहण गर्दै गृहत्याग गरे । यायावर बनी बाँकी जीवन देशदेशान्तर घुमे । अनि एक दिन गंगोत्रीमा तपस्या गर्दागर्दै आत्मलीन भए ।
प्रिय नताशा !
कहिलेकाहीँ मलाई लाग्छ तिम्रो कथा– अर्को कप कफी– लेख्ने अक्षयको दिमागमा त्यही विद्रोही ब्राह्मणका अनविचारेबल विचारहरू प्रिन्टेड भएका छन् । किनभने ती ब्राह्मण उसको बाजे थिए । मलाई त के पनि लाग्छ भने हलो क्रान्तिका बेला ती ब्राह्मणले जुन सतबीज धर्तीमा छरेका थिए त्यही बीज अंकुरिदै, आकारिँदै र झ्यांगिँदै अन्तत: अक्षय बनेको हो ।
प्रिय नताशा !
हामी स्कुल छँदा हाम्रो साझा नोटबुकमा अक्षयले लेखेको– अर्र्को कप कफी – कथाकी तिमी काल्पनिक पात्र मात्र हौ । र, यो क्याजुअल मेमोयरको अन्त्य म काल्पनिक पात्रलाई सम्बोधन गर्दै किन गरिरहेको छु ? सायद डा. गोविन्द केसीजस्तो ज्युँदो पात्र मैले भेटिनँ जसलाई जीवन्त सम्बोधन गर्न सकियोस् । तिम्रो अक्षय आजकल तिमीजस्तो काल्पनिक पात्र होइन, बरु डा.गोविन्द केसीजस्ता ज्युँदा पात्रहरूको खोजमा निस्केको छ । यो मृत्त सहरमा ।
कथम् कतै भेट्यौ भने उसलाई भनिदिनु :
– ओई अनविचारेबल अक्षय ! तिम्रो बचपनको साथी पाटनको सर्रियल क्याफेमा तिमीलाई कुरिरा’छ । उसले मगाएको ‘अर्को कप कफी’ पनि अब त सेलाइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.