मेलम्चीले उठायो नारायणगोपालको सालिक

मेलम्चीले उठायो नारायणगोपालको सालिक

काठमाडौं : नारायणगोपाल चोकबाट केही समयपहिले रातारात नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो। वरिपरिका सबै चकित परे। करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। सालिक हटेपछि नारायणगोपालको नाम लेखिएको पिल्लर उल्टो पारेर सडकछेउमा मिल्काएको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भयो।

बुधबार र बिहीबार सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि संगीतकर्मीबीच हलचल मच्चियो। शुक्रबार संगीतकर्मीले छलफल पनि गरे। प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले सरकारी स्रोतसँग कुराकानी गरिरहेको बताए। भने, ‘बिहीबार सामाजिक सञ्जालमा यस्तो फोटो देखेपछि हाम्रो ध्यानाकर्षण भयो, यसको चुरो कुरो खोजिरहेका छौं।'

राजा, महाराजाको सालिक बढी ठडिने देशमा कलाकारको सालिक कहीँ कतैमात्र देख्न पाइन्छ। त्यही पनि बिनासूचना यसरी हट्नुले संगीतकर्मी वा सर्वसाधारणको मन दुख्नु स्वाभाविक हो। नारायणगोपालको सालिकबिनाको नारायणगोपाल चोक खल्लो देखिएको छ। सामाजिक सञ्जालको खैलाबैलापछि शुक्रबार उनको नाम लेखिएको पिल्लर छोपेर राखिएको छ।

Image may contain: 1 person, outdoor

संस्कृति मन्त्रालयअन्तर्गत संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी यसबारे आफू अनभिज्ञ रहेको बताउँछन्। नारायणगोपाल संगीत कोषका सदस्यसचिव राजकुमार श्रेष्ठले सालिक उठाएको दिन बिहानै जानकारी पाए। त्यही दिनदेखि उनले यस विषयमा जानकारी राखिरहेका छन्। मेलम्ची खानेपानी योजनाअन्तर्गत पाइप बिछ्याउने क्रममा खाल्डो खन्दा नारायणगोपालको सालिक राखिएको पिल्लरको जग भास्सियो। जग भास्सिएपछि ढल्किएको सालिक उठाएर सुरक्षित स्थानमा राखिएको छ।

खानेपानी योजनाअन्तर्गत काम गरिरहेका ठेकेदारले कोषसँग पुनः सालिक प्रतिस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। कुनै नियोजित शैलीबाट सालिक हटाइएको होइन। खानेपानी योजना सीधै सार्वजनिक सरोकारको विषय हो। राजकुमारले राम्रो कामको लागि केही समय सालिक त्यहाँबाट निकाल्दा आक्रोशित भइहाल्नु नपर्ने बताए। उनले भने, ‘कसैले नियतवश सालिक हटाएको होइन, खानेपानी योजनाको काम सकिएपछि पुनः सालिक राखिन्छ।' मंसिर १९ गते नारायणगोपाल स्मृति दिवस यही चोकमा भव्य रूपले मनाइन्छ। कोषले त्यतिबेलासम्म सालिक पुनस्र्थापना गर्न ताकेता गरिरहेको जानकारी उनले दिए।

चाडबाडलगत्तै चुनाव आएकाले कामको गति भने तीव्र हुन सकेको छैन। भासिएको स्थानमा प्रहरीको पहलमा पुरेर सडक सञ्चालन गरिएको थियो। सडकका दुई छेउका खाल्डो अझै बारेर राखिएको छ। यो गतिले मंसिर १९ मै सालिक पुनस्र्थापित होला भन्न सकिँदैन। तर पनि बन्नेमा आफू आशावादी रहेको श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.