मेरो प्यारो बुवा
अमितलाई यो संयोग निकै रमाइलो लाग्यो। ऊ चारुको बारे सोच्दै बसेको थियो, त्यत्ति नै बेला त्यो बदमास केटीको चिठी आइपुग्यो। हुन त त्यत्ति ठूलो संयोग पनि होइन। ऊ सधैं चारुकै बारेमा त सोच्दै बस्थ्यो— एक मिनेटदेखि अर्को मिनेट। र, ती मिनेटका बीचमा भएको समयमा पनि।
आज त अझ विशेष दिन थियो। माघ ७ गते, उसकी प्यारी छोरी जन्मिएकी दिन।
चिठी अझै उसको अगाडिको टेबलमै थियो।
बुवा,
म हजुरसँग विशेष उपहार माग्दैछु। मलाई यो घरबाट टाढा लैजानुस्। मैले अब एउटा टल्किने सारी लाउनुपर्यो भने, एक पत्र गुलाबी लिपस्टिक पोत्नुपर्यो भने, एक दर्जन गहनागुरियाबाट लगाउने माला छान्नु पर्यो भने, म बहुलाउँछु।
मैले भनेकी थिएँ, ‘बुवा, म अझै पढ्छु’, तर हजुरले मान्नुभएन। श्रीमानको घरमा गएर मनलाग्दी पढौली भनेर सम्झाउनुभो। उनीहरू मलाई घाममा एकैछिन पनि निस्किन दिँदैनन्, मेरो छाला डढ्छ रे। मैले किताब समातेको देख्नेबित्तिकै मुवाले आँखीभौ खुम्च्याउनुहुन्छ, मेरो आँखाको तल कालो घेरा बस्छ रे। हिजो मुवाले भन्नुभयो, घरमै मलाई पकाउने तालिम दिने मान्छे बोलाउने रे।
म निसास्सिसकेँ बुवा, म सास फेर्न सक्दिनँ। मलाई यसरी नछोड्नुस्, लिन आउनुस् मलाई।
चिठी त छोटै थियो, अमितलाई पढ्न लामो समय लाग्यो। हरेक शब्द पछि रोकिँदै, अड्कल्दै, अघि बढ्दै गर्नु पथ्र्यो। अन्त्यमा ऊ आफ्नो खाटमा बसेर उत्तर लेख्न थाल्यो।
मेरी सानु,
तिमीलाई सधैं मसँगै, मेरो मुटुमै टाँसेर राख्ने मलाई पनि त रहर छ। तर तिमी अब मेरी मात्र रहिनौ। तिमीले मलाई, ‘हजुरको इच्छा त्यही भए म बिहे गर्छु, बुवा’ भनेकै दिनदेखि मैले तिमीलाई बिस्तारै छोड्दै जानुपर्यो। तिमीलाई मैले यति कोमल स्नेहले हुर्काएको छु, अरू कसैको माया तिमीलाई कम लाग्ने नै भो। तिम्रो लागि मैले खोजिदिएको जीवनसाथीसँग तिमी चित्त बुझाएर बसेकी छौ भनेर ढुक्क थिएँ। तिम्रो चिठीले पो भन्यो, तिमीलाई अलि गाह्रो भएको रहेछ।
तर छोरी, हरेक नयाँ दुलहीलाई यस्तै नै हुने गर्छ। तिमी अर्को घरमा गएजस्तै तिम्री आमा पनि यो घरमा आएकी होइनन् र ? सुरुका दुई तीन वर्ष उनलाई कस्तो पीर परेको थियो, म निदाएजस्तो लाग्ने बित्तिकै सिरानीमा घोप्टो परेर घुँक्क घुँक्क रुन्थिन्। मलाई फकाउन आउन्नथ्यो, त्यसैले चुपै लागिबस्थेँ। तर, भोलिपल्ट के के गरेर उनको ओठमा हाँसो ल्याउन खोज्थेँ। कतिचोटी त उनले वास्तै गर्दिनन्, पश्चिमतिर आफ्नो आमाको घर भएपट्टि हेरेर टोलाइरहन्थिन्। दालमा प्याज देखिन् भने भागै बस्दिनथिइन्, उनलाई खाने बानी थिएन रे। हाम्रो घरमा पुरानो अचार खाने चलन थिएन, उनी पल्लो घरका अचारका सिसीहरू हेर्दै थुक निल्थिन्। उनलाई कुर्ता सुरुवाल लाउन नपाउँदा साह्रै रिस उठ्थ्यो क्यारे, बिहानै उठेर माड लाएको धोती घोटेर सम्याउन खोज्थिन्। कति वर्ष उनले यो आधा–आधा जिन्दगी जिइन्।
तर एक दिन, उनको दाइ उनलाई लिन आउँदा, उनी पहिलाझैं दौडेर गइनन्। दाइलाई बसाइन्, कागती पानी पिलाइन्, चम्किँदै गफ गरिन्। तर जाने बेला भएपछि उनी दाइ सँगसँगै लागिनन्। ‘तिम्रो सामान खोइ ? ’ दाइले सोधे। ‘ए, उहाँलाई छोडेर कसरी जानु !’ उनले मतिर हेर्दै मुसुक्क हाँसिन्। त्यति बेलादेखि, उनले मलाई छोडेर गएसम्म यो घर नै उनको घर भयो।
तिम्रो पनि त्यस्तो दिन आउँछ। धैर्य गर, शान्त होऊ, त्यो दिनलाई कुर।
तिमीलाई मैले आत्मविश्वासी हुन सिकाएको छु तर ठूलालाई सम्मान दिन पनि अह्राएको छु। तिम्रो परिवार अब त्यही हो, उनीहरूले तिमीलाई आफ्नै मानेझैं तिमी पनि गर्न सिक। तिमीलाई उनीहरूले एउटा अमूल्य रत्नजस्तै हेरचाह गर्दैछन्, त्यो बुझ।
मेरी पुतलीजस्ती छोरीलाई तेइसौं जन्मदिनको धेरै शुभकामना, म तिमीलाई यस्तो उपहार पठाइदिन्छु, तिमी दंगै पर्नेछ्यौ।
ज्वाइँ साहेब र सम्धिनीज्यूलाई सम्झना।
अलि दिन अमितले पत्र कुरिबस्यो। सातौं दिन पनि हुलाकीले केही खबर नल्याएपछि छोरीको न्यास्रो मेटिन थालेको मान्यो। तर, आठौं दिनमा उसको सिरानीमुनि एउटा कागजले ठाउँ पाइसकेको थियो।
बुवा,
मलाई लानुस्, मलाई लानुस् ! म यहाँ एक क्षण पनि बस्दिनँ। हजुर कसरी चुप लागेर बस्न सक्नुहुन्छ, आफ्नो एउटै सन्तानलाई यस्तो रुखो जवाफ दिन सक्नुहुन्छ ? मेरो बिहे गलत मान्छेसँग हुँदैमा मैले जिन्दगीभर सढ्नुपर्छ ?
उसले मलाई हिजो के भन्यो, थाहा छ ? ऊ ढिलो आयो, अनि मैले खाना पस्किन लाग्दा भन्यो, ‘फालिदे, मलाई चाहिएन तेरो खाना। खाना पकाउने, घर व्यवहार गर्ने, राम्री हुने ढंग हुनपर्यो नि तेरो ! जस्तो बाउ उस्तै छोरी। गाडी र घर त दिन्छ होला भनेको, लेनदेन बारे चुइँक्क नबोल्ने लोभी परेछ।’
त्यतिखेरै मैले निर्णय गरेँ, बुवा, म अब यो घरमा बस्दिनँ। भित्र पसेर म लुगा मिलाउँदै थिएँ, उसले मेरो हातमा हिर्कायो। त्यसपछि गालामा पनि दुईचोटि हिर्कायो। अझैसम्म पोलिराखेको छ।
उसले मेरो मोबाइल लगिसक्यो, हजुरले मलाई पोहोर दिनुभएको। मलाई चाहिँदैन रे, दिनभरि धुम्धुम्ती घरमा बस्ने मान्छेलाई त्यसको काम छैन रे। यो चिठी पनि लुकेर पठाउनुपर्छ। हुलाकी ढोकाछेउ आउन लागेको थाहा पाउने बित्तिकै म तातो सिमेन्टीको भुइँमा कुद्दै कुद्दै चिठी लिन आउँछु, त्यो राक्षसनीले देख्नुअगाडि !
म रुँदैरुँदै लेखिराकी छु, मलाई आएर लानुस्। मलाई पढ्नु छ, नाच्नु र हाँस्नु छ। यो छोटो जिन्दगी कुहाउनु छैन।
मसँग अरू शब्द छैन। जसरी मसँग पैसा पनि छैन, हरक्षण त्यो बूढीले मलाई हेरिराख्छे।
मलाई निराश नबनाउनुस्।
अमितले चश्मा पछाडिबाट आँखाको डिल पुछ्यो। उसलाई पालैपालो रिस उठ्यो र दुःख लाग्यो। उसको चारुलाई पिट्ने कहाँसम्मको रैछ त्यो केटा ! तर फेरि चारु पनि त कम्ती घमण्डी छैन, उसैले केही भनेर झगडा सुरु गरी होली। आफ्नो गल्ती त कहाँ लेख्छे र। अनि फेरि उसलाई लिएर आएर पनि कहाँ राख्नु, यो साँघुरो कोठामा ऊ आफैंलाई बस्न त सकस छ। ढोकामा उभिरहेको गार्डले पनि चारुलाई भित्र आउन दिँदैन होला। तर गार्ड दयालु पनि छ, उसका सबै चिठीमा हुलाक टिकट हालेर पठाइदिन्छ।
छोरी,
मेरो मन गहु्रँगो भएको छ, तर मैले तिमीलाई केही कुरा बुझाउनै पर्छ।
अब तिमीमाथि मेरो मात्रै हक रहेन। तिम्रा ती प्रमाणपत्र, तिमीले मन भुलाउन गर्ने चित्रकला र नाच... तिनको अब केही महत्व छ र ? यस्तो वैभवशाली इतिहास भएको सम्पन्न परिवारमा जोडिँदा पनि तिमी कस्ती अधिर ? मैले तिमीलाई यस्तो सुखमा राख्नै सक्दिनथेँ। ज्वाइँ साहेबको कुरालाई मनमा नलिऊँ। कुन श्रीमान्लाई आफ्नी श्रीमतीले मीठो पकाओस् जस्तो लाग्दैन ? गल्ती मेरै हो, मैले पुल्पुल्याएर तिमीलाई घरको काम लगाइनँ।
मैले तिम्रो पीडा बुझ्छु, तिम्रो दुःख देख्न सक्दिनँ। तर सानु, मसँग विकल्प नै छैन। म तिमीलाई यहाँ बोलाउन सक्दिनँ। मान्छेले के भन्लान् ? तिमीलाई अनेक लाञ्छना लगाउँछन्, बिग्रेकी आइमाई भन्छन्, घर गरेर खान नसक्नेको दर्जा दिन्छन्। त्यो वाहियात सुन्नुभन्दा त त्यो घरमा राज गरेर बस न। सासूसँग कुरा गर, नयाँनयाँ परिकार पकाऊ, श्रीमान्लाई खुसी राख। अनि तिमीसँग भएका ती सबै सुन्दर झिलमिल लुगा लाएर बस्नु नि !
यसरी बेकारमा गुनासो नगर। अरूलाई हेर, कत्ति गरिब हुन्छन,् तर सुखी हुन्छन्। तिमीचाहिँ सबथोक भएर पनि स सानो कुरामा भड्किीराख्छ्यौ।
मेरो हीरा, सदा चम्किरहनु।
अर्कोपालि मलाई खुसी केटीको पत्र आउनुपर्छ है।
आफू एक्लैले हुर्काएको छोरीको बारे सोच्दै बरन्डा वरपर घुम्दा खेरि अमितले अर्को चिठी फेला पा¥यो। त्यो बदमास केटी बिहे भएपछि त ठेगान लाग्ली भनेको, उल्टै नबुझिने अक्षरमा चिठी पो लेखेर पठाइछे। अनि त्यो सेतो कागज कसरी बार्दलीको कुनामा पुगेछ, कोनि ?
म पागल भएँ। मैले मेरो आधी कपालका जरा उखेलिसकेँ। हो, म बहुलाएँ। बुवा, दया देखाउनुस् ममाथि। बरु यहाँ आएर मलाई मार्नुस् तर यसरी नछोड्नुस्।
उसले मलाई जेलजस्तो कोठामा थुनेर राखेको छ। बूढी बोक्सीले झ्यालबाट मलाई खाना ठेल्दिन्छे, बिहान एउटा रोटी र बेलुकी एउटा। आज बिहान उसले रोटी भुइँमा फालिदिई, मैले टिपेर खाइदिएँ।
यो चिठी हजुरलाई कसरी पुर्याउने, मलाई थाहा छैन। काम गर्ने बहिनी मीनाले पठाइदिन्छु भनेकी छे, तर भोलिदेखि उसलाई पनि मेरो छेउ पर्न दिन्नन् होला। बुवा, यो चिठी पाउनुभो भने, म मर्नुअघि नै मलाई भेट्न आउनुस्।
म गरिब केटी रे, उनीहरूको कमाइमा बाँच्ने अधिकार नभएकोले यहाँ थुनेका रे। तर मलाई वास्तविकता थाहा छ, बुवा। उसले त पहिल्यैदेखि अर्को केटीलाई मन पराउँदो रहेछ। सीमा भन्ने केटी छ। दिनदिनै घरमा आउँछे। मीनाले भनेकी, उनीहरू बिहे गर्न आँटेका छन् रे। यो घरको केटाले मेरो पैसाको लागि मात्र बिहे गरेको रे। म यहाँ अब एकै दिन पनि बस्नु पर्यो भने कि त म भित्तामा टाउको ठोकेर मर्छु, नत्र तिनीहरूले नै मलाई मार्छन्। बुवा, आउनुस्, ढिलो भइसक्यो, बुवा...
अमितका गोडा लुगलुग काम्न थाले। जीउ थाम्नै नसकेपछि ऊ भुइँमा थचक्कै बस्यो। उसलाई भाउन्न भयो, मुटु ढ्याङढ्याङ बजेर छातीबाटै निस्किन बल गर्यो। उसले चारुलाई भेट्न जानैपर्छ, बोलाउनुपर्छ, आफूसँगै राख्नुपर्छ। समाजको डर मान्नु हुन्न, उसको बिहामा खर्च भएको लाखौंको हिसाब राख्नु हुन्न। जानैपर्छ, अहिल्यै हिँड्नुपर्छ... यो टाउको फनफनी घुम्न रोकिदिए, उसले आँखा देख्न थाले... अब कहिल्यै नदेख्ने पो हो कि ?
०००
घरको तल्लो तलामा, रोजाले लामो सास फेरी। अपरिचित व्यक्तिले पठाएको चिठीले उसलाई विचलित तुल्याएको थियो। उनीहरूको मानसिक सुधारगृहमा सबैभन्दा ज्ञानी अमित नै थियो, तर के के गरेको उसले ! अरू मान्छेलाई बेकार दुःख दिएर। फेरि डाक्टरकहाँ लानुपर्ने बेला आएजस्तो छ, औषधिले काम गर्न छोडेको हो कि ?
रोजाले एकपटक फेरि बिहान आएको चिठी खोली। खोल्नेबित्तिकै कस्तो अनौठो सुगन्ध कोठाभरि फैलिएको, कागजमा अत्तर छर्किएजस्तो !
श्री रोजा मल्ल
इन्चार्ज
मानसिक सुधारगृह
आदरणीय रोजाज्यू,
व्यक्तिगत समस्याबारे लेख्दैछु।
तपाईंको सुधारगृहका बिरामी अमित ढुंगानाले उनकी छोरी चारुको नाममा चिठी सम्बोधन गरेर मेरो ठेगानामा पठाइरहन्छन्। चारु मेरी प्यारी श्रीमती थिइन्, दुई वर्षअघि सिलिन्डर दुर्घटनामा परेर उनको मृत्यु भयो। उनी एक्काइस वर्षकी मात्र थिइन्। अहिले पनि उनको सम्झनाले मलाई निकै गलाउँछ, तर म जीवनमा अघि बढ्न चाहन्छु। ढुंगानाज्यू भने छोरी अझै जिउँदै भइराखे जसरी चिठी लेखिबस्नुहुन्छ। मेरी श्रीमती सीमा र मेरो पहिलो सन्तान जन्मिनै लागेको छ, त्यसैले म उनलाई तनावमा देख्न चाहन्नँ। कृपया अमितज्यूले चिठी पठाउन नसक्ने व्यवस्था गरिदिन सक्नुहुन्छ ?
सधन्यवाद
०००
रोजा उठेर भर्याङ चढी र सरासर अमितको कोठा पुगी। ढोका भित्रबाट लगाइएको थियो। यस्तो बेलामा बिरामीको गोपनीयता कहाँ याद गरिराख्न सकिन्थ्यो र ! ऊ अलिकति पछाडि हटी र बल लगाएर ढोकाको चुकुलकै छेउमा लात्तीले हानी। कमजोर प्लाइउडको छेकबार ढलिहाल्यो।
उसले कोठामा अमितलाई देखिन। सानो टेबलको पछाडि च्यापिएको पुरुष आकृति मात्र देखी। पिटिक्कै भाँचिएला जस्तो मसिना पाखुरा भएको तालु खुइलिँदै गइरहेको एउटा मान्छे। ससाना सुनौला पातहरूले सजाएको गाढा रातो सारी उसले जसोतसो आफ्नो जीउमा बेरेको थियो। त्यो मायालाग्दो मान्छेले वाल्ल पर्दै रोजाको अनुहारमा हे¥यो। उसका आँखा तर्सिएका हरिणका जस्ता थिए, सिकारीले खेदेर कुनामा पु¥याएको हरिण। आफ्नो अघि राखेको सादा सेतो कागजमा ऊ लेखिराखेको थियो, उसले लेख्नचाहिँ रोकेन।
सारीको आँचलले निधारसम्मै छोप्दै त्यो मान्छे लेखिरह्यो।
भर्खरै कागजमा छरिएको मसी सुकेकोसम्म पनि थिएन, रोजाले पढ्न भ्याइहाली—
मेरो प्यारो बुवा,
मलाई बचाउन किन आउनु भएन?