बलिउडका नेपाली कान्छा
‘कोही मान्छे बम्बे सहर बाहिर जान सक्ला तर उसको मस्तिष्कबाट बम्बे सहर कहिल्यै निस्कँदैन, यो आम अनुभव हो।’—सलमान रुस्दी
विश्वप्रसिद्ध लेखक सलमान रुस्दीले मुम्बईको बारेमा लेखेको यो भनाइ जिम्मी शर्माको अनुभवसँग ठ्याक्कै मिल्छ। दुई वर्षअघि मात्र बलिउडमा किस्मत अज्माउन दिल्लीबाट मुम्बई छिरेका उनलाई मुम्बईको चस्का बसिसकेको छ। एकपटक मुम्बईमा लामो समय बसेको मान्छे, अरू कुनै सहरमा रमाउन सक्दैन। बान्द्रा समुद्र किनारको क्याफे कफी डेमा कुराकानीका क्रममा उनले खुलस्त पारे।
‘अचम्मको छ यो बलिउड, यहाँ केही पनि नेचुरल (स्वाभाविक) लाग्दैन। संघर्षमात्रै नेचुरल छ तर पनि अलग्गै मजा छ,’ उनले भने। मलाई मात्र होइन, मुम्बईको बानी परेको जो कोहीलाई पनि यस्तै लाग्छ होला, थपे उनले।
उनले यसो भनिरहँदा बलिउडका प्रसिद्ध निर्माता निर्देशक स्वर्गीय यश चोपडाको भनाइ सम्झना आयो। चोपडाले भनेका थिए, बम्बेमा एकपटक बस्न र काम गर्न सुरु गरेपछि अन्त कतै मन लाग्दैन। मुम्बईसँगको लगावलाई उनले इन्फेक्सन (मादक लगाव) नै भनेका थिए।
जिम्मी पनि मुम्बईको इन्फेक्सनबाट अछुतो छैनन्। पंक्तिकारसँग मुम्बईमा भेट हुँदा यसै साता रिलिज हुन लागेको उनको दोस्रो चलचित्र भाँगओबरको ह्यांगमा थिए उनी। मुख्य भूमिकामा रहेका जिम्मीसँगै चलचित्रमा अन्य चार कलाकारहरू पनि छन्। तर उनको भूमिका मुख्य छ, प्रोमोसनलगायतको काममा पनि। ठूलो ब्यानर र बजेटको चलचित्र होइन, भाँगओबर तर हिजोआज बलिउडमा साना बजेटका लाइट इन्टरटेनमेन्ट चलचित्रहरू पनि सफल भइरहेको हुँदा जिम्मीलाई चलचित्रको सफलताभन्दा पनि आफनो भूमिकामा विश्वास छ। भन्छन्, ‘यसपछि बलिउडमा काम पाउन गाह्रो हुँदैन।’ महिन्द्र सिंह सनिवालले निर्देशन गरेको यो चलचित्र कलेज पढ्ने युवायुवतीहरूको मस्तीमा आधारित छ।
वास्तवमा जिम्मीसँग भलाकुसारी गर्नुको पछाडि एउटामात्र चासो थियो, उनी नेपाली मूलका हुन्। जिम्मी विजय शर्माउर्फ विजय कँडेल। गुल्मीको काभ्रेडाँडामा पुख्र्यौली घर। हजुरबा आमासँगै उतै बस्ने उनी भर्खरै दसैंमा परिवारसँग गुल्मी पुगेका थिए। यद्यपि बलिउडमा उनले आफूलाई नेपाली भनेर इन्टोड्युस गराएनन्। नेपालीको परिचयले हेपिन्छ भन्ने आम मनोविज्ञान उनको पनि थियो। नभन्दै यो बुझाइ काम खोज्ने क्रममा झन् गहिरियो। भन्छन्, ‘हेप्दा रहेछन्, काम दिँदैनन्, प्राथमिकतामा पछिल्लो क्रममा पारिँदो रैछ। त्यसैले पनि नेपाली हुँ भनेर भनिनँ।’
बलिउडमा पर्दा पछाडि काम गर्ने थुप्रै सफल नेपालीहरू छन्। स्थापित र प्रसिद्धि कमाएकामा मनीषा कोइराला र उदितनारायण झाको नाम अग्रपंक्तिमा आउँछ। उनका अनुसार उदितको ट्यालेन्टसँगै उनलाई भाग्यले पनि साथ दियो। अनि उनले कर्म गर्न छाडेनन्, निकै संघर्ष गरेर स्थापित भएका हुन् उनी, त्यसैले हामीजस्तालाई उत्प्रेरणा मिल्छ। अनि मनीषा कोइरालाको जस्तो मजबुत पारिवारिक पृष्ठभूमि हुँदा संघर्षको स्वरूप परिवर्तन हुन जान्छ। दुई सफल नेपालीहरूबीचको फरक छुट्याए जिम्मीले।
बलिउडमा अहिले संघर्षरत जिम्मीले दुई वर्षमा मुम्बईको स्वभाव/आनीबानी बुझिसकेका छन्। सफलताका सूत्रहरू थाहा पाएका छन्। दिल्लीको हार्डरक क्याफेमा काम गरिरहेका थिए उनी। अभयराज कँवर (नब्बेको दशकको शाहरुख खानको डेब्यु चलचित्र दिवानाका निर्देशक राज कँवरका छोरा) सँग क्याफेमा जम्काभेट भयो। उनले तिमी हिरो बन्न सक्छौं भनेको अहिले पनि सम्झिन्छन जिम्मी। बलिउड आउन अभयले नै हौस्याएको हुँदा म अहिले यहाँ छु, उनी भन्छन्।
भाँगओवर जिम्मीको दोस्रो चलचित्र हो। मुम्बई आउँदा सुरुमा कामका लागि भौंतारिए। न्यु कमरले कति संघर्ष गर्नुपर्छ बलिउडमा, त्यसको के बेलिबिस्तार लगाउनु। रेस छ यहाँ, जो दौड्यो उसको जित्ने सम्भावना रहन्छ। थाकेर बस्नेहरूका लागि केही छैन यहाँ। जिम्मीको अनुभवले भन्छ, सामान्य व्यक्तिका लागि मुम्बईमा तीनवटा कुराले मात्र काम गर्छ। लक, पीआर र मेहनत। विरासत बोकेकाहरूका लागि भने छुट्टै फर्मुला छ सफलताको।
हुन पनि केही समयअघि अभिनेत्री कंगना रनावतले बलिउडमा भाइभतिजावाद (नेपोटिजम) ले जरो गाडेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएपछि हंगामा नै भयो। मुख्य रूपमा बुवा यश जौहरको विरासत सम्हालेका सफल निर्माता निर्देशक करण जौहरले यसमा टिप्पणी गरिरहे। कंगना र करणबीचको प्रत्यक्ष वादविवाद अझैसम्म जारी छ। जसका कारण कंगनाले करणको चलचित्र नै नखेल्नेसम्मको भनाइ भारतीय मिडियामा सार्वजनिक भयो।
बलिउडमा सफल कलाकारको सूची हेर्ने हो भने अपवादबाहेक विरासत बोकेकाहरूकै लर्को देखिन्छ। कपुर, पटौदी, बच्चन परिवारको वर्चस्वसँगै सलमान, आमिर, फरहान अख्तरजस्ता प्रख्यात अभिनेताहरू नै मूलधारमा छन्। अभिनेत्रीहरूमा पनि काजोल, रानी मुखर्जीलगायत कुनै न कुनै रूपमा विरासतबाटै आएका छन्। अनिल कपुरकी छोरी सोनम कपुरलाई स्थापित हुन कुनै सकस भएन। न्यु कमरमा महेश भट्टकी छोरी आलियालाई करण जौहरले लन्च गरे भने शक्ति कपुरकी छोरी श्रद्धालाई महेश भट्टले। बलिउडमा गैरचलचित्र क्षेत्रबाट नयाँ र सफल पहिचान बनाएका शाहरुख खानको विरासत बोक्न उनकी छोरी सुहाना तयार छिन्। सैफ अमृता अरोडाकी छोरी सारा अलि खान, आमिर खानकी छोरी ईरा, श्रीदेवी–बोनीकी छोरी जानवी कपुर तयार छन् नयाँ पुस्तामा। ऐश्वर्या राय, प्रियंका चोपडा, लारा दत्ता, सुस्मिता सेन सौन्दर्य प्रतियोगिता जितेका पुस्ता हुन्। अक्षय कुमार, मनोज बाजपेयी, नवाजुद्दीन, प्रिटी जिन्टा, दीपिका पादुकोण, विद्या बालनजस्ता कलाकारको नाम अपवादमा लिइन्छ।
शताब्दी लामो इतिहास बोकेको बलिउडमा भारतकै स–साना सहर, गाउँ, समुदायबाट संघर्ष गरेर स्थापित हुनेहरूको नाम अहिले पनि अपवाद नै हुने गर्छ। यो भीडमा २६ वर्षे नेपाली मूलको ठिटो जिम्मी आशावादी छ। आत्मविश्वाससहित पंक्तिकारसँग भन्यो, ‘एकदिन म अवश्य सफल हुन्छु।’
अमेरिकी व्यापारी तथा लेखक रोबर्ट टी कियोसाकीको विश्वप्रसिद्ध पुस्तक रिच ड्याड एन्ड पुअर ड्याडले सरल भाषामा खुट्याएको छ, वित्तीय रूपमा सबल तथा कमजोर बाबुले आफना सन्ततिलाई दिइने स्कुलिङको बारेमा। त्यसैले पनि स्टारडम भएका परिवारका सन्ततिहरू चलचित्रमा इन्ट्रोड्युस हुनुअघि नै सेलिब्रेटी बनिसक्छन्। उनीहरूका संघर्षको आधार नै फरक हुन्छ। वास्तविक संघर्ष ती न्यु कमरको हिस्सामा पर्छ, जो रोबर्टको पुस्तकका आधारमा कमजोर आर्थिक हैसियतमा पर्छन्। ब्याकअप नहुनेहरूको संघर्षका कथाको शब्दावली नै फरक हुन्छ। मनोरञ्जनात्मक मिडिया तताउने कास्टिंग काउच (न्यु कमरसँग गरिने सेक्स बार्गेनिङ) का समाचार पनि प्रायः यस्तै वर्गबाट आएको हुन्छ।
त्यसैले पनि संघर्षरत जिम्मीले बलिउडलाई हेर्ने नजरिया पक्कै पनि करण जौहरसँगको पारिवारिक सम्बन्धमा लन्च हुने विरासत भएका सन्ततिको जस्तो छैन। आफूलाई इमानदार बताउने जिम्मीले भाँगओवरमा बिनापारि श्रमिक काम गरेकोे स्वीकारे। ‘सर्त नै त्यस्तो थियो। सम्झौता नगरी बलिउडमा केही पाइन्न। कुन हदसम्म र कस्तो प्रकारको सम्झौता हो, त्यसमा भर पर्छ, त्यसैले पैसा नलिई काम गरेँ,’ जिम्मीले अनुभव साटे।
स्न्याप डिल, कारवाले डटकम, जोगरनट, लेयर परफ्युम, नापतोल साइटको विज्ञापनमा काम गरिसकेका जिम्मीले सानो पर्दामा पनि काम गरेका छन्। एन्ड टीभीबाट प्रसारण भएको थपकी प्यारकी र वारिस सिरियलमा उनको अभिनय छ। दस महिनाअघि रिलिज भएको भवानीमण्डी चलचित्रमा पनि काम गरेका थिए जिम्मीले। त्यो चलचित्रले उनलाई चिनाएन। तर दोस्रो चलचित्र भाँगओवरले बलिउडमा आफ्नो करियर एक सिँढीमाथि उक्लिने विश्वास उनको छ।
साथीभाइसँग रुम साझा गरेर मुम्बईमा बस्न सुरु गरेका जिम्मी अहिले आर्थिक रूपमा सबल भएका छन्। सिंगल फ्ल्याट लिएका छन्, गाडी किनेका छन्। ‘अब मुम्बईमा अब बाँच्न सक्छु,’ उनले आत्मविश्वासका साथ भने। यद्यपि ट्राभल एन्ड टुर व्यवसायी उनका बाबु टीकाराम कँडेललाई छोरा बलिउड आएको मन परेको थिएन। यहाँका नेपालीहरूको सरल स्वभाव र इमानदारिताले जिम्मीलाई छोएको छ। नेपाली हुँ भन्ने भावना मर्न नदिन बुवाको ठूलो हात रहेको जिम्मी सुनाउँछन्। त्यसैले त सुरुका दिनमा नेपालीको परिचय दिन हिच्किचाएका विजय कँडेलउर्फ जिम्मी भी शर्मा गर्वका साथ भन्छन्, ‘जसले जे भनोस्, म नेपाली कान्छा हुँ भन्न अब हिच्किचाउँदिन।’